२९ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

कहिले भयो मातृसत्ताको पतन ?

अक्षर

आद्यसृष्टिको प्रतीक अर्थात् प्रजनन शक्तिको महत्तालाई स्वीकार गरी आदि प्रकृति र पुरुषको प्रतीकको रूपमा जब लिंगको पूजा हुन्छ, स्वाभाविक रूपमा त्यहाँ योनिको पूजा हुन्छ, (कुलचन्द्र कोइराला, शाक्त सम्प्रदाय र शक्तिपीठ, पृष्ठ : १९)। यसकारण वेदमा नारीलाई उर्वराको प्रतीक मान्दै उपासना गरेको व्यापक प्रसंग पाइन्छन्।  

वैदिककालमा यौनको भूमिकालाई महत्वपूर्ण दार्शनिक दृष्टिकोणबाट व्याख्या गरिएको देखिन्छ। त्यसकालमा स्त्री र पुरुषबीचको समागम सम्बन्धलाई विशेष आनुष्ठानिक कार्यको रूपमा लिइन्थ्यो। हिन्दू धर्म र दर्शनमा विशेष परिचर्चा गरिएको चार पुरुषार्थ धर्म, अर्थ, काम र मोक्षमध्ये कामले यौनिकतालाई नै बोधार्थ गरेको हुन्छ। वैदिक कबिला युगमा मातृसत्ता र पितृसत्ताबीच संघर्ष हुँदा प्रजापति संस्थाको आवश्यकताको महसुस गरिएका प्रसंग पाइन्छन्। यस अवधारणाले आदिम मातृसंस्थाको अवधारणालाई विस्थापन गरी पितृसंस्थाको स्थापनामा भूमिका खेलेको संकेत मिल्छ। महाभारतमा वर्णित विभिन्न कथाका आधारमा त्यसकालभन्दा पहिलेको मानिने वैदिक र प्राग्वैदिक कालमा यौन स्वतन्त्रता रहेको उदाहरण पर्याप्त छन्। यौन स्वतन्त्रता भएकै कारणले आमा र बच्चाहरूको पहिचानमा समस्या हुनुको साथै उनीहरू बीचको भिन्नता दर्शाउन आमाको नामबाट परिचय खुलाउने पद्धतिको विकास भयो। 

अध्यात्मवाद लगायत धार्मिक चिन्तन र भौतिकवादजस्ता दुई विपरीत धाराका दार्शनिक चिन्तनले यौनको महत्व र नारीको गरिमालाई नकारेको छैन। तर लैंगिक समानताको सवालमा नारीको भूमिकालाई भोगवादी दृष्टिकोणले हेर्ने पितृसत्ता नै बलशाली भएको मातृसत्तापछिको पितृसत्ताको इतिहास छ।

यस प्रवृत्तिले कविलाकालीन समाजमा मातृसत्ताको निरन्तरता रहेको बुझ्न सकिन्छ, (विश्वनाथ–काशिनाथ राजवाडे, विवाह संस्थाको इतिहास, अनु, पृष्ठः १७८)। तर, अन्दाजी, मध्ये वैदिककाल र उत्तरवैदिककालको पेरिफेरीमा निजी सम्पत्ति र राज्यको अवधारणाले विकसित रूप लिन थालेपछि सामूहिक लैंगिक सम्बन्धबाट एकनिष्ठ विवाह सम्बन्धले मान्यता पाएसँगै मातृसत्ताको स्तर खस्कँदै गएको प्रतीत हुन्छ।  

