पोखरा घर भई हाल अमेरिकाको टेक्सास शहरवासी स्रष्टा मित्र नेपाल आएको बेला बहिनीज्वाँइलाई भेट्न वीरगंज आउनुभएको उहाँको फेसबुक स्टाटसबाट थाहा पाएँ । हामीबीच अहिलेसम्म भौतिक रूपमा भेटघाटचाँहि भएको छैन । म उनको सबैजसो रचनाहरू खोजी–खोजी पढ्ने गर्दछु । उहाँले पनि मेरो रचनाहरू नछुटाई पढने गरेको उनको टिप्पणी र फोनवार्ताबाट थाहा लागेको छ । उनले वीरगंजमा मेरो बहिनीज्वाँइको घर छ । म नेपाल फर्केपछि बहिनीज्वाँइलाई भेट्न वीरगंज आउँछु । त्यतिबेला तपाईसित भेटौला भन्नुहुन्थ्यो उहाँले । यसपल्ट दुवैलाई त्यो अवसर जुरयो अर्थात् स्रष्टा मित्र शङकर ‘ पल्लाघरे ’ वीरगंज आउनुभएको थियो । म उहाँसित साक्षात्कार गर्न पाउने भएकाले गद्गद् थिएँ । मैले उहाँलाई केही घण्टाको लागि भए पनि आफ्नो वनारसी चौकस्थित डेरामा लिएर आउने नास्तापानी पनि गराउने र कविता सङ्ग्रहको पाण्डुलिपि पनि सुनाउने योजना बनाएँ । उहाँलाई दिनभरि जसो नै अनलाइनमा भेटिने हुँदा मलाई सम्पर्क गर्न खासै गाह्रो भएन । हामीबीच अनलाइन सम्र्पक भयो ।
“शङ्कर सर, नमस्कार ! वीरगंजमा हजुरलाई स्वागत छ । हजुर अहिले कता ? ” मैले प्रश्न राखेँ ।
“आर्दशनगर बहिनी ज्वाँइको घरमा छु रमेशजी । ”
“ हामी एकचोटि भेट्ने होइन त शङ्कर सर ? हजुरसित समय होला त ? ” मैले हिच्किचाउँदै सोधेँ ।
“ल किन नहुनु , थोरै म नेता मन्त्री हुँ र भेट्न समय लिनुपर्ने ? भन्नोस् कहाँ भेट्ने ? तपाई कहाँ बस्नुहुन्छ ?” शङ्करजीले ठट््यौली पाराले प्रतिप्रश्न गर्नुभयो ।
अब म उहाँ बाहिरको मान्छेलाई कहाँ बस्छु भन्नु ? घडीअर्वा, वनारसी चोक भनौं भने पनि अल्मलिनु होला फेरि । म केही क्षण रणभुल्लमा परेँ । निमेषभरका लागि हाम्रो सम्र्पक विच्छेद भयो । मैले प्रयास जारी राखेँ । फेरि सम्पर्कमा आउनुभयो ।
“हजुर घण्टाघर आउनु हुन्छ कि ? म हजुरलाई घण्टाघर चोकैको पत्रिका पसलमा पर्खेर बसेको हुनेछु । ” मैले लेखें ।
“कसरी चिन्ने त तपाईलाई ?” उहाँले प्रश्न राख्नुभयो । ठीकै हो, एकपटक पनि भेटघाट नभएको मान्छेलाई झट्ट चिन्न गाह्रै हुन्छ । पौष महिनाको हुस्सु लागेको दिन भएकाले मैले पहेंलो ज्याकेट लगाएको थिएँ ।
“ए हजुर, म पहेंलो ज्याकेटमा हुनेछु । ” मैले तुरुन्त जवाफ फर्काएँ ।
“हस् –हस् म भोलि ठीक २ बजेतिर त्यहाँ आइपुग्नेछु । ” उनले भने ।
“पौष महिनाको छोटो दिन दुई बजे भन्दाभन्दै तीनै पनि बज्न सक्छ । बाह ्रबजेतिर भेट्न पाए भेटघाट, कुराकानी र मेरो कविता सङ्ग्रहको पाण्डुलिपिमाथि चर्चा गर्ने समय पाइन्थ्यो कि ?” मैले कुरा राखेँ।
