कोभिड–१९ को पहिलो लहर केही मत्थर भएसँगै काठमाडौं उपत्यकामा बग्रेल्ती कलाका प्रदर्शनी हुन थालेका थिए। केही राम्रा, केही नराम्रा, सामूहिक र एकल कला प्रदर्शनी भौतिक रूपमै आम भावकमाझ देखापर्न थालेका थिए। हुन त यसअघि भर्चुअल कला प्रदर्शनीमार्फत नेपाली कला दर्शकमाझ नआएको होइन। कला सिर्जना रोकिएको छैन, कला आम भावक माझ पुग्न छाडेको पनि छैन। तथापि भौतिक रूपमै कला प्रदर्शनी हुनु अर्कै कुरा हो। किनकि कलालाई प्रत्यक्ष अवलोकन गर्दा अर्कै स्वाद हुन्छ। भौतिक वा प्रत्यक्ष कला प्रदर्शनीमा अगाडि हेरेर आफ्नै खुसीले मनग्गे रूपमा कलाको रसास्वादन गर्न पाइन्छ, जसले मन आह्लादित तुल्याउँछ।
दुर्भाग्य भनौँ, कोभिड–१९ को दोस्रो लहरसँगै फेरि लकडाउन सुरु भयो। यसले कलाकारको भर्खरभर्खर उठ्न लागेको मनोबललाई कहाँ पुर्याउँछ, थाहा छैन। लकडाउन खुल्नु र पुनः हुनुबीच धेरै यस्ता कला प्रदर्शनी भए। केही महिनाअगाडि देखापरेका कला प्रदर्शनीले धेरै युवा कलाकारलाई दर्शकमाझ पुर्याउन ठूलै मद्दत गरेको ठान्नुपर्छ। यद्यपि यसबीचका कला प्रदर्शनीका कार्यक्रम पनि खासै नयाँ ढंगमा देखापरेनन्। कला प्रदर्शनी हुनुपर्छ, गरिनुपर्छ भन्ने परम्परागत मान्यतालाई पछ्याउँदै उही पुरानै ढंगबाट कलाका कार्यक्रम भए।
यति हुँदाहुँदै पनि विशेष गरेर तीनवटा एकल कला प्रदर्शनी पृथक् पारामा देखापरे। कलाको चरित्र, महत्व अनि गुणस्तरका रूपमा यी तीन कला प्रदर्शनी अन्यभन्दा फरक रहे। यी तीन कला प्रदर्शनी हुन्– कविराज लामाको प्रिन्ट मेकिङ कलाहरू, नीरा जोशी प्रधानका बोटानिकल दृष्टान्त चित्र अनि रवीन्द्र श्रेष्ठका स्ट्रिट इन्स्टलेसन आर्ट। जसले आम भावकमा फरकफरक कलाका शैली, प्रवृत्ति, प्रस्तुतिका साथै विषय, विधा वा समसामयिक कलाका विविध क्षेत्रलाई समेत उजागर गरे। यो एउटा कलामा उल्लेखनीय घटना हुन पुग्यो।
कलाका प्रकृति
उपरोक्त तीन कलाले अलगअलग प्रकृति पनि बोकेका छन्। बोटानिकल कलामा भावना, अवधारणा र अभिव्यञ्जना न्यून रहेको हुन्छ। तथापि यस्ता कलामा कडा अनुशासन, कठोर परिश्रम, पूर्ण यर्थाथता, गहिरो लगनशीलता आबद्ध भएका हुन्छन्। वनस्पतिको शाश्वत स्वरूप, विज्ञान अनि ज्ञान प्रवाहको नजिक रहने यसको स्वभाव हुन्छ। प्रिन्ट मेकिङ कलामा कठोर अभ्यास, प्रविधिको गहन प्रयोग, सिर्जनाको मूल स्वरूप आउनुअघि गरिनुपर्ने अनेकौँ संघर्षपूर्ण तह, भावना र अवधारणा गाँसिएका हुन्छन्। यसमा विषयगत प्रविधिमा बढी जोड दिइन्छ।
