हरिप्रसाद भण्डारी
बुबाआमाको कुरा सुनेर म बिउँझिएँ । बहिनी अझै उठेकी थिइन । बुबाले आमासँग ‘आज सपरिवार गिद्ध रेस्टुरेन्टमा जाने’ कुरा गरिरहनुभएको थियो ।
उज्यालो भइसकेको थियो । छेउछाउका रूखमा बसेका चराचुरुङ्गीहरू बिउँझिएर चिरबिराइरहेका थिए । साहै्र रमाइलो थियो बिहानको वातावरण ।
हामी गिद्ध जातिका चरा हौँ । ठूलो रूखको टुप्पोमा हाम्रो गुँड छ । गुँडबाट टाढाटाढासम्म देखिन्छ । परिवारमा बा, आमा, बहिनी र म छौँ । बहिनी र म सानै छौँ, त्यसैले हाम्रो सबै हेरविचार बाआमाले गरिरहनुभएको छ ।
सधैँ यस बेला बाआमा बाहिर जानुहुन्थ्यो र एकैछिनपछि चारो लिएर आउनुहुन्थ्यो । हामी रमाईरमाई चारो खान्थ्यौं र दिनभरि आनन्दले बस्थ्यौं ।
हाम्रा प्वाँख पनि नजिकनजिक उड्न सक्ने गरी उम्रिसकेका छन् । दिनमा एक–दुईचोटि उडेर ओल्लोपल्लो रूखमा पनि जान्छौँ । त्यसरी उड्दा साह्रै रमाइलो लाग्छ ।
आज बुबाले हामीलाई पनि बाहिर लैजाने कुरा गरेको सुनेर खुसी लाग्यो । तर यो रेस्टुरेन्ट भनेको के हो ? मलाई केही थाहा भएन । बुबासँग सोध्नै लागेको थिएँ । आमाले नै सोध्नुभयो—हामी गिद्धहरूका लागि रेस्टुरेन्ट खुलेका छन् । त्यहाँ पेटभरि खान पाइन्छ । यो गिद्ध रेस्टुरेन्ट हाम्रा लागि मान्छेले खोलिदिएका हुन् ।
आमाले फेरि जिज्ञासा राख्नुभयो— तर, उनीहरूले हाम्रा लागि किन खोलिदिएका ? मैले त कुरै बुझिनँ !
–पहिलेपहिले मान्छेहरू हाम्रो वास्ता गर्दैनथे । फोहोरी चरा भनेर घृणा गर्थे । सके मार्थे पनि । तर, अहिले मानिसहरू हामीलाई माया गर्न थालेका छन् । हामीलाई मार्नु हुुन्न, बरु हाम्रो सङ्ख्या बढाउनुपर्छ भन्न थालेका छन् ।
बुबा भन्दै जानुभयो— सिमललगायतका ठूला रूख नकाट्नू भनेर सरकारले पनि कडाइ गरेको छ । ठूला रूख काटियो भने हामीले गुँड बनाउन पाउँदैनौँ भन्ने चिन्ता छ मानिसहरूलाई । ‘हामीले खाने आहारा राम्रो भएन, विषादी खाएर मरेका पशुको सिनो खाएर बिरामी परयौं, अकालमा मरयौँ’ भनेर हाम्रो सुरक्षा र संरक्षणका लागि मानिसहरूले नै ठाउँठाउँमा गिद्ध रेस्टुरेन्ट खोलिदिएका हुन् ।”
– कस्तो हुन्छ बुबा त्यो रेस्टुरेन्ट ? अलि बुझिने गरी भन्नोस् न । मलाई त खसखस लाग्यो । मैले मनको कुरा खोलेर सोधेँ । मेरो कुरामा आमाले पनि समर्थन जनाउनुभयो ।
–एकान्त जङ्गलमा मरेका वा कहिलेकाहीँ बूढा पशुहरूलाई मारेर पनि राखिदिन्छन् । त्यहाँ राखिएको मासु खाँदा कुनै खतरा हुँदैन । जति खाए पनि हुन्छ । हो, त्यही ठाउँलाई गिद्ध रेस्टुरेन्ट भनिन्छ । अब त बुझ्यौ ?
