नन्दु उप्रेती
उज्यालो भो मिरमिरे भो उठौँ सबै जना
उत्रौँउत्रौँ गाडीबाट चिया खाजा खान।
काव्यिक शैलीमा आएको रूपनारायण श्रेष्ठको आवाजले बिउँझिएकाहरूलाई सिटबाट उठायो । नबिउँझिएकाहरूलाई बिउँझायो । २३ गते, बिहानको साढेपाँचभन्दा बढी भइसकेछ । हामी कर्णालीपुलपारि चिसापानी आइपुगिसकेका रहेछौँ।
कतिले कर्णालीको चिसो पानीमा नुहाए छेउमा डुबुल्की मार्दै । धेरैले मुखमात्र धोयौँ । एकखम्बे कर्णाली पुल त हेर्नै पर्ने थियो । अनौठो प्रविधि प्रयोग भएको भनिन्थ्यो यसको निर्माणमा।
निकै लामो रहेछ यो पुल पूरै आधा किलोमिटर । सन् १९९३ मा निर्माण पूरा भएको यो पुललाई तारपुल पनि भनिँदो रहेछ । बीचमा ठुलो खम्बा ठड्याएर दुईतिर तारहरू तन्काएर बनाइएको । पहाड छिचोलेर तराई छुनेबित्तिकै छातीमा नौलो पुल टाँगेको कर्णाली कति सुन्दर !
शरद्ले क्यामरामा हामीलाई जोडेर कर्णालीको पुल राखे पटकपटक । टाढाटाढाबाट तानेर राखे कर्णालीलाई पनि क्यामराभित्र । कर्णालीवारि र कर्णालीपारिको नेपाललाई यसै पुलले जोडिदियो । यातायातका क्षेत्रमा भारत हुँदै नेपाल यताउता गर्ने बाध्यता टुङ्ग्याइदियो यसै पुलले । त्यस्तै कर्णालीमा फेरी चढेर वारपार गर्नुपर्ने डरलाग्दो यातायात पद्धतिको पनि यसै पुलले अन्त्य गरिदियो । हामीले नाघ्यौँ कर्णालीलाई पुलैपुल हिँडेर । निलो पानी पियौँ पुलमाथिबाटै आँखाले धित मर्ने गरी ।
“मलेखुमा त्रिशूलीको माछा र चिसापानीमा कर्णालीको माछा भन्ने त उखानै बनिसकेको छ । खाने हैन दाइ माछा ?”
शरदको आग्रहसँगै मेरा आँखा बाटा किनारका पसलमा झुन्डयाइएका माछाका सिलहरूमा ठोक्किन पुगिहाले । शरद मेरो प्रिय भाइ । विगतमा हामीले सँगसँगै धेरै काम गरिसकेका छौँ । उमेर कमै भए पनि कामले शरदलाई निक्कै अगाडि बढाइरहेको लाग्छ मलाई।
मलेखुको प्रसिद्धिमा जस्तै यहाँको प्रसिद्धिमा खोट छ कि छैन मलाई थाहा छैन । पसलमा झुन्डयाइएका र तार्न ठिक्क पारेका माछाहरू सलक्क खोलाका असला माछाजस्तै लामालामा थिए । पसलेहरूले पनि कर्णालीकै हुन् यी माछाहरू भन्दै विश्वासको डोरीले बाँध्न खोजे हामीलाई।
“कर्णालीको पानी चिसो भएर नै यस ठाउँलाई चिसापानी भनेको हो ?”
पसल्नी दिदीतिर फर्किएर शरदले सोधे।
“खै मान्छेले त्यसो पनि भन्छन् । तराई भए पनि चिसो हावा चलिरहन्छ । माथिबाट कर्णाली पनि चिसो पानी लिएर आउँछ नि त ।”
“अरू पनि छन् कि उखान ?” मैले पनि सोधेँ।
सायद पसल्नी दिदीका श्रीमान् होलान् उनले आफ्नो पालो ठानेछन् उत्तर दिने।
“सुर्खेतको तातापानीबाट बिहान हिँडेका हटारु (हाट जानेहरू) बेलुका चिसोपानी भएको यस ठाउँमा बास बस्न आइपुग्थे रे । तातापानीबाट हिँडेर चिसोपानी भएको ठाउँमा बास बस्ने हटारुले नै यस ठाउँलाई चिसापानी भन्न थालेका हुन् भनेर पनि भन्छन् ।”
बिहानै भए पनि शरद र मैले अघाउन्जेल खायौँ माछा । मलेखुमा श्याम दाइले खुवाएका मलेखु खोलाका माछाजस्तै मिठा थिए यी माछाहरू ।
हामी माछा थप्दै थियौं । जोसिँदै थिए पसले दाइ पनि कथा हाल्न ।
“अर्को कथा पनि छ नि सर ।”
“के हो त्यो पनि सुनँौँ न त ।” शरदले माछा चपाउँदै जिज्ञासा बढाए ।
“कालिकोटको चिलखायाका राजकुमारीको बिहे तराईमा भएको थियो । माइतीमा जाँदा दाजुभाइले दाइजो के लिन्छौ नि चेली भन्दा राजकुमारीले तराईको गर्मीबाट बच्न चिलखायाको चिसो बतास दिनु भनिन् रे । आफ्नी चेलीका लागि माइतीहरूले चिलखायाको चिसो बतास यही ठाउँमा ल्याएर छोडिदिएकाले यस ठाउँलाई चिसापानी भनिएको रे ।”
अहा, चेली र माइतीको माया, प्रेम र हार्दिकता । यो सांस्कृतिक महत्व बोकेको किंवदन्ती । भावनामै छोयो ।
कथा र किंवदन्ती साह्रै मिठा ! र माछा पनि!