स्ट्रिट इन्स्टलेसनको भने सवर्था अलग्ग स्वरूप हुन्छ। अस्थायी स्वरूपमा देखापर्ने यस्ता कला रेडिमेड एप्रोच, साइट स्फेसिफिक अनि आम मान्छेका भावना र कलाकारको अवधारणासँग नजिकै भएर सिर्जना हुन्छ। समसामयिक सवाल, आम मान्छेसँगको प्रत्यक्ष अन्तक्र्रिया, भावक आफैँ कलाको एक अंगका रूपमा प्रस्तुत भई कोल्याबोरेटिभ कलाको रूपमा देखापर्छ। अनि प्रक्रियालाई केन्द्रबिन्दुमा राख्दै यस्ता कला एउटा क्रियाकलाका रूपमा निश्चित समय, ठाउँ, घटना, अवस्थाको वरिपरि घुम्छ। बहस, वकालत, लबिङजस्ता अवयव यस्ता कलासँग गाँसिएको देखिन्छ। समाजको हरेकजसो अवयवमा यो गहिरो चासोको विषय हुन्छ।
बोटानिकल कला
नीरा जोशी प्रधानको बोटानिकल कलाको महत्व र यसको गुणस्तर साधारण अन्य फूलका वा वनस्पतिका चित्रभन्दा अलग्ग थिए, वा हुन्। सन् १९९९ मा उनका चित्र पहिलोपल्ट आम भावक माझ सार्वजनिक भएको थियो, त्यतिबेला यस प्रकारका कलाको त्यो पहिलो कला प्रदर्शनी नै बन्न पुग्यो। झट्ट हेर्दा एकैजसो देखिए पनि यस्तै प्रकारले बन्ने गरेका चित्रमा प्रकृति, स्वभाव र सिर्जन–प्रक्रिया अलग हुन्छन्। यसलाई विस्तारमा बुझ्न सकियो भने मात्र सम्भवतः नीराका यी चित्रलाई अझ नजिकबाट नियाल्न सजिलो हुन जानेछ। नीराका चित्र नजिकबाट नियाल्दा मेहनत, धैर्य र समय लगाएर स–साना तुलिकाको प्रयोग गरेको स्पष्ट महसुस गर्न सकिन्छ।
रेखा मात्रै शक्तिशाली भएर चित्रपटमा कुदेका छैनन्, रङको कोमलता, पातका रेसा अनि फूलका पत्रलाई मसिनो गरी चित्रण गरिएको छ, यसबाट कलाकारको विषय माथिको पकड र गहिराई अनुभूत हुन्छ। उनको विज्ञान र कलालाई जोड्ने उपक्रम पनि नौलो ढंगबाट देखापरेको छ। यसैले यस्ता चित्र अलि महँगा हुने गर्छन्। बोटानिकल–आर्ट सिर्जना गर्न विभिन्न अध्ययन र मिहिनेत बढी लाग्छ। यसका लागि विभिन्न जातिका बोटबिरुवा, वनस्पतिका वैज्ञानिक ठीक–सही परिशुद्धता (साइन्टिफिकल्ली अक्कुरेट) लाई ध्यान दिनुपर्छ। वनस्पति विज्ञानले व्याख्या गरे अनुसार पत्रपत्रिका, पुस्तक वा अन्य सञ्चारका साधनका लागि विशेषगरी जलरंगमा सूक्ष्म रूपमा बनाइने चित्र हो, बोटानिकल–आर्ट।
निकै सूक्ष्म किसिम र विस्तारमा बनाइने यस्ता कलामा शक्तिशाली अनुपातमा मिलेका रेखा र रङ हुन्छन्। यस्ता चित्र वैज्ञानिक लेखकसँग सम्पर्कमा रहेर बनाउने गरिन्छ। वा, कलाकार स्वयं नै वनस्पति विज्ञानका जानकार हुन आवश्यक छ। यस्ता चित्रकारले वनस्पतिको आकृति विज्ञान, रूप विधानमा राम्रो सुझबुझ राख्न आवश्यक हुन्छ। यसका