१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml
कला

सैनिक पत्नी

कविता

पूजा आचार्य  

 

अस्ताउन लागेको घामसँगै

मनको ढुकढुकी बढ्दै जान्छ

हजारौं ख्यालहरूले हृदयमा कोलाहल मचाउँदा

अनजान डरले आँखाहरू स्थिर हुन्छन्

ओठमा मुस्कानले निस्तेजता फैलाउँछ  

न त उनलाई दशैं आउँछ

न आउँछ तिहार

झोला बोकी कहाँ फुर्सद हुन्छ देउसी खेल्न

उनी त तैनाथ रहनुपर्छ सधैं शत्रुको आक्रमण झेल्न

हो म निडर सैनिक पत्नी हुँ  

तर पनि

उनी हतियार बोकी देशको सीमामा पहरादारी गर्दा  

उन्मुक्त आकाशमुन्तिर

घामपानी खपेर

देशको सेवा गर्दा  

कताकता झसंग हुन्छु

देश रक्षाको सट्टा  

उनको रक्षाको शंका  

बित्थामा बोक्ने गर्छु

 

टिभीको समाचारहरू सधैं

तनाव बोकेर आउँछ्न्  

मेरा लागि

सायद यो हजुरको मनोरञ्जनको साधन हो

मेरा लागि एउटा त्रास फैलाउने यन्त्र बनिदिन्छ

मेरा सपनाहरू छरस्पस्ट पारिदिन्छ।   

तर म जान्दछु,

उनी त वीर हुन्

सच्चा देशभक्त हुन्

अनि फेरि अन्योलमा पर्छु

के यो मेरो भ्रम त होइन !

 

सांसारिक माया सम्झेर पनि

आफन्त साथीसँगी भएर पनि

समय मिलाउन नसक्ने

कस्तो जिन्दगी

आफ्नो कर्तव्य निर्वाह गर्नै पर्ने

सैनिक बाध्यता

गर्व र तनावको चाकाचुली हल्लिन्छ्न्

मेरा दिन

मेरा रात

 

घरमा तानाबाना छ्न्

सम्झने समय छैन उनको

वनका बिरुवाझैँ हुर्किन छोडेर नानीहरू

उनी तैनाथ छ्न् देशको नानीको भविष्य सुरक्षित पार्न।

सदैव प्रार्थना गर्छु म नदेखिनेका सामु

उनको सलामतीको

उनको स्वास्थ र सच्चताको  

जस्तै सङ्कटको घडीमा पनि

उनको बहादुरीको स्वाभिमान बोकेर

म जिउने गर्छु

आँगनमा वसन्तको रङ छर्ने गर्छु  

किनकि, म पनि एउटी

उत्सर्गित नारी हुँ  

एक सैनिक पत्नी हुँ ।                             

प्रकाशित: ७ जेष्ठ २०७८ ०८:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App