१) डलरे
मितज्यू र म एउटै टोलका । एउटै कुवाका पानी खाएका।
मेरी छोरी जन्मी । मितज्यूले मलाई बधाई दिए।
उनको छोरो जन्म्यो । बधाई दिएँ।
मेरी छोरीले एसएलसीमा डिस्टिङसन ल्याई । ठूला मनका मितज्यू औधी खुसी भए । बधाई मात्र होइन, पार्टी नै दिए । जीवन बाँच्नु कहर थियो । हामी दुवैले तीन त्रिलोक चौध भुवन देख्यौँ ।
मेरी छोरीले एमविविएसमा नाम निकाली । सारा समाजले छोरीलाई बधाई दिए । शौहार्द देखाए ।
पछि डाक्टर बनी । भन् धेरै बधाई आयो ।
मितज्यूले मेरी छोरीलाई भने– छोरी, ल डाक्टर भयौ । यहाँ त के पाइएला र ? विदेशै जानू, धेरै पढ्नू, धेरै कमाउनू!’
छोरीले उत्तर दिइथी– बुवा, म त विदेश जान्न । यहीँ देशको सेवा गर्छु ।
मितज्यूले उकासे । ऊ उक्सिई । विदेश हिँडी ।
म दुखी भएँ । एउटा मात्र सन्तान विदेसिएको मेरा लागि शुभसङ्केत थिएन । तर, मितज्यू अति खुसी हुनुभयो । आफन्त खुसी भए । सारा समाज खुसी भयो।
मितज्यूले त फुर्किएर भन्न थाले– कति अर्काका मात्र अम्रिका गाको कुरो सुन्नु ए, आज त हाम्री छोरीले पनि सारा समाजका अगाडि देखाइदिई ।’
समय क्रममा छोरीले बोलाई । गएँ । छोरो पाई । हेर्नु पर्यो । हेरेँ । बसेँ । आफ्नो काम केही थिएन । नेपाली साहित्य पढ्यो । लेख्यो । छाप्यो । बस यत्ति।
अमेरिका बस्दाबस्दै मेरा दुई थान उपन्यास प्रकाशित भए । विषय डायस्पोरिक थियो ।
एकदिन आफ्नै कानले सुने । मितज्यू अरूसँग मेरो बारेमा भन्दै थिए – ‘डलरे साहित्यकार ।’
२) डिएनए
मेरो साथी जीवनसँग चर्चअगाडि भेट भयो । धर्म परिवर्तन गरेर ग्रिनकार्ड लिएको रहेछ उसले । सिटिजन भएछ । पादरी भएछ। ‘जोन’ नाममा परिवर्तित भएछ । घरगाडी पैसाको तरक्की गरेछ ।
घर लग्यो । घरमा नेपाली भाषा, भेष, चलन, व्यवहार केही पनि थिएन । सिङ्गल माल्ट ह्विस्की खोल्यो । महँगो किनिएको रेडिमेड बबाल सितनसँग चियर्स गर्यौँ ।
उसले आफ्नो दुखेसो र सुखेसोको भडाँस मलाई पोख्न थाल्यो,
—धेरै दुख पाएँ यार अमेरिकामा । मेहनत त यतिसम्म गरेँ कि के भन्नू ?
— र त नेपालको धुवाँधूलोबाट मुक्ति पाइयो ।
—अँ त नि राजनीति, छ्या कस्तो घिनलाग्ने । उफ, सम्भिँदैमा सकस हुन्छ । तिमीहरू कसरी बस्छौ त्यस्तो देशमा ? मैले त बेलैमा अमेरिका आएर बुद्धि पुर्याएँ ।
—मेरो त बाबुआमा पनि खत्तम । अभै पहाडमै कुटो कोदालो गर्दैछन् । अमेरिका बोलाएँ । न आउने अरे । म क्रिस्चियन भएँ रे । म्लेक्ष भएँ रे । मेरो हातको पानी नखाने अरे । मुखै नहेर्ने अरे । कुखुराको फुल फुट्यो अरे । कस्ता मूर्ख होलान् मेरा बाबुआमा ।
उसले अनेकौँ बदख्वाइँ गरिरह्यो।
मलाई रिसले भाउन्न होलाजस्तो भएको थियो । अहिले नै हिँडौ भने कता जाने, मेसो थिएन ।
अनि मैले उसलाई भने – तँ जे भन्, तर नेपालले तँलाई धेरै गुन लाएको छ ।’
‘के दिएको छ र ? यो मैले आपैmँ सृष्टि गरेको हो ।’ ऊ बर्बरायो ।
‘हेर् त, यतिका वर्ष अमेरिका बसिस् । जीवनबाट ‘जोन’ भइस् । र पनि तेरो बुनोट र रङले तँलाई नेपाली नै भन्दोरहेछ ।’ मैले भनेथेँ ।
‘त्यसले के फरक पर्छ ?’ उ लर्बरिएको थियो ।
अनि मैले भनेँछु ,
‘ऐनामा हेर्न तँ । तेरो संसार हेर्ने ‘आँखा’ तेरी जन्म दिने आमाको जस्तो छ । ‘नाक’ काट्टीकुट्टी तेरो आफ्नै बाउकोजस्तो छ । र पनि, तँ को होस् हँ ! एकपल्ट डिएनए जँचाएर हेर्न यार ।’