शङ्करजी सहमत हुनुभयो । हाम्रो भेटघाटको समय मध्यान्ह बाह्र बजे तोकियो ।
दोस्रो दिन । घडी हेरें, दिनको एघार बजेको थियो । खानपिन गरेर तयार भएँ । पत्नी प्रिया कोठामा आइन् । मैले उसलाई सबै कुरा सम्झाएँ अनि बाहिरिएँ । केही अगाडि चोकमा आएपछि पो म झसङ्ग भएँ । थेत्तेरीका ! पहेंलो ज्याकेट लगाउनुपर्नेमा कालो ओभरकोट पो लगाएर निस्किएछु । फेरि डेरातिर फर्किएँ । मलाई फर्केको देखेर प्रिया छक्क परिन्। मैले कोट खोलेर उही पहेंलो ज्याकेट लगाएँ अनि चाँडो चाँडो घरबाट निस्किएँ।
घण्टाघर पुग्दा बाह्र नै बजिसकेछ । धन्य उहाँ आइपुग्नुभएको रहेनछ । केहीक्षणको पर्खाइपछि एकजना गहुँगोरो वर्णको हट्टाकट्टा, सुकिलो पहिरन लगाएको व्यक्ति चोकैमा आएर रिक्साबाट ओर्लिए । उहाँले मतिर हेरेर भने, “तपाई रमेशजी ? ”
“हजुरहजुर शङ्करजी । नमस्कार ! ”
हाम्रो भेट भयो । मैले ढिलो नगरी उहाँलाई आफ्नो डेरातिर लिएर आएँ । हामी गफिदैं सिडीओ कार्यालय, रानीघाट हुँदै बनारसी चोकतिर बढ्यौ । मेरो डेरा बनारसी चोकदेखि केही भित्र थियो । डेराको ठीक अगाडि खुला ठाउँ ( कसैको घडेरी ) थियो । जहाँ वरपरका मानिसहरूले घरको फोहोरमैला ल्याएर फाल्ने गरेकाले वातावरण दुर्गन्धित थियो।
हामी डेरा नजिकै आइपुगेपछि उहाँले थुथुथु गर्दै नाक–मुख रुमालले छोप्नुभयो र मुखाकृति बिगार्दै मतिर पुलुक्क हेर्नुभयो । सायद उहाँ फोहोरको डङ्गुर देखेर घिनाउनुभएको हुनुपर्छ।
“रमेशजी, तपाईको डेरा अब यहाँबाट कति हिँडनुपर्छ ? ”
मैले ठीक अगाडितिरको दुई तल्ले सेतो विल्डिङतिर इंगित गर्दै भने– “ आइपुग्यो, ऊ त्यही सेतो विल्डिङ हो शङ्करजी । ”
“ काशः त्यो विल्डिङ लेकसाइड एरियामा भएको भए कत्रो इज्जत हुनेथ्यो । होइन त रमेशजी ? ” उनले व्यङ्ग्य गर्दै यति भनुञ्जेल पनि नाकमुखबाट रुमाल हटाउनुभएको थिएन।
उनले फेरि सोधें “ रमेशजीको घरचाहिँ कता ? ”
“ मेरो झापा शनिश्चरे हो शङ्करजी । यहाँ विद्युत प्राधिकरणमा जागिर छ । ” यतिञ्जेल हामी डेराभित्र प्रवेश गरिसकेका थियौ । मैले उहाँलाई सिधै बैठक कोठामा लिएर गएँ । प्रियाले अतिथिलाई मन्द तातो पानीले स्वागत गरिन । मैले प्रियालाई उहाँसित परिचय गराएँ । उनी मुसुक्क त हाँसे। तर, मुखाकृतिमा खासै परिवर्तन आएन ।
“कति वर्ष भयो त वीरगंज बस्नुभएको ? ” उनले कोठाको चारैतिर नजर डुलाउँदै सोधे ।
“ चार वर्ष भयो शङ्करजी । ”
“अनि सधंै यस्तै हो ? ”
“के हजुर ?”
