६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
कला

सरकारले सत्यमोहन जोशीको नाममा विद्यालय खोल्ने

सरकारले संस्कृतिविद सत्यमोहन जोशीको नाममा विद्यालय स्थापना गर्ने भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको जिवित इतिहास बोकेका संस्कृतिविद जोशीको नाममा विद्यालय स्थापना गर्ने चहना व्यक्त गरेपछि सो सन्देश दिन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठ जोशी निवास पुगेका थिए।  

मन्त्री श्रेष्ठले संस्कृतिविद् जोशीको नाममा सामुदायीक विद्यालय खोल्ने तयारी थाल्न र उनले चाहेकै स्थानमा विद्यालय स्थापना गर्न सरकारले पहल थाल्ने बताएका थिए। ‘राष्ट्रपति ज्युले संस्कृतिविद जोशीको स्वाथ्य अवस्थाबारे जानकारी लिन र उहाँको नाममा विद्यालय स्थापना गर्न चाहना व्यक्त गरेपछि राष्ट्रपतिको शन्देश लिएर म नेपालका जिवित इतिहार बोकेका संस्कृविद जोशीको निवासमा आएको हुँ' जोशीको निवासका आयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले भने।

उनको नाममा खुल्ने विद्यालय नेपालकै नमुनाको हुनेछ, यस्ले उत्कृष्ट सामुदायीक विद्यालयको सूचीमा पर्नेछु मन्त्री श्रेष्ठको भनाइ थियो। ललितपुर महानगरपालिकाका मेयर चिरिवावु महर्जन र एमाले ललितपुर पार्टी अध्यक्ष हरीकृष्ण ब्यञ्जनकारसहित संस्कृतिविद् जोशी निवास पुगेका मन्त्री श्रेष्ठले उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए।  

'संस्कृतिविद् जोशीले मुलुकलाई दिनुपर्ने सबै कुरा दिइसकेका छन्। अब सरकारले उनको नाम अनन्तकालसम्म रहनेगरी विद्याकुञ्ज अर्थात् विद्यालय निर्माण गर्नेछ,' मन्त्री श्रेष्ठले भने। उनले प्रधानमन्त्री केपी शर्मा ओलीले समेत जोशीको स्वाथ्य अवस्थाबारे जानकारी लिन आग्रह गरेको बताए।  

आफ्नो निवास पुगेका मन्त्री श्रेष्ठसहितको टोलीलाई अभिवादन गरेर स्वागत गर्दै १ सय १ वर्ष पूरा गरेका संस्कृतिविद् जोशीले आफू स्वस्थ भएको प्रतिक्रिया दिएका थिए। राष्ट्रप्रमुख एवं राष्ट्रपति विद्यादेवी भण्डारी र सरकार प्रमुख एवं प्रधनमन्त्री केपी ओलीको सन्देश लिएर आफ्नो निवासमा आएकामा गौरब महशुस भएको प्रतिक्रिया दिँदै संस्कृतिविद् जोशीले भने, 'अहिलेसम्म मलाई सरकारले सबै सहयोग गरिसकेको छ, मेरो नाममा विद्यालय खोल्ने तयारी गर्नु समस्त संस्कृतिविद्, इतिहासविद् र साहित्यकारको सम्मान भएको महशुस गरेको छु।'

'मेरो विषयमा राष्ट्रपति ज्युले सोधनी गर्नु अत्यन्तै खुसीको विषय हो, शिक्षामन्त्रीलाई देखाउँदै देशकोे शिक्षामन्त्री समेत आएर मेरो स्वास्थ्य अवस्था बुझ्ने र मेरो नाममा विद्यालय खोल्ने घोषणा गर्नु महत्वपुर्ण विषय हो यस्ले गर्दा मलाई अति गौरब महशुस भएको छ' जोशीले भने।  

'सरकारसंग मेरो कुनै गुनासो छैन, मेरो तस्बीर अंकित हुलाक टिकटमा राष्ट्रपति ज्युले प्रथम टाचा लगाउनु गौरबको विषय हो, ललितपुर महानगरपालिकाको संयोजनमा मेरो तस्बीर अंकित सिक्का बजारमा ल्याउनु महत्वपुर्ण विषय हो। अब मेरो नाममा विद्यालय खोल्ने राष्ट्रपति स्वयंले राख्नु शौभाग्यको विषय हाे,' संस्कृतिविद जोशीको भनाइ थियो।  

आउदो बैशाख ३० गते १ सय २ वर्ष वर्ष पूरा गर्ने संस्कृतिविद् जोशी जिवित अवस्थामै उनको नाममा विद्यालय स्थापना गर्ने तयारी सुरु गरेको छ।  

आगामी आबमा बजेट व्यवस्था गरी विद्यालय स्थापना गर्ने तयारी गरेको जानकारी गराउँदै मन्त्री श्रेष्ठले भने, 'उहाँको नाममा खुल्ने विद्यालयको नाम सत्यमोहन जोशी माध्यमिक विद्यालय हुनेछ। मुल ढोकामा उहाको पुर्णकदको प्रतिमा रहनेछ। सुन्दर बगैंचाको बीचमा बन्ने विद्यालय दरबार हाइस्कुल जस्तै भब्य हुनेछ।' 

मन्त्री श्रेष्ठले त्यसो भनिरहँदा सञ्चारकर्मीले जोशीलाई सोधेका थिए 'कहाँ विद्यालय स्थापना गर्दा राम्रो हुन्छ त ?' लगत्तै संस्कृतिविद् जोशीले भने, 'यही स्थानाम स्थापना गर्नुपर्छ भन्ने छैन जहाँ आवश्यकता परेको छ त्यही स्थानमा बनाउनुस। जुन जिल्लाका विद्यार्थीले पढ्न पाएका छैनन् त्यो स्थानमा स्थापना गर्नुस।'  

लगत्तै मन्त्री श्रेष्ठले यस विषयमा मन्त्रालयले प्रकृया पूरा गर्ने प्रतिबद्धता ब्यक्त गरे। उनले भने, 'तपाई जिवित भएकै अवस्थामा मुलुकले सत्यमोहन जोशी माध्यमिक विद्यालय पाउनेछ, यो विद्यालय देशकै नमुनाको हुनेछ।'

प्रकाशित: १७ चैत्र २०७७ १३:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App