प्राग्कालमा मातृसत्ता

अध्यात्मवाद लगायत धार्मिक चिन्तन र भौतिकवादजस्ता दुई विपरीत धाराका दार्शनिक चिन्तनले यौनको महत्व र नारीको गरिमालाई नकारेको छैन। तर लैंगिक समानताको सवालमा नारीको भूमिकालाई भोगवादी दृष्टिकोणले हेर्ने पितृसत्ता नै बलशाली भएको मातृसत्तापछिको पितृसत्ताको इतिहास छ। पितृसत्ताले निर्धारण गरेका सामाजिक, सांस्कृतिक र कमजोर मनोवैज्ञानिक संरचनाले नारीलाई उसको निरंकुशताको जाँतोमा पिल्सिन बाध्य बनायो। त्यसो त मातृसत्ताको आफ्नै इतिहास नभएको होइन, प्राग् सभ्यतालाई अध्येताले आदिम साम्यवादी युग मानेका छन्। त्यस आदिम युगमा महिला पुरुषबीच समान हैसियतको भूमिकामा कुनै प्रश्न नभएको पुरातत्वविद्ले संकेत गरेका छन्। प्राग्युगमा आमाहरू नै घरका मालिक भएकाले आफ्ना वासस्थानमा आएका पुरुषलाई अपनाउनु र तिनीहरूसँग शारीरिक सम्पर्क गर्नु उनीहरूको आत्मनिर्णयका कुरा थियो, जुन आमा प्रधान व्यवस्थाको महत्वपूर्ण भूमिका थियो (शान्तिराम शर्मा, खस–किरात संस्कृति, पृष्ठः५३)। आदिम मातृसमाजमा यौनिक स्वतन्त्रता थियो भन्ने तर्कलाई विशेषगरी माक्र्सवादी विचारका लेखकले परिचर्चा गरेका छन्। यौन स्वतन्त्रता भएकै कारण आदिम समाजमा आमाको तर्फबाट वंशक्रम निर्धारित हुन्छ, अर्थात् मातृसत्ताको वंशानुक्रमले मान्यता पाएको एंगेल्सले चर्चा गरेका छन्, (एंगेल्स, परिवार, निजी स्वामित्व र राज्यको उत्पत्ति, पृष्ठः ५१)। माइनिके स्किपरको पुस्तक ‘न्याकेट अर कभर्ड – अ हिस्ट्री अफ ड्रेसिङ् एन्ड अनड्रेसिङ अराउन्ड द वल्र्ड’ लाई आधार मानेर सरला गौतमले लेखेको एउटा आलेखमा आदिम समाजमा मातृसत्ताको अभ्यास सांकेतिक अवधारणाका रूपमा रहेको उल्लेख छ। प्राग् सभ्यताकी स्त्रीले पुरुषको यौनांग र छाती हेरेर आफ्नो यौनसाथीको छनोट गर्थे भन्ने तर्कलाई त्यस आलेखमा जोड दिइएको देखिन्छ, (सरला गौतम, छोपिँदै खोलिँदै मान्छेको सभ्यता, कान्तिपुर : २०७७।१०।१०)। उत्तरपाषाणकालीन मानिसले बनाएको मानिने भेनसको नारी मूर्तिलाई कतिपय प्राग्विद्हरूले प्रजननकी देवी र आदि मातृशक्तिको रूपमा चर्चा गरेका छन्, (एमसी, वर्किट, द ओल्ड स्टोन एज)। प्राग्मानव चेतनाले आफ्नो जन्मप्रतिको रहस्यमयतालाई दैवीकरण गर्ने क्रममा मातृसत्ताको प्रादुर्भाव भएको हुन सक्ने मानवशास्त्री तथा प्राग्विद्को तर्क छ। यी तर्कलाई एंगेल्सले पनि विशेष जोड दिएको देखिन्छ। यस प्रसंगमा पश्चिमाको कुरा धेरै जोड्नैपर्दैन। हिजो होइन, आज पनि हाम्रो हिमवतखण्ड संस्कृतिमा कायम रहेको बहुपतिप्रथाले मातृसत्ताको इतिहासलाई उजागर गरेको देखिन्छ। हिमाली संस्कृतिमा आज पनि महिलाद्वारा चलेका समुदाय पर्याप्त प्रमाणका आधार हुन्। हिमवतखण्ड अन्तर्गत आसाम क्षेत्रमा खसिया जातिमा हिजोअस्तिसम्म पनि पुरुषलाई मतदान गर्ने अधिकार थिएन। ती समाजमा महिला नै सर्वेसर्वा थिए। सन् १९४४ मा भारत–पाकिस्तान छुट्ने या रहने भन्ने विषयमा चुनाव हुँदा ती जातिका पुरुषले बाहेक महिलाले मात्र मतदान गरेको देखेको कुरा जनकलाल शर्माले उल्लेख गरेका छन्, (हाम्रो समाज एक अध्ययन, पृष्ठः ६९)। त्यसैगरी हिमवतखण्डको पनि उच्च हिमाली भूभागमा आज पनि छोरी मात्र भएको घरमा विवाह गरेर ज्वाइँ ल्याउने चलन छ। छोरीलाई बुहारीको रूपमा जसरी लगिन्छ, उसैगरी त्यहाँ छोरा मागेर विवाह गरेर भित्र्याउने चलन छ।  

