फ्रान्समा सन् १७९५ मा नयाँ कानुन लागू भएको थियो, जसअनुसार जनतालाई निजी हतियार राख्न निषेध गरियो। यही क्रममा एक १० वर्षका बालक तरबार लिएर नेपोलियन बोनापार्टकहाँ पुगे। नेपोलियन सेनाका जर्नेल थिए, हतियार सुम्पनुपर्ने अभियानका नाइके उनै थिए। ती बालकले बडो भावुक हुँदै, आँखाबाट आँसु झार्दै भने, ‘यो तरबार मेरा स्वर्गीय पिताको हो। उनको स्मृतिमा यसलाई म बाँचुन्जेलसम्म आफूसँगै राख्न चाहन्छु, बरु म आत्महत्या गरी मर्न तयार छु, तर म यो हतियार सुम्पन्नँ, मलाई जे सजाय दिनुस्, मन्जुर छ !’
ती बालकको यस्तो हृदयविदारक अभिव्यक्तिले जर्नेल नेपोलियनलाई पगाल्यो। ती बालकसँगै उनी पनि भावुक हुँदै भने, ‘बाबु, तिमी धेरै संवेदनशील रहेछौ, म तिम्रो कुराले असाध्यै प्रभावित भएँ, मैले तिम्रो अनुरोधलाई लत्याउन सकिनँ, यस्तो विलक्षण बालकलाई जन्म दिने तिम्रा बुवालाई त मैले भेट्न सकिनँ, तर आमा जिउँदै छिन् भने म एकपटक भेट्न चाहन्छु !’
बालकले नेपोलियनलाई उनकी आमासँग भेट गराए।
भनिन्छ, नेपोलियन सेना, शासक, सम्राटजस्तो कठोर पद, ओहोदा र अनुशासनमा संलग्न भए पनि उनको हृदय प्रेमिल थियो। ती बालककी आमा जोसेफाइनलाई देख्नासाथ उनी लट्ठ परे।
त्यसपछि बिस्तारै उनको हृदयमा जोसेफाइनप्रति प्रेमको अंकुरण हुँदै गयो। उनी जोसेफाइनसँग नियमित रूपमा भेट गर्न थाले। उनलाई धेरै रोमाञ्चक र संवेदनशील प्रेमपत्र लेख्न थाले। उनले लेखेको पहिलो प्रेमपत्र सन् २०१३ मा प्रकाशित रोबर्ट हर्भटको पुस्तक ‘नेपोलियन एन्ड जोसेफाइन, लभ लेटर्स एङ्ट’मा उल्लेख छ। प्रेमपत्र यस्तो छ, ‘हिजोआज म तिम्रा सम्झनासँगै बिहान आँखा खोल्छु, तिमी अतुलनीय सुन्दरी छ्यौ जोसेफाइन ! मेरो हृदयमा तिमीले कस्तो अनौठो छाप छाडिदियौ, मेरो आत्मा पीडाले चकनाचुर भएको छ। तिम्रो प्रेमीलाई तिमीले कुनै चासो नै नदेखाएकी ? मैले तिम्रो अधरबाट, तिम्रो हृदयबाट यो चित्र कोरेँ, जुन एउटा ज्वाला बनी मलाई पोलिरहेछ। अहो ! म त तिमी नै मेरो सामु थियौ होला हिजो राति भन्ने भानमा परेँछु, यो त मैले कोरेको तिम्रो तस्बिर पो रहेछ।’
नेपोलियन सेन्ट हेलेनामा कैदमा थिए। पारपाचुके भएको चार वर्षपछि खबर आयो, उनकी पूर्वपत्नी जोसेफाइनलाई २९ मे १८१४ मा निमोनिया रोगले लग्यो। उनी स्तब्ध भए। उनले आग्रह गरे, ‘म मेरी पूर्वपत्नीको दाहसंस्कार गर्न चाहन्छु, मलाई यो मौका दिइयोस्।’ उनको कुरा सुनियो। उनले जोसेफाइनको दाह–संस्कार गरे। त्यसपछि उनले रुँदै फेरि आग्रह गरे, ‘म केही समय त्यो घरमा, त्यो कोठामा बिताउन चाहन्छु।’ जहाँ मैले मेरी पूर्वपत्नी जोसेफाइनसँग बिताएको थिएँ। मलाई अनुमति दिइयोस्।’
