११ मंसिर २०८१ मंगलबार
image/svg+xml
कला

मन्त्रीपत्नीको त्यो साँझ

कथा

पतिको बडी गार्डका रूपमा आएको सेनाको पोसाकवाला मान्छेको अनुहारले सन्ध्यालाई झसंग बनायो। कस्तो अनुहार मिल्ने मान्छे ! बेला–बेला आँखाअगाडि आइरहने मान्छेलाई एक्कासि भेट्दा के हुन्छ ? उसलाई करिब–करिब त्यस्तै भयो। अहिले ऊ पनि यस्तै भयो होला। बडीगार्डको अनुहारले उसलाई २१ वर्षअघिको स्मृतिमा धकेलेको थियो।

सन्ध्याको जीवनमा एउटा पुरुष आएको थियो– पातलो शरीर, पढाइमा त्यति मन नगर्ने, खेलकुदमा रुचि भएको, उसलाई देख्यो कि नर्भस हुने, मिलेसम्म दिनैपिच्छे भेट्न खोज्ने, तर भेटेपछि खासै कुरा नगर्ने। आफूलाई केही मनपर्छ भन्नै नहुने, जसरी हुन्छ खोजेर ल्याइदिने।  

एक दिन उनीहरू बाटोछेउ उभिएर गफ गर्दै थिए, भर्खरै तराईबाट विवाह भएर पहाड आएकी गाउँले भाउजू पानी भर्न जाँदै थिइन्। उनले खुट्टामा लगाएको चाँदीको पाउजु देखाउँदै सन्ध्याले भनी, ‘हेर न, मलाई यस्तै पाउजु लाउन मन लागेको छ।’ जवाफमा उसले भनेको थियो, ‘म जागिर खान थालेपछि पहिलो तलबले तिमीलाई चाँदीको  

पाउजु किनिदिन्छु।’  

एउटै गाउँ भए पनि अलि टाढा थियो, उनीहरूको घर। स्कुल एउटै भए पनि कक्षा फरक थियो। ८ कक्षा सकेर ९ मा प्रवेश गरेको केही दिनपछि ऊ एक्कासि घर छाडेर हिँड्यो। कहाँ गयो, किन गयो केही थाहा थिएन। ‘सहरतिर गयो रे पुलिस हो कि आर्मीमा भर्ना हुन,’ त्यति मात्रै सुनी उसले। उसकी बहिनीलाई चिठी छाडेको रहेछ। लेखिएको थियो, ‘प्रिय सन्ध्या, काकाले सुर्खेतबाट खबर पठाउनु भएपछि मलाई पढ्नभन्दा जागिर खान ठीक लाग्यो। तिमी राम्रो पढ्नु, म चाँडै आउनेछु।  

तिमीलाई माया गर्ने उही, सूर्य।’ 

हातमा थैली बोकेर बेड रुममा छिर्दा मन्त्रीज्यू पल्टिसकेका थिए। ‘आज निद्रा पनि कति चाँडो लागेछ’ भन्दै उनले थैली खोलिन्, जहाँ एक जोर चाँदीका पाउजु थिए। पाउजु देखेपछि कोठामा झुन्ड्याएको क्यालेन्डर, बत्ती सबै फनफनी घुमेझैँ भयो। लुगा नफेरी बाहिर निस्किइन् र एक तलामाथि कौसीको पर्खालमा आड लाग्दै आकाशतिर हेरिन्। माघ महिनाको चिसो रातको ११ बजे, उनको मुहार र शरीरमा खलखली पसिना आइरहेको थियो। 

चिठीमा लेखिएझैँ उसले राम्ररी पढ्न पाइनँ र ऊ पनि चाँडै आएन। तीन वर्षपछि सूर्य घर फर्कंदा नेपाली सेनाको जागिरे भएर फर्किएको थियो, तर गाउँमा सन्ध्या थिइनँ। १० कक्षा पढ्दैगर्दा राजनीति गर्ने केटासँग विवाह भएको, छोरीको विवाहपछि बाबुआमा पनि दाङतिर बसाइँ सरेको सुनेको थियो। कस्तो केटासँग विवाह भयो ? जवाफमा सन्ध्याका नातेदारले अर्कै जिल्लाको, कामकाज नभएको, राजनीतिमा बरालिने केटासँग विवाह भएको बताएका थिए।

