२६ आश्विन २०८१ शनिबार
image/svg+xml
कला

जन्मस्थल घुम्दा

नियात्रा

त्रिलोचन ढकाल 

मलाई मेरो जन्मस्थल, फापरथुमको अति माया लाग्छ । गाउँलेहरू त झन् बढी प्यारा हुनुहुन्छ । बेलाबेलामा उहाँहरूको आँगनमा पुग्नु मेरो कर्तव्य भएको छ । प्रत्येकलाई भेट्ने गर्छु । राजतन्त्रात्मक पञ्चायती सरकारले टाउकाको मूल्य तोकेका समयमा पनि म घुम्ने गर्थें ।

 “हरायो । सरकारले मारयो रे भनेको कहिले सुन्नुपर्छ” भन्ने सोचिरहेको बेलामा म टुप्लुक्क पुग्थें । सबै खुसी हुन्थे । गाउँमा कोही पनि मेरो शत्रु थिएन । सरकारी सिआइडी भएको पनि थाहा थिएन । आवश्यक दिन घरमा बसेपछि, साँझमा हिंड्नुपर्ने दिन म दिउसै घुम्थें । गाउँलेसँग त म ढुक्क थिएँ । बाटामा कोही बाहिरको मानिस भेट भयो भने उसले रिपोर्ट गर्दा क्यार्दा साँझसम्ममा म हिंडिहाल्थें । अहिले जस्तो फोनको र सडकको सुविधा थिएन, त्यतिबेला । पैदलै स्याङ्जा सदरमुकाममा गएर रिपोर्ट दिन डेढ दुई घण्टा लाग्थ्यो । त्यसपछि खटनपटन गरेर पुलिस गाउँमा पुग्न अर्काे दुई घण्टा लाग्थ्यो । त्यतिबेलासम्म त मैले टाप कसिसकेको हुन्थें ।  

 पञ्चायत ढल्यो । पार्टी खुला भए । मजस्ता नेता कार्यकर्ता पनि खुला भयौँ । राजतन्त्रको उन्मूलन भयो । सामन्तवाद धराशायी भयो । देशमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भयो । समाजवादको स्थापना गर्ने लक्ष निर्धारण गरेको नेपालको संविधान ०७२ बन्यो । समाजवाद उन्मुख पूँजीवाद संस्थागत भयो । मेरो आफ्नो जन्मगाउँ घुम्ने काम भने जारी छ ।

पैनीबारीको पुछारबाट टोलमा पस्न ठिक लाग्यो । त्यहीं पहिलो गाँसमै ढुंगा मिल्यो । भतिजा दुर्गादत्तको घर लथालिंग रहेछ । उनी पत्नीसहित पोखरामा बस्न थालेका रहेछन् । उनका जेठा छोरा काठमाडौंमा बस्छन्, पत्नी र छोराछोरीका साथमा । रमेश ढकाल हो उनको नाम । उनैले बाआमाका निम्ति पोखरामा घर बनाइदिएका रहेछन् । हाल दुर्गादत्त त्यही घरमा बस्न थालेका रहेछन् । माइला छोरा सुरेश । कान्छा छोरा ठाकुर । दुवैका पोखरामै घर छन् । पार्दी विरोटामा । यहाँ घरमा भने ताला ठोकेको रहेछ ।

पिँढीमा खाट रहेछ । खाटमाथि गुन्द्री पनि ओछ्याएको देखियो । एउटा थोत्रो गलैंचा पनि रहेछ, त्यसमाथि । त्यहीँं बाँदरका बच्चाहरू खेलिरहेका देखिए । तिनले केराको फेदको गानो ल्याएर चिथोर्दै थिए । हेर्दा मजा लाग्यो । अहिलेका मान्छेले गृहत्याग गरे पनि “पुर्खा”हरूका अर्का सन्तानले त बहाल गरिरहेकै रहेछन् । नाति रमेश सुरेश ठाकुरका छोराछोरीको सम्झना आयो । पनातिलाई खेलाउन परयो भनेर नजिकै गएको त च्याँच्याँ गर्दै भागिहाले । आखिर जंगली न परे । साँच्चैका पनाति भए पो बसिरहन्थे । आफूलाई चोर ठानेर पनि भागेका होलान् । चोरहरू त सबै डराउँछन् भन्ने हामी सबैलाई थाहा छ नि । मालिक नभएका समयमा मात्र चोर रमाउने हुन् भन्ने कसलाई थाहा छैन र !

दुई कान्लामाथि चढ्दा बहिनी गृहलक्ष्मीको घर भेटियो । उनी मेरो मामाकी छोरी हुन् । भतिजा चेतनाथ(मामातिरको नातामा बहिनी ज्वाइँ) को निधन भइसकेको हो । धेरै वर्ष पहिला । यो घरमा पनि भोटेताल्चा ठोकेको थियो । यो घर पनि प्राय खाली हुन्छ भन्ने सुनेको थिएँ । कहिलेकाहीें बहिनी आउने गर्थिन् । त्यो दिन भने रहिनछिन् । त्यहाँ नहुँदा उनी कहिले छोराहरूका घरमा जान्थिन् । कहिले माइत बलेवा–कैया जान्थिन् । कहिले छोरीको घरमा जान्थिन् । धेरैजसो कान्छा छोरा निलकण्ठको घर, पोखरामा हुन्थिन् । एकै ठाउँमा बस्न अप्ठ्यारो भएर होइन । जताततै माया बाँड्न । उनका जेठा छोरा गणेश ढकाल काठमाडौंमा बस्छन् । माइला राजु नहलपुर गैंडाकोटमा बसेका छन् । त्यो दिन कता गएकी थिइन् थाहा भएन । उराठलाग्दो देखियो आँगन । गोठतिर हेर्दै नहेरी माथितिर लागें ।  

वनपाले टिकारामका बुढाबुढी आँगनमै भेटिए । “गाउँ खाली भयो । हामी पनि आलो पालो चितवन प्रेम छोराकोमा गएर बस्छौं । हातखुट्टा र ढाड दुखेर हैरान भएकी छु म त । उहाँ पनि विरामी भइरहनुहुन्छ । एकदुई वर्षपछि ताला ठोकेर छोरासँगै जानुपर्ने होला ।” टिकारामकी पत्नीले मुख खोलिहालिन् । आँगनको डिलमा निस्केर टिकारामका दाजु बालाकृष्णलाई बोलाएँ । उनी लौरोको सहारामा बाहिर आए । “ए मन्त्री बा ! कताबाट बाटो बिराउनुभयो ?” भन्दै टिकारामको आँगनमा उक्ले । उनको हावभाव देख्दा दमले दुख दिए जस्तो लाग्यो । मुखभरिको सास घटाएपछि बोल्न थाले “हामी त बुढेसकालमा यहीँ आयौँ । यो घर नब्बे वर्षभन्दा बढीको भयो । हजुरबाले बनाउनुभएको हो रे । पहिला धन्सार थियो । भुईंमा भैसी बाँधिन्थ्यो । तलामा हामी सुत्ने बस्ने गथ्र्यौं । आँगनबाट उक्लने खडकरी थियो । मैले तलमाथि गारोले टालेर घरको आकारमा ल्याएको हुम् । यो नब्बे सालको भूकम्पद्वारा दहरिएको हो । ०७२ को भूकम्पलाई त यस्ले गन्दै गनेन । अहिले ठुली बुहारी माया साथमा छन् । ठुलो छोरा सिलाङ छ । कहिलेकाहीं आउँछ । अरू सन्तान लाखापाखा छन् । मैले काम गर्न सक्तिन । बूढी पनि लौरो नटेकी हिंडन सक्तिन । कमजोरै भए पनि मेरो स्याहार गरेकी छ र म बाँचेको छु ।”  

टिकारामले लैंनो भैंसी पालेका रहेछन् । उनले भैंसी दुहे । गिलासभरि तातो दुध लिएर आए । मैले हातमा लिएर पिउन थालें । दुध मुखमा खस्न अप्ठ्यारो मानेजस्तो लाग्यो । गिलासमा हेरें । तरैतर जमेको रहेछ । उनले कुँडेभरिको तरसहितको  दुध दिएका रहेछन् । धेरै समयपछि आएको हितैषी मान्छे भनेर होला ।

केही समय गफगाफ गरेपछि अर्काे कान्लो उक्लन मन लाग्यो । म उठेँ । हिँड्नै लाग्दा बालाकृष्ण आडैमा आएर सुटुक्क कानमा भने “   तपाईंको  भतिजा छ नि, नेता । माथिल्लो घरको कृष्णे । त्यो ठिक छैन । जालीझेली र फटाहा छ । मलाई कहिलेकहिले चिया खान बोलाउँछ । भाइले बोलायो भनेर जान्छु । चिया त ख्वाउँछ । अनि अरूसँग बालाकृष्णलाई पालेको छु भनिहाल्छ । विश्वास गर्न नहुने मान्छे छ नि । बुझ्नुभएको छ नि ?”  