उनी जोसेफाइनको प्रेममा निकै गहिरिएर डुब्दै गए, उता जोसेफाइन भने अनिश्चित थिइन्, के गर्ने, नगर्ने भनेर।
जोसेफाइनले अघिल्लो श्रीमान्सँग पारपाचुके गरेर बसेकी थिइन्। भनिन्छ, उनका पूर्वपति अलेक्जेन्डर गम्भीर प्रकृतिका मानिस थिए, जोसेफाइन अलि चञ्चल स्वभावकी, असाध्यै खर्च गर्नुपर्ने, मोजमस्ती र फेसनमा पैसा उडाउने खालकी। त्यसैले उनलाई जहिले पनि आर्थिक समस्याले घेथ्र्यो। तर, उनलाई जसरी होस्, मोजमस्ती गर्नुपथ्र्यो र उनी पतिबाहेक परपुरुषसँग पनि शारीरिक सम्बन्ध राखी हिँड्थिन्।
अर्कोतिर, अलेक्जेन्डर अमेरिकाको स्वतन्त्रताको लडाइँमा सामेल हुन चाहन्थे। परिणामस्वरूप यी दुईको पारपाचुके भयो। त्यतिखेर अलेक्जेन्डरलाई सेनाको कमान्डर बनाएर राइन (जुन अहिले स्विट्जरल्यान्डमा पर्छ) मा खटाइयो, उनले राम्रा काम गरेका थिए। तर, १७९४ को गृहयुद्धमा उनी गिरफ्तार भए। जोसेफाइनले आफ्ना पूर्वपतिलाई बचाउने पूर्ण कोसिस गरिन्। परिणामस्वरूप उनी पनि जेल परिन्। यसरी पारपाचुके भएका दम्पतीको फेरि कैदखानामा भेट भयो। भनिन्छ, कैदखानामा यिनीहरूको प्रत्यक्ष भेट भएन, बरु जोसेफाइनको जेलर (कारागारका हाकिम) जनरल लुइस लाजरे होसेसँग रोमान्स चल्न थाल्यो। आखिर १३ जुलाई १७९४ मा अलेक्जेन्डरलाई मृत्युदण्ड दिइयो।
अब मेरो पनि पालो आउने भयो भनी उनी त्रसित जिन्दगी जिइरहेकी थिइन्, तर भाग्यवश सत्ता परिवर्तन भयो र ६ अगस्त १७९४ मा उनलाई रिहा गरियो। यो थियो, जोसेफाइनको पृष्ठभूमि, उनको जीवनको एउटा पाटो, नेपोलियनसँग भेट हुनुअघिको।
समाजमा उनको राम्रो नाम र इज्जत थिएन। समाजले उनलाई खराब चरित्र भएकी स्त्रीको रूपमा हेथ्र्यो। उता नेपोलियनलाई भने इज्जतदार, जर्नेलजस्तो ठूलो पदका मानिस भनेर चिन्थे। त्यसैले नेपोलियनका आमा, दाजुभाइ र बहिनी यो सम्बन्धको विरोधमा थिए। ‘तँभन्दा ६ वर्ष जेठी, नकच्चरीलाई बिहे गर्ने कुरा गर्छस् तँ मूर्ख ?’ भन्दै विरोध गर्थे। अर्कोतिर जोसेफाइनका साथीहरू पनि ‘त्यो मोरो फिरंगी जर्नेल, युद्धमा आज यहाँ त भोलि कहाँ पुग्छ। त्यस्ताले तँलाई समय दिन सक्दैन, रखैल हुन्छन् सेनाका। त्यति ठूलो ओहोदाको जर्नेलजस्तो मानिसका कति हुन्छन् कति रखैल त, त्यसले तँलाई माया गर्दैन। युद्धमा कुन दिन मर्छ भन्ने थाह छैन, तँ फेरि विधवा हुन्छेस्, नगर त्योसँग बिहे। त्योसँग एक कौडी पनि पैसा छैन। तलब पाएको खान्छ, मोज गर्छ, उडाउँछ।’ जोसेफाइनका छोराछोरीले विरोध गर्नु स्वाभाविकै थियो, उनीहरूलाई सौतेनी बाबुले माया गर्दैन भने चिन्ता थियो।
यी सम्पूर्ण दुविधाका बाबजुद जोसेफाइनले नेपोलियनको प्रस्तावलाई नकार्न सकिनन्, उनी एक्ली थिइन्, उनलाई जीवनसाथी चाहिएको थियो। उता नेपोलियन त झन् अरूको कुरा के सुन्थे ? जोसेफाइनको मायामा उनी चुर्लुम्म डुबेका थिए।
उता जोसेफाइन कैदी हुँदा जेलरबाहेक अर्का एकजना पउल बारस भन्नेकी पनि उनी रखैल थिइन् भनेर धेरै इतिहासकारले लेखेका छन्। पउल पनि जोसेफाइनजस्तै भाग्यशाली भएर कैद मुक्त भएका थिए। उनी जोसेफाइनको भलो चाहन्थे। उनले जोसेफाइनको नेपोलियनसँगको सम्बन्धलाई साथ दिए, ९ मार्च १७९६ मा नेपोलियनसँग उनको बिहे गराइदिए।
यतिखेरसम्म नेपोलियन जोसेफाइनप्रति पूर्णरूपमा बफादार थिए। उनले कुनै परस्त्रीसँग सम्बन्ध राख्नु त टाढाको कुरा, जोसेफाइन मात्र उनको दिल र दिमागमा थिइन्। उनले जोसेफाइनका दुवै छोराछोरीलाई असाध्यै माया र हेरचाह गरे। भनिन्छ, ती केटाकेटी सौतेनी बाबुको यस्तो माया पाउँदा अति हर्षित थिए। बिहे गरेको भोलिपल्टै उनले दुवैजना केटाकेटालाई पेरिसको नाम चलेको विद्यालयमा आफ्ना भाइ जेरोमलाई पठाई भर्ना गरिदिए, उनीहरूको शिक्षादिक्षा र हेरचाहमा केही कमी नहोस् भनी प्रधानाध्यापक र होस्टलका वार्डेनलाई आदेश दिए। भनिन्छ, नेपोलियनले जोसेफाइनका छोराको समय आएपछि भव्यताका साथ विवाह पनि गराइदिए। जोसेफाइनकी छोरीको भने आफ्नै भाइ लुइससँग विवाह गराइदिएका थिए।
बिहे भएको दुई दिनपछि नै नेपोलियनलाई सेनाका कमान्डर बनाएर इटालीको मिलानो पठाइयो। उनले जोसेफाइनलाई मिलानोबाट भावुक हुँदै प्रेमिल पत्रहरू लेख्थे, ‘तिम्रो खुब याद आउँछ, तिमी छिटै आऊ...।’
उता जोसेफाइनले भने उनलाई वास्ता नगरेको जस्तो देखियो। बिहे गरेको दुई दिनपछि जब नेपोलियन इटालीतिर लागे, त्यसको ठीक भोलिपल्टको साँझदेखि नै उनी परपुरुषसँग भेटघाट गर्न थालिन्। पार्टीमा जाने, रमाइलो गर्ने, परपुरुषको छातीमा आफ्नो गर्दन झुकाएर नाच्ने, यस्तै रमाइलोमा रुमलिन थालिन्। यस्तैमा हिप्पोलाइट चाल्र्स नाम गरेका एक सैनिकसँगको उनको प्रेम प्रसंग पनि चर्चित हुन थाल्यो।