समय क्रममा सूर्यको पनि विवाह भयो, छोराछोरी भए। चाडबाडमा, राम्रो ठाउँमा पुगेका बेला, मिठो खाएको बेला सन्ध्यालाई सम्झिरहन्थ्यो। कहाँ होला, कस्ती भई होली ? मलाई सम्झिरहेकी होली ? बिर्सिसकी कि ! मनमा कुरा खेलिरहन्थ्यो। ड्युटी गर्दा केही जिल्लामा बसे पनि धेरैजसो काठमाडौं नै उसको कार्यथलो बन्यो। सिपाहीबाट बढुवा भएर जमदार बन्यो। नेपाली सेनाको विशेष सुरक्षा वाहिनीमा रहेर धेरै मन्त्रीको सुरक्षामा खटियो। सुरक्षागार्ड हुँदाका अनुभव कति छन् कति। बाहिर अरूले के के नै होझैँ मानेका कतिपय ठूला मान्छेका निम्न स्तरका प्रवृत्तिलाई उसले नजिकबाट देखेको छ। राज्य संयन्त्रभित्र रहेका कुरूप अनुहार मात्र होइन, कहिलेकाहीँ असल अनुहार पनि उसले हेर्न पाएको छ। त्यस्ता राम्रा मान्छेको रक्षा गर्दा उसले भित्रैबाट सन्तुष्टि महसुस गरेको छ। उमेरमा ४० को हाराहारी ऊ अनुभवमा परिपक्व छ। मन्त्री निराजनको सुरक्षा अहिले उसको मुख्य काम र कर्तव्य हो। उसको मातहतमा ११ सिपाही छन्। साथमा सशस्त्र प्रहरीको डफ्फा पनि छ। तर, सुरक्षा र जिम्मेवारीका आ–आफ्नै परिधि भएकाले आफ्नो भागको ड्युटीमा मात्रै केन्द्रित भए पुग्छ।  

मन्त्रीको बडीगार्डको जिम्मेवारी पाएर गएकै दिन उसले सन्ध्यालाई देख्यो। आश्चर्य उसलाई पनि नलागेको होइन, तर पेसाले उसलाई मनभित्रको आश्चर्यभाव प्रकट गर्न दिएन। मन्त्राणीलाई पहिलोपल्ट देख्दा डेराबाट मन्त्री क्वार्टरमा सर्नका लागि सामान के लैजाने, के नलैजाने मिलाइरहेकी थिइन्। सलाम गर्‍यो र बाहिर निस्कियो। आँखा माथिको कालो कोठी, त्यही हुलियाका कारण उसले सन्ध्यालाई चिनेको थियो। अनुहारमा कति चाँडै रेखाहरू बसेका, अगाडिको कपाल पनि अलिअलि फुलेछ। कालो किन नलगाएको होला ! स्वरचाहिँ उस्तै रहेछ ! के मलाई चिनिनँ होली ? सोच्दै गर्दा आँगनबाट ‘सुन्नुस् त’ भन्ने आवाज आयो। ऊभित्र पस्नासाथ सन्ध्याले सोधिन्, ‘तपाईंको नाम के हो ? मलाई कस्तो तपाईं मैले चिनेको मान्छेजस्तै लागिरहेको छ।’

‘सम्मर हो हजुर,’ उसले नाम बतायो। नागरिकतामा बाबुले लेखाइदिएको नामले ऊ जागिरमा परिचित थियो। नाम सुनेर उनको मुहारमा देखिएको तनाव कम भएको महसुस गर्दै ऊ गेट बाहिरबाट निस्कियो।  