“फोहोरमैला । ”
“बेलाबेलामा नगरपालिकाको ट्रैक्टर त आउँछ तर अधिकांश समय यस्तै होे ।”
“विडम्बना ! महानगरपालिका घोषणा भइसकेको वीरगंजको अवस्था यस्तो ! ” उहाँको मुखबाट फुत्कियो।
म खिस्स हाँसे मात्र केही बोलिनँ । त्यसपछि हामीबीच केहीक्षण समसामायिक साहित्यिक गतिविधिमाथि चर्चा त भयो तर शङ्करजीले बाटोको फोहोर दृश्य संझेर होला बेला बेलामा थुथुथु गर्दै थुक्न बाहिर निस्किरहनु पर्दा भने मलाई साह्रै बोर लाग्यो ।
यसो भान्सातिर चियाएँ । प्रियालाई भान्सामा नास्ता बनाउन व्यस्त देंखे । मैले उहाँलाई असुविधा भएको हो कि भन्ठानेर आफ्नो कविता सङ्ग्रहको पाण्डुलिपि हेरिदिन आग्रह गर्न सकिनँ । बरु त्यसमध्येबाट दुईचारवटा चुनिँदा कविताचाँहि सुनाएँ । उहाँले कवितामा हल्का टिप्पणी गर्नुभयो।
यतिञ्जेल थुक्न उहाँ तीनचार चोटि बाहिर निस्की सक्नुभएको थियो । प्रियाले नास्तामा पुरी तरकारी बनाएछिन् । बैठक कोठामा नै लिएर आइन् । हामी दुवैले उहाँलाई नास्ता गर्न आग्रह गरयौ । हामी दुवैले नास्ता सुरु गर्न के आँटेका थियौ शङ्कर सर फेरि एकचोटि थुथुथु गर्दै थुक्न बाहिर निस्कनुभयो । हैट ! हामीलाई त फोहोरको थुप्रो अगाडि बस्ने आदत भएर हो कि खासै फरक नपरेको । उहाँ पोखराजस्तो पर्यटकीय नगरीको बासिन्दालाई फोहोरको थुप्रोले मानसिक असर नगर्ने त कुरै भएन । यसो त देशकै राजधानी काठमाडौंको गल्लीगल्लीमा पनि फोहोरको थुप्रो नदेखिएको भने पक्कै होइन।
फर्केपछि उनले मुस्किलले एउटा पुरी खाए अनि हात जोडदै भने “ रमेशजी, मलाई माफ गर्नुहोला । बहिनीले यति मेहेनत गरेर बनाएको नास्ता समेत मेरो गलाबाट छिर्न सकेन । अनर्थ नठान्नु होला । बरु उठें मलाई बिदा दिनोस् ।” उहाँ उठ्नुभयो ।
बल्ल–बल्ल आएका अतिथिले चियानास्ता नगरी गएकोमा मलाई साह्रै लाज लाग्यो । प्रियाले पनि दिक्क मानी । हामी उठ्यौ । म उहाँलाई बाटोसम्म छोड्न गएँ । हामीबीच अहिले भने वातावरण, पर्यावरण र वनविनाश, डोजर आतंक आदिबारेंमा चर्चा चल्यो।
अहिले भने उनले थुथुथु गर्न छाडिसकेका थिए । हामी गीता मन्दिर नजिकै पुगेपछि उनले भने “अब रमेशजी फर्कनु भए हुन्छ । म यही तल्लोबाटो हुँदै लाग्छु । सम्पर्कमा रहनु होला । तपाईको कविता सङ्ग्रहको छिट्टै छापियोस् भन्ने कामना राख्दै बिदा लिएँ । ”
म डेरातिर फर्किएँ । मलाई डेरा अगाडि सधैंको फोहरको ङङ्गुर संझेर नगरपालिकाप्रति हुनसम्मको रिस उठ्यो । टोलवासीलाई भन्ने कुरै आएन । सभ्य भएको भए यसरी आफू बस्ने घर अगाडि फोहर थुपार्ने नै थिएनन् । अहिले भने मलाई पनि किनकिन फोहोर देखेर असाध्यै घिन लाग्न थाल्यो र घरभित्र पस्न साथै प्रियालाई बोलाएर भने, “ प्रिया, अब डेरा सर्नुपरयो । साह्रै बेइज्जती भइयो । ”
“कतातिर सर्ने, यसो समाज हेरेर सर्नुपर्छ है । ”प्रियाले भनिन्।
“सकेसम्म सरुवा मिलाउने नभए मात्र डेरा खोज्ने । ” मैले भने । प्रिया केही बोलिनन् ।
प्रकाशित: ५ फाल्गुन २०७७ १०:२७ बुधबार