म सुनेको नसुनै गरेर एउटा कान्लो उक्लेँ । वनपाले दुर्गादत्तको घर आइपुग्यो । त्यो घरमा पनि ढोकामा साँचो लगाएको थियो । एक वर्ष अगाडि आउँदा दुर्गा यहीँ भेटिएका थिए । उनी यो गाउँमा सबभन्दा पहिला डिग्री पास गर्ने मानिस हुन् । उनी संस्कृत व्याकरण विषय लिएर आचार्यको परीक्षामा उत्तिर्ण भएका थिए । उनी जीवनभर शिक्षक भएर बालकबालिकालाई शिक्षा दिए । उनी पेन्सनमा निस्केका थिए । निकै बलिया थिए उनी । सञ्चै छौ नि भन्दा अहिलेसम्म केही भएको छैन भनेका थिए ।

“आहारा पनि घटेको छैन । बल पनि घटेजस्तो लागेको छैन । अठहत्तर वर्षको भएँ । बूढी मरेको धेरै वर्ष भयो । छोरीहरू आआफ्नै घरमा जानै परयो । छोराहरू गाउँमा छैनन् । म एक्लै छु । जे भए पनि म ढुक्क छु । अझै बिस वर्ष मलाई केही हुन्न । सय वर्ष बाँच्ने हो बा भनेका थिए । केही महिनापछि उनलाई क्यान्सर भएको थाहा भएछ । जेठा छोरा बाबुरामले काठमाडौं लिएर गएका रहेछन् । म उहीँ गएको थिएँ, भेटन । पछि घर ल्याए भन्ने सुनेको थिएँ । केही समय घरमा राखेपछि मणिपाल अस्पताल पोरखामा लगेका रहेछन् । थाहा पाएपछि म गएको थिएँ । अवस्था निकै नाजुक देखियो । डक्टरले घरमै लैजान भनेछन् । केही समयमा घरमा स्याहारसम्भार गरेपछि बितेछन् । त्यतिबेला भने म आउन सकेको थिइन । अहिले त घर रित्तै छ । जताततै झारको रजाइँ छ ।

म अगाडि बढेँ । बुद्घि सागरको घर पनि रोइरहेको भेटियो । उस्तै ताला । सबै उस्तै । घर भने ढल्नै लागे जस्तो देखियो । भित्तो बाँदरले चिथरेजस्तो छ । कतै उक्केको र कतै भत्केको । छानो पनि च्यातिएको छ । बुद्घि सागर सेतीदोभानमा घर बनाएर बसेका छन् । कहिलेकाहीं घाँसपात गर्न आउँछन् रे । उनी मेरा तासका गुरु हुन् । उनले मलाई तासको सत्र खेल्न सिकाएका थिए । म र रामचन्द्रसँग दिनभर सत्र खेल्थे । सधैं उनैले जित्थे । उनीभन्दा हामी साना थियौं । उनले तास चोरेर भए पनि जित्दथे । पैसा ठिनी खेल्दा पनि दिनमा चारपाँच रुपयाँ उधारो लगाउँथे । मैले यजमानका घरमा गएर कमाएको सबै पैसाले यिनैलाई तिर्न पुग्थ्यो । रामचन्द्रले आफ्ना बाको खल्ती मार्थे र तिर्थे ।

थोरै अगाडि बुद्घि सागरका भाइ कान्छाको घर छ ।  त्यहाँ कान्छी मात्र रहिछन् । उनको आँगन र पिँढी सफा थियो । “उहाँ त ठुलीव्याँसीमा काममा जानुभएको छ ।” भनिन् र कान्छीले पिँढीमा गुन्द्री ओच्छाउन थालिन् । “भोभो म जान्छु” भन्दै माथिल्लो गरामा उक्लन पुगें । निकै लामो घर थियो ।आँगनमा पुगें । माइला दाइ चन्द्रकान्तको घर हो त्यो । चन्द्रकान्तको त भनौं । चलन यस्तै छ । उहाँको भए त सँगै लिएर जानुहुन्थ्यो । कति पसीना बगाएर बनाउनुभएको हो उहाँले । यसमा उहाँको दशौं लाख रुपियाँ भिजेको छ । कैयौं ग्यालन पसीना पोखिएको छ । केही लिटर रगत पनि भिजेको छ । आँसु पोखिएको छ । यसमा पनि ताला ठोकिएको रहेछ । अघिल्लो वर्ष आउँदा माइली भाउजू हुनुहुन्थ्यो । एउटा बाख्रो थियो साथी । उहाँ पनि बाख्रालाई पानी दिन नसक्ने हुनुभएछ । छोरा उमाकान्तले लिएर गएछन् साथमा । पोखरामा लगेका छन् रे ।  

अगाडि बढ्नुको विकल्प थिएन । भतिजा कृष्णप्रसादको घर थियो बाटैमा । पतिपत्नी दुवै थिए । कृष्णप्रसाद बोल्न थालिहाले । “छोराहरू पोखरामा छन् । हामी दुई जना छौँ । सायद अब खुट्टा चलुञ्जेल यस्तै हुन्छ होला । उसले पनि कहीँ नजाने भनेकी छ । आजै कहाँ छोरासँग टाँस्सिन जानु । यसले मेरो आँट बढाइदिएकी छ । म त नयाँ पक्की घर बनाउछु । यहीं बस्छु । मेरो धन्सारे घर भूकम्पले आधा भत्काइदिएको छ । बाले बनाएको घुमाउने घर पनि बस्न नहुने भएको छ । दुवै घर भत्काएर नयाँ बनाउँछु । बाकै घडेरीमा बनाउने हो । बरु कस्तो आकारमा बनाउने हो हजुरले सल्लाह दिनु होला ।” यस्तै बेलामा निर्मलाले भनिन् “खर्चको पीर मान्नु पर्दैन । काम गर्न पनि सकिन्छ । पेन्सनमा निस्केपछि मेरो पेन्सनले पनि पालिइन्छ दुई जना त । पकाएर खान सकुञ्जेल कहीँ जाने होइन ।” कृष्णले थप्दै गए ।

“बाहुन गाउँका घरहरू अधिकांश खाली छन् । घर छोडी गएर यहाँको उत्पादन लिन आउनेलाई त सेतीदोभान बजारबाट माथि आउनै नदिऊँजस्तो लाग्छ । जसले घर बनाएर छोडेका छन् तिनका घर त भत्काइदिए पनि हुन्छ । गाउँलाई गाराको जङ्गल बनाएर छाड्नेलार्ई त मायै लाग्दैन बा ! दाजु पुण्यप्रसाद पोखरामा बस्छन् । उनको यहाँ पनि घर छैन । पोखरामा पनि छैन । सबै भाडामा बस्छन् । दाजुले ज्योतिष र कर्मकाण्डी काम गर्छन् । राम्रै हुन्छ आर्थिक आम्दानी । रोगी छन् । चौध किसिमको औषधिको पोको बोकेर हिंड्छन् । डक्टरको सम्पर्कमा बस्नुपर्छ सधैं ।”