पुल्चोकस्थित मन्त्री क्वार्टरमा सरेपछि सम्मरको दिनचर्या निश्चित नभए पनि ड्युटी निश्चित थियो। दिनचर्या मन्त्रीज्यू जतिबेला जहाँ जान्छन्, जे गर्छन् त्यसमा भर पथ्र्यो। बिहान मन्त्री निवासको झन्डा लाउने र बेलुका निकाल्ने, जहाँ जाने हो सवारी चलाउने काम उनीहरूकै थियो। कुनै सूचना तथा जानकारी दिनुपरे प्रहरीको च्यानलबाट जान्थ्यो। मन्त्रीज्यूको दिनचर्या बिहान ६ बजेदेखि सुरु हुन्थ्यो। बिहानैदेखि कार्यकर्ता तथा आशामुखीहरूले बैठक भरिने हुँदा मन्त्री तल नझरी धरै थिएन। मान्छे भेट्दाभेट्दै १० बजेपछि खाना खाएर उनी मन्त्रालयतिर लाग्थे। मन्त्रालयमा उनलाई भेट्न आउने मानिस देखेर उसलाई लाग्थ्यो– यी मन्त्रीले काम कतिबेला गर्लान् ! भेट्न आउनेमा महिलाको संख्या पनि त्यत्तिकै हुन्थ्यो। कतिपयसँग मन्त्रीज्यू लामै समय गोप्य रुममा बिताउँथे। तीमध्ये दुई महिलाको घरमै मन्त्रीज्यू बेलाबेला पुग्थे। उनी जति राति फर्किए पनि मन्त्राणी खाना पर्खिएर बसेकी हुन्थिन्। मन्त्रीले जानुपर्ने पार्टी, भोजहरू पनि त्यत्तिकै हुन्थे। तीमध्ये ज्यादै कममा मात्रै उनी जान्थिन्, ती प्रायः पारिवारिक प्रकारका हुन्थे। बिहानदेखि रातिसम्म मन्त्रीको व्यस्ततालाई हेर्दा घरमा लोग्ने–स्वास्नी कतिबेला बोल्छन् होला जस्तो लाग्थ्यो उसलाई।  

आएका पाहुनालाई सहयोगीले चिया दिए पनि मन्त्रीज्यूका लागि मन्त्राणीज्यू आफैँ खाना तयार गर्थिन्। छोराछोरी स्कुलको पढाइ सकेर एकजना भारत र अर्को चीनमा राजदूतावासको छात्रवृत्तिमा कलेज पढ्थे। मन्त्राणी दिनभरि निवासमा एक्लै हुन्थिन्। कहिलेकाहीँ हातमा किताब देखिन्थ्यो। कम्पाउन्डमा वर्तिरपर्तिर गर्ने क्रममा नजिकबाट हिँड्दा अलि पर पुगेपछि केही कुराको महसुस भएझैँ गरी फर्किएर हेर्थिन्। फुर्सदको समयमा हातमा केही बुनिरहेको पनि देखिन्थ्यो। दिन त भएन भएन रात पनि आफ्नो जस्तो थिएन। भेटघाट नभएका बेला पति प्रायः फोनमा व्यस्त हुन्थे। मन्त्रालय सम्बन्धित फोन त आउने नै भए, कति फोन राति १२–१ बजेतिर पनि आउँथे। राति आउने फोनहरू कि त जिल्लाका मानिसलाई गाह्रो–साह्रो परेको भनी अस्पतालबाट आउँथे, कि त नशाले राम्ररी बोली नबुझिने अवस्थामा पुगेपछि ‘हामीलाई वास्ता नगर्ने ? मेरो फोन नउठाउने ? पख्नुस् तपाईंलाई !’ भन्दै थर्काउने जिल्लातिरका कार्यकताले गर्थे। मन्त्री प्रायः सबैको फोन उठाउँथे, तर कोही छुटेकै हुन्थे। राति एकपल्ट निद्रा टुटेपछि कहिलेकाहीँ निद्रा नलागी रात ढल्थ्यो। मन्त्री भएदेखि आफू यान्त्रिकझैँ भएको महसुस भएको थियो उनलाई।  

निवासमा कहिलेकाहीँ मन्त्राणीका नातेदार र साथीहरू आउँथे। उनीहरू सबैले ‘कस्तो राम्रो भाग्य लिएर आएकी’ भन्दै उनको भाग्यको तारिफ गर्थे। मन्त्रीका गाडी, सुरक्षाकर्मी, गार्ड, साइरन, निवास सबै उनीहरूका लागि रोमाञ्चकारी थिए, हुने नै भए। जेकुरालाई उनीहरू जीवन्तदेखि रहेका थिए, ती कुराले उनलाई भनेँ उदास–उदास बनाएको थियो। व्यक्तिगत जीवन छैन, गरेको कामको जस पनि छैन, बिरामी भन्न पाउनु पनि छैन। अखबारमा मन्त्रीका बारेमा नकारात्मक समाचार आएपिच्छे उनी भन्ने गर्थिन्, ‘राजीनामा गरे हुन्न ? कति नै बाँचिन्छ र ? आफ्नो दुःखसुख गरेर शान्तिसँग जीवन बिताउन पाए हुन्थ्यो।’