हामीले धेरैधेरै धन्यवाद भन्यौँ पसले दाइ दिदीलाई ।
कस्तो नमजा, नामचाहिँ सोध्नै बिर्सिएछ ती पसले जोडीको ।
हिजो बेलुका बिबिसीले काठमाडौँ–कालापानी मार्चको समाचार प्रसारण गरेछ । यहीँका मानिसहरूले सुनाए हामीलाई।
बसमा थोमस पीडित, सुरेन्द्र मानन्धर, सावित्री पोखरेल, रूपेश आचार्यको गीतले हामी सबैलाई लहैलहै लगाएको थियो । गाउन जान्नेहरू गाइरहेका, नजान्नेहरू ताली बजाइरहेका । वातावरण रमाइलो बनिरहेको थियो । थोमस त बहुमुखी प्रतिभाको कुबेर नै ! हँसाउन पनि ठिक्क । दोहोरीका तुक्का जोड्न झनै सिपालु । व्यङ्ग्य ठोक्न झन साह्रो । जिरे खुर्सानी जस्तै तेजिलो।
बाटो खाल्डा र खुल्डीयुक्त रहेछ यहाँनेर । हामी उफारिन्थ्यौँ कुनै बेला टाउको ठोकिने गरी । कहिले उछिटिन्थ्यौं झन्डैझन्डै अघिल्लो सिटमा पुग्ने गरी । बाटा वरपर पातलो सिसौघारी देखिन्थ्यो । ठुला र पुराना सबै रूखहरू मासिइसकेका रहेछन् सायद । गरिबी बोलिरहेको थियो साना साना छाप्राहरूबाट । आँगनमा केटाकेटीहरू देखिन्थे नाङ्गै भुतुङ्गै।
लम्कीमा पुग्दा घाम निक्कै चर्को भइसकेको थियो । नयाँ बस्ती रहेछ यो । साना ठुला भाँती नमिलेका घरहरू । आर्थिक असमानता घरका रूप, रङ र आकारले बताइरहेका थिए । सिङ्गै नेपालको तस्बिर पो देखियो यहाँ त !
टीकापुर नगरपालिकाका प्रमुख हरिप्रसाद सन्ज्यालले स्वागत है स्वागत भन्दै हात मिलाउनुभयो । थुप्रै स्थानीय जनप्रतिनिधि, राजनीतिक कार्यकर्ता र सर्वसाधारणको जमघट थियो । झापाका साथी हरि गौतम यतै व्यापार र राजनीति गरेर बसेका रहेछन् । हरिका दाजु होम गौतम । राजनीतिक जीवनका कठोर दिनहरूका याद आउँछन् होम गौतमलाई सम्झनासाथ । धेरै भयो उहाँसँग भेट नभएको । उहाँलाई सम्झदा राजनीतिक जीवनमा अगाडि, पछाडि र सँगै हिडेका धिरेन चेम्जाङ, गोपाल नेपाल, राम राना, दीपकिशोर लिङ्देन, शोभा पराजुली, दीलिप साउदेन, भोजराज घिमिरे, पदम पौडेल, अर्जुन राई, हीरा थापा, सीता पाठक, द्रोणाचार्य क्षेत्री, नोवलकेमी राई, होम पान्डे, रामचन्द्र उप्रेती, विष्णु प्रसाईं, रेखबहादुर ब्लोन, चित्र निरौला, देवराज घिमिरे, पुष्प पोखरेल, रविन कोइराला, लगायतका समकालिन र अग्रजहरू सम्झनामा आइहाल्नु हुन्छ तँछाडमछाड गर्दै।
हरिका अनुसार करिब तीन वर्षअघिबाट मात्र सुरु भएको रहेछ लम्कीमा बस्ती विकासको कर्म । देशका विभिन्न ठाउँबाट मानिसहरू आएका रहेछन् यस ठाउँमा । विभिन्न जाति जनजातिको सङ्गम भएको रहेछ लम्की । सानो ठाउँ तर शहर भइसकेको रहेछ । भवानसिंह चलाउने र नवलसिंह रावलले निकै मिहिनेत गरिरहनुभएको थियो हाम्रो स्वागत र शुभकामना सभाको व्यवस्थापनमा।
“सुस्मिता खै एउटा कानको टप ?” इन्दिरा पन्तले सुस्मिता ढकालको कानतिर हेर्दै सोधिन् । सुस्मिताको कानको टप खै कतिखेर झरेर हराइसकेछ । यताउता खोजियो तर कहाँ भेट्नु र ? नरमाइलो लागे पनि उनी भन्दै थिन्, “पिर मानेर के गर्नु ? हराइ त हाल्यो !”