३) कमिसन
भर्खर मास्टर सकेको थिएँ । लोकसेवा खुलिहाल्यो । दिएँ । पास पनि भएँ । पुच्चे थिएँ, तर म अधिकृत भएँ । निर्वाचन आयोगमा पोस्टिङ भयो । म सुन्दर छवि लिएर हाजिर हुन पुगेँ । देश बनाउने जोस थियो ममा । नयाँ भएपछि सबै हाकिमले काम पेलेरै लाउँदा रहेछन्। पुराना कर्मचारी काम नगर्ने अनि नयाँलाई पेल्ने सिस्टम नै रहे छ। कामको बोझ जसरी पनि थेगेँ।
एक दिन मलाई मभन्दा माथिका हाकिमले काम अह्राए – सुवर्णजी, एउटा गोरे कम्पनीले हामीलाई नयाँ भर्सनका २ हजार कम्प्युटर किनिदिने भएको छ । तपाईँको त्योसम्बन्धी ज्ञान पनि छ । अङ्ग्रेजी पनि राम्रो छ । राम्रोसँग डिल गर्नु है तपाईँको जिम्मा । काम न बिग्रियोस् ।’
मैले इमानपूर्वक प्रोपोजल बनाएँ । रातदिन एक गरेर काम गरेँ । बेलाबेलामा हाकिमलाई देखाइरहन्थेँ । हाकिम साब ‘लल राम्रोसँग काम गर्नु । पुत्किएला’ भन्दै थिए ।
मैले बनाएको प्रोपोजल गोरेले खुसी भएर ओके गर्यो । मैले एउटा राम्रो एग्रिमेन्ट पेपर बनाएँ । हाकिमलाई देखाएँ । उनले भने –कस्तो छ ? ठीक छ ?
अनि मैले भनेँ –निकै राम्रो प्रोजेक्ट रहेछ । यसबाट हाम्रो चुनाव गर्ने काम गर्न सजिलो हुन्छ । एग्रिमेन्ट राम्रो छ ।
हाकिम त झर्किएर पो बोले –ए सुवर्णजी, त्यो कुरो त मैले पहिले नै बुझेको छु नि । प्रस्ट भन्नु न, कमिसनचाहिँ कति आउँछ ?’
४) पर्चपखान
रात छिप्पिएको थियो । बलबहादुरका जोईपोइ सुतिसकेका थिए । आँगनमा कोही ठूलो स्वरले बोलाउँदै थियो
‘काका, ओ बलबहादुर काका । म क्या । रन्जित बस्नेत, काठमाडौँबाट आएको ।’
जोईपोइ उठे । काकाले काम्लो ओछ्याइदिए ।
शहरबाट खेती हेर्न रन्जित बाबु गाउँ आएका । बलबहादुरका घरमा एकहप्ता बसे । रमाएर बसे । उनकी बूढीले खोरका कुखुरा रित्याई । बास्मती चामल खोजेर ल्याई । भईनभई जोड आतिथ्य गरी बिचरीले । साह्रै परासिला हुन् रन्जित बाबु पनि । मिठो मानीमानी खाए । बूढीले कालो भटमास गुन्द्रुक र मासको मस्यौरा कोसेली हालिदिइन् ।
उनी जाने बेलामा बलबहादुरले शौहार्दवश भने – कस्तो भयो कुन्नि रन्जित बाबु गरिबका घरमा । हजुरहरू मिठोमसिनो खाएका शहरमा । जे भए पनि आउनुभयो । हाम्रो घर पवित्र भयो । बुहारी नानीलाई मेरो नमस्कार भनिदिनु है । अस्ति जस्तो लाग्छ बाबुको जन्तेबाख्रो खाको । अहिले पनि मुखमै भुन्डिएको छ । के गर्नु अब त टाढा भैयो ।
‘शर्म नपार्नु न हौ बलबहादुर काका, कस्तो रमाइलोसँग बसियो । काकीकोे त हातै मिठो । यसो शहर आउँदा हाम्रो घरमा आउनु न काका । कति बाटो काट्नुहुन्छ । मेरी बूढी पनि तपाईँलाई सम्भिरहन्छिन् । हामीलाई परचक्री नठान्नु न हौ काका । आफ्नै घर त हो नि ।’
समय बित्यो । बलबहादुरलाई काठमाडौँ जाने काम पर्यो । साँझ परेको थियो । उनी रन्जित बाबुको अफिसतिर हानिए । बाबु अफिसमै रहेछन् । उनले बलबहादुरलाई गाडीमा हालेर घरतिर लगे । बाटामा तीनचार पोका वाइवाई चाउचाउ किने । घर पुगेर सुस्तरी ढोका खोले । चाउचाउमा तातो पानी थर्मसबाट हालेर बलबहादुरलाई खान दिए । अनि रन्जित बाबुले भने
‘के गर्नु काका, यो शहर हो । श्रीमती सुतेकी छिन् । उठाउन हुन्न । काम गर्ने पनि हिजै घर गएको छ ।’
बिहानै बलबहादुर उठे । बिदाबारी भएर हिँडे ।
घर पुगेपछि बलबहादुरकी बूढीले सोधिन् ‘कस्तो रहेछ त घर !’
