२६ आश्विन २०८१ शनिबार
image/svg+xml
कला

कागजी अनुमतिपत्र

लघुकथा

 रामकुमार पण्डित क्षेत्री 

 

                   १) आँखाको हेराइ

एउटा बगैँचामा सानो बालक आयो । उसले पुलुक्क हेरयो । केही नदेखजस्तो गरे पनि त्यहाँका हरेक चिजको पछिसम्म याद गरयो।

त्यही बगैँचामा एक छिनपछि बुढो मान्छे आयो । गढेर हेरयो । ढल्कीढल्की कुनाकाप्चामा आँखा पुरयायो । सबै देखे जस्तो गरे पनि त्यहाँका हरेक चिज एकै छिनमा भुल्यो।  

                    २) बलवान्

 

    दुई जना मान्छे होटेलमा छिरे । एउटाले चिया अर्डर गरयो त अर्कोले रक्सी । रक्सी अर्डर गर्नेले चिया अर्डर गर्नेलाई भन्यो —

  अरे यार, किन चिया ? रक्सी खाने नि ! चिया कपको बीस पर्छ, रक्सी गिलासको दस पर्छ । रक्सी बलवान् छ हेर । यो खाएपछि अहिल्यै लाग्छ, चियाले त के लाग्नु ? उल्टै ग्याँस्टिक !”  

  चिया पिउनेले केही पनि बोलेन । मात्रै खिस्स हाँसेर टारयो । रक्सी पिउने ऊभन्दा जवान देखिन्थ्यो।

त्यस होटेलमा उनीहरूको कैलेकाँही मात्र भेट हुन्थ्यो । हेराहेरबाहेक बोलचाल हुन्थेन । एकपटक त उनीहरूको भेट झन्डै दस वर्षसम्म भएन । 

अचानक एक दिन उनीहरूको त्यही होटेलमा भेट भयो । उनीहरूले आआफ्नो रुचिबमोजिम पेय पदार्थको माग गरे । चिया पिउनेले रक्सी पिउनेलाई देखेर अचम्म मान्दै भन्यो —  “अरे यार, तिम्रो त हात कामिरा’छ । तिमीले रक्सी हैन, रक्सीले तिमीलाई खायो कि के हो ? हेर मैले खाएको चियाले मलाई कहिल्यै खाँदैन । त्यही भएर म चिया पिउँछु । साँच्चै तिमीले रक्सी बलवान हुन्छ भन्थ्यौ नि, हो रहेछ । तिमीलाई त मभन्दा नि बूढो बनाएछ ।” 

 आफ्नो पुरानो प्रश्नको उत्तर पाएको ठान्यो रक्सीवालाले । त्यसैले केही पनि बोलेन । मात्रै घोसे मुन्टो लाएर बस्यो ।  

                     ३)  कागजी अनुमतिपत्र

 

महेश आज जागिर पाएँ भनेर दङ्ग थियो  भने योग्य कामदार पाएँ भनेर नुर्बु साहू पनि खुसी थियो । तीन बजेतिर हावा खान नुर्बु डाँडातिर गयो । डाँडामा उसका अरू व्यापारिक पार्टनरहरू पनि भेटिए । चिसो हावाले ताजा भएको अनुभूतिमा व्यापारको विषयमा कुराकानी भयो । त्यो कुराकानीबाट निस्किएका निर्णयहरूको माइन्युट गर्नुपर्ने भयो । उसले आजै भर्ती गरेको कामदार महेशलाई मोबाइलबाट फोन गरयो —

  “ए, महेश तिमीले यहाँ आएर माइन्युटिङ गर्नुपरयो । त्याँ मेरो स्कुटी छ, त्यो लिएर छिटो आऊ त ।”

 साहूको आदेश पाएपछि महेशले “हस् हजुर” भनेर निस्कियो ।

   साहूले महेशलाई कुर्दाकुर्दा एक घण्टा गइसकेको थियो, तर ऊ आइपुगेको थिएन । हिंडेर बढीमा आधा घण्टा लाग्थ्यो भने स्कुटीमा त पाँच मिनेट । ढिलो भएकोले अरू पार्टनरहरू भोलि गरौला भनेर हिँडे । अरू हिँडेपछि साहू पनि हिँड्यो।

अलिपर पुगेपछि साहूले महेशलाई भेट्यो । महेश सकीनसकी स्कुटी घिसार्दै आइरहेको थियो । त्यो देखेर साहूले सोध्यो —

“के भो ? स्कुटी बिग्रियो ?”

  “छैन ।”

   “अनि किन नचढेर, घिच्याएको त ?”  