संकेत र नमुनामा पहुँच हुन जरुरी छ। बोटानिकल चित्रकार तिनै हुन्, जसले उपरोक्त विषयमा ध्यान दिएर वनस्पतिका चित्र वा स्केच सिर्जना गर्छन्। साधारणतया यस्ता चित्र जलरङमा बनाइन्छ। तथापि थोरै मात्रामा भए पनि तेलरङ, पेन्सिल र इंकबाट यस्ता चित्र बनाउने गरिन्छ। सामान्यतया ‘लाइफ साइज’मा बनाइने यस्ता चित्रमा स्केललाई देखाउनैपर्ने हुन्छ।
कलाकार नीरामा यी सब गुण यथेष्ट मात्रामा रहेकाले उनका यस्ता कला गुणस्तरको सन्दर्भमा अब्बल छन्। कलाको वातावरणमा हुर्के बढेकी नीराले कलाको आधारभूत ज्ञान र तालिम सम्भवतः बाल्यकालदेखि नै पाइन्। यसमाथि उनले वनस्पति विज्ञानमा औपचारिक शिक्षा लिएकी छन्, यी दुवैको मेलले उनका कलाले निखारिने मौका पायो भन्न सकिन्छ। नामसहित अलग्ग विशेषताका साथ देखिएका उनका चित्र अति मनमोहक छन्। कोठामा साजसज्जाका रूपमा प्रयोग गर्न सकिने, बिक्री–वितरण हुन सक्ने वा यो आफैँमा एक अलग्ग अस्तित्वमा आउन सक्ने भएकाले नीराका सिर्जनाले थप नौलो आयाम खडा गरेका छन्। अब यो दृष्टान्त चित्र मात्र रहेन, यस्तो चिन्तन विकासका लागि उनको घर–परिवार र विशेषगरी उनका बुवाको पनि ठूलो हात रहेको हुनुपर्छ। उनी मूर्धन्य चित्रकार रामानन्द जोशीकी सुपुत्री हुन्।
दृष्टान्त चित्रको सन्दर्भ
बोटानिकल कलासँगै जोडिएर आउने अर्को सन्दर्भ हो, दृष्टान्त चित्र। नेपालको कला इतिहासमा यस प्रकारका कला गर्ने सम्भवतः नीरा मात्र शुभारम्भको केन्द्रबिन्दु बन्न पुगेको देखिन्छ। यसो त यस्ता बोटानिकल दृष्टान्त चित्र यसअघि पनि प्रदर्शित नभएका होइनन्। एकपल्ट दार्जिलिङका हेमलताले काठमाडौंमा आफ्ना यस्ता कलालाई प्रदर्शित गरिसकेका छन्। अहिले नीराको पनि सिद्धार्थ कला दीर्घामै प्रदर्शन भइरहेको छ। त्यसवेला हेमलताका कला यही सिद्धार्थ कला दीर्घामा प्रदर्शन भएका थिए। यसबाहेक यस्ता कला प्रदर्शन भएको देखिँदैन, भए पनि निकै कम र सामूहिक रूपमा मात्र भएका छन्। यसैले बोटानिकल कलाको सन्दर्भ आउँदा नीराको नाम अग्रपंक्तिमा आउँछ।
बोटानिकल कलासँगै आउने दृष्टान्त चित्र मूलतः मुद्रण वा छापेर गरिने कलाको नजिक रहन्छ। त्यसैले सामान्यतः यस्ता चित्रलाई प्रदर्शन कम गर्ने अर्थमा लिइन्छ। कति ठाउँमा यसलाई ललितकलादेखि वा सिर्जनशील कलाभन्दा अलग्ग पाराले व्याख्या विश्लेषण गर्ने प्रचलन छ। दृष्टान्त चित्रको परिभाषा हेरौँ। दृष्टान्त चित्र भनेको एउटा सजावट कला हो, जसमा कुनै पाठ वा अवधारणाको व्याख्या र दृश्यात्मक स्पष्टीकरण बढी मात्रामा गरिन्छ। यो स्वभावतः मुद्रण अनि डिजिटल मिडियासँग आबद्ध भएर देखापर्र्छ। जस्तोः पोस्टर, पत्रपत्रिका, एनिमेसन वा शैक्षिक सामग्री आदि।