नेपोलियनको ‘मलाई भेट्न आऊ’ भन्ने पुकारलाई सुनेर उनी भेट्न गइन्, तर साथमा उनको प्रेमी हिप्पोलाइट चाल्र्स पनि थिए। नेपोलियनले सोचे, साथी होला, सँगै आएको। त्यसको दुई दिनपछि काजमा तर केवल दुई दिनका लागि नेपोलियन इटालीकै भेरोना भन्ने ठाउँ जानुपर्यो। दुई दिनपछि फर्कंदा जोसेफाइन आफ्नो प्रेमीसँगै स्पेन पुगिसकेकी थिइन्। नेपोलियन आफ्नी पत्नीको सम्झनामा झन् झन् गम्भीर हुँदै गए, अनि अप्रिल १७९६ मा यस्तो पत्र लेखे, ‘जबदेखि तिमीलाई छाडेर आएँ, तबदेखि म दिनदिनै उदास हुँदै गएको छु। म तिम्रो सम्झनामा बाँचेको छु। तिम्रो माया सम्झेर बाँचेको छु...।’
उता जोसेफाइन आफ्नो प्रेमीसँग हप्ता दिनजति घुमफिर गरी पेरिस फर्किइन्। आफ्नो रंगीन दुनियाँमा मस्त थिइन्– उही पार्टी, रमझम अनि परपुरुषसँगको रोमान्स। नेपोलियनलाई पत्राचार गर्ने उनको क्रम झन् झन् पातलो हुँदै गयो। उता नेपोलियन आफ्नी पत्नीले बेवास्ता गरेको देखी उदास हुँदै गए। उनले यस्तो पत्र लेखे, ‘तिमीबिना, तिमीले मलाई माया गर्ने आश्वासनबिना यो धर्तीमा मेरा लागि के छ र ! म के गर्न सक्छु र... !’
यस्तैमा १७९६ को नोभेम्बर अन्ततिर उनले यो हल्ला सुने कि उनकी पत्नी परपुरुषसँग सल्किएकी छन्, खासगरी त्यही हिप्पोलाइट चाल्र्स भन्ने सैनिक त उनको नियमित नाठो हो।
जसरी अति नै गहिरो मायाजालमा फसेको प्रेमीले आफ्नी प्रेमिकाको बारेमा अरूको मुखबाट जे नराम्रो सुने पनि बेवास्ता गर्छ, ठीक यसै गरी उनले पनि यो कुरालाई वास्तै गरेनन्, बेकारको हल्ला हो भन्ने सोचे।
उनले फेरि पत्र लेखे र योपालिको पत्र अझ गम्भीर थियो, तर जोसेफाइनको पत्र आएन। उनको मनमा अलिअलि चिसो पस्न थाल्यो, उनले सुनेको हल्ला साँच्चै हो कि भनेर अलिकति रिसाएर यस्तो पत्र लेखे, ‘म तिमीलाई अब भने माया गर्दिनँ, बरु घृणा गर्छु। तिमी दुष्ट, जंगली र वेश्या हौ। तिमी मलाई पत्र नै लेख्दिनौ। तिमी आफ्नो लोग्नेलाई माया गर्दिनौ। तिमीलाई थाह छ, तिमीले पत्र लेख्दा म कति खुसी हुन्छु ! तिमी जाबो दुई–चार पंक्तिको एउटा पत्रसम्म लेख्दिनौ।’