आद्यइतिहासमा मातृसत्ता

पाश्चात्य सभ्यताको प्राचीन इतिहासमा मातृसत्ताको अस्तित्व रहेको पुरातत्वविद् एवं मानवशास्त्रीले बताएका छन्। अमेरिकी आदिम समाजमा नारीको महत्वपूर्ण भूमिका रहेको हुन्थ्यो। विवाहमा पत्नीले पतिलाई लिएर आफ्नो घरमा ल्याउने चलन थियो। यदि पत्नीको पतिप्रति अनिक्षा भएमा वा लोग्ने मानिसले आवश्यक खर्च जुटाउन नसकेमा पत्नीले आफ्नो मालमत्ता लिएर जाउ भन्नासाथ पतिले सबै कुरा छोडेर हिँड्नुपथ्र्यो। यदि पतिले त्यसको प्रतिपाद गर्न खोजे उसको हत्या पनि हुन सक्थ्यो। तर, केटी पक्षका सम्बन्धित गण–समुदाय, उसकी आमा, सानिमा वा हजुरआमाले पति अर्थात् त्यस पुरुषको पक्ष नलिएमा त्यो आफ्नो पुरानो कूल–गोत्रमै फर्किएर जानुपथ्र्यो। यस घटनाले पाश्चात्य आदिम समाजमा महिलामा सम्पूर्ण सत्ता उपलब्ध रहेको प्रमाणित हुन्छ। परिवारमा सन्तानमाथिको प्रभुत्व बाबुबाट नभएर आमाबाट हुन्थ्यो, (मी. इल्यिन, ए. सेगाल, मानिस यसरी भयो महावली, पृष्ठः २५०–२५१, अनु.) त्यस्तै, युनानमा पनि मातृसत्ता थियो, नगर रक्षिका युनानकी देवी एन्थेना थिइन् भन्ने पुराकथाको आधारबाट पनि यस तर्क प्रमाणित हुन्छ। यता, मध्य एसियाको समरकन्द राज्यका बादशाहलाई आफसिन भनिन्थ्यो, जसको प्राचीन अर्थ घरको मालिक भन्ने हुन्थ्यो। यता, खस जातिमा बहुपतित्व प्रथा पछि भ्रातृक बहुपतित्वतर्फ झुकेको देखिन्छ। सुरुमा यो भ्रातृमूलक बहुपतित्व नै हुनुपर्छ। यसकारण खसहरूको सुवर्णभूमि राज्यलाई स्त्रीराज्य भनिएको पाइन्छ, (शान्तिराम शर्मा, खस–किरात संस्कृति, पृष्ठः५३)। यसबाट मातृसत्तात्मक समाजमा आमा नै घरकी मालिक र शासक थिइन् भन्ने पुष्टि हुन्छ। शक नामक प्राचीन राज्यमा राजाको उत्तराधिकारी आफ्नो छोरो नभएर बहिनीको छोरो हुन्थ्यो, (ऐजन पृष्ठ)। यी कथन प्रतिकथनले आद्ययुगीन मातृसत्ताको चित्रण गरेको स्पष्ट हुन्छ। प्रागैतिहासिक कालखण्डमा मातृसत्ताको लामो इतिहास रहेका तर्कलाई पूर्व र पश्चिमका पौराणिक, पुरातात्विक र प्रागैतिहासिक प्रमाणले संकेत गरेका छन्। केही आलोचकले मातृसत्ता माक्र्सवादको अवधारणा हो भन्ने तर्कलाई जोड दिँदै प्रमाणका उल्लिखित आधारलाई अस्वीकार गरेका छन्।  