बुबाका कुरा सुनेर आमाले भन्नुभयो— बुझ्न त बुझियो । तर, हामी गिद्ध बाँचे पनि मरे पनि के चासो हुन्छ र मानिसलाई ? पहिलेपहिले त बिनाकाम पनि गोली हानेर मार्थे, ढुङ्गा र गुलेलीले हानेर हैरान पार्थे । अहिले कहाँबाट त्यस्तो राम्रो बुद्धि आयो मानिसहरूमा ?
–हाम्रो मायाले होइन, आफ्नै कारणले । पहिलेपहिले मानिसहरूलाई वातावरणप्रति त्यति चासो थिएन । जे गरे पनि हुन्छ भन्ने थियो । मानिसको त्यस्तो व्यवहारले दिनदिनै वातावरण बिग्रँदै गयो । त्यसैले वातावरण संरक्षणका लागि पनि हामीलाई बचाउनु जरुरी छ ।
“त्यो कसरी नि ?” बुबाका कुरा सुनेर आमा छक्क पर्नुभयो ।
– हेर, हामी फोहोर, सडेगलेको सिनो खान्छौं । त्यसले गर्दा वातावरण फोहोर हुन पाउँदैन । हामी भएनौँ भने त्यस्तो सडेगलेको सिनो खाने जीव हुँदैन । वातावरणीय सन्तुलन बिग्रन्छ । मानिसहरू बिरामी पर्छन् । त्यसैले हामीलाई प्राकृतिक कुचीकार पनि भन्छन् नि । पहिले मानिसहरू सर्पलाई देख्नेबित्तिकै मारिहाल्थे । नबुझ्नेहरू त अहिले पनि मार्छन् । तर, अहिले सर्पलाई मार्न हुन्न भन्न थालेका छन् । सर्पले पनि दूषित हावा आफूले लिएर वातावरणलाई सफा बनाउँछन् रे !
“अचम्मको कुरा सुनाउनुभयो ! मलाई त केही थाहा थिएन । यस्तो नयाँ कुरा कसरी थाहा पाउनुभयो ?”
“यी कुरा साथीहरूले गफगर्दा थाहा पाएको हुँ मैले पनि । यसो जान्ने साथीभाइहरूसँग छलफल ग¥यो भने यस्ता कुरा थाहा पाइन्छ ।”
“हैन, कुरा मात्रै गरेर हुँदैन, नानीहरू भोकाइसके, जाऊँ हिँड अब ।” बुबाले प्रसङ्ग बदल्नुभयो ।
“यिनलाई पनि लैजाने र !”
“लैजानुपर्छ । अब यिनीहरूका प्वाँख पनि उम्रिसकेका छन् । उड्न पनि सिकाउनुपर्छ ।”
“उति टाढा उड्न त सक्लान् र ! सानै छन् ।” आमाले भन्नुभयो ।
“सक्छन्, त्यति टाढा छैन । नसके बीचमा आराम गर्दै जाउँला नि ।”
बुबाको कुरामा आमालाई पनि मन परयो । उहाँका कुरा मलाई पनि औधी रमाइलो लागिरहेका थिए ।
त्यतिबेलासम्म बहिनी पनि उठिसकेकी थिई । उसले पखेटा फटफटाई र आमातिर हेरेर ‘भोक लाग्यो’ भन्दै गनगन गर्न थाली ।
“भोक लाग्यो ? त्यसो भए जाऊँ हिँड रेस्टुरेन्टतिर ।” हाँस्दै आमाले भन्नुभयो ।
सुरुमा त उसले आमाको कुरा बुझिन । पछि कुरा बुझेर बहिनी पनि खुसी भई । त्यसपछि बुबा अघि लाग्नुभयो । बुबाका पछिपछि हामी पनि गिद्ध रेस्टुरेन्टतिर लाग्यौँ ।
त्यो दिन मलाई ज्यादै रमाइलो महसुस भइरहेको थियो ।
(चरीका रमाइला कथाबाट !)
प्रकाशित: १८ चैत्र २०७७ १२:०६ बुधबार