यस्तै किसिमले यी जोडी एक–अर्काबाट टाढा बसेर जीवनयापन गर्दै थिए। अन्ततः जोसेफाइनको रंगीन र आफ्नोपनको मोजमस्तीको जिन्दगीको पर्दाफास भयो, जब १७९८ को मार्चमा नेपोलियनका दाजु जोसेफ बोनापार्ट (जसलाई कालान्तरमा नेपोलियनले स्पेनका राजा बनाए) ले उनलाई पत्र लेखेर भनिदिए कि बुहारीको चालचलन ठीक छैन। उनी परपुरुषसँग खुलेआम सम्बन्ध राखेर हिँड्दैछिन्। उनले यो पनि भने कि यो कुरालाई पुष्टि गर्ने मसँग प्रमाण नै प्रमाणको पहाड छ।
आफ्ना दाजुले यस्तो भनेपछि उनलाई पनि हो जस्तो लाग्यो। उनका दाजुले रिसले आगो भएर यो पनि लेखेका थिए, ‘तिमी जहिले पनि होइन भन्छौ। यो कुरामा तिमीलाई विश्वास लाग्छ भने सायद तिमीले बुहारीलाई पारपाचुके गर्नु ठीक हुन्छ।’
त्यसको चार महिनापछि जुलाईमा जब नेपोलियन इजिप्टको मिसनमा गएका थिए, उनलाई फेरि खबर भयो– जोसेफाइनको उनीप्रतिको छल, धोका र बेइमानीको बारेमा। अब भने उनको हृदयमा बसेको पत्नीप्रतिको उनको प्रेम चकनाचुर भयो, उनी विरक्तिए। यही विरक्तिको घाउमा मलम लगाउन उनी आफूभन्दा जुनियर एक सेनाकी श्रीमती पलिन बेलिसले फोसेर्जसँग सल्किए। यी भर्खरकी, कलिलै उमेरकी महिला ‘नेपोलियनकी क्लियोपेट्रा’ भनेर उनको सैनिक समुदायमा चिनिइन्।
उनले अब पेरिस फर्कन्छु र जोसेफाइनलाई पारपाचुके गर्छु भनी योजना बनाए। अनि असाध्यै मन दुखाएर उनका दाजुलाई यस्तो मार्मिक पत्र लेखे, ‘पर्दाफास भयो, यो बडो दुःखको कुरा हुन्छ। खासगरी एक व्यक्तिप्रतिको यस्तो भावनाले जब एउटै मुटु दुई टुक्रा हुन्छ, म एक्लो हुनु आवश्यक छ। म आफ्नो ओहोदाबाट दिक्क भएँ। मेरा सम्पूर्ण भावनामा खडेरी लाग्यो। अब मलाई मेरो खुसीको परवाह छैन। मेरो २९ वर्षे कलिलो उमेरमै म सकिएँ, ध्वस्त भएँ...।’
यो पत्र फ्रान्क मेक्लिनको सन् २०११ मा प्रकाशित पुस्तक ‘नेपोलियन : अ बायोग्राफी’मा उल्लेख छ। उनको यो पत्र बेलायतका गुप्तचरले फेला पारे र नेपोलियनको छविलाई धज्जी उडाउने उद्देश्यले बेलायती अखबारमा छापियो। उता उनकी पत्नीले पनि त्यो अखबार पढिन्, जसबाट उनलाई पुष्टि भयो कि अब उनका खसमले उनलाई छाड्दैछन्।
जब उनी १७९९ मा पेरिस फर्किए, तब उनले जोसेफाइनलाई भने, ‘तिम्रा के के सरसामान छन् लैजाऊ, अब मेरो घर छाड। म तिमीसँग पारपाचुके चाहन्छु।’