मन्त्री र उनको जीवनप्रतिको लक्ष्य, उद्देश्य र दृष्टिकोण नै फरक थियो। राजनीतिका नाममा सन्ध्याले आफ्नो व्यक्तिगत जिन्दगीको आहुति नै दिएकी थिइन् भने पनि हुन्छ। आइए पढ्दै गर्दा बच्चा जन्मियो। सधैँ घरबाहिर हुने पतिका पत्नीहरूले सन्तान हुर्काउन जुन भुक्तमान भोग्छन्, त्यही उनले पनि भोगिन्। शरीरमा तेल लगाइदिने मान्छेको त कुरै नगरौँ, सुत्केरीमा राम्ररी खानलाई नै समस्या थियो। अब सुखका दिन आउलान् भन्दाभन्दै वर्षौं बितेर गए। यसअघि सांसदको पाँचवर्षे कार्यकाल ठीकै थियो। खान–लाउनको दुःख थिएन, तर काठमाडौंमा घर नहुने सांसदकी पत्नी हुनुका आफ्नै प्रकारका दुःख थिए। घरमा पाहुना कहिल्यै नटुट्ने, घरभाडा, छोराछोरीको पढाइ, कहिले अस्पतालमा बिरामी हेर्न गयो, कसैलाई घर जानका लागि भाडा दिनुपर्‍यो, कसैको विवाह, व्रतबन्ध, पास्नी, जन्म दिन टार्न पु¥याउनै गाह्रो थियो। पतिले माननीय पद पाएका थिए, तर उनको हैसियत सधैँ गृहणी। न कामबाट फुर्सद, न त कामको मूल्यांकन। सांसद हुँदा पनि पति त्यत्तिकै व्यस्त थिए। त्यसबीचमा ‘आहा ! आज कति मीठो खाना बनाएको, या छोराछोरीको रेखदेख र घरको झन्झट सबै तिमीले हेरेका कारण म यति स्वतन्त्र भएर हिँड्न पाएको छु, वा तिमीले धोएर आइरन गरेको सर्ट लाएर म राम्रो देखिएँ, थ्यांक्यु है’ भनेको उनलाई सम्झना छैन।  

राजनीति गर्नेहरूका लागि मन्त्री बन्दाको समय सायद जिन्दगीमा सबैभन्दा सुखद हो। त्यही सुखद समयको एउटा हिस्सा उनको भागमा पनि परेको छ। दिनभरि घरमा यताउता गर्‍यो। कतिबेला उनी आउँछन् र सँगै बसेर खाउँला भनेर कुर्दाकुर्दै पकाएको खाना चिसो भइसक्छ, उनी आउने टुंगो हुँदैन। कहिले ११ बजेतिर घर फर्किएर ‘बाहिरै खाएर आएँ’ भनिदिन्छन्। नखाई आएको बेला पनि शान्त मुडमा आनन्दले खाना खाएको सम्झना छैन। खाना खाँदै गर्दा फोनले फुर्सद पाउँदैन। आफूले त्यतिका मेहनत गरेर पकाएको खानामा तरकारी के थियो पनि थाहा हुँदैन होला जस्तो लाग्छ उनलाई। कहिलेकाहीँ सोच्छिन्, के यही नै मेरो जिन्दगीको सबैभन्दा ठूलो उपलब्धि हो ?

मंसिरको एक शनिबार, मन्त्रीज्यू घरमै भएका बेला बैठक कोठामा पार्टीका सहकर्मीबीच छलफल चलिरहेको थियो। कम्पाउन्डमा भएको कपुरको रूखसँगै घाममा पत्रिका पढ्दै बसेकी उनलाई सम्मरले सलाम गरिसकेपछि ‘ह्यापी बर्थ डे म्याम’ भन्यो। फेसबुकले देखाएको दुई दिनअघिको मितिका कारण धेरैले उनलाई शुभकामना दिए पनि वास्तविक जन्मदिन भने सोही दिन थियो। फेसबुकवाला होहल्लाकै कारण होला भनेर उनले धन्यवाद भनिन्। मनमा भने साँच्चिकै जन्मदिनका दिन कसैबाट शुभकामना पाएकामा खुसी लाग्यो। पत्नीको जन्मदिन, वैवाहिक वार्षिकोत्सवजस्ता कुरा मन्त्रीज्यूको सम्झनामा रहँदैनथ्यो। यस्ता विषयमा उनले गुनासो गर्न छाडेको पनि वर्षौं भइसकेको थियो। तर कुरैकुरामा २१ वर्षअघि भनिएको उनको जन्ममिति सम्मरलाई कण्ठै थियो।  