दाजु हिरामणिको आँगन । ढोकामा साँचो लागेको थियो । पिँढी भने सफा थियो । भर्खर बढारेजस्तो । गोठमा भैंसी थियो । आँईआँईं गरिरहेको थियो । एउटा बाख्रो पनि कराइरहेको थियो । यो घरमा दाजुकी बुहारी बस्छिन् । घर कुर्न राखे जस्तो । आज भने मान्छे हुनु र नहुनुमा खास फरक लागेन ।

दाजु सुन्तला घारीभित्र देखिए । उनले सुन्तलाका फेदमा पानीको धारो बगाइरहेका थिए । बुहारीले मल बोकिरहेकी रहिछन् । दुई जना खेताला थिए सुन्तला गोड्ने । उनीहरूले सुन्तलाको वरीपरि खाल्टो खनिरहेका थिए । मल र माटो मिलाएर त्यस खाल्टोमा खाँजिरहेका थिए । दाजुले भन्न थाले “बुढो भैयो । काम गर्न सक्दिन । खेताला खोजेर सुन्तला गोड्न लगाएको छु । मैले हेरेको छु । यी सुन्तलालाई मल चाहिने हुनाले भैँसी पालिएको छ । भैँसीलाई खान घाँसपराल पनि चाहियो । त्यसको निम्ति केही खेतीपाती पनि गरिएको छ । बूढी पोखरामै छ । छोरो, अर्की बुहारी, नाति र नातिनी समेत पोखरामा छन् । म खेतीपाती लगाउन र थन्क्याउन यहाँ आउँछु । अरू समय पोखरामै बस्छु । सुन्तला बेचियो । कोदो दश पाथी नहुने ठाउँका सुन्तलाको सत्तरी हजार परयो । पानी पाइपबाट घरमा ल्याएर खान र सुन्तला लगाउन तिमीले सिकाएका हौ । अहिले त गाउँमा सबैले सुन्तला बेचिसके । सबैका घरमा पाइपबाट पानी आएको छ ।”

कान्लो उक्लेँ । बाटो नभए पनि बलै उक्लेँ । आँगनजस्तै ठाउँमा पुगेँ । सिरानाघरे माइला दाइ हरिदत्तको घर । उहाँलाई मसिना पण्डित पनि भन्थे । अहिले त उहाँ हुनुहुन्न । उहाँको निधन भएको पनि वर्षौं भएको छ । दुई ओटा भाउजूहरू पनि बितिसक्नुभयो । तेस्री भाउजू हुनुहुन्छ, पोखरामा । छोराको साथमा । छोरा सत्य र लक्ष्मीपति छुट्टिएका छन् । घर दुई ओटा छन् । भोटे ताल्चा ठोकिएको छ । दुवैमा । सत्य र लक्ष्मीपति दुवै पोखरामा बस्छन् । सत्यले ज्योतिष र उप्रेती काम गर्छन् । लक्ष्मीपतिले पूजा सामग्रीको पसल चलाएका छन् । साथमा उप्रेती काम पनि गर्छन् । उप्रेती काम गाउँमा पनि नपाइने होइन । पोखरामा बढी आम्दानी हुने हुनाले उनीहरूलाई उही ठाउँ प्रिय भएको छ । उतै आकर्षित भएका छन् ।

पश्चिम पट्टि ढिस्कोमा चढेँ । अलिकति ओरालो झरेँ । सिरानाघरे साईंला दाइको आँगनमा । साइंला दाइ त धेरै वर्ष पहिला वित्नुभएको हो । नब्बे वर्ष कटेकी भाउजू हुनुहुन्छ । “ख्यामनारन खोइ त ?” भन्ने मेरो प्रश्नको जवावमा भाउजूले “सुतेको छ” भन्नुभयो । म खुरुखुरु सुतेको ठाउँमा गएँ । घुच्याएँ । दिउँसो किन सुतेको होला भन्ने लाग्यो । भाउजूले पनि सुत्नाको कारण बताउनु भएन । कारण बताएको भए किन उठाउन खोज्थेँ र । मैले घुच्याएपछि जुरुक्क उठे । “कान्छा बा !” भन्दै खुट्टा समाए र ढोग गरे । मैले बल्ल दिउँसो सुताएको रोगलाई पहिचान गरें । विचरालाई अमृतले काखमा राखेर सुकला गराएको रहेछ ।

मलाई विसाम्ना कान्छी भाउजुलाई भेट्न मन लाग्यो । कान्छा दाइ वितेको केही वर्ष भएको छ । ख्यामनारनको आँगनबाट कान्लै कान्ला ओर्लनु पथ्र्याे । मूल बाटोमा निस्केपछि एक कान्लो फेरि झर्नु प¥यो । विसाम्नेका आँगनमा पुग्न । विसाम्ने दाजुहरू मिलेर दुई भाइलाई पुग्ने गरी संयुक्त घर बनाएका छन् । त्यहाँ दुवै ढोकामा ताला लगाएको देखियो । दाजु धर्मदत्तको घर धेरै वर्ष पहिलादेखि बन्द थियो । कान्छी भाउजु यहीँ हुनुहुन्थ्यो । उहाँले आफ्नी बृद्घ आमालाई साथमा लिएर बस्नु भएको थियो । अहिले घर बन्द गरेर हिँडनु भएको रहेछ । छोरा अमरको घर भरतपुर जानु भएको छ रे ।

घर्ती गाउँतिर जाउँजस्तो लाग्यो । उपल्लो पँधेराबाट तल्लो बाटो जानुपर्छ । गजबहादुर घर्तीको घरमा जान । गजबहादुर र उहाँका पत्नीहरू सबैको निधन भइसकेको छ । जेठी पत्नीपट्टिका छोरा अगन्धर जीवनभर भारतमा छन् । उनलाई बार वर्षको उमेरदेखि उतै रमाउनुपरेको छ । वृद्घभत्ता मिलाउन भनेर आएका थिए रे, गतसाल । तुरुन्त उतै गएछन् । माइला टेकबहादुर भारतमा छन् । उनकी पत्नी पनि सँगै छन् । छोराबुहारी नातिनातिना सबै भारतमै छन् । टेकबहादुरले महाराष्ट्र राज्यको चन्द्रपुरमा जागिर गर्दछन् । साइँला सिंहबहादुरको परिवार पनि उतै रहेछ । उनी पनि दाजुकै जस्तो नोकरीमा उहीँ थिए । अहिले उनको निधन भएको छ । उनको ठाउँमा उनकै जेठा छोराले नियुक्ति पाएका छन् । ठुलाकान्छा भोजबहादुर पनि परिवारसहित भारतमै रहेछन् । साइंला मिनबहादुर र कान्छा डिलबहादुर मात्र यहाँ रहेछन् । यिनीहरूसँग भेट भयो । तेर्सै अगाडि बढ्दा घर्ती हिराबहादुरका आँगनमा पुग्नुपथ्र्याे । त्यहाँ पुग्दा हिराबहादुरका छोरा ओमबहादुर राताराता आँखा मिच्दै निस्किए, घरभित्रबाट । हाम्रो स्वागत सत्कार गरे । टाट्ने खुट्टामै भए पनि । शिष्टतापूर्वक प्रस्तुत भए । “एउटा छोरा विदेशमा छ । एउटा पुलिसमा सिपाही छ । यहाँ त हामी बुढाबुढी मात्र छौं बुबा । तपाईं त यहीँ आउनुपरयो । तपाईंले पठाइदिएको चार लाखले स्कूलमा बार हालियो । बार लाख स्वीकृत गराइदिनुभएको हो रे । अरू त आएन काका ।” भने उनले । उनकी पत्नीले चिया बनाएर ल्याइन् । हिंड्दाहिंड्दा थकाइ पनि लागेको थियो । मोहडामा बसेर चियापान गर्न अप्ठ्यारो मानिएन ।

