coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

एउटा अर्को बलात्कार

कविता

एउटा अर्को बलात्कार

 

अनुसन्धानका लागि

समय र स्थानसहित

बलात्कार हुँदाको परिस्थिति,

संघर्ष र पराजयका सबै सिलसिला  

एक एक गरेर

प्रहरी कार्यालयमा सुनाउनुपर्‍यो

 

शरीर जाँचका निम्ति  

चिकित्सकका अगाडि  

फेरि एकपटक आफूलाई नंग्याउनुपर्‍यो  

 

अदालतमा फेरि बयान दिनुपर्‍यो  

र, त्यही सिलसिला दोहोरियो,

सत्यता जाँच्ने नाममा

वकिलका छुराजस्ता कुरा सुन्नुपर्‍यो  

 

अब त आजित र थकित पनि भइसकेँ

न्याय कहाँ छ ? अहिले पनि थाहा छैन

यत्तिचाहिँ पक्का हो,

बलात्कारपछि यसरी म

पटकपटक बलात्कृत भइरहनुपर्‍यो  

 

यो मुलुक, समाज र कानुनसँग

सोध्न त मन थियो,  

के बलात्कृत हुनु मेरो अपराध हो ?

फेरि पनि चुपचाप बसेकी छु

किन थाहा छ ?

आफ्ना हरेक प्रश्नका लागि

मैले फेरि

एउटा अर्को बलात्कार सहनु प्रायः निश्चित थियो !!

प्रकाशित: ८ फाल्गुन २०७७ ०६:३० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App