अनुग्रह राना मगर (पुष्प)
देशभर चुनावको लहर छाएको थियो । यसको असर गाउँगाउँमा पनि परेको थियो । वल्लो घर, पल्लो घर, यो पाटी , त्यो पाटी भनेर उचाल्ने होच्याउने काम हुन थाल्यो। सधैँ हरखेताला आलोपालो , ऐंचोपैंचो त्यो पनि बन्द हुन थाल्यो । आखिर मार्ने बाजी अर्कैले , कुर्सीमा बसेर महलको घाम ताप्ने अर्कै ... खुट्टा तानी र हानी हेर यो छिमेकी दुई घर कस्तो जमाना आयो वाइ...। ठुलो पिपलुको छहारीको चौतारीमा थकाइ मार्न बस्ने सोच बनाउँदै, खेतीपाती गरी जीविकोपार्जन गर्ने किसान दाइले त्यो गरुङगो भारी बिसाउँदै , टोपीले पसिना पुछ्दै चौतारीभन्दा मुनि तल पर्ने दुई घरको बखान गर्दै थियो ।
किसान दाइसँग म पनि थिएँ । किसान दाइको कुरा सुनेर मैले पनि होमा हो थपेँ । साँच्चै मनको मिल्दो कुरा थियो । यो हामी खेतीकिसानी गरी जीवन बिताउनेलाई।
गएको पाँच वर्षअघि पनि यस्तै चुनावको हावाहुरी चल्यो । कतिको त ज्यानै लियो । न त दाइले भाइ देखे, न त भाइले दाइ, न त छिमेकी देखे, न त मेलापातमा हुने सरसहयोग नै।
यो कस्तो चलन ‘काम गर्ने कालु मकै खाने भालु’ भनेझैं जनताको भोट पाएर कुर्सीमा नेता उपरर्खुट्टी लाएर बस्या छन् ,
यतातिर दाजुभाइ लड्या छन्, जुद्द्या छन् , मारकाट गरया छन् ।
–उनै जानून् । खोई हाम्लाई त थाहा पनि नहुन् दाइ भनेर मैले भने दाइले सुनिराख्नुभएको थियो।
हामीलाई आफ्नो घर पुग्न अझै एक बिसौनी थियो। समय झमक्क साँझ पर्न लाग्या थियो । कुरा कुरामा थकाइ मार्ने समय पनि सकिएछ।
मैले भने कुरा भनेको यस्तै हो दाइ कुरो र कुलो अनि यो देशको ठग्ने नेताको बोली जता लगे नि हुन्छ । अब यस्ता कुरा गरेर आफ्नो मन भारी बनाउनुभन्दा बरु चूपचाप लागि घर पुगेर आनन्दले विश्राम गर्नु नै राम्रो हो । दाइ जौँ अब मैले भने .. ।दाइले अलिक मेरो घुमाउरा कुरा नबुझेँ पनि उहाँको जवाफ भने भारी बोक्दै आधाकल्चो बुझाइमा आएको थियो –खोई ...।
प्रकाशित: ४ वैशाख २०७८ ०९:४७ शनिबार