हे महर्षि ,
तिम्रो अर्धाङ्गिनी तिम्रै लागि
पुष्पवाटिकाभित्र
टिप्न गएको बेला रातो गुलाफ
के देख्दैछु म–
आकाशमार्ग हुँदै आएकी मेनुकासँग
गरेको साउती
अनि सहयात्रा ।
हो, म किन अन्धी भइन्
जुन मैले देखेँ दृश्य
कल्पना गर तिमी
त्यही गरेकी भए यदि मैले
हैन प्राणप्यारी
मेरो अर्धाङ्गिनी हौ, तिमी त
त्यस्तो गरे के मैले ?
उनी त
मार्ग भड्किएकी मात्र बटुवा ।
छल्न नखोज, मेरो आँखा
पिउन खोज्दै छौ, तिमी जसलाई
ती त
मात्र हुन्, बाहिरी सौन्दर्य
जसको प्रभाव क्षणिक हुनेछ ।
काम वासनामा लठ्ठिएर
भौतिक यथार्थलाई बिर्सिएर
व्यर्थमा उर्वशी
अनि मेनकाको पछि नलाग ।
वृक्ष हुँ भन्दैमा,
तिमीलाई कसले दियो
चौपाया बाध्ने अधिकार ।
म तिम्रो लहरा हुँ
यो वृक्षमा मात्र
म बाँधिन सक्छु ।
जलिरहेछु अग्निज्वालामा
गहिरो व्याकुलतामा
तत्क्षण भुइँचालो गइरहेछ
मेरो मानसिकतामा ।
मलाई अप्रिय लाग्यो–
माघको किरण भएर तिम्रो स्पर्श
जबदेखि मेनकामा पर्यो ।
ऊ त, सोह्रै सिंगारले लतपतिएर
आकाशबाट धरतीमा झर्छे
कोइलीजस्तै गीत गाउँछे ।
म भने तिम्रो कुटीमा
तिम्रै सेवामा लीन हुन्छु
प्राकृतिक सौन्दर्यमा रमाउँछु ।
हेर महर्षि,
म देख्दैछु–
आत्मीयताको सुन्दर रचनाहरूले
सजिएको महल
गर्ल्यामगुर्लुम ढलेको
मेरो मनस्थिति थिचिएर
भित्रभित्र घाउ पाकिरहेछ ।
जब मधुर क्षणको अन्त्य गरी
अर्को रहरको जन्म गर्यौ
हर्ष र उमङ्गका मुनाहरूलाई
विषालु जलले सिंचित गर्यौ ।
त्यसैले अब
मौन बस्दैन, मेरो आत्मा
शब्दको वाणले हैन
घायल बनाउन कर्मको वाणले
निराशाका परिधिहरूलाई
लगाउँदै किनारा
आशाका झुन्डयाउँदै त्यान्द्राहरू
उमङ्गका चढ्दै खुड्किलाहरू
रातो यो गुलाब
होइन हातमा
कालो गुलाब थमाउनेछु ।
प्रकाशित: ३ फाल्गुन २०७७ १०:५० सोमबार