समोसा खाँदै बसेको बेन्च पड्याङ्गै भाँचियो । दीपक पाण्डे राम्रै गरी पछारिए । निलोपिरो भयो अनुहार । कताकता ठोक्कियो को नि ? हतार हतार चिसो दही एक ग्लास खाएपछि अत्थवा भए उनी।
बसभित्र सबै सजिलो गरी अट्ने अवस्था थिएन । सुरुदेखि नै केही छतमै थिए । चिसो हावाले सेक्थ्यो उनीहरूलाई साँझ बिहानको समयमा । आच्छुछु भन्दै डल्लो पर्थे होलान् सायद । घामको चर्को तेजले पोल्दा आत्थाथा भन्दै पसिना पुछ्थे होलान् । जोडले आएको बतासको झोक्काले उडाउनै खोज्दा सायद भएभरको बल लगाएर समात्थे होलान् छतको बार र डन्डीहरूलाई । रातिचाहिँ खाँदखुँद भएर बसभित्रै अटाएका थियौँ सबै । बिसौनीहरूमा उत्रँदा भित्र बस्नेभन्दा थकित देखिन्थे, धुस्रेफुस्रे देखिन्थे तर हौसला र दृढता कम थिएन पटक्कै । अझ ओजस्वी लाग्थे, अझ तेजस्वी लाग्थे, अझ चहकिला लाग्थे ।
छतमै थिए नवेन्दु ढकाल पनि । उनलाई प्राथमिक उपचारको जिम्मा थियो । हामी साना डाक्टर बाबु भनेर जिस्क्याउँथ्यौँ । सकसपूर्ण छतको यात्राबाट ओर्लदै सोध्थे सबैलाई, “सन्चै त हुनुहुन्छ ? केही भए भन्नुहोस् है ।”
आरामले सिटमा बसेर यात्रा गरिरहेका हामीलाई अलिअलि लाज लाग्थ्यो । उनका हातमा सिटामोल, एमजिट, डाइजिनका पत्ताहरू हुन्थे । फेरि छततिरै चढ्थे हाम्रा साना डाक्टर।
जङ्गलभित्र बसेको सानो बस्ती अगाडि आएर रोकियो हाम्रो बस । चौमाला रहेछ त्यसको नाम । चर्को घामले बाफ उडिरहेजस्तै थियो । शीतल खोज्दै रुखहरूको फेदफेदमा हामी पुग्यौं । स्थानीयहरूसँग रूपनारायण श्रेष्ठ मजाले गफिन थाले चिनजानका आफन्तहरूसँग जस्तै । हामी छक्क परयौँ एकछिन त !
