२६ आश्विन २०८१ शनिबार
image/svg+xml
कला

हामी यहाँ सधैं महामारीको डरमा छौं

गजल

                     १

हामी यहाँ सधैं महामारीको डरमा छौं  

मस्त निदाएको सरकारको भरमा छौँ ।

 

सरकार कर असुल गर्ने कुरा मात्र गर्छ,  

बेरोजगार हामी चुकुलबन्द घरमा छौं ।

 

सपना भए स्विट्जरल्याण्ड र सिङ्गापुरहरू ,  

खै कहिले पुरा हुने हामी अझै रहरमा छौँ ।

 

सुनिदैन आजकल समृद्धिका समाचारहरू ,

हामी यहाँ सधैं त्रसित र भ्रमित खबरमा छौं।

 

ओहो ! कस्तो हतार जिन्दगीको दौड यो ,

महामारी छ हामी भर्चुअल सफरमा छौं।

 

                २

विकास बजेट जति सबै उसैले पचाँउछ,

भ्रष्टहरूले यो देशलाई कसरी बनाउँछ?

 

महामारी र प्रकोपले निमुखालाई मार्छ ,

सरकार पनि गरीबहरूकै घाँटी दबाउँछ।

 

इमानदारहरूको त घर पनि सपना हुन्छ,  

चाकरी–चाप्लुसी गर्नेले दुनियाँ सजाउँछ।

 

ऊ कहिल्यै जनताको मनमा बस्न सकेन,  

सुरक्षा उसैलाई चाहिन्छ ऊ सधैं डराउँछ।

 

पहुँचमा हुनेहरू साँढे गोरु भएर डुल्छ्न्,

कमजोर र सानालाई कानुनले समाउँछ।

 

जालझेल गरेर कसरी थुपार्छ ऊ सम्पत्ति,  

घरभन्दा अग्लो उसले पर्खाल लगाउँछ।

                ३

खुसी केही पाउनेलाई हुन्छ,  

पीडा खुसी गुमाउनेलाई हुन्छ।

 

जस जति जम्मै बैगुनीले पाँउछ,

अपजस गुन लगाउनेलाई हुन्छ।

 

सहानुभूति दिन कति सजिलो छ,  

महसुस भोगेर आउनेलाई हुन्छ।

 

नजरबाट हराउँछ जो ओझेल पर्छ,  

याद यो दिलमा सजाउनेलाई हुन्छ।

 

गल्ती गर्नेहरू बोलेर नै उम्किन्छन्,

समस्या जो सधैं डराउनेलाई हुन्छ।

                     ४

हिजोअस्तिको जस्तो यो रहर रहेन,

आफ्नै जिन्दगीसँग कुनै लहर रहेन।

 

गाउँबाट खुसी खोज्दै झरेको म,

मेरो पीडा बुझ्ने अब यो शहर रहेन।

 

आदत बनिसकेछ सधैं आँसु पिउने,

पिउँदापिउँदा जहर पनि जहर रहेन।

 

उसले छोडेपछि निदले पनि छोडिगयो ,

मस्त निदाएको मेरो कुनै प्रहर रहेन।

 

दुनियाँ यो आँखामा राखेर हिँडेको म  

साथ दिनेहरु कहाँ पुगे अब ठहर रहेन।

                 ५

सत्तामा पुगेपछि ऊ आसमानमा छ,

भुइँमा खुट्टा छैन हेर्नुस् मचानमा छ।

 

सधैं बाडिरहन्छ आश्वासन र सपनाहरू,  

अचेल ऊ आफ्नै रहरको उडानमा छ।

 

देश दुखिरहेछ जनताहरू आक्रान्त छन् ,

ऊ सधैं शासन सत्ताको बखानमा छ।

 

चक्र व्यूहमा पर्दै छ मेरो देशको स्वाभिमान,  

अस्मिता यो दुशासनको निशानमा छ।

 

सार्वभौम छौं हामी चन्द्रसूर्य समान,

नझुक्ने सगरमाथा हाम्रो सिरानमा छ।

प्रकाशित: १९ चैत्र २०७७ ०६:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App