माक्र्सवादी अवधारणा

प्राग् सभ्यतामा लिंगका आधारमा श्रम विभाजन भएको देखिन्छ भन्ने तर्कले मातृसत्ता थियो भन्ने कथनमा कतिपय आलोचकले प्रतिकथनका प्रश्न उठाएका छन्। लिंगभेदका आधारमा प्रस्तरयुगीन समाजले मातृसत्तालाई स्थान दियो भन्ने तर्क अवैज्ञानिक छ। यसकारण पितृसत्ता वा पुरुष श्रेष्ठता स्थापित हुनुभन्दा पहिले नारी श्रेष्ठता वा मातृसत्ता थियो भन्ने परिकल्पना गरी समाज विज्ञानको एउटा तर्क स्थापना गर्न खोज्नु कृत्रिमता र यन्त्रिकतायुक्त तर्क हो भन्ने आरोप लगाएको देखिन्छ, (मदनमणि दीक्षित, हिन्दू संस्कृतिको परिशिलन, पृष्ठ : ४९–५१)। कुनै स्थान विशेष वा समय परिस्थितिका कारणले प्रारम्भिक युगको कुनै समुदायको नेता नारी वा पुरुष जो पनि हुन सक्थ्यो। यसकारण नारी नायक नै भएको समय र स्थानका आधारमा मातृसत्ता थियो भन्न सकिँदैन भन्ने दीक्षितको तर्क (ऐजन पृष्ठहरू) लाई खण्डन गर्न सक्ने पुरातात्विक तथा पौराणिक आधार भएको त्यस क्षेत्रका विज्ञले बताएका छन्।

पाश्चात्य सभ्यताको प्राचीन इतिहासमा मातृसत्ताको अस्तित्व रहेको इतिहासकारले बताएका छन्। सन् १८६१ मा बाखोफोनद्वारा लिखित मातृसत्ता नामक पुस्तकमा प्रस्तुत ओरेस्टिया नामक नाटकको कथा प्रसंगलाई जोड दिँदै एंगेल्सले आदिम युगमा मातृसत्तात्मक सामाजिक प्रणाली रहेको उल्लेख गरेका छन्, (एंगेल्स, परिवार, निजी स्वामित्व र राज्यको उत्पत्ति, पृष्ठः १४–१५)। नाटकमा देखाइएको परिदृश्य अनुसार ओरेस्टेईले उसको पिताको हत्यारा आफ्नै आमा क्लिटेम्नेस्ट्रा (जसले उनको प्रेमीसँग विवाह गर्न पतिको हत्या गरेकी थिइन्) को हत्या गरेपछि उत्पन्न परिघटनाको न्यायालयमा मुद्दा पर्दा पञ्चसभाकी अध्यक्ष एथेनाले ओरेस्टेईको पक्ष लिएर फैसला गर्छिन्। मातृसत्तामा मातृहत्यालाई जघन्य अपराध मानिन्थ्यो। त्यस नाटकमा वर्णित घटनामा आधारित रहेर एंगेल्सले गरेका तर्कलाई जोड दिँदै माक्र्सवादी–सौन्दर्यशास्त्री अभ्नेरजिसले आफ्ना थप तर्क प्रस्तुत गरेका छन्। ओरेस्टेईका पात्रको दुःखात्मक नियति र उनीहरूबीचको द्वन्द्व, जसले बाबुको हत्याको बदला लिन आफ्नै आमाको हत्या गर्छ, फुरिक जसले उसलाई त्यो अपराधका लागि सजाय दिन लखेटेको परिदृश्यले मातृसत्तालाई पितृसत्ताद्वारा विस्थापन गरिएको प्रतिविम्ब प्रस्तुत गर्छ, (अभ्नेरजिस, माक्र्सवादी सौन्दर्यशास्त्रका आधारहरू, अनु. हरिहर खनाल, पृष्ठ : २०२)।  

