लक्ष्मी उप्रेती
रुपेश र मसँगै पढ्ने साथी । समयको गतिसँगै हामी साथीभन्दा माथि उठेर प्रेमिल जोडी भयौँ । पढाइ सकेपछि हाम्रो बिहे भयो र हामी एकअर्काका पुरक भयौँ । हाम्रो बिहे भएको निकै वर्षपछि अर्थात् आठ वर्षपछि छोरो जन्मियो । जीवन बाँच्ने न्यूनतम आवश्यकता पूरा गर्न हाम्रो जागीरबाट प्राप्त आम्दानी छंदै थियो । यस्तोमा हाम्रो आँगनमा फुलेको सुन्दर नवजात पूmललाई हेरेर हामी औधी रमाएका थियौं।
समय बग्दै गयो, आजभोलि भन्दै छोरो बढ्दै गयो । उसको हँसाइ, बोलाइ र हरेक कृयाकलाप देखेर हामी आनन्दित हुन्थ्यौँ । उमेरसँगैं उसको शरीरको लक्षणबारे हामीलाई हेक्का नै भएन । कहिलेकाहीँ कसैले उसको नाम सोध्दा मुस्कान भनेर मुस्कुराउँथ्यो ऊ ।
मुकेशको आठौं जन्म दिनको समयमा मेरी बहिनी र उनकी छोरी स्वेता केही दिन बस्न हाम्रामा आए । मुकेश र स्वेता एकै उमेरका दौतरी थिए । एकदिन त स्वेताको फ्रक र मेरो लिपिस्टिक, टिका लगाएर मुकेश लजाउँदै हाम्रो सामु आयो । एकछिनमा रेडियोमा बजिरहेको गीतको तालमा नाच्न थाल्यो । त्यसबेला उसको हाउभाउ देखेर हामी दङ्ङ परेर रमाएका थियौ।
बिस्तारै उसको शरीरको लक्षण बेग्लै प्रवृत्तिको भएको हामीलाई आभाष भयो । अनि अर्को भयानक रूपको कल्पना समेत नभएका हामीहरू साेंचमग्न हुन थाल्यौं । यो कस्तो समस्या हो ? किन यस्तो भैरहेछ, यसको कुनै जवाफ हामीसंग थिएन । उसको शरीरले जीवनका रंगहरू उमेरसँगै पृथक् देखाउँन थालेपछि हामीमा त्रासदी छायो । अन्ततः थाहा पाइयो हाम्रो सन्तान त फरक प्रकृतिको रहर र इच्छा राख्ने भएर जन्मिएको रहेछ । जब यो कुरा हामीले थाहा पायौँ तबदेखि हाम्रा मौनता पनि हामी बीचको बढ्दो तनावका अव्यक्त पीडाका साक्षी हुन थाले।
कहीँ लुकाएर राख्ने कुरो भएन, कसैलाई भन्दा सिर उठाउने कुरो थिएन । कोसंग सल्लाह लिने र ? मनले खाएका आफन्तहरूसंग सल्लाह लिंदा उनीहरूले उडाउनुसम्म उडाए । त्यसपछि यो विषयमा हामीले कसैसामु कुरा गर्ने आँट गर्न सकेनौ । समयको चक्रव्यूहमा जकडिएका हाम्रा सारा खुसीहरू समयले नै खोसेको थियो । नियतिले हामीलाई नराम्ररी झापड हानेकाले हामी मनभित्रभित्रै रुँदै जीवनको पैञा चलाउन बाध्य थियौँ ।
हाम्रो छोरो मुकेश केटाकै पोशाक लगाएर स्कुल गए तापनि केटीहरूसँगकै हिमचिममा रमाउने हल्ला बिस्तारै व्यापक भयो । केटीहरूले केही नभने पनि केटा साथीहरूले उसलाई जिस्क्याएर, अपशब्द भनेर नराम्रो व्यवहार गर्न थाले । उसको हिँडाइ, बोलाइलाई लिएर उसका साथीहरूले अत्यन्त निम्नस्तरको आक्षेप लगाएर हेय दृष्टिले हेर्न थाले । आफ्नै साथीहरूबाट यस्तो कटुता सहनुपरेकाले ऊ स्कुल जान चाहँदैनथ्यो । हाम्रै करकापले मात्र जान बाध्य ऊ हरक्षण आफ्नै जीवनदेखि हत्तासिन्थ्यो । आफ्नै सन्तानको शारीरिक अवस्थामा हामीमा हिनताबोधले दुख्नु नै हाम्रो नियति थियो । तर, हामीलाई थाहा थियो, यो अभिशाप हैन, पाप हैन, यो हाम्रो रहर पनि थिएन । यो त प्रकृतिले गरेको एउटा पीडादायी ठट्टा थियो ।
