– यम बास्तोला
लक्ष्मण घाँसदाउरा, मेलापात र गोठालो जाँदा सधैँ मुरली बजाउँदै हिँड्थ्यो।
पल्लो गाउँबाट आएको मुरलीको धुनले जब माझगाउँ टेक्थ्योे, हिराको हृदयको धड्कन उसै बढ्थ्यो । मुरलीको धुन सुन्नेबित्तिकै हिरा आफ्नो भागमा परेको काममा हिँड्न हतारिन्थिन् ।
घाँस काट्ने काम भए डोकोमा हतारहतार कचिया सिउरिन्थिन् र थाप्लोमा नाम्लो हालेर जंगलतिर लाग्थिन् । गोठालो जानुपर्ने भए गाईवस्तु फुकाउन हतारिन्थिन्।
हिरालाई लक्ष्मणले बजाएको मुरलीको धुनले यसरी तानेको लगभग पाँच वर्ष भइसकेको थियो । दिनहुँजसो उनीहरूको भेट हुन्थ्यो । उनीहरू सामान्य बोलचाल गर्थे । दुवै मुसुक्क मुस्काउँथे र आआफ्नो काममै व्यस्त हुन्थे ।
पाँच कक्षा पढ्दापढ्दै पढाइलाई बिट मार्न बाध्य हिरा धेरै पढ्न चाहन्थिन् । तर, दुर्भाग्य एघार वर्षको उमेरमा उनलाई ठूलो बज्रपात पर्यो। घाँस काट्न गएकी आमा भीरबाट लडेर मरेपछि उनको कलमको बिर्को सधैँलाई बन्द भयो।
सोह्र काटेर सत्र लाग्दै गर्दा एक दिन हिरा र लक्ष्मणको भेट भयो । लक्ष्मणले भन्यो–हिरा, आज म तिमीलाई एउटा गीतको धुन सुनाउँछु, त्यो कुन गीत हो चिन है ।
हिराले सहमतिमा मुन्टो हल्लाइन्।
लक्ष्मणले ‘तिरिरी मुरली बज्यो वनैमा... वनैमा लौ माया नमारे...’ धुनमा मुरली बजायो ।
सुन्दासुन्दै हिराका दुवै आँखाबाट टुप्लुक्क आँसु खसे । हिरा भने त्यहाँबाट अर्को दिशातिर लागिन् ।
लक्ष्मणले परसम्म हेरयो । हिरालाई जंगलले छलेपछि कर्कलाको पातमा खसेको आँसु भुईंमा झर्न नदिई पोको पारेर गोजीमा हाल्यो।
त्यस दिनपछि हिरा र लक्ष्मणको भेट भएन ।लगभग महिना दिनपछि लक्ष्मणलाई कसैले एउटा खाम दियो । खामको बाहिर ‘मुरलीको धुन’ लेखिएको थियो भने खामभित्र लेखिएको थियो–लक्ष्मण हामी अर्को जुनीमा एकै जात भएर जन्मौला है ।
प्रकाशित: ३१ चैत्र २०७७ ०५:११ मंगलबार