१२ असार २०८१ बुधबार
image/svg+xml
कला

मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई 'महामुर्ख'को उपाधि

महामुख उपाधि ग्रहण गर्दै कलाकारहरु मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य । तस्बिर : मिथिलेश/नागरिक

कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई(मह जोडी) आइतबार जनकपुरधामवासीले ‘महामुर्ख’को उपाधि दिएका छन्।

मिथिला नाट्यकला परिषद् (मिनाप) ले प्रत्येक वर्षको होलीमा प्रदान गर्दै आएको यो उपाधि यस पटक श्रेष्ठ र आचार्यलाई(मह जोडी) दिइएको हो। उपाधि महामूर्ख भनिए पनि समाजमा योगदान पुर्‍याइका व्यक्तिलाई दिने गरिएको छ।

फागु पर्वलाई लक्षित गरी मिथिला नाट्यकला परिषद्ले आयोजना गरेको दुईदिने होरी महोत्सवको दोस्रो दिन आइतबार ‘महामूर्ख सम्मेलन’ सम्पन्न भएको छ। शनिबार डम्फा वादन तथा फागु गीत गायन प्रतियोगिता सम्पन्न भएको थियो।

जानकी मन्दिर प्रांगणमा आयोजित सम्मेलनमा सहभागी हुन कलाकारहरू मदनकृष्ण र हरिवंश आइतबार काठमाडौंबाट आएको मिनापका अध्यक्ष प्रमेश झाले बताए।

मिथिलाञ्चलको लोप हुँदै गएको फागु गीत परम्परालाई निरन्तरता दिन परिषद्ले २५ वर्षदेखि डम्फा प्रतियोगिता तथा महामूर्ख सम्मेलन आयोजना गर्दै आएको छ। महामूर्ख सम्मेलनमा सहभागी विशिष्ट पाहुनामध्ये एक वा दुईलाई महामूर्ख तथा केही अन्यलाई पटमूर्ख, हरासंख, डपोरसंखलगायत व्यंग्यात्मक ‘मानपदवी’ दिने चलन छ। गत वर्ष प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई ‘महामूर्ख’ घोषणा गरिएको थियो।

सम्मेलनमा मिनापका कलाकारहरूले हास्यव्यंग्यप्रधान नाटक प्रस्तुत गरेका थिए। स्थानीय कविहरुले हास्य कविगोष्ठी तथा फागु गीतको प्रदर्शनसमेत गरेका थिए।  

यसअघि लेखक/साहित्यकार सीके लाल, पूर्वमन्त्री रामचन्द्र झा, प्रज्ञा परिषद सदस्य रामभरोस कापडी, रमेश रञ्जन तथा प्रदेश सांसद रामसरोज यादवलगायत ‘महामूर्ख’ घोषित भइसकेको मिनापले जानकारी दिए।

मिनापले भाषा, संस्कृति, कला, समाजिक रुपान्तरण, राजनीति जस्ता विद्यामा उत्कृष्ट प्रदर्शन गर्नेलाई प्रत्येक वर्ष महामुर्खको उपाधि प्रदान गर्दै आएको छ। यस वर्ष यो आयोजनको २५ औं वार्षीकोत्सव हो।

प्रकाशित: १५ चैत्र २०७७ १३:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App