समय बित्दै गयो । उसले जेनतेन १० कक्षाको परीक्षा सक्यो । प्रत्येक व्यक्तिले मन दुख्ने गरी गर्ने टीकाटिप्पणीबाट आजित भएर हाम्रो मुकेश घरबाट बाहिर निस्किएर अरू सरह उमङ्गका पखेटा फिँजाउन सक्दैनथ्यो । त्यसैले घरकै एउटा कुनामा भएको एउटा कम्प्युटर उसको संसार थियो । त्यही कम्प्युटरमा नेट चलाउनु, च्याट गर्नु र विभिन्न कार्यक्रम हेरेर अरूको रंगीन जीवनमा थकथकाउनु उसको दिनचर्या जस्तै भयो ।
मुकेश सम्झिएर हरपल हाम्रो मनै पोल्थ्यो । उसलाई कहीँ लिएर जान पनि सक्दैनथ्यौं । फुर्सत निकालेर उसको मन बहलाउन रुपेश उसलाई मनपर्ने गीत गाउँथे भने म उसलाई मनपर्ने परिकार बनाएर उसको अगाडि राखिदिन्थे । ऊ जुन रूपमा भए पनि, हामीलाई आफ्ना सन्तानको खुशी प्यारो थियो, उसको मीठो मुस्कुराहट प्यारो थियो।
यस्तैमा एकदिन मुकेशले नेट चलाउदै गर्दा केही जानकारीमूलक सूचनाहरू भेट्टाएछ । आफ्नो अवस्थालाई उपचार गरेमा सोचेजस्तो जीवन बाँच्न सकिने जानकारी पाएपछि उसले हामीलाई भन्यो ।” म हजुरहरुको छोरो भएर जन्मिए पनि मेरो मन, शरीर र रहरहरू छोरीको छ । तपाईहरूले मलाई बुझिदिनु होला । पैसाको इन्तिजाम भएपछि म हजुरहरुकी छोरी नै हुन्छु । पैसाका लागि केही उपाय निस्कला । मेरो यो शरीरको अधिकार हो ।तपाईहरूले पनि स्विकारिदिनु होला । म छोरी हुनचाहन्छु ।”
छोराको कुरा सुनेर एकछिन त हाम्रो मनमा आँधीबेरी नै आयो । बिस्तारै छोरो वा छोरी जे होस् पूर्ण सन्तानको परिकल्पनामा आशाको संचार भयो । उपचारका लागि मोटै रकमको व्यवस्था गर्नुपर्ने । पढाइलाई निरन्तरता दिँदै रकमको इन्तिजामका लागि विदेश जाने मनसाय राखो उसले । हाम्रो मानसबाट ढलेको विशाल महल ठड्याउनु थियो । हामी छोराको योजनातर्पm नै घोरिन थाल्यौं । यसैबीच उसको परीक्षाफल प्रकाशित भयो । नतिजा राम्रो नै भयो । अब सन्तानको जीवनका सपना साकार गराउन हामी जे गर्न पनि तयार थियौं भने जाबो हाम्रो संचयकोष र सम्पत्ति कुन ठूलो कुरा थियो र ? संचयकोष र अन्य स्रोत जुटाएर भिसाका लागि सबै प्रकृया पूरा गरियो । त्यसपछि मुकेशले स्टुडेन्ट भिसा पायो र अमेरिका गयो ।
समयसँगै हरेक कुराहरू परिवर्तन भए । तर, हाम्रो जीवनका रङहरूसंगै मुकेशको मुस्कान बन्ने प्रतीक्षाको कठोर घडी सकिएको थिएन । हाम्रो छोरा भएर जन्मिएको मुकेश अब छोरी हुँदैछे भन्ने सम्झेर प्राय मेरो मनमा मधुर संगीत बजिरहन्थ्यो । तर, त्यो दिन कहिले आउला भनेर उद्वेलित हुन्थे म ।
............ ........... ...........
