सरस्वती श्रेष्ठ 'सरू'
आकाशमा बादलको थुँगा हेर साथी,
कपासझैँ सेतोसेतो डुल्छ माथिमाथि।
चारैतिर पोतिएको चाँदीजस्तो घेरो,
डुल्न पाए मजा हुन्थ्यो समातेर फेरो।
बस्छ कैले हिमालको शीरमाथि गुथी,
थाहा हुन्न कतिबेला जान्छ आफैं उठी।
खुरुखुरु हिँडिरन्छ देखिँदैन खुट्टा,
हेर्दाहेर्दै बन्छ फेरि थरीथरी बुट्टा।
देख्छु कैले बाघजस्तो कैले घोडाजस्तो,
कैले देख्छु ढल्की हिँड्ने हाँसको जोडाजस्तो।
नाङ्लाभरि सुकाएको मस्यौराको दाना,
छरिएझैँ लाग्छ कैले उस्तै सानासाना ।
रुप फेरिफेरि डुल्ने बादलको बानी,
कालोनिलो हुँदै फेरि झारिदिन्छ पानी।
प्रकाशित: ३१ चैत्र २०७७ ०१:३९ मंगलबार