२७ आश्विन २०८१ आइतबार
image/svg+xml
कला

भाकल

लघुकथा

लगातार तिनवटी छोरी जन्मेपछि  मालतीले भाकल गरेकी थिइन् – अबको सन्तान छोरा जन्मेछ भने म गॉंउको देवी मन्दिरमा परेवा उडाउँछु। भाकलले हो या अरू कुनै संयोगले हो, उनको चौंथो सन्तान छोरा नै जन्मियो।

मालतीको परिवारमा खुशीको बहार आयो। उनी मात्र हैन, उनका श्रीमान र तिनवटै छोरीहरू दंग परे। छोरा जन्मेको केही समयपछि मालती मन्दिर गइन्। उनले ठुली छोरी पनि साथै लगेकी  थिइन्। भाकल पूरा गरीदिएकोमा देवीलाई धन्यवाद दिइन् ।  भाकल गरेअनुसार उनले एक जोडी परेवा पनि उडाइन्।

पुजा गरेर दुवै जना घर फर्किने बेलामा छोरीले सोधी– आमा हजुरले पहिलापहिला त मन्दिर आउँदा परेवा उडाउनुहुन्थेन। यसपालि किन उडाउनुभएको ? 

–   मैले तिम्रो भाइ जन्म्यो भने परेवा उडाउँछु भनेर  भाकल गरेकी थिएँ । त्यही भाकल  पूरा भएकाले परेवा उडाएको, आमाले हॉंस्दै भनिन। 

ठूलीले सोधी – ए भनेपछि म जन्मिदा पनि छोरी जन्मोस् भनेर भाकल गर्नुभएको थियो आमा ?

– गरिनँ।

– माहिली जन्मिदा ?

–नाइँ ।

– कान्छी जन्मिदा ।

– अहँ।

– भनेपछि हामी जन्मिदा त तपाईलाई भाकल नै गर्नुपरेनछ है आमा ।

– हो छोरी ।

– तर, भाइ जन्मिदा किन भाकल गर्नुभयो त आमा ?

मालतीले छोरीको अनुहारमा हेरिन् । उनलाई लाग्यो कति अबोध छे छोरी। उनले छोरीको टाउको सुम्सुम्याउँदै भनिन– छोरी जन्मोस् भनेर कसैले भाकल गर्दैनन् छोरी !

प्रकाशित: २९ माघ २०७७ ०९:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App