गराको इत्लै इत्ला हिंडेर जाँदा तिलबहादुरको घरमा पुगिन्थ्यो । तिलबहादुरका बा गञ्जबहादुरलाई मैले माइलादाइ भन्थें । उनकी पत्नीलाई माइली भाउजू भन्नु स्वाभाविक थियो । ती दुवै बितेको धेरै वर्ष भएको छ । केही समय अगाडि तिलबहादुरले पनि नफर्कने गरी बिदा लिएका रहेछन् । हामी आँगनमा टेक्न पुग्यौं । भित्रबाट उनकी पत्नी निस्किन् । फुङ्ङ उडेको अनुहार लिएर । मन्नरी हो उनको नाम । उनले भन्न थालिन् “उहाँ बित्नुभयो । म त एक्लै छु । कहाँ जाउँ । घरीघरी त ताला ठोकेर हिंंडौं कि जस्तो लाग्छ । तर कहाँ जानु । कान्छी बुहारी साथमा छ । उसकै आधारमा बसेकी छु । बुढाले यही घरमा ल्याएका हुन् । यही घरको ताला भएर झुन्डिइरहेकी छु । छोरो एउटा पुलिस छ । अर्काे विदेश छ । ठुला छोराबुहारीको विछोड भयो । नातिले बिठ्याइँ गरयो भन्छन् । अहिले जेलमा छ । लौन बाजे छुटाएदिन परयो । मैले आमा समूहमा काम गरेकी छु । सबैले गर भनेर कर गरे । त्यसै बस्नभन्दा त सामाजिक काम गरेकै जातिजस्तो लाग्यो ।”

माथिल्लो आँगनमा उक्लियो । त्यहाँ झपनबहादुर घर्तीको घर छ । उनी गञ्जबहादुरकै जेठा छोरा हुन् । उनले पनि भारतको महाराष्ट्रमा जागिर खान्थे । उहीं बितेछन् । मलाई देख्नेबित्तिकै उनकी पत्नी बाहिर आइन् । पिँढीको डिलसम्म आउने गरी गुन्द्री ओछयाइन् । अनि शिष्टतापूर्वक “बसौं बाजे” भनिन् । यिनले पनि आफ्नो दुखेसो पोख्न थालिहालिन् । “उहाँ बित्नुभयो । ठुलो छोराले उहाँकै ठाउँ महाराष्ट्र भारतमा नोकरी गर्छ । पहिला त आफैले नोकरी गरौं कि भन्ने लागेको थियो । पछि ठुलालाई लगाइयो बाउका ठाउँमा । कान्छो छोराले पनि दाजुलाई नै जागिरमा लागाउन मञ्जुर गरयो । बुहारी पनि उतै छ । कान्छा सूर्यबहादुरले नेपाली फौजमा जागिर खान्थ्यो । छ वर्षजति खायो जागिर । पछि जागिर छोडेर अरबको दुवैमा गयो । पाँच वर्षभन्दा बढी टिक्न सकेन दुवैमा पनि । अहिले कान्छा पनि भारततिरै छ । छोराले उतै बसौं भनेका थिए । मलाई बुढाले देखाइदिएको ठाउँ छोडिहाल्न मन लागेन । छोरासँग जाने आउने गरिरहेकी छु । यतिबेला पनि तिन दिन भयो आएको । घरको ताला खोलेर बसेकी छु ।”

झपनबहादुरको घरबाट माथितिर हिंडियो, डहरको बाटो । एकै क्षणमा वनपाले तिर्थप्रसादका घरमा पुगियो । उनले गोठमा भैंसीका भकारा सोहोर्दै थिए । उनले गोबर लतपतिएका दुवै हात जोडे । “नमस्कार कान्छा बा” भने । मैले पनि स्वभाविक तरीकाले अभिवादन फर्काएँ । भकारा सोहोर्दैसोहोर्दै बोल्न थाले । “बुढाबूढी मात्र छौं । छोरीहरू सबैको विवाह भइसक्यो । छोरो जागिर खान बाहिर गएको छ । बाँकी हामी दुई जना मात्र भयौं । तपाईंकी बुहारी भान्सामा छिन् । म गोठमा छु । तपाईंले उहिलै कुखुरा पालिदिनुभयो । व्यावसायिक तरकारी र फलफूल खेती गर्न पनि सिकाइदिनुभयो । यो पण्डिते बाहुनका गाउँमा । बाहुनले पनि कुखुरा पाल्नहुन्छ भन्ने स्थापित गरिदिनुभयो । त्यसले हामीलाई निकै हौसला मिल्यो । माइला दाइ मुक्तिप्रसादले बाँचुञ्जेल कुखुरा पाल्नुभयो । तरकारी खेती पनि गर्नुभयो । मैले पनि ४५ वर्ष जति पालेँ, लोकल कुखुरा । छोराछोरी हुर्कने बेलामा कुखुराले निकै गुन लगाए । एक वर्षजति भयो पाल्न छाडेको । व्यावसायिक तरकारी खेति भने गर्दै छु । कान्छी छोरी अमेरिकामा छ । वर्षको दुई लाख पठाइदिन्छु भन्छे । त्यतिले दुई जनालाई पुगिहाल्छ । दुख नगर्नोस् भन्छे । छोरीको खाएर के सुख काट्नु ? हामीले आफ्नो जिउ पाल्न त सकिहाल्छौं । अझै हातखुट्टा दहरै छन् कान्छा बा ।”  

धेरै बेर रोकिइन । कुरा गर्दै र सुन्दै माथितिर गएँ । वनपाले माइला मुक्तिप्रसादको आँगन बाटैमा थियो । त्यहाँ घुमाउने घर थियो । अहिले नयाँ घर बनेको रहेछ । ढोकामा ताला ठोकिएको देखियो । एकछिन उभिएँ । माइलालाई नसम्झी कसरी अगाडि बढ्न सक्थे पाइला । अनपढ किसान भए पनि माइला लोकप्रिय थिए । उनी निकै सहयोगी थिए । अरूलाई सहयोग गर्दा खुब खुसी हुन्थे । भैंसी, गोरु बाख्रापाठा कुखुरा आदि किनबेच गर्ने काममा सहयोग दिन्थे । निकै मेहनती थिए । साहसी थिए । बाँच्ने रहर नपुग्दै गए । छोरा कृष्णप्रसाद न्यूजिल्याण्डमा जागिर गर्छन् । पत्नी र छोराछोरी पनि उतै लगेका छन् । आमालाई पनि घुमाउन भनेर उतै पुरयाएका रहेछन् । योे कुरा मैले पहिलै थाहा पाएको थिएँ ।

नरबहादुर घर्तीका घर जान मन लाग्यो । तहरातिरबाट गोठ हुँदै आगनमा पुगें । पहिला उनका जेठा छोरा नुबहादुरको घरमा पुगिन्थ्यो । नुबहादुर केही वर्षअगाडि बितेका थिए । उनले महाराष्ट्रको चन्द्रपुरमा जागिर गर्थे । उनी बितेपछि उनका छोरा लिलाले त्यहींँ जागिर पाएका छन् । म पुग्दा नुबहादुरकी पत्नी पिँढीमा थिइन् । उनले “नमस्कार बाजे !” भनिन् । मेलै पनि भने “नमस्कार” । ‘बसौं चिया बनाउँछु’ भन्दै थिइन् । मैले हिँड्न उचित माने । हिँड्दाहिँड्दै मलाई रोकिन् । शिष्टतापूर्वक अनुरोध गरिन् । “यही हो छोरी । अपाङ्ग छे । यस्तीलाई हातपात गर्ने । बलात्कार गर्ने । त्यो दुष्टलाई जिन्दगीभर थुनिदिनुपर्छ है बाजे । हाडनाता पनि नभन्ने बजिया । अझ कति मत्त भएकी नि त्यसकी हजुरआमा । जे नाप्ने हो नाप भनेर नरक देखाई । हामीले पनि नापिदियौँ । जेलमा छ ।”

