मलाई सम्झिँदा पहाडहरू हेर्नू
तिमीलाई मनपर्ने राताम्य फूलका पहेँलिदा पातहरू
रुँदै खसिरहेको साँझ
लेख्न बसेको छु कविता
र त कवितामा
अर्थप्रदक शब्दहरू छैनन्
शब्दहरूमा
तिम्रो मौन ढुकढुकीको गतिशील पद्चाप छैन
फगत आँसु छ , आँसु
आँसु त सपनामा
तिम्रो आँखाको निलो अँजुलीमा थियोे ।
कविताका विदीर्ण अक्षरहरूमा
तिमीलाई बोलाउने सुन्दर आवाज छैन
तिमीलाई डोरयाउने दर्बिलो हात छैन
मात्रै रगत छ , रगत
रगत त बिपनामा
घामको हत्यारा पर्वतहरूमा तत्पतिएको थियो ।
हामीलाई भेटाउने बाटोको माया किन यति धेरै लाग्छ !
हामीलाई छुटाउने यात्राको सम्झना किन यतिविघ्न आउँछ !
यो खोला नसुसाए हुन्थ्यो
यी फूलहरू नफुल्दिए हुन्थ्यो
यी चराहरू नकराइदिए हुन्थ्यो
बोल्दाबोल्दै गलामै अवरुद्ध अपुरो अस्पष्ट वाक्य
र हातमा अल्झिएको एक अर्कोको प्रेमिल , अनुपम स्पर्श
छुट्दा –छुट्दै आँखा भत्किएर खसेको मौन तप्त बुँद
र बिजुली चम्किए जसरी छुटेको हृदयको चिसो , धारिलो कम्पन ।
प्रिय ,
के तिमीलाई लाग्दैन,
माया भन्नु खाली झझल्को मात्रै हो
माया भन्नु मौन अभाव मात्रै हो
माया भन्नु शून्य पीडा मात्रै हो
फेरि यतिखेर,
म तिम्रै खातिर सास फेरिरहेछु
मलाई सम्झिँदा पहाडहरू हेर्नू !
प्रकाशित: १० फाल्गुन २०७७ ०५:१२ सोमबार