बिहान ५ बजे नै टेलिफोनको घण्टी बज्यो । घण्टीको ध्वनिले मेरा मांसपेसीहरू अनायासै झङ्कृत भए । मुकेशको बोली सुन्नासाथ मनमा मातृत्व र वात्सल्यको मूल फुट्यो । सुतिरहनुभएका श्रीमान् जुरुक्क उठेर चूपचाप मेरो छेउमा आउनुभयो ।” मामु, के छ खबर, आरामै हुनुहुन्छ । अहिले म बैंककमा छु ।” मुकेशको कुरा सुनेर अचानक हामी रनभुल्लमा प¥यौँ ।
“नानी, बैंकक कहिले, किन आइस् ?” मैले हडबढाउदै प्रश्न गरे।
“मेरो उपचारका लागि हिजो आएको मामु ।”
उसको उपचारको कुरा सुनेर हामी दुवै जना आत्तियौं । हडबडाउदै मैले प्रश्न गरेँ —“अनि बाबु केको उपचारका लागि बैंकक आएको ?”
“हजुरहरूको मुस्कान हुन नि । अपरेशन छ दिनपछि छ।
मेरो मिहिनेत र लगनशीलताका साथ पढाइसंगै आर्थिक आर्जन पनि राम्रै भयो । उपचारलाई मसंग भएको रकमले नपुग्ला जस्तो छ । हजुरहरूले पनि केही रकमको व्यवस्था गरिदिनु होला । म एक्लै छु, अपरेसनअघि मामु हजुर चै बैंकक आउनु है ।” — उसले कंपित स्वरमा भन्यो ।
“ अनि हामीलाई किन थाह नदिएको त । एक्लै कसरी आयौ ।” बोल्दाबोल्दै मेरो गला अवरुद्ध भयो ।
“ हजुरहरूले केही पिर मान्नु पर्दैन । अमेरिकाका डाक्टरहरूकै सल्लाहले बैंककमा उपचार राम्रो हुन्छ भन्ने थाहा भयो । त्यसैले अपरेसनका लागि डेट निश्चित गरे । अपरेसनपछि केही दिन घरमै आएर आराम गर्छु हुन्न । अब हजुर चै आउनु न तीनचार दिनमा । पैसा त बिस्तारै बुबाले खोजेर पठाइदिनुहुन्छ नि । अहिले नै चाहिने पनि त होइन । बाँकी कुरा पछि गरौला अहिलेलाई विदा ।” आफ्ना कुरा एकसुरले भनेर मुकेशले फोन अफ ग¥यो ।
मेरो मनमा आँधीबेरी आयो । खुसी, पीडा खै के हो असजिलो जस्तो, मुटुमा गाँठो परे जस्तो, गला अवरुद्ध भए जस्तो अनुभव भैरह्योे। तर, हामी लोग्नेस्वास्नीले मनमा उठिरहेको ज्वारभाटालाई एकापसमा व्यक्त गर्न सकिरहेका थिएनौं । के बोल्ने, के नबोल्ने, असहज परिस्थितिलाई अनुभूत गरेर हामीले एकअर्कालाई हेर्न पनि सकिरहेका थिएनौं।
मेरो मन एकतमासले उद्धेलित भइरहेको छ । कतिबेला मुकेशलाई भेटौं भनेर छटपटिएकी छु । मेरो स्थिति र छोराको मायाले आजै गएर श्रीमान्ले पर्सिकै टिकट काटेर ल्याउनुभएछ । अनि टिकट मलाई दिँदै भन्नुभयो–तिमी पर्सि नै गइहाल । छोरो एक्लै छ । म केही पैसाको जोकाड गरेर जतिसक्दो छिटै पठाउँछु ।”
क्षणप्रतिक्षणको प्रतिक्षापछि बैंकक उड्ने दिन आज । समयमा हामी एयरपोट आइपुगेका छौं । समयसंगै धावनमार्गमा जहाज गन्तव्यका लागि उडने र बस्ने क्रम चलिरहेको छ । समय भएपछि रुपेशबाट छुटेर आफ्नो गन्तव्यका लागि जाहाजमा चढें । जहाजको गतिसंगै मेरो मुटुको धड्कन बढेको छ । मुकेशसँग फोनमा भएको कुरा सम्झेर मन मात्रै हैन सम्पूर्ण शरीर नै पानीपानी भएको छ । ऊसँग भेट्ने तीव्र इच्छाले म आतुर छु । यो आतुरता, यो व्यग्रता छिनछिनमा बिलाउँदै उब्जदै जान्छ । छिनछिनमा मन मस्तिष्कमा छताछुल्ल विगत बग्छ सलल।