दाजुभाउजूको गाउँ पो रहेछ त्यो त रूपनारायणको।
गाविस अध्यक्ष पदम सिङाल, जीवन्ती पौडेल, विष्णु श्रेष्ठ, कृष्णकुमार श्रेष्ठ, मनदेवी श्रेष्ठसँग परिचय भयो । रूपनारायणकै दाइभाउजूका घरमा खाना खाने बन्दोबस्त हुँदै थियो । कृष्णकुमार श्रेष्ठ र मनदेवी श्रेष्ठ पाँचथरबाट बसाइँ सरेर यहाँ आउनुभएको रहेछ । अहा ! खुसी लाग्यो मलाई । आफ्नै गाउँघरका साथीभाइ भेटेझैँ । काठमाडौँ भुरुङखेलका भीम श्रेष्ठको सानोतिनो जागिर यतै रहेछ, नेपाल रोजिन एन्ड टर्पेन्टाइनमा । राजनीतिक प्रतिशोधकै कारण उहाँलाई भर्खरै डोटीको फल्टुडे र श्रीमतीलाई बझाङ सरुवा गरिएछ । छोराछोरी अब कता लाने भनेर ठुलो तनावमा हुनुहुँदो रहेछ उहाँहरू ।
विष्णु भाउजू, जीवन्ती र थुप्रै स्थानीय मानिसहरू हाम्रा लागि खाना बनाउन व्यस्त हुनुहुन्थ्यो । हाम्रो टोलीका केही युवाहरू सघाउन गए तर मान्नुभएन भाउजूहरू ।
“थाकेर आउनुभएको छ । तपाईंहरू त पाहुना हो हाम्रो ।”
यसै भनेर फर्काइदिनुभयो सघाउन गएका सबैलाई ।
खोलातिर नुहाउन गए धेरैजना । मैले चाहिँ हातेकल थिचेर त्यही नुहाएँ । खोलामा पानी सुकिसकेको रहेछ । सबै फर्किएर आए हातेकलमै ।
खाना खानु अगाडि भीमजीसँग नजिकैको होटलमा गएर खाएको दहीको स्वाद जिब्रोमै भुन्डिरह्यो।
“अहा ! कति मिठो !”
खाना खान थाल्नेबित्तिकै ठुलो स्वरमा बोले शैलेन्द्र घिमिरे । वास्तवमा धेरै मिठो थियो विष्णु भाउजू र स्थानीय दाजुभाइ, दिदीबहिनीहरूले पकाएको खाना । हार्दिकताको वास्ना मगमगाइरहेको थियो खानामा । मोहन चापागाईंले असाध्यै मिठो मान्दै मजाले थपीथपी खाए।
तिलक दाइ खेतमा जानुभएको रहेछ । हामीले खाना खाइसक्दा पनि आइपुग्नु भएन । चौमालाबासीलाई सलाम गर्दै योगेश भट्टराई र सुस्मिता ढकालले स्पष्ट पारे यात्राको उद्देश्य। हामी सबैले ग्रहण ग¥यौँ शुभकामना आत्मीय चौमालाबासीहरूको।
उर्मा गाविसमा बेहडबाबाको ठुलो मेला हिजोसम्म लागेर सकिएछ । थारू जातिको बसोबास भएको ठाउँमा यो मेला भने सबै जातिको साझा मेला भएको रहेछ ।
एकदिन अगाडि आउन पाएको भए त बेहडबाबाको मेलामा गज्जबले रमाइन्थ्यो नि । के गर्नु एकदिन ढिला भै हाल्यो । मनैले सम्झेर मनमै राखेँ बेहडबाबाको मेलालाई।
अत्तरिया पुग्दा घडीमा सवा दुई बज्यो दिउँसोको । चौमालाबाट केही स्थानीयहरू हाम्रो गाडीमा थपिएका थिए । भिडले गर्मी बढाएको थियो । अत्तरिया पुग्नेबित्तिकै गाडीबाट उत्रँदा केही सहज भइहाल्यो । मालाखेती गाविसको सानो बजार उत्तरिया । गोविन्द कलौनी, सरोज पोखरेल, धर्म पाठकलगायतका धेरैजना हामीलाई पर्खिरहनुभएको रहेछ । स्थानीय बासिन्दा र विद्यार्थीहरूको ठुलो जमात पनि सँगै थियो । ताली र देशभक्तिका नाराले गुन्जियो उत्तरिया एकपटक हामी पुग्नेबित्तिकै । “नेतालाई भाषण– जनतालाई रासन, केटालाई केटी–पण्डितलाई भेटी । हामी दुःखीलाई चाहिँ के नि ?”
एक जना राडीपाखी व्यापारीले भने । उता सन्देश सभा भइरहेको थियो । यता दीपक पाण्डे गफ गर्दै थिए ती राडी व्यापारीसँग । उनको घर जुम्ला रहेछ । दीपकले जुम्लाको खबर सोध्दा उनले दिएको जवाफ थियो यो । उनी कुरा गरिरहँदा पनि भेडाको ऊनको धागो कातिरहेका थिए ।। देवीचन्द्र कोइराला रहेछन् उनी ।
अत्तरियामा काँक्राका लामा लामा चानाहरू खायौँ । आइरहला टाढासम्म काँक्राका मिठा चानाहरूको याद।
(नियात्राकार नन्दु उप्रेतीका ‘कालापानी यात्रा’ नियात्रा संग्रहबाट !)
प्रकाशित: २३ वैशाख २०७८ ०३:२६ बिहीबार