११ मंसिर २०८१ मंगलबार
image/svg+xml
कला

प्रिय छोरी

कविता

प्रिय छोरी  

तिमी विश्व मानचित्र पल्टाएर

आफू अनुकूलको देश खोजिरहिछ्यौ

म आफ्नै घरबाट हराएको मेरो नाम खोजिरहेकी छु

तिमी महासागरको कुरा गर्छ्यौ

आइफल टावर फन्को मार्छु भन्छ्यौ

म यतिबेला मेरै चोकसित बिरानो छु

 

मलाई त  बाग्मतीको सफा पानीमा

मेरो देशको प्रतिबिम्व हेर्न मन छ

लाग्छ  

म जन्मेको आँगनभन्दा पर मेरो भूगोल छैन

सगरमाथाभन्दा पर मेरो कुनै देश छैन

म कसैकी छोरी

कसैकी बुहारी

म तिम्रै नामबाट

तिम्रै आमा बनेर चिनिएँ

छिमेकभन्दा अलि पर मेरो परिचय छैन

जन्म घरमा ठूली भन्थे बाआमाले

कर्मघरमा कान्छी भएँ

पछि यो देशको नागरिक भएँ

ठूली कान्छी भएर

मलाई पनि तिम्रै जस्तो नाम प्यारो लाग्थ्यो

तिमीजस्तै स्वतन्त्र भएर गगनमा उडूँउडूँ लाग्थ्यो

तर मैले त तिम्रै लागि भाँचेकी हुँ उड्ने पखेटा  

तिम्रै लागि थुनेकी हुँ

संसार चिहाउने ससाना सञ्झ्यालहरू

एउटै रूखको हाँगामा झुन्डिएर मैले

गरेकी हुँ सबथोक तिम्रा लागि

प्रिय छोरी ,

कोसी तर्दातर्दै काँसजस्तै सेतै फुलेका

बाआमा बस्ने तीर्थभन्दा पर

मेरो कुनै मन्दिर छैन् ।

तिमी यतिबेला

झाँगिन चाहन्छ्यौ पीपलजस्तै  

र फैलिन चाहन्छ्यौ परपरसम्म

साँघुरो भैसक्यो यो भूगोल तिम्रो लागि

मलाई थाहा छ,

तिम्रो पदचाप पछाउँदै हिड्ने छन्, घामजून

एक अँगालो घाम च्यापेर पस्ने छ उज्यालो  

तिम्रै लागि आशीर्वादका मन्त्र पढ्ने छन् बाजेबजूले

तिम्रो स्वर्णिम भविष्यका लागि  

 

म भने

बल्दाबल्दै सकिने मैनबत्ती न हुँ

अरूकै लागि बलेर सकिएँ

प्रिय छोरी,

तिम्रो र मेरा लागि कहिल्यै यो समय

समान दूरी हिँडेन

म हिँड्ने साँघुरो गोरेटो

तिमी दौड्ने फराकिलो राजमार्गले

कहिल्यै हामीलाई छोएन ।

प्रकाशित: १० चैत्र २०७७ ०४:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App