विमल अधिकारी
१. परिचय
सत्तरीको दशकमा निकै सक्रिय भई नेपाली साहित्यका विविध विधामा देखिई प्रसिद्धि कमाएका सर्जकको नाम हो –खेमराज पोखरेल । तीन दशकभन्दा बढी समय त्रिविमा इतिहास विषय प्राध्यापन गरेका पोखरेलले सानै उमेरदेखि साहित्यमा गहिरो रुचि राख्ने गरेको बुझिन्छ । नेपालको पूर्वी तराई सप्तरीको रूपनगरमा जन्मीहुर्की पढेका खेमराज कहिले पूर्वी पहाडको एक गाउँमा मास्टरी त कहिले न्यूरोडमा मारवाडीको जागिर गर्दै जीवनयापन गर्न पुग्दछन् । काठमाडौँ बस्दै मारवाडीको संस्थामा जािगर गर्दै इतिहासमा एमए गर्ने पोखरेल २०४१ तिर भरतपुर ब क्याम्पसमा प्रवेश गरी प्राध्यापकीय जीवनमा लाग्छन् । सानै उमेरदेखि साहित्यमा गहिरो रुचि राख्ने भए पनि प्रकाशन क्षेत्रमा खासै देखिँदैनन् । पद्मकन्याको सहप्राध्यपकको जागिरकै क्रममा उनी पैसा कमाउने लोभमा पाताल प्रवेश गर्छन् । विदेशिएपछि आर्थिक अवस्था मजबुत पनि बनाउँछन् र फेरि पद्मकन्यामा हाजिर हुन्छन् । तर समयले उनलाई फेरि टेक्सास पुर्याउँछ । परदेशमा बसेरै पनि नेपाल आमाको सेवा गर्न सकिन्छ भन्ने निचोड निकाल्दै जनजीवनको अध्ययन, चिन्तनमननमा एकोहोरिन्छन् । त्यही एकोहोरो साधनास्वरूप विभिन्न विधाका रचनाहरू नेपाली साहित्यले प्राप्त गर्छ । साहित्य एक कला हो । कलाको पनि कला हो भन्ने पश्चिमी मान्यता रहेको छ । खेमराज यायावर स्वभावका भएकाले जनजीवनको अध्ययन गर्दै प्लट निर्माण गर्छन् । त्यही प्लट कथनाकलाई कलापूर्ण तरीकाले सम्पन्न गर्छन् । सबैसँग कहाँ कला हुन्छ र ? प्रतिभा–क्षमता–अभ्यासका कारण नै यो सम्भव भएको हो । निबन्ध, कविता, कथा, लघुकथा, आदि विधाका दर्जन हाराहारीका पुस्तकाकार कृति प्रकाशित गराई आफ्नो साहित्यक व्यक्तित्व फराकिलो बनाइसकेका खेमराज अहिले पनि संस्मरण नियात्रा, आत्मवृत्तान्त, समसमयिक लेख एवं समीक्षा÷समालोचनामार्फत फुटकर रूपमा देखिइरहन्छन् । आफू साहित्यको विद्यार्थी नभए पनि खेमराज गतिलागतिला समालोचनात्मक लेख तयार गरी छपाइरहन्छन् । यस्तो द्रष्टा व्यक्तित्वको परिचयको श्रेय उनको प्रतिभा–क्षमता र अध्ययनशील स्वभावलाई जान्छ ।
साहित्य साधनामा निस्वार्थ लागिरहने खेमराज आफूलाई मूलत आख्यानकार भन्न रुचाउँछन् । र , साहित्यिक वृत्तमा प्रसिद्धितर्फ अघि बढ्दै सफल पनि छन् । पाको उमेरमा साहित्यिक क्षेत्रमा होमिएका खेमराज स्वान्त सुखायका खातिर साहित्यमा एकोहोरिएको बुझिए पनि उनमा यश, कीर्तिको महत्त्वाकाङ्क्षा देखिन्छ । यो समारात्मक महत्त्वाकाङ्क्षाले नेपाली साहित्यलाई ठूलो गुन लगाएको छ । अवकाशप्राप्त प्राध्यापकीय