ललितकला भनेको जीवनमा आउने स्वयंमा एउटा विचार हो भने, दृष्टान्त चित्र भनेको विचारको व्याख्या हो। विशेषगरी ललित कला ‘कला कलाका लागि’ हो। दृष्टान्त चित्र भने कथा वा विचारलाई व्याख्या गर्ने प्रक्रियामा आबद्ध भएर देखापर्छ। हिजोआज सिर्जनशील कलालाई समेत व्याख्या विश्लेषण गरिएको छ। त्यसमा निहित सन्देश, सौन्दर्यलाई मात्र होइन, ‘इलस्ट्रेटिङ’को सन्दर्भलाई पनि जोडेर हेर्न थालिएको छ। यसैले आज कलाको बहसमा सिर्जनशील र व्यावसायिक कलाबीच सीमा हराएर गएको छ।
दृष्टान्त चित्रकै मात्र सन्दर्भ उठाउँदा १५औँ शताब्दीतिर प्रिन्टिङ प्रेसको आविष्कार भएपछि विशेष गरेर उडकटको सहारामा यसको अवधारणा आएको देखिन्छ। उडकट भन्नेबित्तिकै यसै साथ जोडिन आएको प्रिन्ट मेकिङ कला पनि हो। किंवदन्तीकै हिसाबमा कुरा गर्दा, सन् १२९४ मा प्राचीन इजिप्टको टम्ब अफ फराहमा यस्ता कला देखिइसकेको चर्चा गरिन्छ। तथापि १६औँ शताब्दीतिर जापान र १७औँ शताब्दीतिर युरोपमा समेत यस प्रकारका कला व्यापक रूपमा फैलिसकेको थियो।
प्रिन्ट मेकिङ कला
प्रिन्ट मेकिङ कलामा आफूलाई एक अलग्ग धारमा विकास गर्ने युवा कलाकार हुन्, कविराज लामा। सम्भवतः आज देखिएका अति सबल र मिहिनेती कलाकार। प्रिन्ट मेकिङका सबैजसो विधा, उपविधामा उनको गहिरो दख्खल छ। विशेष गरेर लिथोग्राफीमा उनी अब्बल मानिन्छन्। यस विधा प्रविधिगत गाह्रो मानिन्छ। प्रविधि, सूक्ष्मातिसूक्ष्म अवयव, मूर्त आकारसँग खेल्न सक्ने क्षमता भएकाले उनका धारिला र शक्तिशाली रेखा अर्थपूर्ण रूपमा उभिएका देखिन्छन्। समसामयिक घटना, अहिलेका आम समुदायका जीवन पद्धति र दिनचर्या आदि अनेकौँ क्षेत्रलाई अनेकौँ विम्बले सजाइएकाले उनका कला निकै मर्मस्पर्शी छन्।
यसअघि प्रिन्ट मेकिङका चित्र नबनेका होइनन्, तथापि उनी जापानबाट यसै विषयमा उच्च शिक्षा लिई फर्केपछि उनका काम अन्य प्रिन्ट मेकिङ कामभन्दा फरक ंरूपमा देखापरे। समसामयिक घटना र आममान्छेको जिन्दगीसँग उनका कलाको नजिकको सम्बन्ध देखिन्छ। आफ्ना वरिपरिका घरमन्दिर बन्नु र भत्कनुमा आफ्नो सोच, अवधारणा र व्यवहार कसरी परिवर्तन हुँदो रहेछ, यसैबारेको सोधखोज नै उनका कलाको मूल अभीष्ट देखिन्छ।
