२६ आश्विन २०८१ शनिबार
image/svg+xml
कला

जीव वैज्ञानिक जादुगर

लघुकथा

सिंहलीला यात्रा गर्नु थियो उनलाई । उच्च पहाडी एवं निम्न हिमाली क्षेत्रका छेपारो , भ्यागुत्ता , पाहा प्रजातिका प्राणीहरूको अध्ययन गर्नु थियो अनि तयार गर्नु थियो अभिलेख। युरोपका विश्वविद्यालयहरूमा नमुनाहरू लगेर तिनीहरूका विविधताको अध्ययन सुरु गर्नु थियो ती जीवशास्त्रीलाई।

भर्खर मनसुन सकिएको थियो । तर बेमौसमे झरीले बिदा भएको मनसुनलाई गिज्याइरहेझैं लाग्थ्यो । फुङिलङ बजारको गाईजात्रामा बाक्लै मानिस भेला भएका थिए। गुरुङ्सेनी दिदीहरूका ऐतिहासिक नाचले झमझमे झरीलाई भुलाइरहेको थियो। अगेनुमा आगो ताप्दै तुङ्माका चुस्कीमा नाच हेर्दै मध्यरात बितेको थाहै भएन। बुरुङखिम जाने लिम्बू परिवारसंगै यात्रा गर्न थाले उनी । आफू विद्यावारिधिको क्रममा यस क्षेत्रका उभयचर र सरिसृप वर्गका जीवहरू खोजीको क्रममा आएको भन्ने तिनको कुरा संगै हिँड्ने रामकुमार लिम्बूले चाखपूर्वक सुनिरहेका थिए।

जीवशास्त्रीका आँखाहरू बाटोछेउका झाडीहरूतिरै लत्रिरहेका थिए। कहिले फुत्तफुत्त झाडीतिर पसेर पाहा, हिमाली सेती भ्यागुत्ता र खै सिंग उम्रेका जस्ता देखिने ससाना जीवजन्तु पक्डेर भिर्ने झोलामा हालिहाल्थे । कहिले चिप्लेर हिलोमा लड्थे, हिलाम्मे जीउ र अति साधारण देखिने ती व्यक्ति त्यत्रो पढेका मान्छे हुन् के जस्तो लाग्थ्यो रामकुमारलाई। तर पनि आफ्नो गाउँमा गएमा यस्ता जन्तुहरूको खोजीमा सहयोग गर्ने वचन दिएका थिए। जीवशास्त्री झाडीमा के पसेका थिए एउटा अनौठो जन्तु समातेर ल्याइहालेछन्। निकै सानो र हरियो त्यस जीवलाई उनी एक प्रकारको छेपारो भनिरहेका थिए।उनी भन्दै थिए यो ‘पोथ्रे छेपारो’ हो। यसको वैज्ञानिक नाम ‘ओरियोटिएरिस ट्राइक्यारिनेटा’ हो।  रामकुमार लिम्बू , उनकी श्रीमती र अरू दुईचार जना यात्रीले उक्त प्राणी छेपारो नभएको जिकिर गरे।  रामकुमार लिम्बुले आफू पचासौं पटक हिँडेको बाटामा यस्तो जीव कहिल्यै नदेखेको बताए।  यस्तो सानो र हरियो  प्राणी कहांबाट आयो? उनीहरूले जीवशास्त्रीलाई एउटा जादुगर हो भन्न थाले । लिम्बू भाषाका उनीहरूका कुराकानीलाई जीवशास्त्रीले बुझिरहेका थिए। तर यात्रीहरूले ती जीवशास्त्री किराती संस्कृति र सहायक भाषाभाषीका ज्ञाता पनि हुन भन्ने पत्ता पाएनन्।

‘ल म त भागें है । लल मलाई सक्ने रै छौ तिमीले’ भन्दै रामकुमार भाग्न थाले ।

‘तिमी जादुगर नै हौ इन्डियातिरका ठग’ रामकुमारको यस्तो भनाइले जीवशास्त्री छक्क परे। दिनभरिको यात्रामा सहभागी यात्रीका आंखामा प्रसिद्ध नेपाली हर्पेटोलोजिस्ट डा. कालुराम राई( के आर खम्बू) जादुगर बनिरहेका थिए।

(खम्बूको पुस्तक ‘मेरो अनुसन्धान यात्रा’मा आधारित)

प्रकाशित: १८ चैत्र २०७७ ०६:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App