२६ आश्विन २०८१ शनिबार
image/svg+xml
कला

ठाडो शिर

बालकथा

नन्दलाल आचार्य

‘हाम्रो विषय गाह्रो छ । नरटी हुँदैन । नेपाली गुरुको विषय सजिलो छ, हाँस्ताहाँस्तै–खेल्दाखेल्दै सिक्छन् । कमजोर विद्यार्थीहरू पनि त्यस्तै गर्न खोज्छन् ।’ मिटिङमा बोल्ने गणित शिक्षकले विद्यार्थीहरूको शैक्षिक अवस्था नसुध्रनुमा मलाई ठाडै दोषी बनाउँदै भने, ‘गुरुले कमजोर विद्यार्थीहरूलाई पनि त्यत्तिकै छाड्दै जाने हो भने हामीलाई तह लगाउन मुस्किल पर्छ ।’

‘गुरुको व्यवहार विद्यार्थीको साथी बन्ने छ । उहाँ विद्यार्थीहरूको वैयक्तिक र पारिवारिक कुरा बुझ्न खोज्नुहुन्छ ।’ अङ्ग्रेजी सरले प्याच्चै भने, ‘पढाउनुको साटो गफमा भुलेर समय समाप्त गरी निस्कनुहुन्छ । यसो गर्दा पढाइमा ध्यान नदिने विद्यार्थीहरूलाई मजा आउला तर पढ्न चाहने तेज विद्यार्थीलाई भने उहाँले मार्कामा पारिराख्नुभएको छ । त्यस्तो वातावरणले हामीलाई असर गरेको छ । र, हाम्रो विषयमा अधिकांश विद्यार्थीहरू कमजोर भएका हुन् ।’

प्रधानाध्यापक सुन्नमै व्यस्त थिए । म भने मनमा कुरा गुन्नमै व्यस्त भएँ । शिक्षकहरूले आरोप लगाएर सके । वातावरणमा सन्नाटा छायो।  

‘बोल्ने सरहरूले बोल्नुभयो । खण्डन गर्नुपर्ने गुरु चुप हुनुहुन्छ ।’ पियनले भन्दै गयो, ‘मिटिङको हलो बीचमै अड्कियो ।’

‘तपैँको पनि आरोप छ कि भनी पर्खेको !’ मैले भनेँ, ‘सबैको दोषी म हुँ या कसैकसैको मात्र भनेर सोच्दै छु ।’

‘नेपाली गुरु ! अब बोल्ने पालो तपैँकै हो । स्कूलको वातावरण बिगार्नेमा तपैँ नै अगाडि देखिनुभयो ।’ मलाई दोषको भारी बोकाउँदै प्रधानाध्यापक कुर्लिए, ‘यसरी एक थरी विद्यार्थीलाई काखा गरेर अर्का थरीलाई पाखा गर्नुहुन्छ भने यो संस्था तपाईंलाई अटाइरहन बाध्य हुने छैन । बुझ्नुभयो ?’

परिस्थिति मेरो प्रतिकूल हुँदै गयो । म एक्लो बृहस्पति ठहरिँदै गएँ ।

मुटु ढुकढुक गर्न थाल्यो । साह्रै अन्याय पो गरिएछ कि क्या हो भन्ने लाग्यो । नबोली रहे अझै दोष थुप्रने निश्चित थियो । प्रधानाध्यापकको अन्तिम शब्दले महाप्रलय आउने सम्भावना देखिरहेको थिएँ ।

सम्झेँ– मलाई नेपाली विषय पढाउन लगाइएको थियो । मैले पढाएको सबै विद्यार्थीहरू ध्यानले सुन्थे । सक्रिय सुनाइ नगर्नेलाई बीचबीचमा छड्के प्रश्न सोधिहाल्थेँ । विभिन्न समूहमा विद्यार्थीहरूलाई बाँड्थें । पढाइसकेपछि प्रश्नोत्तरको कार्यक्रम राख्थेँ । एक समूहले प्रश्न गथ्र्यो । अर्को समूहले जवाफ दिन्थ्यो । कोही कतै अड्किए म अघि सर्थेँ नत्र हेरिबस्थेँ ।

सबै जना अह्राएको काम खुरुखुरु गर्थे । कमजोर ठानिएकाहरू पनि अघि सर्ने वातावरण बनाइदिन्थेँ । यद्यपि उनीहरू चाँडो सिक्दैनथे । इमानदार कोसिस भने गर्थे । उनीहरू दिनानुदिन सुधारको खुट्किलो उक्लिरहेका हुन्थे ।