सूक्ष्म रेखाको बाहुल्य रहेका उनका काम मूलतः आकृतिमूलक हुन्छन्। भाव–अभिव्यञ्जनाभन्दा विचार र परम्परागत टेक्निक इचिङ वा लिथोग्राफलाई बढी मात्रामा प्रयोग गरेको पाइन्छ। प्रिन्ट मेकिङ कलाको उपविधा लिथोग्राफकै मात्र कुरा गर्दा नेपालमा उनलाई उछिन्ने अर्का कलाकार पाउन गाह्रो होला। उनको काठमाडौंस्थित बौद्धमा ठूलो र गुणस्तरीय कला स्टुडियो छ। जहाँ प्रिन्टिङ मेसिनदेखि विदेशबाट मगाएका किसिम किसिमका शिला, यस्ता चित्र बनाउन चाहिने अनेकौँ केमिकल थाक लगाएर राखेको देखिन्छ। यसले उनी कलामा कति दत्तचित्र भएर लागेका छन् भन्ने स्पष्ट हुन्छ। उनको कलाको गुणस्तरमा सन्देह गर्नुपर्ने ठाउँ देखिँदैन। यस्ता स–साना काम धेरैले गरेका देखिन्छन्, तर यस विधामा ठुल्ठूला काम गर्नु साँच्चिकै जटिल काम हो।
प्रिन्ट मेकिङकै सन्दर्भ उठाउँदा परम्परागत टेक्निकको रूपमा उडकट, इचिङ, इन्ग्राभिङ र लिथोग्राफी आउँछन्। सामान्य अर्थमा भन्ने हो भने, कलाकारले आफूले सोचेको इमेजलाई काठ, शिला, धातु, लिनो, वा स्क्रिनमा क्रियट गर्छ, यसैलाई मसिनमा राखेर यसैको प्रिन्ट निकाल्ने काम हुन्छ। तथापि यो प्रक्रिया जति भन्नलाई सजिलो छ, गर्न निकै जटिल छ।
नेपालमा प्रिन्ट मेकिङ कला
नेपालको समसामयिक कलाको इतिहासमा प्रिन्ट मेकिङ कला सम्भवतः सर्वप्रथम उर्मिला गर्ग उपाध्याले सिर्जना र प्रदर्शन गरिन्। उनी नेपालको आधुनिक कलाको पहिलो महिला कलाकार मानिन्छिन्। सुरुमा मुम्बईको जेजे स्कुल अफ आर्टबाट कलामा विधिवत शिक्षा हासिल गरेकी उनी पछि उच्च शिक्षाका लागि युरोप पुगिकी थिइन्। उनको पहिलो एकल कला प्रदर्शनी सन् १९५९ मा भएको थियो। नेपालमा विधिवत आधुनिककला प्रदर्शनीको सुरुवात उनैको कलाबाट भएको मानिन्छ। यसै कला प्रदर्शनीमा उनका अन्य कलाका साथै प्रिन्ट मेकिङ कला पनि प्रदर्शित थिए। अमूर्त शैलीका उनका चित्रको खासै चर्चा भएन। यसपछिका लामो कालसम्म यस विधालाई मुख्य क्षेत्र बनाएर अन्य कुनै कलाकार देखिन सकेनन्।
सन् १९७० को उत्तरकालमा मनुबाबु मिश्र, वत्सगोपाल वैद्य अनि शंकरराज सिंह सुवाल आदि देखापरे। ८० को मध्यतिर देखापरेका दुई कलाकार परमेश अधिकारी र युवक तुलाधर भने यस क्षेत्रलाई मुख्य विषय बनाई अगाडि आएको देखिन्छ। अहिले यी दुवै कलाकार अमेरिकामा छन्। यसपछि देखापरेका यस विधाका कलाकारमा उमाशंकर शाह, डा. सीमा शाह र रागिनी उपाध्याय हुन्। यी कलाकारले आफ्नो पहिचानसहित प्रिन्ट मेकिङ कलालाई संस्थागत रूपमा स्थापना गरेको देखिन्छ। पछिल्लो कालमा आएर कलाका क्याम्पस कलेजमा यसको विषय पढाइ हुन थालेपछि अहिले युवा कलाकार बग्रेल्ती यस विधामा लागिपरेको देखिन्छ। यो युवा कलाकारको भीडमा कलाकार कविराज लामा अलग्ग उभिएका छन्।
