२७ आश्विन २०८१ आइतबार
image/svg+xml
कला

नेता अधर्मी किन

कविता

धर्मात्मा जनता छ किन्तु उसको नेता अधर्मी किन  

सत्कर्मी जनता छ किन्तु उसको  नेता कुकर्मी किन  

नेपाली जन भावना बुझिदिने बन्दैन नेता किन  

मैले ईश्वर मान्छु, पुज्दछु भनी भन्दैन नेता किन ।।

 

जो निर्लज्ज र वस्त्रहीन छ उही यो देशको चालक  

जो पुज्छन् नि विदेशका प्रभुहरू हुन्छन् तिनै पालक

वैरीको मतियार दास गतिलो यो देशको ऊ रथी  

सच्चा पुत्र र देशभक्त छविको जन्मेन खै सारथि ।।

 

आस्था ईश्वरमा हुने मन छुने व्यक्तित्व खै देशमा  

नेपाली मन भावना सुनिदिने नेतृत्व खै देशमा  

साक्षी ईश्वर छन् भनी शपथ ऊ खाँदैन यो देशमा  

शुद्धात्मा हुन देवमन्दिर कहीँ  जाँदैन ऊ देशमा ।।

 

आफ्नो संस्कृति, धर्म मान्छ जनता मान्दैन नेतृत्वले  

ऊ हो लेनिनभक्त  वैदिक कुरा जान्दैन नेतृत्वले  

निष्ठा, ईश्वरमाथि राख्छ जनता राख्दैन नेतृत्वले  

आफ्नो अन्तरभित्र झाँक्छ जनता झाँक्दैन नेतृत्वले ।।

 

नेता ऊ कसरी भयो हृदयमा बस्दैन हाम्रो भने  

नेता ऊ कसरी भयो मुलुकमा गर्दैन राम्रो भने  

बोक्नै पर्दछ धर्मभाव उसले छाडी पराधीनता  

हाँक्नै पर्दछ देश आज उसले बोकेर स्वाधीनता ।।

प्रकाशित: २९ माघ २०७७ ०४:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App