२७ आश्विन २०८१ आइतबार
image/svg+xml
कला

आमाहरूको बहस

लघुकथा

कुरौटेनी आमा – त्यो समिरकी आमा आफूलाई खुब भाग्यमानी ठान्छिन्। जसका सन्तान घरमै थुप्रिएर बसेका छन्। न कतै पढ्न गएका छन्। न क्यै गर्न सकेका छन् ।

सन्तुष्ट आमा – होला नि त । छोराछोरीले दुख,पीर दिएनन् र मनमा शान्ति दिए भने त्योभन्दा भाग्य के ठान्नु र !

कुरौटेनी – अचेलको समयमा छोराछोरीले बाहिर गएर नपढे त लाजै हुन्छ हौ अनि तपाई पनि आफ्नो सन्तानबाट सन्तुष्ट छु भन्नुहुन्छ कसरी !

सन्तुष्ट आमा – छोराछोरी साथै छन्। आफ्नै हातले पकाएर खुवाउन पाएकी छु । अझसम्म यसैमा मलाई सन्तुष्टि छ। नत्र अचेलका सन्तानहरू पखेटा लागेर उडिजान्छन्। बुढेसकालमा एक्लै।

कुरौटेनी – ए त्यतिमै सन्तुष्टि हाहाहा।

 ती दुईको भलाकुसारी सुनेर दुखिया आमाले जवाफ दिन्छिन्। छोराछोरी सधैं आफ्नो साथ भएको त राम्रो। आफ्नो त एउटा भएको छोरो पनि सात समुन्द्रपारि छ। आफू खान बस्यो गाँसैपिच्छे सम्झना आउँछ। के खायो होला ? भोकै छ कि रातदिन पीर लाग्छ। आमाले आफ्नो छोराछोरीलाई जति नै हुर्के पनि आफ्नो हातले पकाएर खुवाउन पाए सन्तुष्टि त्यसै भइन्छ नि।

केहीछिनपछि भाग्यमानी आमा समिरकी  आइपुग्छिन् र भन्छिन् – म त झन् आफूलाई सधैं भाग्यमानी ठान्छु। आफ्नै वरिपरि छोराछोरी छन्। दुख–बिमारमा पनि हेरचाह गर्छन्। छोरा समीर त झन् आमा भनेपछि हुरुक्कै हुन्छ। 

केही दिनपछि कुरौटेनी आमा निन्याउरो मुख लाएर सन्तुष्ट आमाकोमा आइन्–  किन के भो ? आज किन निन्याउरो मुख ।

– के भन्ने मैले आफ्नो छोराछोरी कत्ति न विदेशमा पढेर पैसा कमाउलान्, सुख देलान् भनेकी त छोरीले उतैको केटासँग बिहे गरिछ। छोरो पढ्न छाडेर त्यतिकै बसेको छ र। पैसा पठाइदिनु भनेर फोन गरेको थियो।

उस्को कुरा सुनेर सन्तुष्ट आमाले व्यंग्यात्मक भावले भन्छिन्– हो त्यसैले कसैले पनि आफूलाई  मै हुँ कैल्यै नठान्नु। संसारकै सुखी, भाग्यमानी  आमा उही  हुन् जो आफ्ना छोराछोरीसँग सन्तुष्ट र खुशी छन्। साथै होस् वा विदेशमा आमाको मर्म,चाहना,पीडा नबुझ्ने पनि के सन्तान ?

प्रकाशित: ५ फाल्गुन २०७७ ११:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App