स्ट्रिट–इन्स्टलेसन
आज अन्तर्राष्ट्रिय घटना–परिघटनामा नेपाली समसामयिक कलाकार समेत सचेत हुन थालेका छन्। नजिकै छिमेकी राष्ट्र म्यानमारमा सरकारका तर्फबाट गोलीबारी हुँदा नागरिक मृत्यु हुने क्रम बढेपछि कलाकार रवीन्द्र श्रेष्ठले एउटा अनौठो कलाद्वारा यो अन्तर्राष्ट्रिय राजनीतिक मुद्दालाई उठाउने कोसिस गरे। ०७८ वैशाखको पहिलो साता आर्ट काउन्सिलमा एउटा काठको सक्कली डुंगा ठूलो हलबीच प्रदर्शित भयो। केही घन्टा त्यसलाई माइतीघरको चौबाटोमा पनि औपचारिक प्रदर्शन गरियो। नागदहको पोखरीमा कैयौँ वर्षदेखि बेवारिसे रहेको यो डुंगा कैयौँ दिन घाममा सुकाएर, घोटेर, रगटेर, रङ रोगन लगाएर उनले यसलाई कलाको रूपमा प्रस्तुत गरेका थिए।
यो रवीन्द्रको कला दुई प्रकारले नेपाली कला फाँटमा चर्चाको विषय बन्यो। परम्परागतभन्दा एकदमै फरक ढंगबाट आज विश्वमा अति तीव्र रूपमा विकास भइरहेको कलाको यो नौलो स्वरूपले नेपाली कलामा प्रवेश भएको थियो। वर्तमानका ताजा घटनामा आफ्ना विचारलाई पस्केर आम नेपालीको ऐक्यबद्धता जाहेर गर्ने यो कलागत उपक्रम पनि नेपाली कलाको इतिहासमा सम्भवतः सवर्था नौलोपनको थियो। यसअघि यस्ता कलागत प्रयास नभएको होइन, सन् २००३ देखि दर्जनौँ कलाकारले सामाजिक र राजनीतिक मुद्दालाई लिएर यस्ता नयाँ स्वरूपका कला बनाइरहेका छन्। यो रवीन्द्रको कला भने खास रूपमा देखाप¥यो। हिजोआज राजनीतिक विरोधका कार्यक्रम त्यसै पनि कलाको एक भागजस्तो देखिन्छ। तथापि कलाकारकै संलग्नतामा कलाकै रूपमा यस विधामा पस्नु सर्वथा अलग्ग हो।
मूलतः विश्वको कला इतिहासमै स्ट्रिट आर्टको अवधारणा साठीको दशकको उत्तराद्र्धमा देखाप¥यो। पहिले यो सामान्यतया भित्तामा कुनै सन्देशलाई बोकेर ग्राफिटी आर्टका रूपमा उदय भयो। यस्ता ग्राफिटी घरका भित्ता, पर्खालमा चित्रका रूपमा बन्ने गर्थे। यसपछि सडकमा यसरी नै चित्र बन्न थाले। यसले व्यापक रूप लिन थालेपछि र आममान्छेको चासो बढ्दै गएपछि तेस्रो आयामिक वस्तु (फाउन्ड आर्ट)का रूपमा विकास हुन पुग्यो। स्ट्रिट आर्टसँग इन्स्टलेसन पनि जोडिएपछि यसलाई ‘स्ट्रिट इन्स्टलेसन’का रूपमा व्याख्या विश्लेषण हुन थालेको देखिन्छ। यो कलाको नयाँ स्वरूप सन् १९८० को उत्तराद्र्धमा चर्को रूपमा आम भावक छेउ आइपुगेको हो। नेपालमा यस्तो कलाको प्रवृत्ति बिरलै देखिन्छ। सम्भवतः रवीन्द्र यसका अगुवा जस्तै हुन्। यस्ता कलालाई इन्डिपेन्डेन्ट कला, पोस्ट ग्राफिटी, नवग्राफिटी र गुरिल्ला आर्ट समेत भन्ने गरिन्छ।