– बबाल !
‘के खान दिए त ?’
‘खानुसम्म खाइयो नि । काठमाडौँको जाडोमा वाइवाई चाउचाउको तातो भोल पर्चपखान नै खाइयो । तर हामी गाउँकालाई भने त्यो झोलले नहुने रहेछ । रातैभरि भुँडी त क्याउँक्याउँ कराउँदो पो रहेछ बूढी ।’
५) नवकन्या
कलेजमा रत्ने आफ्नो गाउँको बारेमा प्राय भन्ने गथ्र्यो
–‘हाम्रो गाउँमा त स्नातक पास नगरेका मान्छे पाउन गाह्रो छ ।’
–‘प्राय मान्छे धनी छन् ।’
–‘सबै मान्छे चेतनशील छन् ।’
–‘जिल्लाकै सभ्य गाउँमा गनिन्छ ।’
–‘जिल्लामै नभएको दुर्गाको भव्य मन्दिर छ । मान्छे धर्मात्मा छन् ।’
योपल्टको दसैँ आफ्ना घरमा नहुने भएकाले उसको घरमा मान्नुपर्ने मेसो पर्यो । साँच्चि सुन्दर, सफा र राम्रो थियो गाउँ । करीबकरीब सबैका घरमा च्यादरका छाना थिए । एकआध पक्की घर पनि थिए ।
दसैँको नवमीको दिन बिहानै थियो । दुर्गा मन्दिरमा सामुहिक रूपमा नवकन्या पूज्न धुमधाम तयारी थियो । नौवटा नाङ्लामा नवकन्याका लागि वस्त्र, भेटी, आभूषण तथा खानेकुरा राखिएका थिए । समय सायद ढिलो हुँदै थियो । रत्नेका बा कराए –
‘होइन हौ त्यो जेठो नवकन्या लिन गएको, बेपत्ता पो भयो त । कता मुन्टियो हँ ?’
त्यसैबेला जेठो आइपुगेर निन्याउरो अनुहार लगायो । फेरि रत्नेका बा जङ्गिए– ‘होइन के भयो हौ जेठा रित्तै पो आइस् त । पाइनस् नवकन्या ?’
जेठो बिस्तारै बोल्यो – ‘दिएनन् खतिवडाहरूले । उनीहरूलार्ई नै चाहिन्छ रे ।’
कुशको नवकन्या बनाएर पूजा सकियो ।
दसैँको टीको लगाएर हिडेँ । बाटोमा खतिवडा गाउँ पथ्र्यो । मैले रत्नेको गाउँलाई औँलाले देखाएर एक जनालाई सोधेँ– ‘त्यो गाउँका मान्छेहरू कति
धर्मात्मा रहेछन् । तर, पूजा गर्न नवकन्या नपाएर खिस्रिक्क परे ।’
उनी त एकाएक मसँग पो जङ्गिए – बुझ्न भो, म फौजी हुँ । मान्छे मलाई धौले हवल्दार भन्छन् । लप्पनछप्पन जान्दिनँ । चाइने केरे देखेको कुरा प्याट्ट बोल्छु । त्यो गाउँ त असत्तीहरूको गाउँ हो । हाम्रा गाउँमा आएर नवकन्या खोज्छन् । पापीहरू । अधमहरू । लाज पचेकाहरू । मलाई त रिस पो उठ्छ ढोँगी मान्छेसगँ ।
‘किन र ?’ मेरो प्रश्न थियो ।
‘कस्तो यति कुरो पनि नबुभेको ? असत्तीहरूले छोरी जति शहर पुर्याएर भ्रूणमै मार्छन् नि हौ सर ।’
( ‘ईश्वरको मृत्यु’ लघुकथा संग्रहबाट ! )
प्रकाशित: १० चैत्र २०७७ ०८:५० मंगलबार