बनाएर आकाशलाई समथर भूभाग
बनाउनु छ गरिबहरूको बासस्थान,
बसाउनु छ महलमा बस्नेलाई
झुपडीभित्रको बास।
खुवाउनु छ अन्न, उनीहरूलाई
आफ्नै पाखुरा र नङ्ग्रा खियाएर,
गर्नुु छ सिँचाइ बालीनालीमा
आफ्नै पसिना र रगत बगाइ।
पाल्नु छ एउटा विशाल परिवार
सृष्टिको अस्तित्व जमाएर,
लगाइदिनु छ सबैलाई न्यानो कपडा
ढाक्ने छन् चारै पट्टीको आङ ।
घुमाउनु छ उनीहरूलाई नै टाकुरा,
हिमशिखर र पहरा
त्यसपछि बजाइदिनु छ विभिन्न बाजाहरू
सृष्टिको प्रलय वेगमा।
त्यसपछि फुक्नु छ मलाई यहाँ शङ्ख
सबै – सबै शोकाकुलहरूको माझमा
यहाँँ भेला हुनुु छ सडकपेटी र पाटीहरूमा
त्यसपछि ओढाउनु छ राष्ट्रिय झन्डा ।
मद्वारा नगरिएका कर्महरूको
त्याग, तपस्या, योगदान र बलिदानहरूको
गराउनु छ यहाँ सबैसबैलाई बयान
मेरा प्रियहरूसामु ।
खुवाउनु छ सबैलाई यहीँ
पाहुनाको सत्कारमा परिकार
हो तिमी त हाम्रै हौ,
त्यसैले आयोजना गर्नु छ विजयोल्लास ।
त्यो समथर भूभागमा बस्ने
तिमीलाई के थाहा ?
त्योमाथि आकाशपातालको समीपमा बस्नेलाई
के थाहा त्यहीँ चलिरहेका खिचातानीहरू
अनि घन्किरहेका कोलाहलमय सङ्गीतहरू
सुनसान वातावरणमा चलिरहेका निरन्तरताको यात्रा
भोकाहरू, भोकले कापिरहेका पीडाहरू
बाँचेर मोजमस्ती गर्नेहरूलाई
के थाहा अरूको पीडा
साथै सुयोग्य वर ठहरिएका
महाशयहरूलाई के थाहा दुख ?
हो, तिमी त मानव हौ
त्यसैले तिमीमा आएन
कहिल्यै परिवर्तन
त्यसैले बिर्सिएर तिमीले आफ्नो कर्तव्य
भुलिदियौ मानवताका कथाहरू
गुमाएर गुमनाम अस्तित्वहरू
हो यहाँ त म एक्लै छु
तर, तिमीले कहिल्यै बुझिनौ मेरो अभाव
यति गरिसक्दा पनि म जीवितै रहेँ भने
तिम्रै नाममा गरिदिने छु बलिदान
जाने छु जमीनका कुनाकन्दरामा,
त्यसपछि बिलाउने छु एकाध दिनहरूमा
हो, यदि तिमीले सम्झियौ भने म ‘मानव।
प्रकाशित: ५ फाल्गुन २०७७ ०४:०७ बुधबार