जोसेफाइन रिसले पागलजस्तै भइन्। उनी त झन् उल्टै उनको सिकायत र पारपाचुकेको धम्कीमाथि बदलाको भावनाले खनिइन्। अब त झन् उनी नेपोलियनलाई दुःख दिने, तड्पाउने र तड्पाएर मजा लिने अभियानमा लागिन्। नेपोलियनले देख्ने गरी, जानीजानी उनलाई देखाउने गरी परपुरुषसँग सम्बन्ध राखिन्। नेपोलियनका हीरा जडेका अति नै बहुमूल्य पहिरनलाई उनले देखीदेखी उनकै सामु काटेर नष्ट पार्न थालिन्। बहुमूल्य क्रिस्टलजस्ता हीरा जडेका सुराही लगायत सजावटका अति नै बहुमूल्य फुट्ने खालका सामानलाई हथौडाले हानीहानी चकनाचुर पारिन्। नेपोलियन रिसले आगो भए, तर हिर्काउनलाई उठिसकेका उनका हात रोकिए, उनले केही गर्न सकेनन्।
दुई दिन बितेपछि ठूलो आँधीबेरी रोकिएजस्तै जोसेफाइन शान्त भइन्, अति नै नम्र भएर उनले माफी मागिन्, बिलौना गरिन्। रोइन्, कराइन् र भनिन्, ‘म अबदेखि तिमीबाहेक अरू कोहीसँग प्रेम र यौन सम्बन्ध राख्नेछैन। मैले गल्ती गरेँ, मेरो होस हराएको थियो। अब मेरो आँखा खुलेको छ, मलाई माफ गरिदेऊ। मलाई एउटा अन्तिम मौका देऊ, म आजीवन तिम्री इमानदार पत्नी भएर बस्नेछु।’
नेपोलियनका लागि यो कुरा ढिला भइसकेको थियो, अब भने उनको पुरुष हृदय निकै कठोर भइसकेको थियो, जोसेफाइनका करुणाले उनी पग्लन सकेनन्। तर, उनले पारपाचुके गर्ने धम्की भने बन्द गरे। उनी जोसेफाइनबाट स्वतन्त्र र स्वेच्छाको जिन्दगी जिउन थाले। थुप्रै रखैल राखे र उनीहरूसँगै मोजमस्तीमा लागे। तर, आफ्नो सैनिकको दायित्वप्रति गम्भीर भएर काम गरिरहे। त्यसपछि पनि देखाउनका लागि जोसेफाइन सार्वजनिक स्थलमा उनकी पत्नीकै रूपमा उपस्थित हुन्थिन्, तर नेपोलियनको हृदयमा उनीप्रति कुनै भावना थिएन। जोसेफाइनले आफूप्रति गरेको बेइमानीले गर्दा उनी टुटिसकेका थिए।
उनको करिअरमा भने उन्नति हुँदै गयो, १८०४ मा उनी फ्रान्सका सम्राट भए, जोसेफाइन साम्राज्ञी भइन्। उनी भित्री रूपमा जोसेफाइनबाट यति उदासिन थिए कि उनीसँग बाँकी जिन्दगी जिउन उनलाई रतिभर मन थिएन। उनलाई लाग्थ्यो, उनी एउटा ढुंगामुढाजस्तो चिजलाई समाजका सामु आफ्नी अर्धाङ्गिनीका रूपमा प्रस्तुत गर्दैछन्।
आखिर उनले १८०९ मा जोसेफाइनबाट छुटकारा लिने एउटा नयाँ बाटो खोजे। उनले भने, ‘मलाई उत्तराधिकारी चाहिन्छ। मेरो मृत्युपछि फ्रान्सको धर्तीमा राज गर्ने सम्राट मेरो छोरो हुनुपर्छ। म बिहे गर्न चाहन्छु।’
यसरी उनले १० जनवरी १८१० मा विधिपूर्वक पारपाचुके गरे। उनले जोसेफाइनलाई भने, ‘तिमीले ममाथि धेरै ठूलो पाप ग¥यौ। मजस्तो इमानदार पतिलाई तिमीले दुश्मनलाई भन्दा पनि नराम्रो व्यवहार गर्यौ, जुन मैले आजसम्म बिर्सन सकिनँ। सायद जीवनभर सक्नेछैन। म आज फ्रान्सको सम्राट हुँ, मभन्दा शक्तिशाली व्यक्ति को छ, आज फ्रान्समा ? मैले चाहेँ भने तिमीलाई नांगै र भिखारी बनाएर छाड्न सक्छु, मलाई कसले के गर्न सक्छ ? तर म त्यसो गर्दिनँ, तिम्रो भलो चाहन्छु। म तिमीलाई थुप्रै सम्पत्ति सुनचाँदी, हीरामोती, जग्गा–जमिन र महल दिएर मात्र अलग हुन्छु।’