म आँगनै  आँगन  अगाडि बढेँ । पिँढीको डिलमा बसेका नरबहादुर दाइलाई देखिहालेँ । उहाँ खामाको आड लागेर बस्नुभएको थियो । घर्ती गाउँमा उहाँ मात्र हुनुहुन्थ्यो, मैले दाजु भन्नुपर्ने मान्छे । मैले उहाँलाई कान्छा दाइ पनि भन्थें । कान्छी भाउजू बितिसक्नुभएको थियो । चारपाँच वर्षअगाडि । यी दाजु घर्ती गाउँको पहिलो कम्युनिष्ट हुनुहुन्छ । देख्दाबित्तिकै नमस्कार भन्न मैले उछिनिहालेँ ।

 उहाँले पनि नमस्कार नभन्ने कुरै भएन । उहाँले भन्न थाल्नुभयो । “अब त उठ्न पनि गारो हुनथाल्यो ।बूढी मरेपछि झन् कमजोर भएँ । स्वास्नी आधा अङ्ग हुन् भन्नुहुन्थ्यो, तपाईंको बुबाले । साँच्चै रहेछ । म त उ मरेपछि आधा मरेजस्तै भएको छु । ठुलो छोरा गइहाल्यो । विधवा बुहारी आँगनमा देख्दा उराठ लाग्छ । बाउको ठाउँमा नाति गएको छ । महाराष्ट्रमा नोकरी गर्न । माइलामाइली लाहुरै छन् । एउटा नाति मनबहादुर अरबतिर गएकोछ । अर्काे नाति इन्डियामा छ । हिउँदमा दुवै नाति आएका थिए । विवाह गरेर गए । यी यिनै हुन्, नातिनी बुहारीहरू । यिनैले पकाएर खान दिन्छन् र बाँचेको छु । अचेल त सबै कुरा बिर्सन थालें । पहिलापहिलाका कुरा सम्झन्न । भर्खरै गरेका कुरा पनि बिर्सन थालेको छु । तपाईंले सुन्तला लगाउन भन्नुहुन्थ्यो । बिरुवा जमाएर पनि दिनुभएको हो । यी अहिले त सुन्तलाको झाडी भएको छ । बेसाहा खान निकै काम लागेको छ । मेरोमा मात्र होइन गाउँभरि सुन्तला छन् । यी यो केरा तपाईंले ल्याइदिएको विउ हो । खुब बास्नादार मिठो छ मन्त्री बाबु । यो धेरै फल्छ । एउटा बोटमा तिन सयसम्म कोसा । यो हाम्रो गाउँभर फैलिएको छ । सापकोटा गाउँमा पनि यही छ ।  सुन्तला र केराका बोट देख्दा तपाईंलाई सम्झिहान्छु । यो केरा आउनभन्दा पहिला मुहुरे केरा थियो । ठुलाठुला कोसा मात्र । थोरै फल्ने । अहिले त्यो मासियो । व्यावहारिक भएन र आफैं मासियो । तपाईंले नयाँ विउ ल्याइदिनुभयो । हामीलाई सिकाइदिनुभयो । भविष्य देखाउने मानिस पनि चाहिंदो रहेछ गाउँमा ।”

दाजुले कुरा सुनाइरहेका थिए । त्योबेलामा उहाँका नातिनी बुहारीहरूले कुरा सुनिरहेका थिए । पिँढीको छेउमा उभिएर । दुवै एउटै जिउडालका देखिन्थे । उमेरमा पनि १८÷२० वर्षका जस्ता । दाजुले चिया पकाउन भन्नुभयो । एउटी बुहारीले चिया पकाएर ल्याइन् । दाजु र मैले सँगै चिया पियौं । अनि म हिंडें।

ओहो बुवा, नमस्कार । मेघबहादुर शाही उमङ्गित शैलीमा बोल्नुभयो । उहाँले केके पकाउँदै हुनुहुन्थ्यो । भान्सामा । आँगनको डिलतिर थियो भान्सा । उहाँकी पत्नी धान कुट्न जानुभएको रहेछ । मेसिनमा । देउरालीमा रहेछ धान कुट्ने मेसिन । “म एक्लै छु । भात पकाउँदै छु । चारओटी छोरीको विवाह भइसक्यो । सबै सुखी छन् । खुसी छन् । दुई ओटी छोरीहरू पढ्दै छन् । जमुना जापानमा छ । लक्ष्मीले काठमाडौंमा पढ्छे । घरमा त तिन जना मात्र हो । मुमा बूढी हुनुहुन्छ । उहाँ कति वर्षकी हुनुभयो, थाहा छैन । मलाई यत्ति मात्र थाहा छ । उहाँले चौरासीको पूजा गरेको चालिस वर्ष भयो । बुवाले चौरासीको पूजा गर्दा मुमाले पनि सँगै गर्नुभएको हो । बुवा चौरासी पुग्नुभएको थियो । मुमा भने केही कान्छी हुनुहुन्थ्यो । बुबा बित्नुभयो । उमेरअनुसार मुमा बलियै हुनुहुन्छ ।”  मेघबहादुरले आफ्नो कुरा फटाफट बताउनुभयो ।

उहाँका दाजु इन्द्रबहादुरको घर जोडिएकै छ । उहाँ भू.पू. सैनिक । नेपाली सेनाको । उहाँ पनि आँगनमै भेटिनुभयो । बुवा “ढोग” भन्नुभयो । “ढोग होइन नमस्कार भन्ने हो” भनेँ । ढोगको उत्तर मैले नमस्कारले दिएं । घरमा उहाँ एक्लै देखिनुभयो । मैले मैयाँ खोई त भन्नु अस्वाभाविक भएन ।  

“ए बूढी ? उनी त पोखरा गएकी छन् । आँखाको औषधि गर्न । आँखा पाकेको धेरै भयो । हेर कोर गरियो । कसैले नाग रिसाएछन् भने । कसैले आँखा परेछन् भने । उनले पनि हामीसित आशा गर्ने भए नि बुबा । पानी समाएर सम्झियो । फुफा गरियो । विसको उन्नाइस भएन । शिव छोराले औषधि गर्नुपर्छ भनेर बोलायो । पोखरा छोरासँग गएकी छन् ।”

मैले छोराछोेरीका सम्बन्धमा सोध्नु उचितै थियो । उहाँले तुरुन्त भन्नुभयो । “ठुलो छोराले पढ्न सकेन । उसले पोखरामा चौकीदारको जागिर खान्छ । मणिपाल अस्पतालमा । अर्काे, माइलो भनौं कि साइँलो पुलिस छ । कान्छो पढ्दै छ । छोरीहरू सबैको विवाह भयो । हामीले घर कुरेर बसेका छौं । दुख पाइएको छ बुबा । छोराहरूले पौरख गर्न सकेनन् । बुढेसकालमा पनि आफैले कमाएर खान परेको छ ।”

कुरा गर्दागर्दै उहाँ घरभित्र जानुभयो । हातमा एउटा स्टीलको गिलास लिएर निस्कनुभयो । गिलासमा तात्तातो दुध रहेछ । मलाई दिनुभयो । मैले दुध खाएँ । त्यसपछि मेरो यात्राले उकाली मुखको बाटो समात्यो ।  