मन्त्रीको सुरक्षामा खटिएको टोली ६ महिनामा परिवर्तन हुने नियम थियो, सोहीअनुसार सम्मरको टोली गएर अर्को टोली आउने दिन तय भइसकेको थियो। अरू मन्त्रीको सुरक्षामा खटिँदा निवासभन्दा मन्त्रालयमा समय चाँडो बितेझैँ लाग्ने सम्मरलाई मन्त्री निवासप्रति एक प्रकारको आत्मीयता जोडिएझैँ भएको थियो। देखभेट खासै नभए पनि प्रिय मान्छेको साथ पाएझैँ छुट्टै आभास हुन्थ्यो। टाढैबाट उनको स्वर सुन्दा पनि मनमा खुसी भरिएर आउँथ्यो। कहिलेकाहीँ ‘हे भगवान् समयले मलाई कहाँ ल्याइपुर्‍यायो’ जस्तो पनि लाग्थ्यो। जागिरको चक्करमा छुटेको पढाइ अगाडि बढाउँदै स्नातक तहको परीक्षा दिइरहेकाले मन्त्रीज्यू घरमा हुँदा प्रायः ऊ पढेर बस्थ्यो। जाने दिन नजिकिँदै आउँदा मनमा नरमाइलो वा कस्तो–कस्तो भइरहेको थियो। जानुअघि भेटेर फोन नम्बर लिउँ कि जस्तो नलागेको होइन, तर फेरि होइन यस्ता कुराबाट आफू टाढै रहनुपर्छ भन्ने लाग्यो।  

सुरक्षा डफ्फा परिवर्तन हुनु एक दिनअघि माघको एक साँझ छोराछोरी पनि आएको मौका पारेर निवासमा नजिकका साथीलाई मन्त्रीज्यूले पार्टी दिएका थिए। कम्पाउन्डको बीच र छेउमा गरी दुई ठाउँ आगो बालिएको थियो। केही राजनीतिकर्मी, केही व्यापारी, तिनका पत्नी र छोराछोरी पार्टीमा धेरै मानिस थिएनन्, तर मन्त्रीका लागि महत्वपूर्ण मानिस थिए। मन्त्राणी र केही पाहुना छेउतिरको आगोको छेउमा बसेका थिए। ड्रिंक सुरु भएपछि आ–आफ्नै तालमा मानिस कुरा गर्न थाले। मन्त्रीज्यूले सम्मरलाई बोलाए र भने, ‘तपाईंहरू पनि रमाइलो गर्नुस, ड्रिंक गर्नुहुन्छ भने लिनुभएहुन्छ। सुरुमा त उसले ‘हस्’ मात्रै भन्यो। पछि ‘अरू हुनुहुन्छ नि ड्युटीमा तपाईंले खानुभए हुन्छ’ भनेपछि उसले ग्लास समायो। मधुरो संगीत बज्न थालेपछि महिला पाहुना नाच्न थाले। हातमा वाइनको ग्लास लिएर आगो तापिरहेकी मन्त्राणी नजिक गएर उसले भन्यो, ‘हजुरलाई के टक्र्याउँ ?’ उनले आगोको छेउमा बस्न इसारा गर्दै भनिन्, ‘मलाई केही पर्दैन, बस्नुस् न।’  

अर्को ग्लास थप्दै उसले भन्यो, ‘नाच्न  

सवारी भएन !’  

उनले आफूलाई नाचमा त्यति रुचि नभएको बताउँदै सोधिन्, ‘तपाईंको घर कहाँ हो रे ?’  

‘हाम्रो के घर हुन्छ हजुर, जहाँ बस्यो, त्यहीँ घर,’ उसले अस्पष्ट जवाफपछि सोध्यो, ‘हजुरले अस्ति नै मलाई खै को जस्तो, चिनेको मान्छे जस्तो मर्जी भाथ्यो, खासमा को हो ऊ ?’

‘मैले उसको बारेमा अहिलेसम्म कसैलाई बताएकी छैन,’ उनले भनिन्।  

‘मलाई बताइबक्स्योस् न।’  

‘म उसलाई मन पराउँथेँ।’  

‘के गथ्र्यो ऊ ?’  