म द्विविधामै थिएँ र मैले विश्वास गर्नै सकिरहेकी थिइनँ, हाम्रो मुकेश अब मुस्कानको रूपमा परिवर्तन हुनेछ । यथार्थको के कुरा, कल्पना समेत पनि गर्न नसकिने कुरा । अबको उसको जीवनयात्रा कहाँ र कुन रूपमा सुरु हुने हो ? मुकेशबाट मुस्कानमा रूपान्तरित जीवन बंाँच्न उसलाई कति सजिलो, कति गाह्रो होला ? विगतमा मुकेशले भोग्नुपरेको पीडा, सहनुपरेको चोट, व्यंग्य र लाञ्छना हरे । उसको विगत सम्झंदा पनि कहालीलाग्दो थियो । उफ ! कति पीडादायी थियो । बिनाकारण अरूबाट प्रताडित हुनुपर्दाको पीडा के शब्दमा व्यक्त गर्न सकिन्छ र ? तर, म त आमा हुँ नि । सन्तानले नभने नि उसको पीडा बुझ्न आमालाई गाह्रो हुँदैन नै । त्यो अँध्यारो विगत काँँडा बनी रोपिएको छ मेरो मानसमा । बिर्सनै नसकिने ती क्षण पीडाको खोली बनेर बग्छन् मेरो मनमुटुलाई दरफ¥याउँदै । वर्तमानको सन्त्राससँगै बढ्दो खुसीले हो वा विगतको आहतले दुखेर हो मेरा आँखा भरिंदै सुलुलु बग्न थालेछन् थाहै नपाई । गालामा आँसु बगेर झल्याँस्स भए । त्यसैबेला म चढेको जहाज अवतरण हुनथालेको रहेछ । जहाज रोकिरएपछि यात्रुहरू आआफ्नो लगेज समाउदै अधि बढें । नेपालबाट आउने जहाज कुरेर बसेको छोरोको प्रतिक्षाको घडी अन्त भएको थियो । आफूसंग आएका यात्रुहरूलाई पछ्याउँदै इमिग्रेसनको प्रकृया पूरा गरेर लगेज लिँदै बाहिरिएँ । छोरालाई भेट्ने आतुरताले चारैतिर हेर्दै म अगाडि बढिरहे । त्यसैबेला” मामु” भनेर मुकेशले अङ्कमाल गर्दा म झस्किएर तरङ्गित बनेछु । केहीबेरसम्म ऊसकै अंगालोमा कसिएर हराइरहे । त्यसपछि उसले आफ्नो बासस्थानतिर मलाई लिएर गयो।
समयपङ्खी वेगले बगेझैँ लागे पनि आफ्नै गतिमा हिँडिरह्यो । आज मुकेशको अपरेसन गर्ने दिन । उसलाई अस्पतालकै पद्वतिअनुसार अपरेसनका लागि स्वास्थ्यकर्मीहरूले भित्र लिएर गए । त्यसपछि मेरो मन आन्दोलित भइरहेको छ । निकैबेर भइसक्यो छोराको केही खबरखाबर छैन । दिन लम्बिएको आभासमा बेहाल भएकी छु ।
निकै समयपछि एकतमासले मन चस्किरहेको बेला” ल बधाई छ अपरेसन सफल भयो । आउनुहोस् हल्ला नगरी, हेर्न सक्नुहुन्छ ।” मेरो अगाडि आएर कसैले भन्यो । म आतुरताकासाथ उनको पछिपछि लागे । मुकेशलाई नभेटुञ्जेल मुकेशलाई छोरीको रूपमा अनुदित गरेर आकार बनाइरहेकी थिए । उसको छेउमा पुगेपछि लडबडाउँदो आवाज निकालेर” मामु म हजुरहरूकी मुस्कान भएकोमा खुसी छु । बाबालाई पनि मुस्कान ठिक छ भन्दिनु” भनी । अनि उसका निदारमा सुमसुम्याए । उसको स्पर्श पाएर स्नेहसिक्त मेरा आँखा बर्सिन थाले । बाहिर निस्किएर मैले तुरन्त रुपेशलाई फोन गरेर भने– अपरेसनन सफल भयो । हामीलाई बधाई छ ।”
– ए उसो भए हाम्री छोरी मुस्कान अब घर फर्किने भइन त ?
“ हो, हाम्रो जीवनको स्मित सर्ग नै हाम्री छोरी मुस्कान हो । छोरीलाई लिएर अब म छिट्टै घर आउछु नि ।”
प्रकाशित: ३१ चैत्र २०७७ ०३:१५ मंगलबार