शेरबहादुर शाहीको घर बाटैमा भेटियो । ढोकामा ताला झुन्डिएको । शेरबहादुर र उहाँका बुबा भक्तबहादुर शिकार खेल्नमा निकै शौखिन । त्यसको निम्ति घरमा एकदुई बन्दुक सधैं झुन्डिएका हुन्थे । म जाँदाको दिन घरमा कोही नभएको कुरा मलाई पहिलै थाहा थियो । शेरबहादुर र उहाँकी पत्नी काठमाडौंमा बस्नुहुन्छ । उहाँ पनि नेपाली सेनाबाट सेवानिवृत्त कर्मचारी । उहाँका जेठा छोरा पनि काठमाडौंमै जागिर गर्नुहुन्छ । सपरिवार । कान्छा छोरा एरोनटिकल इञ्जिनियर । एउटा प्रतिष्ठित एयरलाइनमा जागिरे । बसाइँ काठमाडौंमै छ । जेठा छोरा र उनको परिवार बाबुआमासँगै छ । कान्छाले भने बेग्लै घर बनाएर बस्नुभएको छ । शेरबहादुरकी पत्नीको नाम सरिता शाही हो । उहाँ ०५४ सालको स्थानीय निर्वाचनमा वार्ड अध्यक्ष निर्वाचित हुनुभएको थियो, यही वार्डमा ।  जनयुद्घ कालमा माओवादीले घर खानतलासि गरे । बन्दुकहरू लगे । त्यसपछि सुरक्षाको समस्या भयो । उहाँ पनि विस्थापित हुन वाध्य पारिनु भयो । उहाँका पति तत्कालीन शाहीसेनामा जागिरे भएको हुनाले पनि सरितालाई घर नछोडि सुख मिलेन । 

सेरबहादुर शाहीका भाइ भीमबहादुर शाही । जोडिएकै घरमा बस्नु हुन्छ । उहाँ भारतीय सेनाबाट निबृत्त भएर आउँनु भएको हो । उहाँका घरमा पनि दुई जना मात्र देखिनु भयो । भीमबहादुर र उहाँकी पत्नी । एउटा छोरा अरब गएका रहेछन् । अर्काेले पोखरामा पढ्दा रहेछन् । भीमबहादुरकी पत्नीले दुध खाएर जाउँ बुबा भन्नुभयो । दुध भरखर इन्द्र बहादुरजीकोमा खाएको हुनाले नखाने कुरा बताएँ । उनिहरूले बस्न र दुध खान कर गरे पनि म उकालो लागें।

पोषबहादुर शाहीको घरमा उहाँकी पत्नी मात्र । उहाँले भन्नु भयो ।“उहाँ बितेको धेरै वर्ष भयो । पाँचओटा छोरा र एउटी छोरी जन्मे । सबै हुर्के । जेठो हरायो । अत्तोपत्तो छैन । माइलो गणेश दलाईलामाको सूरक्षासेनामा छु भन्थ्यो । भारतमा छु पनि भन्छ । छोराछोरी पढाउन भनेर बुहारीलाई स्याङ्जा बजारमा राखेको छ । यहाँ राखिदिए पनि मलाई साथी हुन्थी नि । साइंलो खडक र काइंलो कृष्ण अरबतिरै गएका छन् । कान्छोले काठमाडौंमा छु भन्छ । के गर्नु पेट पाल्नै प¥यो । मैले घरको दैलो खोलिरहेकी छु ।”

“मोटरबाटो खन्दा मेरो चर्पी समेत भत्काइदियो । पछि बनाइदिन्छु त भनेको छ । भत्काएका चर्पीका जस्तापाता बारीको कान्लामा ठड््याएर राखेकी थिएँ । माइला जेराज नरबहादुर शाहीले ती टिनका पाता चोर्नुभयो । ज्वाइँलाई समेत लगाएर । तीनै जस्ता पाताले आँफ्नो भान्साकोठा छाउनुभएको छ । लौ न बाजे फिर्ता दिन भनिदिनुपरयो । हामी जस्ता विधवा टुहुरालाई त्यसरी हेप्न मिल्छ त ? गाउँका सबै दाजुभाइसँग रोएकी छु । कसैले पनि सहयोग गर्नुभएन । यो गाउँ त बिग्रेको छ बाजे । अनाथहरूको निम्ति टिक्नै गारो छ । नरबहादुर जेराज आपूm त पहिलै देखिको लोभी हो । अहिले छोरा, नाति र ज्वाइँलाई समेत आपूmजस्तै बनाउनुभयो । यस्तो गरेपछि कसरी सन्तान राम्रो हुनु । बाउआमाले जे सिकायो छोराछोरी र नातिनातिनाले त्यही सिक्ने हो नि बाजे ।”

ठकुरी माइला नरबहादुर शाही आँगनमै भेटिनुभयो । उहाँले निगालाका चोया हल्लाइरहनुभएको थियो । म पुग्नेबित्तिकै बोल्न थाल्नुभयो । “हेर्नोस न काका, वनपाले तिर्थेले चोया ल्याएर फालिदिए । धानचामल थन्काउने कोठी बनाउने रे । मैले थालिदिनुपरयो रे । मेसो मिलाएर सुरु गरिदिने रे । मेसो मिलाउनै सकिएन । सारै बाक्ला चोया छन् । तह लाउनै सकिन । चित्रा जस्तो गरेर बनिदिन्छु । पातला चोया भए पो मेसो मिलाउन सकिन्थ्यो ।” यति सुनाएपछि मलाई कुर्सी देखाउनुभयो । म बसेँ । भान्सातिर चिया अर्डर गर्नुभयो । फेरि मनको बह पोख्न थाल्नुभयो । “असि पुग्न थालियो काका । म त बलियै छु । बूढी रोगी भई । यही छ चिन्ता । जति बुढेसकाल आयो त्यतिधेरै बूढीको माया लाग्दो रहेछ । छोरी जति घर खोजेर गए । जेठो छोरा पुलिस थियो । पेन्सन पकाएर घरमा छ । वर्दघाटमा घर बनाएको छ । कान्छो केही समय अरबतिर गयो । अहिले घोरेढुङ्गामा बस्छ । कान्छो भाइ पनि घोरेढुङ्गामै छ । ठुलो दाइ जीवनभर डिल्लीमा बस्नुभयो । छोराछोरीहरू उतै छन् । हामी बुढाबुढीले ढोका कुरेका छौं । के गरौं जति उमेर ढल्कदै गयो   उति  एक्लो ।”

“  तपाईले खोलाबाट पाइपबाट ल्याई घरमा धारा  बनाएर पानी खान सिकाउनुभयो । ४६÷४७ वर्ष पहिला । त्यतिबेला हामी सबैले खोलाबाट गाग्रीमा पानी बोक्थ्यौं । पहिलो वर्ष बाँसको धारो बनाएर ल्याउनुभयो । पानीले गाउँ बगाउँछ कि भनेर डर लागेको थियो हामीलाई । पाँच सय मिटर परको आरुबोटबाट, दोस्रो वर्ष पोलिथिन पाइप ल्याउनुभयो । त्यति परबाट पानी ल्याएर नमुना देखाउनुभयो । अहिले सबैका आँगनमा पानी पुगेको छ । अरू केके देखाउनुहुन्थ्यो होला । बाहिर जानु भयो । जाहाँ गए पनि पानीको धारामा जाँदा तपाईंलाई सम्झिहाल्छु  मैैेले त । आउनुहोस् भो अब त यहीं बसम् । सगै बसम् ।”

“जेठा बुबाको सन्तानमा कान्छो पोषे थियो । त्यो अचानक म¥यो । पाँच भाइ छोरा छन् । घरमा भने कोही छैनन् । एक्लै छन् बुहारी । जेठो रत्नेका छोरा छन्, दिल्लीमा । कान्छा बुबाको त कोही पनि छैन । ठुला सेतेका छोरा छैनन् । सबै मरे । एउटी छोेरी छ । कता हो कता । कान्छा चित्रबहादुर (काले) हराएका हुन् । अत्तोपत्तो छैन । साइला बुबा तनहूँमा बसाइँ गएका हुन् । छोराको निधन भयो । नातिहरू छन् दुई भाइ । छोरीहरू मनपाङमा छन् । कहिलेकाहीँ आउँछन् । जन्मस्थल सम्झेर ।”

