फूलै फूलको शहरमा
काँडा कुल्चिएर हाँस्नु
हाँसो लुकाएर बाँच्नु
कति मनोरम छ जीवनमा ।
आँखामा छचल्किन बाँकी आँसु छैन अब
ओँठमा सजाउन अरू खुसी छैन
यद्यपि पाइतालाको यात्रा कमजोर छैन
रङै रङको संसारमा
बेरङ भएर बाँच्नु
कति मूल्यवान् छ जीवनमा ।
भाँचियोस् सपनाका प्रत्येक हाँगा
खसून् ओइलिएर इच्छाका पातहरू
जिस्क्याएर जाउन चाहका रितुहरुले
छोडेर जाऊ न चरा र पुतलीहरूले
बिर्सेर जाऊ न आफन्तहरूले
र पोलिरहोस् तिनका गाढा तिर्सनाहरूले
परन्तु ,
बगरै बगर हिँडेर पुग्नु
फूलै फूलको शहरमा
फूलजस्तै मायालाई
छातीमा टाँस्नु मायाले
कति अनुपम छ जीवनमा ।
हिँड्नलाई चाहे बाटो नहोस्
पुग्नलाई चाहे गन्तव्य नहोस्
भेट्नलाई चाहे कोही नहोस्
हेर्नलाई चाहे दृश्य नहोस्
टेक्नलाई चाहे भरोसा नहोस्
यात्रारत छु जीवनमा
तर एकलै आफै अलमलिएर पुग्नु
फूलै फूलको शहरमा
र फूललाई चुमेर केही बेर निशब्द भै
आफूलाई हराउनु फूलसँगै धेरै बेर
अहो , कति प्रियकर छ जीवनमा
साँच्चै जीवन कति प्रियकर छ।
प्रकाशित: ५ फाल्गुन २०७७ ०९:४८ बुधबार