‘जागिर खाँदै होला।’  

‘केमा जागिर खाने ?’

‘खै पुलिस, आर्मी केमा हो।’  

‘ए, राम्रै भएछ नि ! यस्तो ठाउँ छाडेर त्यस्तो पुलिस आर्मी, हामीजस्तै त हो, सधैँ बाहिर हुन्छन्।’  

‘सँगै बसेर साथ नपाउनुभन्दा टाढा बसेर सँगै भएको महसुस गर्नु राम्रो नि हैन र ?’ संगीतको धुन बजिरहेको थियो, तर दुईजनाको वार्तालापमा सन्ध्याको पछिल्लो भनाइले एकछिन सन्नाटा छाएझैँ भयो। त्यसबीचमा सम्मरले आगो ठोस्यो, केही दाउरा थप्यो र साथमा उनलाई एक ग्लास वाइन पनि थपिदियो। ‘उसलाई छाडेर किन अर्को मान्छेसँग विवाह गरेको त ?’ मुखमा आइसकेको प्रश्नलाई रोकेर सम्मरले सोध्यो, ‘ऊसँग हजुरको अन्तिम भेट कहिले भएको थियो ?’

‘२१ वर्षअघि।’  

‘ए, कतिअगाडि रैछ। अहिले त भेट्दा पनि चिनिबक्सिन्न होला।’

‘किन नचिन्नू ? आफ्नो मान्छेलाई पनि कसले चिन्दैन ? अनुहार अलिअलि तपाईंको जस्तो, खुट्टाको एउटा औँला काटिएको छ, चिनिहाल्छु नि।’  

पुलिस आर्मीमा भए बुट लगाएको हुन्छ, चिनिबक्सिन्न,’ जिस्किएको हाँसो हाँस्दै फेरि सोध्यो, ‘ऊसँग भेट भयो भने के गरिबक्सिन्छ ?’

‘मैले ?’ उनी आत्तिएझैँ भइन्, ‘मऽऽ मऽऽ उसको आँखा छोप्छु।’

वर्षौंअघि भेट्यो कि आँखा छोप्ने उनको बानी सम्मरले सम्झियो। खासमा दुवैले एउटै दृश्य सम्झिए। मधुरो प्रकाशमा परेको रूखको छाया हेर्दै उनले भनिन्, ‘उसको आँखा छोपेको म प्रायः सम्झिन्छु। केही वर्षअघि एक दिन कौसीमा बसेका बेला मैले उहाँको आँखा छोपेकी थिएँ, बौलायौ कि के हो भन्नु’भो। त्यसपछि कहिल्यै छोपिनँ।’  

‘मन्त्रीज्यू आफ्नै कामले व्यस्त होइसिन्छ, हजुरले बुझ्नुपर्छ,’ उसले भन्यो।  

‘हो, उहाँलाई मसँग बोल्ने फुर्सद नभएको धेरै भयो। कार्यकर्तासँग बोल्दाको खुसी देख्छु, मसँग बोल्दा पनि यसैगरी बोले हुन्थ्यो नि जस्तो लाग्छ। विवाह भएपछि राम्ररी त केही महिना मात्रै बस्न पाइयो होला। छोराछोरी हुर्काउने, पढाउने, पकाउने, खुवाउने जिन्दगी त यसै गयो। उहाँको माइन्डमा राजनीतिभन्दा अरू केही छ जस्तो लाग्दैन। कहिलेकाहीँ त मोबाइल अफ गरेर मसँग मात्रै कुरा गरेर बसे हुन्थ्यो नि भन्ने लाग्छ, तर त्यस्तो दिन आउलाजस्तो छैन। फोनमा कुरा पनि कति गर्न मन लागेको, म भए त त्यस्तो गर्न सक्दिनथेँ। खासमा मलाई आफ्नो खुट्टामा उभिने, आफ्नै कमाइमा बाँच्ने कस्तो रहर थियो, तर यस्तै भयो।’

आफ्ना खुट्टामा उभिएका कति कामकाजी र राजनीतिमा लागेका केही महिलाले मन्त्रीज्यूको नजिक पर्न मरिहत्ते गरेको देखेको उसलाई जिन्दगी यस्तै रहेछ जस्तो लाग्यो, तर केही भनेन। ‘हजुरले छाडेको मान्छेले फोन ग¥यो भने ?’ अनायसै उसले सोध्यो।  