 “हजुरले स्कुटी लेराउनु भन्नुभएको थियो । चढेर आउनु त भन्नुभएको थिएन । चढेर आउनु भनेको भए त मलाई चढ्नै आउँदैन भनिहाल्थेँ नि । अब हजुरलाई फर्कनलाई स्कुटी चाहिएको होला भनेर पो मैले सकीनसकी यहाँसम्म लेराएँ त ।”  

   “अनि अघि लाइसेन देखायौ त”  

साहूुको आश्चर्यमिश्रित भनाइलाई उसले नरम भएर जवाफ दियो —

  “त्यो त कागजमा मात्रै जान्दछु नि हजुर । नेपालमा जे पनि कागजमै मात्र जाने पुग्ने रहेछ त हजुर ।”  

महेशको कुराले साहूुको पारो चढायो । उसले झोक्किदै भन्यो —

  “काम जान्ने मान्छे पाएँ भनेको त नेपाल सरकारमा फिट हुने मान्छे पो पाएछुु । भाइ तिमी भोलिदेखि आउनु पर्र्दैन ।”  

 साहू स्कुटी चढेर गयो । महेश चाहिँ खिस्रिक्क परेर हेरेको हेरयै भयो। 

                 ४) फुर्ति

उसले भन्ने गथ्र्यो —“मैले जस्तो मोटर साइकल चलाउन कसैले जानेको छैन ।”  

 उसले मोटरसाइकलमा टोलै थर्काउने गरी आवाज निकाल्ने साइलेन्सर पाइप राखेको थियो । ऊ आउँदा जाँदा बाटो हिँड्नेले कानको जाली फुट्ला भन्ने डरले कान थुन्ने गर्दथे । ऊ फूर्ती लाउँथ्यो — “मैले जादु गरेर पनि गुडाउन जानेको छु । सुतेर, उठेर, नागबेली जस्तो पनि गुडाउन जानेको छु । म केटीजस्तो चिप्लेकिराको गतिमा गुडाउने मान्छे होइन ।”  

सधैंझैं त्यस दिन पनि तीव्र गतिमा कुदायो । बाटो हिँड्नेहरू डरले भित्तैमा टाँसिए । मान्छे डराएको देखेर ऊ झन् हौसियो । झन् स्पीड बढायो।

हरे राम ! सानी फुच्चीले फुत्त बाटो काटिदिई । त्यसलाई जोगाउनलाई ह्याण्डिल घुमायो । हाय ! ऊ विजुलीको पोलमा डङ्ग्रङ्ङ ठोक्कियो । मोटरसाइकल कच्याककुचुक भएर एकातिर पल्टियो भने अर्कोतिर उछिट्टिएर ऊ थचारियो । हेलमेट लगाएकोले टाउकोमा चोट पुगेन तर दुवै हातखुट्टा भाँचियो । 

यो दृश्य देखेर उसलाई चिन्ने एकदुई जनाले भन्दै थिए —

‘‘साहूको एक्लो छोरो । पुलपुलाएर मत्याएको थ्यो । हातखुट्टा भाँचिए नि धन्न ज्यान चैँ जोगियो ।

मोटरसाइकल जानेर भन्दा पनि मोटरसाइकललाई बुझेर बाटोको अवस्था हेरी गुडाउन यसले कहिल्यै जानेन ।’’    

 

       ५) पनपक्ष

अकालमै हर्केको दाजुको मृत्यु भयो । परिवार सबैले शोक मनाए । अरूभन्दा उसकी भाउजू विशेष दुःखी थिई । केही महिनापछि होली पर्व आयो । माइत आएकी नन्दले खुलेर रङ खेलेको देखेर भाउजूलाई पनि खेल्न मन लाग्यो । आफ्नो दुःख बिर्सन उसले पनि नन्दसँगै लागेर खेली । त्यो देखेर हर्केको पारा छुट्यो । उसले कड्किएर भाउजूलाई हकारयो —  

  “विधुवी आइमाईले रङ खेल्न मिल्छ ? समाजले के भन्ला ? लाज शरम छैन ? तिमी जस्ती पोइ टोकुवी आइमाई भाउजू पाउनु, मेरो दुर्भाग्य हो ।” 

केही महिनापछि उसकी बहिनी ज्वाइँको शव विदेशबाट कफनमा प्याक भएर आयो । सबै दुःखी भए । उसकी बहिनी अरू भन्दा दुःखी थिई।

फेरि अर्को वर्षको होली पर्व आयो । उसकी बहिनी माइतीमा आएकी थिई । अरू मान्छेले होली खेलेको देखेर बहिनीले मन थाम्न सकिन । उसले खुलेरै होलीको रङ खेली दिई । यस पटक हर्केले भन्यो —

“वाहा, मेरी बहिनी ! परम्पराविरुद्घ क्या खुलेर जुध्न सक्छौ तिमी । तिमी जस्ती बहिनी पाउनु त मेरो गर्वको कुरो हो ।”  

प्रकाशित: ९ फाल्गुन २०७७ ०६:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App