“बाख्रो रोगाएर पनि हैरान पारयो काका । झारफुक गरेँ । आखत देखाएँ । भाकल गरेँ । सञ्चै हुँदैन । एक दिन मान्छेले खाने सिटामोल एक मुठी ख्वाइदिएँ । केही घण्टा त चुपचाप भयो । दुखेर कराउने रहेछ कि क्या हो । पेन किलरले आराम दिए होला । फेरि उस्तै । नमरी फाल्न पनि भएन । २४÷२५ दिन भयो । न उठ्छ ।न मर्छ ।  मान्छेको अस्पताल त यहीँ सिम्लेमा पनि छ । सेतिदोभान बजारमा पनि छ । सामुदायिक अस्पताल । बाख्राको अस्पताल कहाँ छ, थाहा भएन । स्याङ्जा बजारमा छ भन्छन् । कसरी बोकेर जानु । सञ्च भए हुन्छ । मरे फालिदिन्छु । के गर्नु त नत्र ।” माइला बाबु साहेवले दुखेसो पोख्नुभयो।

नरबहादुरले थप्नुभयो “हामीलाई सेतीदोभान जाने आउने मोटरबाटोको समस्या थियो । मैले तपाइँलाई भने । तपाइँले सेतिदोभान—फापरथुम सडक भनेर माथिबाट स्वीकृति पाउन सकिदैन । यो छोटो भयो भन्नुभयो । तपाइँले नै ‘सेतीदोभान—चण्डीकालिका, चण्डीथान’ भन्ने हो भने स्वीकृति ल्याउन सकिन्छ भन्नुभयो । अनि कृष्ण ढकाल र म भएर त्यसका निम्ति कागतपत्र तयार गरयौँ । तपाइँले माथिबाट स्वीकृत गराउनुभयो । केही बजेट पनि ल्याइदिनुभयो । त्यतिले डोजर ल्याएर खहरे खोलासम्म बाटोको रेखा बनाएका छौं । त्यो रेखा तयार गर्दा विसांने गोविन्द पनि थिए । हामीले डाँडापोखरी पुगेपछि फोन गरेका थियौँ । गोविन्दले तपाइँलाई फापरथुममा आएर घर बनाएर बस्न भनेका थिए । अकालमै मरे विचरा । तपाइँलाई यो बाटाको निम्ति धेरै पैसा पार्न पनि भनेका थियौं । अब बजेट आउला र बाटो पूरा गरौंला भन्ने विचारमा छौँ । गोविन्दका छोराहरू पनि बाहिरै छन् । माइला झंकुले बाटोमा बजेट पारिदिन्छु भनेका छन् ।”  

नरबहादुर र म सँगै लोहोसेतिर गयौं । लोहोसे वीरबहादुर नेकपा(माले) का कार्यकर्ता हुनुहुन्थ्यो । ०३६ सालमा नरबहादुर शाही, नरबहादुर घर्ती र वीरबहादुर घर्तीका बीचमा नेकपा(माले) फापरथुम टोल कमिटी बनेको थियो । वीरबहादुरको घरमा पार्टीको सेल्टर थियो । भूमिगत काममा प्रयोग गरिने घरलाई भनिन्थ्यो सेल्टर । घर सानै थियो । अाँटी पनि सानै थियो । अाँटीमा राख्ने अन्न नभएपछि सबै खुला हुन्थ्यो । त्यहाँ पार्टीका ठुलठुला बैठकहरू हुन्थे । सुरक्षित थियो ठाउँ । उहाँ त्यागी, इमानदार, नैतिकवान् र लडाकु क्रान्तिकारी हुनुहुन्थ्यो । उहाँका जेठा छोरा धेरै वर्ष पहिला हराएका हुन् । माइला छोरा दिल्लीतिर छन् भन्छन् । कान्छा पदम पनि धेरै समय भयो भेटिएका छैनन् । उनकी पत्नी सुजा उनलाई पर्खेर बसेकी छन् । उनका छोरा बुहारी र नाति छन् । वीरबहादुरका भाइ माइला खिन्तबहादुर पनि बितिसकेका रहेछन् । उनकी दोस्री पत्नीले घर कुरिरहनुभएको रहेछ । उनका जेठा छोरा पनि हराएका छन् । अर्का छोरा भोलाले भने दाजु डिल्लीराजको घर कुरेर दिन कटाइरहनुभएको रहेछ । कान्छा कटबहादुर भूपू सैनिक हुनुहुन्थ्यो, भारतीय सेनामा । उहाँ पनि बाँच्ने रहर हुँदाहुँदै जानुभएछ । उहाँकी जेठी पत्नीतिरका छोरा ज्ञानबहादुर पनि भूपू सैनिक, भारतीय सेनाकै । उहाँकी पत्नी बत्ती साथमा छन् । उहाँका छोरा पनि अरबमै छन् । कटबहादुरकी कान्छीपट्टिका छोराहरू पनि घरमा छैनन् । सबै विदेशतिर छन् । एउटी छोरीका साथमा बसेकी रहिछन् कान्छी।

आफ्नै घर हेर्न मन लाग्यो । नरबहादुर र म सँगै हिंड्यौंं ।  मैले ०४४ सालमा यो ठाउँ छाडेको हुम ।  मैले ०२९ सालमा बनाएको घर दाजु डिल्लीराजलाई बेचेर गएको थिएँ । भाउजू बित्नुभयो । दाजु जागिरबाट सेवा निवृत्त हुनुभयो । हाल देवघाटमा बस्नुहुन्छ ।

छोरी दिना शिक्षक छन् । कान्छी छोरी गिता अदालतमा जागिर गर्छिन् । छोरा शिशिर जिल्ला न्यायाधीश छन् । कान्छा छोरा झंकनाथ राष्ट्र बैंकमा अधिकृत छन् । कोही पनि यो घरमा बस्दैनन् । बाहिरै छन् । घरको ढोकामा ताला झुन्डिएको छ । आँगनमा पुग्दा डुङडुङती पिसाव गनाइरहेको थियो । घर कुर्न राखेकाले आँगनमै दिसपिसाव गर्छन् भन्थे । हो, रहेछजस्तो लाग्यो।  

शौचालय घरको पछाडि छ । राति उठेर त्यति पर को जाओस् । चेतनाले पनि उति पर जाने आँट आउन दिएन होला । थोरै तल झरियो । बाले बनाएको घुमाउने घरको खण्डहर भेटियो । निकै उराठलाग्दो हुँदो रहेछ खण्डहर । एकछिन उभिएर हेरियो । अनि जेठा दाजु भोलानाथका आँगनमा पुगियो । भोला दाजु ०५६ सालमै बित्नुभएको हो । केही वर्ष भाउजू एक्लै बस्नुभयो । अहिले छोरा रामचन्द्रले साथमा लगेका छन् । उनी भैरहवामा बस्छन् । माइला दाइ २०१० सालमै बिदा हुनुभएको हो । भागिरथी नदीमा डुब्नुभएको रे, ऋषिकेशमा पढ्न जाँदा । माइली भाउजू अहिले देवघाटमा हुनुहुन्छ, सन्यास आश्रममा । पोषबहादुर शाहीकी सालीबुहारीले कुर्नुभएको रहेछ घर । तिन जना छोराछोरी रहेछन् । साइला अरबमा जानुभएको रहेछ । उहाँले ढोका खोल्नुभयो । हास्स आयो पासको बास्ना । रक्सी पारेर बेच्नु हुँदो रहेछ जस्तो लाग्यो । यो गाउँमा अधिकांश पुरुषले खान्छन् रक्सी । आफै बनाएको भने थाहा थिएन । साइंलीले भने रक्सी पारेर बेच्नु हुँदो रहेछ, दाजु भोला पण्डितको पूजा गर्ने कोठीमा । बेठीक लागेन ।  