मातृसत्ताको पतन

मातृसत्ताको पर्खाल कहिले ढल्यो भन्ने प्रश्नलाई प्रमाणित गर्ने प्रस्ट रूपमा पुरातात्विक तथ्य प्राप्त भएका छैनन्। तर वैदिक साहित्यमा चित्रण भएका संकेतात्मक प्रसंग र पुरातात्विक–प्रागैतिहासिक संकेतबीच तुलनात्मक अध्ययन गरी यसको मोटामोटी तिथि निर्धारण गर्न सकिन्छ। यता पूर्वमा, पुरातत्वविद्ले सिन्धुघाँटीको सभ्यतालाई इसापूर्व २५००–१५०० को अवधिमा विकसित सभ्यता मानेका छन्, (जयनारायण पाण्डेय, पुरातत्व विमर्श, पृष्ठः ३९३)। भारतीय प्राचीन सभ्यताको इतिहासमा सिन्धुसभ्यतालाई आद्यइतिहास भनिन्छ भने यसपछिको सभ्यतालाई वैदिक सभ्यता भनिन्छ। सिन्धु सभ्यतामा शाक्तमतका केही सांकेतिक चिह्न प्राप्त भएका छन्। वैदिक सभ्यतामा मातृपूजन अर्थात् शाक्त दर्शनका विभिन्न प्रसंग परेको आधारमा वैदिक सभ्यतामा मातृसत्ताको अस्तित्व रहेको विद्वानले परिचर्चा गरेका छन्। वैदिक कालमा यौन वर्जित थिएन। अग्निकुण्डमा यज्ञ होम लगायत धार्मिक अनुष्ठानको सम्पादनसँगै यौनिक अनुष्ठान गर्ने विधि र प्रक्रियाको वैदिक साहित्यमा चर्चा परेको विद्वानले बताएका छन्, (काशीनाथ राजवाडे, विवाह संस्थाको इतिहास, पृष्ठः २१४–२२१, अनु.)। वेदमा वैदिक देवता इन्द्रको विशेष चर्चा परेको छ। शास्त्रमा इन्द्रलाई यौन अर्थात् काम्यभावका देवताका रूपमा चित्रित छन्, (राहुल, सांकृत्यायन, ऋग्वैदिक आर्य, पृष्ठः १८२)। वैदिक साहित्यमा पुरुष अस्तित्व, अभिभावकीय अस्तित्व र बौद्धिक काल्पनिकीको प्रतीकका रूपमा इन्द्रलाई चित्रण गरिएको छ। यसकारण मानव चेतनाको विकास क्रममा इन्द्रको उत्पत्तिको कथा एउटा यस्तो सीमा स्मारक हो, जहाँबाट प्रकृतिपरक, स्वाभाविक, सरलतापरक, सहजतापरक, धर्तीपरक र स्त्रीपरक मातृसत्तात्मक चेतनामाथि बौद्धिकतापरक र क्लिष्ट मनोविज्ञानको अन्तर सोचपरक आकाशपक्षीय पुरुष तत्वको अहं बोकेको पितृसत्तात्मक चेतनाको प्रभुत्वको हाबी भएको देखिन्छ, (डा. विज्ञानभिक्षु दर्शनको इतिहासमा पूर्वीय दर्शनको इतिहास, पृष्ठ : ६२५)। यस कथनका आधारमा पछिल्लो वैदिककाल अर्थात् कम्तीमा पनि ई.पू. १५०० लाई उत्तर वैदिककालको समय मान्दा आजभन्दा ३५०० वर्ष अगाडि नै पूर्वीय सभ्यतामा मातृसभ्यताको पतन भएको अनुमान गर्न सकिन्छ। सारमा वैदिककालसम्म नारीको गरिमा उच्च रहेको तथ्य वैदिक ऋचाहरूको अध्ययनबाट प्रमाणित हुन्छ। तर वैदिककालीन मातृसत्ता पुराणकालमा कमजोर हुँदै गएको पश्चिमी अध्येताले बताएका छन्, (सिमोन द बोउबार, महिलाः द सेकेन्ड सेक्स, पृष्ठः ६६, अनु.)। पछिल्लो कालमा पुरुषको शुक्राणुलाई श्रेष्ठता दिन थालेसँगै कविलाकालीन मातृसत्ता क्रमशः पतन हुन थालेको पूर्वीय तथा पाश्चात्य जगत्का पौराणिक साहित्यमा सांकेतिक रूपमा अभिलेखन गरिएका छन्। यसकारण मातृसत्ताबाट पितृसत्तात्मक समाजको अवतरण नै महिलाको सबैभन्दा ठूलो विश्व ऐतिहासिक भुल हो भन्ने एंगेल्सको तर्कलाई सिमोनले विशेष जोड दिएकी छन्। वैदिक समाजमा प्रचलित नियोगप्रथा र बहुपतिप्रथा पितृसत्तात्मक समाजको आगमनसँगै इतिहासको एउटा विस्मृत घटना हुन पुग्यो। (पिबी काणे, धर्म शास्त्र का इतिहास, पहिलो भाग)।  

