२७ आश्विन २०८१ आइतबार
image/svg+xml
कला

मेरो साथी यस्तो होस्

कविता

मेरो मनको साथी यस्तो होस्

मेरा आँखा पढेर

मेरो मनको भाव बुझोस्

मलाई हेरेर

बिहानीको सूर्यजस्तै मुस्कुराओस्

मेरो हरखुसीको कारण बनोस्

मेरो मनको साथी यस्तो होस्

मनभित्र प्यारको आंधी –हुरी चलाओस्

तर, बाहिरी दुनियाँलाई

सुनामी छाल नदेखाओस्

मेरो मनको साथी यस्तो होस्

चुपचाप प्रेम गरोस्

मेरो बद्नाम नगरोस्

मेरो मनको साथी यस्तो होस्

प्रेमको मर्मलाई ठट्टामा नउडाओस्

मनको साथीलाई जोकर नबनाओस्

खालि समय कटाउने मेलो नबनाओस्

बिष्णुले वृन्दालाइ जस्तो छल नगरोस्

रावणले सीतालाई जस्तो अपहरण नगरोस्

मेरो मनको साथी यस्तो होस्

मलाई सहयोग र हौसला देओस्

मेरो भावनालाई सम्मान गरोस्

मेरो हर सुखदुःखमा साथ देओस्

मेरो साथ कहिल्यै छोडेर नजाओस्

द्रौपदीको लाज छोप्ने पवित्र सारी बनोस्

सुदामाकृष्ण जस्तो निस्वार्थ साथी बनोस्

मेरो मनको साथी यस्तो होस्

राधाको घाउको मलम कृष्ण बनोस्

प्रेमको वृन्दावनमा बगैचा फुलाओस्

परेवाको जोडीजस्तो प्यार बढाओस्

ढुकुरको जोडी जस्तो प्यास मेटाओस्

यो प्रेमको नदी कहिल्यै नसुकोस्

जुगौजुग अमर होस्, प्रेम नटुटोस्

मेरो मनको साथी यस्तो होस्

मेरो मनको उच्च आसनमा बसोस्

सदा सत्यको साथ देओस्

अर्जुनलाई कृष्ण जस्तो सारथी बनोस्

मैले ताक्ने प्रत्येक बाणाको साहस बनेर

मेरो जीवनको महाभारत जिताओस् !

प्रकाशित: २९ माघ २०७७ ०५:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App