पढाइमा कमजोर ठानिएकाहरू भने अरू शिक्षकहरूबाट नानाभाँतीका सजाय पाउथे । कोही कुखुराको भाले बनिरहेका हुन्थे । कोही उठबस गरिरहेका भेटिन्थे । कसैकसैको भने शिक्षकको छडी प्रहारले कलिलो छाला फुटेको भेटिन्थ्यो । अर्कातिर हाउभाउ र धम्कीले विद्यार्थीहरूको सात्तो जान्थ्यो ।

विद्यार्थीहरू अरू विषय पढाउनेलाई ‘सर’ भन्थे । नेपाली विषय पढाउने मलाई मात्र ‘गुरु’ भन्थे । म बाल–सजायको सख्त विरोधी थिएँ । बिस्तारै म विद्यार्थीहरूको हितैषी भएँ । अन्य शिक्षकहरूको आँखाको कसिंगर बनेँ । त्यसैले मैरै आनिबानीलाई विशेष एजेन्डा बनाई स्टाफ मिटिङ डाकिएको थियो ।

प्रधानाध्यापकले जवाफ दिन संकेत गर्दा पो म झसङ्ग भएँ । नबोली धर पाइनँ । नखाएको विष नलाग्नुपर्ने हो लाग्ने नै प¥यो भन्ठाने। 

‘यहाँ मलाई लागेका कुनै पनि आरोप स्विकार्न सक्तिनँ । आकाशले नस्विकार्दा थुकेको थुक आफैँतिर आएझैँ हुने भयो ।’ मैले स्पष्ट शब्दमा भनेँ, ‘आफ्नो बोली फिर्ता लिनुस्। फत्तुरको आरोप मलाई स्विकार्य छैन । चाहे म एक्लै परूँ तर सत्यको बाटो कदापि मोड्दिनँ ।’

त्यत्तिकैमा मिटिङ हलमा लेखापालको प्रवेश भयो । उनले मतिर मुस्कुराउँदै हेरे । म अरू भयभित भएँ किनभने लेखापाल प्रधानाध्यापकझैँ पावरमा थिए । विश्वासपात्र थिए । उनले चाहे दिनलाई रात र रातलाई दिन बनाउन र भनाउन सक्थे ।

‘गुरु ! तपैँले विद्यार्थीहरूलाई मोहनी लगाउनुभएको छ कि क्या हो !’ लेखापाल भन्दै गए, ‘फि तिर्न जो आए पनि तपैँकै कुरा गर्छ । अहिले पनि दुई जना अभिभावक तपैँलाई भेटेरै जाने भनेर अफिसमा कुरेर बसेका छन् ।’  

सबैको कान ठाडा भए । मतिर नै ध्यान खिचियो । मन अझै निराश बन्यो ।

‘के हो गुरु ! सरहरू मात्रै हैन, अभिभावकलाई पनि स्कूल विरोधी पार्नुभएछ ।’ प्रधानाध्यापक पियनतिर फर्कंदै कुर्लिए, ‘जानुस्, ती अभिभावकलाई यहीँ मिटिङमै बोलाएर ल्याउनुस् । गुरुको कम्प्लेन सबैका सामु सुनौँ । हामीलाई पनि निर्णय गर्न सजिलो पर्छ । किनभने अभिभावक हाम्रा देवता हुन् । देवता जोसँग रिसाउँछन्, त्यसको टिकट कट्छ ।’

लेखापाल केही भन्न खोज्दै थिए । उनलाई रोक्तै सहायक प्रधानाध्यापकले मप्रति कठोर व्यङ्ग्य गर्दै प्याच्चै भनिहाले, ‘अब कुनै ‘गुरु’को ‘गोरु’ सावित हुने बेला आयो । ३०÷३० वर्ष पढाएको मजस्तो विज्ञान शिक्षकको शिक्षण विधि र प्रविधिमा प्रश्न चिन्ह लगाउनेको हर्कत सबैको सामु उदाङ्गो हुने भयो ।’  

बाहिरी रूपले म कालोनिलो भएको थिएँ । ओठतालु सुक्न थालेका थिए । मिटिङ छाडेरै निस्कूँजस्तो लागेको थियो।