वैदिक साहित्यमा वर्णित इन्द्रको प्रसंग र २५०० वर्ष अगाडिको युनानी नाटक ओरेस्टिया बीच सामयिक तुलना गर्दा पनि पूर्व र पश्चिममा लगभग एकै समयमा मातृसत्ताको समाप्त भई पितृसत्ताको उदय भएको अनुमान गर्न सकिन्छ। त्यसो त बौद्धकाल अर्थात् आजभन्दा २५०० वर्ष अगाडिसम्म पनि मातृसत्ताका अवशेष रहेको संकेत बौद्ध तथा हिन्दू साहित्यहरूमा पाइन्छ। यस तर्कबाट पछिल्लोकाल अर्थात् उपनिषद्कालसम्म पनि नारीमा यौन स्वतन्त्रता रहेको पाइन्छ। ऋग्वेदको दशौं मण्डलको ८६औं सूक्तमा उल्लेख छ, ‘कुनै पनि स्त्री म समान सौभाग्यशालिनी एवम् उत्तम पुत्रयुक्त छैनन्। मैले जस्तो गरेर त कुनै पनि स्त्रीले आफ्नो पुरुषलाई शरीर अर्पण गर्न सक्तैनन्, न त म जस्तो सम्भोग समागमको बेलामा मेरा जति आफ्नो जाँघ फैलाउन नै सक्छन्।’  

माथि छलफल गरिएका तर्कहरूको आधारमा पछिल्लो वैदिककाल नै मातृसत्ता र पितृसत्ता बीचको सन्धिकाल रहेको मान्न सकिन्छ। पुरातत्वको भाषामा वैदिककाललाई कृषिसभ्यता अर्थात् आद्यइतिहास पनि भन्न सकिने तर्क विद्वानको छ। यद्यपि पछिल्लो उपनिषद्कालसम्म पनि शाक्त दर्शनको विकास हुँदै गएको आधारबाट मातृसत्ता रक्षात्मक अवस्थामा पुगेको मान्न सकिन्छ। त्यसपछि पुराणकालको सुरुवातसँगै मातृसत्ता कमजोर हुँदै गएको पछिल्ला कालमा लेखिएका धार्मिक तथा पौराणिक शास्त्रको अध्ययनबाट प्रमाणित हुन्छ।