भनिन्छ, उनले जोसेफाइनलाई धेरै ठूलो धनराशिसँगै धेरै जमिन पनि दिए।
अब जोसेफाइन पेरिस नजिकैको चाटेउ डी माल्मेजन भन्ने ठाउँमा बस्न थालिन्। अनि उता नेपोलियनले १० मार्च १८१० मा अस्ट्रियाकी राजकुमारी मेरी लुइससँग विवाह गरे। लुइसले नेपोलियनले चाहेजस्तै राजकुमार जन्माइदिइन्।
केही वर्षपछि १८१४ मा बेलायतले आक्रमण ग¥यो। नेपोलियनको सत्ता परिवर्तन भयो, उनको राजनीतिक पतन भयो। उनी सेन्ट हेलेनामा कैदमा थिए। पारपाचुके भएको चार वर्षपछि खबर आयो, उनकी पूर्वपत्नी जोसेफाइनलाई २९ मे १८१४ मा निमोनिया रोगले लग्यो। उनी स्तब्ध भए, भावुक हुँदै उनले आग्रह गरे, ‘म मेरी पूर्वपत्नीको दाहसंस्कार गर्न चाहन्छु, मलाई यो मौका दिइयोस्।’ उनको कुरा सुनियो। उनले जोसेफाइनको दाह–संस्कार गरे। त्यसपछि उनले रुँदै फेरि आग्रह गरे, ‘म केही समय त्यो घरमा, त्यो कोठामा बिताउन चाहन्छु, जहाँ मैले मेरी पूर्वपत्नी जोसेफाइनसँग बिताएको थिएँ। मलाई अनुमति दिइयोस्।’
उनको यो अन्तिम इच्छा पनि सुनियो। उनलाई त्यो घरमा लगियो, उनी त्यो कोठाभित्र छिरे र ढोका ढप्काए। भनिन्छ, उनी त्यहाँ जोसेफाइनको मृत्युमा निकैबेर विलौना गर्दै रोए। खासमा उनलाई जम्मा एक घन्टाको समय दिइएको थियो, समय पूरा भएपछि पनि उनी बाहिर निस्केनन्। सिपाहीले बाहिरबाट कराए, ‘भयो, निस्क अब। योभन्दा लामो समय दिन मिल्दैन तिमीलाई, ढिला भयो।’ उनी अटेर गरेर अझै रोइरहे, हुँदाहुँदै तीन घन्टाजति बितेपछि सिपाही ढोका खोली भित्र छिरे, नेपोलियन सोफामा ढल्किएर रोइरहेका थिए। सिपाहीले भने, ‘मलाई माफ गर, मैले तिमीलाई धेरै समय दिएँ, अब सक्दिनँ।’ सिपाहीले उनको हात समातेर ताने, बल्ल नेपोलियन उठे र उही उनलाई बन्दी बनाएको ठाउँ सेन्ट हेलेनातिर लगियो।