सम्झेँ– भन्न त मैले सहायक प्रधानाध्यापकलाई भनेकै हुँ । बालमैत्री शिक्षणसिकाइ गरौँ भनेकै हो । डरले हैन रहरले सिक्ने वातावरण दिलाऔँ भनेकै हो । गणित, विज्ञान, अङ्ग्रेजी, सामाजिक विषय गाह्रा छैनन् । हामीले गाह्रा बनाएको हो भनेँ हुँला । उत्तिखेर चूपचाप सुनिरहे, अहिले मेरो माहोल कमजोर भएको थाहा पाएर कुर्लन थाले।

फेरि अर्को मनले भन्दै थियो– ए मास्टर ! कुन अपराधमा तँ स्वयम्लाई दण्डित गर्दै छस् । तँ त पुरस्कारको भागिदार छस् । मायालु वातावरण दिएर बच्चाको मन जित्ने मान्छे होस् । यी अरूहरू पो दण्डका भागिदार छन् । सन्त्रासमय वातावरण बनाएर कलिलो मनस्थितिमा आघात पार्ने अपराध गरेबापत यिनीहरूलाई पो दण्डित गर्नुपर्छ । तैँले त परिस्थितिसँग भाग्ने हैन, डटेर लड्ने हो । तेरो निर्दोष व्यवहारले तेरै जित हुन्छ । मुर्ख प्रधानाध्यापकको पनि होस् खुल्छ । उदण्ड शिक्षकहरूको पनि शिर झुक्छ ।

मन दह्रो बनाएँ । अनुहारमा स्वभाविकपन ल्याएँ । र, अभिभावक प्रवेशको प्रतीक्षा गरिरहेँ ।

हात जोड्दै दुवै अभिभावक मिटिङ हलमा प्रवेश गरे । सबैको ध्यान उनीहरूको अनुहार पढ्नतिर गयो । उनीहरू रिसाएका थिएनन् । प्रसन्न चित्तमा थिए । उनीहरू मतिर फर्किए । मेरो बलियो मन तुरुन्तै भाग्यो । म झन् डराएँ ।

एक अभिभावकले मसँग हात मिलाउँदै भन्यो, ‘तपाईंजस्तो गुरु मैले जीवनमै कहिल्यै पाएको थिइनँ । यस स्कूलमा तीनतीन जना सन्तानलाई आठ वर्षदेखि पढाइरहेको छु । तर, तपाईंको जस्तो चर्चा कसैको सुनेको थिइनँ ।’

‘तपाईं नेपाली गुरु मात्र हुन हुन्न । तपाईं त सुपर से उपर हुनुहुन्छ ।’ अर्का अभिभावकले थपे, ‘तपाईंसँग भेट गर्न आउन हामी बाध्य भयौँ ।’

सबैको ध्यान मतिर एकोहोरियो । मलाई भने अनाहकमा झमेलामा फस्दै छु भन्ने भान भयो । र, मेरो सातो उड्न थाल्यो । प्रधानाध्यापकले समेत मतिर नै कर्के नजर लगाइरहेका थिए।

‘म राधाको बाबु हुँ । ऊ पढाइमा कमजोर थिई । खालि नेपाली विषय मात्रै पढ्न रुचाउँछे । अरू विषयमा पटक्कै चासो लिन्न ।’ पहिला अभिभावकले मनको पोको फुकाए, ‘होमवर्क नबनाए बनाइनस् भनेर र बनाए बेठीक बनाइस् भनेर अरू सबै शिक्षकले सजाय दिन्छन् पो भन्छे । गुरुजस्तो सबै जना शिक्षक भए कस्तो रमाइलो हुन्थ्यो, कत्ति धेरै पढ्न हुन्थ्यो पो भन्छे त !’

‘मेरो छोरा पनि हजुरकै गुनगान गाएर अघाउँदैन । हजुरलाई असाध्यै आदर गर्छ ।’ अर्का अभिभावकले मतिर फर्केर कुराको गाठो खोल्दै भने, ‘अब हजुरले हाम्रो घरमा गएर टयूसन पढाइदिनुपरयो । नानीबाबुकै लागि यत्रो सङ्घर्ष गरिएको छ । महँगो विद्यालयमा शिक्षा दिलाएको छ  र, पनि उनीहरूको होस फर्किएको थिएन । हजुरसँग के सूत्र छ कुन्नि उनीहरू मोहित छन् । नाइँ नभन्नुहोला । जे फि तिर्नुपर्छ हामी तयार छौँ ।’

प्रधानाध्यापक र अरू शिक्षकहरूको शिर लत्रियो । मैले भने शिर ठाडो बनाइरहेँ ।

प्रकाशित: १४ चैत्र २०७७ ०८:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App