“हामी केही दिनका लागि कतै गएर आउँ है ।“ श्रीमतीले भन्न थालेको निकै भएको थियो । घरमा वृद्ध भैसकेका बाबुआमालाई छाडेर गैहाल्न मेरो मन मानिरहेको थिएन।
“शारदा यो पटक आउँदा दुईचार दिन बस्ने गरेर आऊ है ।“ भाइ बुहारीलाई श्रीमतीले फोनमा भनेको मैले सुनेको थिएँ । उताबाट आएको उत्तरपछि श्रीमतीको अनुहारमा मुस्कान छाएको थियो।
‘सब व्यवस्था मैले मिलाइसकें जसरी पनि एकहप्ता जाने हो । पछि नाइँनास्ती गर्न पाइँदैन ।’ श्रीमतीले भनिन् ।
हुन पनि हो बिहेपछि खासै घर छाडेर घुम्न गइएको थिएन।
शारदा र भाइ आएको भोलिपल्ट हामी निस्कियौं । कता जाने ? म अन्योलमै थिएँ तर एक किसिमले श्रीमतीले सबै व्यवस्था मिलाइसकेको भनेकाले मनमनै ढुक्क पनि थिएँ।
‘हामी एकहप्ता यहीँ बस्ने । यो घर, कम्पाउण्डबाट बाहिर पनि ननिस्कने’ घरभन्दा दश मिनटको दूरीमा रहेको एकजना श्रीमतीकै साथीको घरतिर देखाउँदै उनले भनिन् – त्यत्ति कुरा मिल्ने साथी त ऊ थिइन, मलाई थाहा थियो ।
‘घुम्न जाने भनेको हैन र ? यहाँ बस्नुभन्दा त वृद्ध भैसकेका बाबुआमासँगै बस्नु ठीक थियो नि । यो त जेलै भएन र ?’ उनको साथीको घरभित्र छिर्दै र छक्क पर्दै मैले सोधें।
उनको साथी नगिचै भएकाले उनले गुनगुन गर्दै केही भनिन् । मैले बुझिन, पछि मैले सोधिन।
एकहप्ताको गुप्तवास जस्तो बसाइपछि हामी फर्कियौं । हामीलाई देखेर बुबाआमाको अनुहार मुस्कानले चम्कियो – मँ यही त देख्न चाहन्थें। श्रीमतीले मेरा कानमा खुसुक्क भनिन्।
मैले बल्ल श्रीमतीले त्यत्तिबेला गुनगुन गरेको बुझ्दै थिएँ –शारदा र देवर बाबु शहरबाट हप्तादश दिन बिराएर घरमा आउँदा बुबाआमाको अनुहारमा कस्तो मुस्कान आउँछ । हामीलाई दिनदिनै देखेर त होला उहाँहरूको अनुहारमा मुस्कान नआएको! मँ पनि उहाँहरूको अनुहारमा मुस्कान देख्न चाहन्छु । चाहे यो बसाइ जस्तोसुकै कठिन किन नहोस् ।
प्रकाशित: २० चैत्र २०७७ ०९:०८ शुक्रबार