गाउँको जनसंख्या तीव्रगतिका साथ घटिरहेको रहेछ । यस्तो भएको प्राकृतिक प्रकोपका कारणले भने होइन । बाढीपहिरो पनि गएको छैन । रोगको महामारी फैलिएको पनि छैन । देशीविदेशी शत्रुहरूले आक्रमण पनि गरेका छैनन् । विदेशी आक्रमण भएर शरणार्थी हुन परेको पनि होइन । देशमा विद्रोहको प्रादुर्भाव भएर पनि होइन । न विद्रोहीले बस्न नदिएर हो । न विद्रोही खेद्ने नाममा सरकारी सेनाले सताएर हो । तैपनि गाउँ शून्यप्राय छ । अधिकांश घरहरूमा भोटे ताल्चा ठोकिएको छ । घरका भित्ताहरू खरानी उडेझैं फुङ्ङ उडेका देखिन्छन् । पटाहाहरूमा कसेरै कसेर छ । कतै ती भत्केका छन् । कतै हरियै देखिन्छन् लेउ लागेर । आँगनमा झार मौलाएको छ । खुब खुसी देखिन्छ झार । रमाइरहेको छ त्यो । आफ्ना जहान परिवारसँग ख्यालठट्टा गर्दै । चारैतिर जमिन बाँझो छ । गोठमा भैँसी छैनन् । गाईगोरुहरू पनि कराउँदैनन् । भेडाबाख्राको भ्याभ्या र म्याम्या पनि सुन्न पाइँदैन । आँगनडिलको टँगालोमा बसेर कौवाले काका गर्दैन । घरमा मान्छे भए पो खान पाइन्छ कि भनेर कराओस् काग । ड््याङ्ग्रे  र ढुकुरहरू पनि आँगनमा डुल्दैनन् । चारो टिप्न । कसले चारो छरिदिओस् र टिपोस् चराले । न विरालाको म्याउँम्याउँ । न कुकुरको ह्वाङह्वाङ । जताततै चकमन्न छ । ताला लागेका घरहरू मात्र होइन कतै कतै त भत्केका गाराहरूले खण्डहर बनाएका छन् । जङ्गल र खोला खोल्सीतिर हिंसक जनावर र “भूतप्रेत”का डरले गाउँमा पस्दा सुरक्षित भएको महसुस हुन्थ्यो पहिला । अहिले त गाउँ पो डरलाग्दो भएछ । मसानघाटजस्तो निर्जन । कुनै कुनाबाट फुत्त बाघ निस्केर झम्टन्छ किजस्तो । भालुले हमला गरेर कोपर्लाजस्तो । मरूभूमि जस्तो फुङ्ङ उडेको । डरलाग्दो छ गाउँ । घना जङ्गलमा पसे जस्तो कतै । कतै नदीको बगरमा दौडे जस्तो मानिस बोलेको सुनियो भने अनौठो मान्नुपर्ने । मानिसको आवाजसँग तर्सनुपर्ने । कतैकतै दुई खुट्टे भेटिए भने उमेर कटेका बुढाबुढी मात्र । युवायुवतीको नामनिसान छैन । बच्चा रोएको सुन्नै नपाइने । गाउँमा आमा हुन सक्ने उमेरका भाउजू बुहारी भए पो रुवाउन् बच्चा । उमेरको कोही दाइभाइ भए पो होउन भाउजू बुहारी । बच्चा रोएको सुन्न नपाउँदा त झन् अचम्म हुँदो रहेछ । कुन मरुभूमिमा दौडिरहेको छु जस्तो । 

घरगोठ भएका गाउँको मात्र होइन । त्यहाँ स्थापना गरेको जनज्योति आधारभूत विद्यालयको पनि विजोग छ । विद्यार्थी भए पो विद्यालय भरिलो देखिन्थ्यो । विद्यालय त बालबालिकालाई पढाउन न स्थापित भएका हुन् । किशोरकिशोरी र युवाहरूको ज्ञान बृद्घिका निम्ति पो निर्माण गरिएका हुन् स्कुल । तिनको अनिकालै परेपछि स्कुलमाथि खडेरीले आक्रमण गर्ने नै भयो । विद्यालय पनि निर्जन छ । पाँचसात बच्चाहरू लिएर हाजिर छन् ८÷१० शिक्षकहरू । शिक्षादिक्षाका निम्ति होइन शिक्षकको जागिरको निम्ति पो धिकिरधिकिर गरेका जस्ता छन् स्कुल ।

सरकारले निकै लगानी गरेर स्थापना गरेको रहेछ स्वास्थचौकी । त्यसको भवन निर्माण गर्दा जनताको रगत र पसीना पनि हजारौं लिटर खर्चिएको थियो । त्यहाँ पनि हेअ, अहेअ र अनमीहरू मात्र देखिन्छन् । विरामीको भिड भए पो व्यस्त हुनुपथ्र्याे उनीहरूलाई । आएका दुईचार जना बाआमाहरूको रक्तचाप जाँच्यो पठाइदियो । पहिलापहिला मानिसको ¥याई¥याई थियो । स्वास्थ्यचौकी थिएन । जनताले धामीझाँक्रीको शरणमा जानुपर्ने बाध्यता थियो । मानिसहरू अल्पायुमै सदाका लागि विदा हुन बाध्य हुन्थे । अहिले स्वास्थचौकीले उपचार गर्न कुरेर बसेको छ । मानिस आउँदैनन् । उपचारकहरू पहार तापेर बसे भयो ठन्डीमा । रूखको छहारीमा शीतल तापे भयो गर्मीमा । कति मजा । कति आनन्द । स्वास्थचौकीमा गर्भ परीक्षण गर्ने भरपर्दाे व्यवस्था रहेछ । तर कस्तो अचम्म ? एक वर्ष एता एउटा पनि गर्भ परीक्षण गरेको रेकर्ड छैन । गर्भवती गाउँमा भए पो ।

मैले गाउँ छोड्नु पर्नाको बेग्लै परिवेश थियो । मैले घरजग्गा सबै बेचेर गएको थिएँ । त्यतिबेला गाउँ निकै रमाइलो थियो । सम्पूर्ण आँगनमा बालबच्चाहरू खेलेका देखिन्थे । प्रत्येक पिँढीको टँगालोमा कोक्राहरू झुलेका हुन्थे । चोयाले बनेका । कोक्राभित्र देशको भविष्य मुस्कुराइरहेको हुन्थ्यो । गरिवी भने अहिलेभन्दा बढी थियो । अहिले केही बढेको भेटियो सम्पन्नता । जमिन उही छ । व्यापार अलि बढेको छ । मान्छे थोरै छन् । त्यही भएर होला सम्पन्नता बढेको । थोरै मात्रामा भए पनि ।

मलाई यो गाउँ पहिलाजस्तै रमाइलो भएको देख्न मन लाग्यो । आधुनिक विकासले युक्त भएको हेर्न मन लाग्यो । गाउँ सांस्कृतिक रूपले सभ्य भएको अनुभव गर्ने चाहना भयो । प्रयत्न गर्ने हो भने नसकिने कुरै छैन । त्यसको निम्ति बाहिर गएको जनशक्ति गाउँमा फर्कनुपर्छ । त्यस्तो वातावरण बनाउन गाउँमा रोजगारी सिर्जना गर्न आवश्यक छ । गाउँमै रोजगारी पाउने हो भने को जान्थ्यो अरब मलेसिया । यसको निम्ति सबभन्दा पहिला जानकार व्यक्तिहरू गाउँमा फर्कनुपर्ने लाग्यो । अनि बाले बनाएको घुमाउने घरको खण्डहरमा उभिएर प्रतिज्ञा गरें । “बा म यहीं आउँछु । यही खण्डहरमा बास बनाएर बस्छु । मलाई तपाईंले सिञ्चित गरेको माटोको अति माया लाग्छ ।”

प्रकाशित: १२ फाल्गुन २०७७ ०९:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App