नापी गोश्वाराबाट हरिबहादुर नामको अमिन रमा नामकी वृद्धाको जग्गा नाप्न फिल्डमा पुग्यो ।
जग्गा नापेर सकेपछि उनले ती वृद्धालाई भने– आज सार्वजनिक विदाको दिन म हजुरको जग्गा नाप्न आएको छु । अलिकति खर्च त चाहियो नि ।
रमाले भनिन् – तपाई सरकारी अफिसमा काम गर्नेलाई सरकारले तलब दिइहाल्छ नि । म जागीर नखाएको मान्छेले कताबाट खर्च दिने ?
अमिनले भन्यो – आज विदाको दिनमा घरको काम छाडेर आएको हुनाले दिनुपरयो नि।
फेरि रमाले भनिन् – मैले तपाईलाई डाकेको पनि होइन। मेरो जग्गा नाप्न आउनुपरयो भनेर तपाईलाई अफिसले पठाएर आएकोमा म त दिन सक्दिनँ।
अमिनले धम्काउँदै भन्यो – दिन मन लागे दिनुस्, नत्र म अफिसमा पुगेपछि तपाईको जग्गा घटाइदिन्छु।
रमाले आफ्नो थैलीबाट पैसा झिकेर दिँदै भनिन्– उसो भए मसँग भएको पाँच सय रुपियाँ जति लिनुस् न त ।
त्यसपछि खुसी मान्दै अमिन आफ्नो बाटो लाग्यो।
त्यसपछि रमाको छोरा टुप्लुक्क आइपुगेपछि सबै कुरा छोरालाई बताइन् । उसले घटाएर घट्ने बढाएर बढ्ने हो र हाम्रो नाममा भएको जग्गा ? तपाईलाई सीधा मान्छे भन्ठानेर ठग्यो आमा– छोराले रिसाउँदै भन्यो।
छोराको कुरा सुनेर रमा सराप्दै कराउन थालिन्– मजस्तो बूढीलाई ठगेर हिँड्ने त्यसलाई पापै लागोस् ।
प्रकाशित: ५ फाल्गुन २०७७ ११:०४ बुधबार