नेपोलियन सेनाका अति निपुण र सफल कमान्डर भनेर नमुनाका रूपमा आज पनि उनलाई चिनिन्छ। युद्धको सफल रणनीति बनाउनेमा उनलाई माहिर मानिन्छ। उनले जम्मा ६० वटा युद्ध लडे, सातवटा युद्धमा मात्र उनको पराजय भयो, ५३ युद्धमा विजय। उनी फ्रान्सको सेनाका प्रमुख हुँदादेखि सम्राट हुने बेलासम्म अति नै सफल शासक मानिन्छन्। उनले इटाली, स्पेन, बेल्जियम, नेदरल्यान्डस्, अस्ट्रियाजस्ता थुप्रै देशलाई आफ्नो अधीनमा पार्न सफल भएको इतिहास छ। उता बेलायत र रसियाजस्ता शक्तिशाली साम्राज्यलाई पनि उनले आच्छु–आच्छु पारेका थिए। फ्रान्सको एउटा टापुको सानो गाउँमा अनि साधारण परिवारमा १५ अगस्त १७६९ मा जन्मेका उनी फ्रान्सको सम्राट बन्न सफल भए, यो संसारलाई हल्लाइदिए। उनले शिक्षामा सुधार ल्याए, प्रतिपादन भइसकेको तर सुषुप्त अवस्थामा रहेको मेट्रिक नापतौल प्रणालीलाई सक्रिय रूपमा परिचालन गरे। १८ जनवरी १८०० मा फ्रान्सको पहिलो ‘बैंक अफ फ्रान्स’को स्थापना यिनैले गरेका हुन्। अनि आयकर, यातायातकर आदिमा सुधार उनैले ल्याएका हुन्।
उनको प्रभावशाली व्यक्तित्व र छवि संसारभरि फैलियो। ठूला–ठूला इतिहासकार, शासक, विद्वान्ले पनि उनको व्यक्तित्व र छविको गुणगान गाएको भेटिन्छ। उनलाई कतिले सबभन्दा सक्षम मानवको संज्ञा दिएका छन्। उनको मृत्युपछि कैयौँ गल्ली, सहर, पानी जहाज, कथा उपन्यासका पात्र समेत उनको नामसँग जोडिएका छन्। उनीमाथि सयौँ चलचित्र बनेका छन्, हजारौँ ग्रन्थ लेखिएका छन्।
‘असम्भव भन्ने शब्द मूर्खहरूको शब्दकोशमा मात्र पाइन्छ’ अनि ‘जो डराउँछ, उसको मृत्यु निश्चित छ’ जस्ता मानिसलाई प्रेरणा दिने वाणी यिनकै हुन्। उनी भर्खर १५ वर्षको किशोर हुँदा एक ज्योतिषीले उनको हातको भाग्यरेखा हेर्दै ‘बाबु, तिम्रो भाग्यरेखा छोटो रहेछ’ भनेका थिए। उनले आफ्नो हत्केलाको भाग्यरेखा छुराले काटेर लम्ब्याउँदै ‘ल, मेरो भाग्य अब लामो र बलियो भयो ?’ भनी ज्योतिषीलाई प्रश्न गरेका थिए।
जब उनको पतन भयो, उनलाई गिरफ्तार गरी सेन्ट हेलेनामा बन्दी बनाइयो, उनकी पत्नी छोरालाई साथमा लिएर आफ्नै माइती देश अस्ट्रियातिर लागिन्, उनलाई भेट्न कहिले पनि फर्किनन्। उनको मृत्युको कारण भिन्नभिन्न इतिहासकारले भिन्नभिन्न लेखेका छन्। कसैले उनलाई पेटको क्यान्सर थियो भनेका छन्, कसैले उनको शिरमा एक प्रकारको वंशाणुगत रोग थियो भनेका छन्, कतिले उपचारका क्रममा क्यालोमेल भन्ने औषधि अत्यधिक सेवन गरेकाले उनको मृत्यु भएको भनेका छन्। कतिले बेलायतको सरकारले मन्द विष दिएर मार्यो भनेका छन्। कारण जेसुकै भए पनि ५१ वर्षको उमेर (५ मे १८२१ )मा कैदमै उनको मृत्यु भयो। भनिन्छ, उनको मृत्युमा लाखौँ फ्रान्सवासीले आँसु बगाए।
प्रकाशित: १ फाल्गुन २०७७ ०४:२५ शनिबार