अफ्रिकी आदिम समाजमा महिलाको महत्तालाई जोड दिएका तथ्य उत्खननबाट प्राप्त भएका सयौँ नारी मूर्तिहरूको प्राप्तिले संकेत गर्छन्। अफ्रिकी आदिम समाजमा खेतीबालीको रक्षा र शत्रुबाट बच्न पूर्वीय सभ्यतामा काली, महाकालीको उपासना गरेजस्तै अनेकौँ मातृदेवीको उपासना गरेको संकेत पाइन्छ। प्राग्युगमा लामो समयसम्म कायम रहेको मातृसत्ता के कारणले पतन भयो ? त्यसको स्पष्ट जानकारी छैन, तर कृषि उत्पादनको कमी, जीविकाका लागि सिकार गर्नैपर्ने बाध्यता र महिलाको विशिष्ट शारीरिक संरचनाका कारण कविलाकालीन मातृसत्ताको पतन हुन गई पुरुषसत्ताको आगमन भएको हुनसक्ने मानवशास्त्रीले अनुमान गरेका छन्। यसपछि नै आदिम युगको मातृसत्ता आद्यसभ्यतामा आइपुग्दा विस्मृतिको गर्तमा विलीन हुन पुग्यो। यसै समयदेखि वैवाहिक संरचनामा परिवर्तन हुन गई महिला पुरुषको अधीनस्थ हुन पुगेको मानिन्छ, (मानिस यसरी भयो महावली, पृष्ठः २६६–२७२)।  

मानव सभ्यता विकासक्रमको काल विभाजनका आधारलाई विभिन्न नामद्वारा सम्बोधन र विभाजन गरिएको भए पनि पृथ्वीमा मानव विकासको क्रम सबैतिर एकैपटक भएको देखिँदैन। मानव विकासको क्रम हालसम्म निरन्तर चलिरहेको देखिन्छ। महामारी, युद्ध लगायत वातावरणीय तथा पर्यावरणीय परिस्थितिले मानव विकासमा क्रमिक भूमिका रहेको हुन्छ। यसकारण यसै समयमा मातृसत्ताको पर्खाल ढल्यो भन्न सकिने स्पष्ट समयरेखाको मापन गर्न सकिँदैन। प्रागैतिहासको अध्ययनमा मानवशास्त्र, पुरातत्व, भाषाविज्ञान र इतिहासका आफ्नै सीमा र कमजारी रहेको हुन्छन्। प्राप्त पुरातात्विक तथ्य र अन्य पौराणिक साक्षको आधारमा वस्तुसत्यको निकट पुग्ने प्रयास गरिएको हुन्छ। वस्तुतः अहिले पनि केही जनजातीय समाजमा मातृ प्रधानताको अभ्यास देखिएको आधारमा आदिम युगमा मातृसत्ता थियो भन्न सकिन्छ। माथि उल्लिखित छलफलका आधारमा इसापूर्वका दशौँ शताब्दीको आसपासमा मातृसत्ताबाट पितृसत्तामा अवतरण गरेको हुनसक्ने अनुमान गर्न सकिन्छ। भविष्यमा हुने अध्ययन र अनुसन्धानले यस विषयमा नयाँ तथ्य प्राप्त हुन सक्छ।  