‘मैले छाडेको भन्न मिल्दैन, ऊ नै चाँडै आउँछु भनेर बेपत्ता भएको हो,’ यसो भन्दै गर्दा उसले ओढिरहेको पश्मिनाको सल आगोमा पर्न लागेको देखेर सललाई झट्ट काखतिर धकेलिदियो।  

‘तपाईंलाई देख्दा, भेट्दा मलाई कस्तो देखिरहेको, भेटिरहेको मान्छे जस्तो लाग्छ,’ फेरि पनि उनले दोहो¥याइन्। आगोको राप र मधुरो प्रकाशका बीच संगीतमा गुञ्जिएको त्यो साँझ उनलाई खै किन हो जीवनकै अवीस्मरणीय साँझझैँ लागि रहेको थियो।  

यसैबीच उसले आफ्नो टिमको मन्त्री निवासमा अन्तिम साँझ भएको बतायो। प्रतिक्रियामा उनले भनिन्, ‘तपाईं बसेर अरूलाई मात्र परिवर्तन गर्न मिल्दैन ?’ ‘मिल्दैन हजुर, खासमा म त अहिले नै हिँड्न लागेको हो, अर्को टिम आइसकेको छ। हजुरलाई एउटा सानो उपहार टक्र्याउँ कि भनेर,’ उसले हात अघि बढायो। ‘मलाई ? लौन के उपहार हो यस्तो ?’ मुस्कुराउँदै उनले आगोको रापलाई चिर्दै हात अघि बढाइन्। आफू बसेको ठाउँबाट अलिकति उठेर सानो कपडाको थैलीमा राखेको सामान हातमा राखिदिँदै उसले भन्यो, ‘मैले मेरो जागिरको पहिलो कमाइले किनेको थिएँ।’  

उनले केही बोल्नै नपाई ऊ आफ्नो टिमका सुरक्षाकर्मी भएतिर अघि बढ्यो। ‘के होला यस्तो उपहार ?’ उनको मनमा यस्तै लागे पनि पार्टीको भीडभाडमा हेर्ने कुरा भएन।  

बिस्तारै पाहुना बाहिरिँदै गए, त्यहीँ वरिपरि निवास भएका केही मन्त्री र तिनका पत्नी मात्रै बाँकी रहे। बाँकी रहेका पाहुनालाई ‘रात छिप्पियो, अब सुत्नुपर्छ, गुड नाइट’ भनेर मन्त्रीज्यू निवासतिर लागे। भान्साका अलिकति थान्कोमुन्को गरी भ¥याङ उक्लिएर बेडरुममा जाँदै गर्दा उनले कम्मरमा सारीसँगै सिउरिएर राखेको रातो रङको सानो थैली फुक्त खस्यो। हातमा थैली बोकेर बेड रुममा छिर्दा मन्त्रीज्यू पल्टिसकेका थिए। ‘आज निद्रा पनि कति चाँडो लागेछ’ भन्दै उनले थैली खोलिन्, जहाँ एक जोर चाँदीका पाउजु थिए। पाउजु देखेपछि कोठामा झुन्ड्याएको क्यालेन्डर, बत्ती सबै फनफनी घुमेझैँ भयो। लुगा नफेरी बाहिर निस्किइन् र एक तलामाथि कौसीको पर्खालमा आड लाग्दै आकाशतिर हेरिन्। माघ महिनाको चिसो रातको ११ बजे, उनको मुहार र शरीरमा खलखली पसिना आइरहेको थियो। आफ्नो मनमा जस्तै आकाशमा पनि बादल मडारिइरहेको थियो, सायद माघेझरी पर्न खोज्दै थियो। ठाउँठाउँमा देखिएका तारा चमकिरहेका थिए। त्यसैबीच एउटा तारा पृथ्वीमा बिस्तारै झ¥यो, उनले आँखा चिम्लिइन्। वर्षौंदेखि मनमा राखेको युवा आकृतिको परिपक्व रूप आँखा वरिपरि आयो। त्यो सुनसान रातमा उनको कानमा गुन्जिरहेको थियो, ‘मैले जागिरको पहिलो कमाइले किनेको थिएँ।’

प्रकाशित: १ फाल्गुन २०७७ ०२:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App