म्यानमारमा निहत्था नागरिकमाथि भएको दमन, नरसंहारको विरोधमा रविन्द्रको यो कलात्मक प्रस्तुति हो। यो शक्तिशाली कला विरोधसँग मात्र सम्बन्धित छैन। यस कलामा आम नेपालीको मर्मस्पर्शी सहभागिता, कलाको प्रक्रिया र क्रियाकलापमै जोडिने योजना भएका कारण रविन्द्र मात्र होइन, आम नेपाली यस कलामार्फत निहत्था जनतामाथिको दमनविरुद्ध उर्लेको विम्ब हो। आफू अगुवा बनी उनी यस्तो गुणात्मक कलालाई पनि स्थापित गर्न चाहन्छन्, सचेत नागरिकका हैसियतले कलाकारको अस्तित्वलाई पनि स्थापित गर्न चाहन्छन्।
म्यानमारमा निहत्था नागरिकमाथि भएको दमन, नरसंहारको विरोधमा रविन्द्रको यो कलात्मक प्रस्तुति हो। यो शक्तिशाली कला विरोधसँग मात्र सम्बन्धित छैन। यस कलामा आम नेपालीको मर्मस्पर्शी सहभागिता, कलाको प्रक्रिया र क्रियाकलापमै जोडिने योजना भएका कारण रविन्द्र मात्र होइन, आम नेपाली यस कलामार्फत निहत्था जनतामाथिको दमनविरुद्ध उर्लेको विम्ब हो।
विश्वमा घटिरहेको यस्तो अमानवीय क्रियाकलापलाई निमिट्यान्न पार्न मूल ध्येयका साथ आउन खोजेको पनि देखिन्छ। यो उनको सडकमा भएको कला प्रदर्शन (स्ट्रिट इन्स्टलेसन आर्ट)का रूपमा नेपालको कला इतिहासमा सर्वथा नौलो प्रयोग हो। इस्टलेसन, स्ट्रिट आर्ट अनि कन्सेप्चुल कलामा दह्रो रूपमा पकड बनाइसकेका रविन्द्र सामाजिक र राजनीतिक सवालमा सचेत र सबल छन्। यसपालिको उनको कलाले अन्तर्राष्ट्रिय क्षेत्रमा समेत प्रवेश गरेको छ।
डुंगा एउटा गहकिलो प्रतीक वा विम्बका रूपमा कलाकारको पात्रका रूपमा देखापरेको छ। सक्कली डुंगा प्रयोग गर्ने उनको सोच रेडिमेड एप्रोचका आधारमा छ। विश्वमा डुचेम्पले कलामा रेडिमेड एप्रोचलाई स्थापित गरेपछि आज विश्वभरिका समसामयिक कलाकार यही दर्शन, मान्यतालाई आधारभूमि बनाएर शक्तिशाली कलाको सिर्जना गरिरहेका छन्।
डुंगा, जसले मान्छेलाई वल्लो किनाराबाट पल्लो किनारामा पुर्याएर आम मानवलाई उसको गन्तव्यमा पुग्न सहज बनाउँछ, कलाकारको पात्रका रूपमा यो डुंगा म्यानमारको जटिल संकटको उद्धारको प्रतिविम्ब हो। कलाकार रविन्द्र नेपालमै बसेर भए पनि आफ्नो कलामार्फत विश्वका आम मानवको सामाजिक, राजनीतिक सवाललाई साक्षी राखी शक्तिशाली कलाको सिर्जना गरी नेपाली समसामयिक कला उच्च स्तरमा रहेको सन्देश प्रवाहित गरेका छन्।
(लेखक कलाकार र कला समीक्षक हुन्।)
प्रकाशित: १ जेष्ठ २०७८ ०२:२६ शनिबार