निष्कर्ष

आजको नारी आन्दोलनले नारी पुरुषबीचको समान हैसियत र आर्थिक, सामाजिक र न्यायिक समानताको अधिकारको ऐतिहासिक आवाजलाई बुलन्द गर्न खोजेको छ। यस खालको समानताले एकातिर स्त्रीका लागि आफ्नो जीविकाको प्रश्न र बालबच्चाको भविष्यको चिन्ता रहनेछैन भने अर्कोतिर पैसा, सत्ता र अन्य सामाजिक हैसियतका आधारमा नारीको शरीर किन्ने खेल समाप्त भएर जानेछ र बराबरीको हैसियत हुनेछ। राजकीय संस्थाहरूमा राज्यकै खर्चमा सबै बालबालिकालाई शिक्षादिक्षा दिने श्रमसहितको व्यवस्थाले महिला मुक्तिको अभियान सफल भई समानतामूलक समाजको निर्माण हुने माक्र्स–एंगेल्सको परिकल्पना छ, (कम्युनिस्ट पार्टीको घोषणापत्र, पृष्ठ– ८३)। यसबाट पुँजीवादी आर्थिक प्रणालीको उत्पादन सम्बन्ध नामेट भई साम्यवादी उत्पादनका क्षेत्रमा महिलाको समानतामूलक सहभागीले सबै प्रकारका महिलाहिंसा हुन्छ भन्ने तर्क छ, (ऐजन पृष्ठ)। सामाजिक इतिहासको विकास क्रमको चरणमा मातृसत्ताको पतन र पितृसत्ताको उदयका कारण सम्पत्तिको उत्तराधिकारीको खोजीका क्रममा एकनिष्ठ विवाह र पातिव्रत्य कठोर अनुशासनको बाध्यकारी अवस्था सिर्जना हुन गएको हो भन्ने एंगेल्सको अवधारणालाई माक्र्सवादी विचारक र नारीवादी चिन्तकले जोड दिएको देखिन्छ।

नेपाली समाजको लैंगिक सम्बन्धहरूमा पुरुषकेन्द्रित आर्थिक नीतिले विशेष भूमिका खेलेको देखिन्छ। लैंगिक तथा सामाजिक–सांस्कृतिक सन्तुलनमा पुरुषको समरूपमा महिलाहरू शिक्षित, सक्षम र स्वनिर्भर हुन आवश्यक छ। यसका लागि राज्यसत्ताले उचित व्यवस्था गर्नैपर्छ। महिला सशक्तीकरणका लागि ऐन, नियम, कानुन र नीति–निर्देशिका र त्यसको कार्यान्वयन पक्ष मूलतः महिला केन्द्रित हुन आवश्यक छ। संविधानप्रदत्त हक–अधिकार प्राप्तिका लागि पनि संघर्ष गर्नैपर्ने बाध्यताले संविधान र ऐन–कानुन भएर मात्र हुँदोरहेनछ, यसको कार्यान्वयन पक्ष पनि उत्तिकै मात्रामा सशक्त हुनुपर्छ भन्ने सत्यको बोध भएको छ। वस्तुतः महिला सशक्तीकरणले महिला–पुरुष लगायत समग्र समाजलाई फाइदा पुर्‍याउँछ भन्ने सत्य नबुझ्दासम्म लैंगिक समानतायुक्त समाजको परिकल्पना गर्न सकिँदैन। अतः महिला सशक्तीकरणका लागि पुरुषको भूमिकालाई पनि नकार्न मिल्दैन। अन्तमा प्रदीप ज्ञवालीद्वारा लिखित ‘सांस्कृतिक रूपान्तर एक विमर्श’ नामक पुस्तकमा उद्धृत कमला भासिनको शब्द सापटी लिएर भन्नुपरेको छ, ‘महिला तथा पुरुषको मुक्तिको प्रक्रिया आपसमा अभिन्न र सम्बन्धित छ। हाम्रो समाजमा महिलाका लागि पितृसत्तात्मक पिँजडालाई तोडेर बाहिर आउन त्यति बेलासम्म गाह्रो छ, जबसम्म पुरुषले त्यस दिशामा आन्दोलन सुरु गर्दैननन्। पितृसत्ता विरुद्ध पुरुषको आन्दोलन कुनै दयावान पितृत्व अन्तर्गत हुनुहुँदैन। परन्तु स्वयं आफ्नो मानवीय सम्मान र गरिमालाई पुनः दोस्रोपटक स्थापनाका लागि हुनुपर्छ। पुरुष स्वयंले आफ्नो सम्मान कसरी गर्न सक्छन्, यदि महिलाका लागि उनीहरूका मनमा कुनै नै सम्मान छैन भने ?’

प्रकाशित: २२ फाल्गुन २०७७ ०६:२७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App