जीवनको सदुपयोग गर्दै नेपाली भाषा साहित्य, कला र संस्कृतिको प्रवर्धनमा लाग्ने खेमराज आफूलाई उत्तर आधुनिक नेपाली साहित्यकार अब्ब्लमध्येका एकमा उभ्याउन सफल छन् । पश्चिमी साहित्यकार एडगर एलेन पोको ‘एकै बसाइमा पढिसकिने नै छोटो कथा हो’ भन्ने परिभाषासँगै मिल्ने आयामको कथा लेखनमा रुचि राख्छन् । आख्यान विधामा सन्तुष्ट हुने खेमराज अब्बल मध्येका एक स्रष्टा हुन् । उनले हालसम्म ‘पछ्यौरीको आइसक्रिम’ ‘दह्रो लौरो’ ‘सिमानामा आमा’ ‘राम शाहको चौतारो’ र ‘ईश्वरको मृत्यु’ लुघकथा सङ्ग्रहहरू प्रकाशन गराएर आफूलाई स्थापित गराइसकेका छन् । अहिले पनि अहोरात्र साहित्यसाधनामा खटिरहने खेमराजका विविध विधाका फुटकर रचनाहरू समेटिन सक्यो, प्रकाशन भयो भने नेपाली साहित्यकले अझै गतिलागतिला कृति प्राप्त गर्न सक्छ । जसले साहित्यको भण्डार दह्रो हुने सम्भावना देखिन्छ।
२. ‘दह्रो लौरो’ लघुकथासङ्ग्रहका लघुकथाहरूको परिचयात्मक टिप्पणी
खेमराज पोखरेलद्वारा २०७२÷७३ मा काठमाडौँमा बसी रचिएका ७१ लघुकथाहरूको सङ्ग्रह ‘दह्रो लौरो’ दोस्रो लघुकथाकृति हो । मोलुङ फाउण्डेसनले २०७३ सालमा प्रकाशनमा ल्याएको उक्त कृतिमा समेटिएका ७१ लघुकथाहरूको परिचयात्मक टिप्पणी गर्ने प्रयाश गरिएको छ ।
खोई किन हराएँ ? – प्रथमपुरुष दृष्टिविन्दुको प्रयोग गरी लेखिएको प्रस्तुत कथामा विराटनगरको घर विक्री गर्नुपर्दा म पात्र पत्नी (सानू) को आत्मा क्षतविक्षत भएको कथानक निकै मार्मिक छ । दुःखले आर्जित गरिएको संरचनाले जीवनमा ठूलो महत्त्व राख्छ । लघुकथाका मुख्य पात्र म र म पत्नी पात्र घरवारबिहीन हुँदाको मनोदशा लघुकथामा उतारिएको छ ।
बिहेको हात्ती – बिहेमा फुर्तिफार्ती तामझाम तडकभडक गर्ने चलन देखेर आफूले पनि नक्कल गर्दा आखिरमा निराश जीवन जिउन बाध्य हुने यथार्थ देखाइएको छ ।
जुँघे हवल्दार – भ्रष्टाचारमा शून्यसहनशीलता भनी चर्को नारा लगाउने प्रहरी कार्यालय नै भ्रष्टाचारमा चुर्लुम्म डुबेकोमा लेखकको गम्भीर चिन्ता देखिन्छ ।
सानू – विदेशिएका लोग्नेले पठाएको पैसाको सदुपयोग गर्ने र यौनको त्याग गर्ने श्रीमतीको योगदानको गर्णन गरिएको छ ।
संयोग – विदेशिएको छोराकी बुहारीले बूढा भएका ससुरालाई राम्ररी हेरचाह गरेको देखाइएको छ । बुहारीको योगदान देखाइएको छ ।
शत्रु – फोकल्याण्डको युद्धमा बहादुरी देखाउने ब्रिटिस गोर्खा सेनाहरूले आफू वीर भएको भनी गर्व गर्नु बेकार हो भन्ने कुरा प्रकट भएको छ ।
घर – घरको भावनात्मक अर्थ केलाउँदै लैङ्गिक विभेद व्यक्त गरिएको छ ।
गालेको अचार – प्रस्तुत लघुकथामा डिमनवाली नामक पात्रको जोवनलाई वयममा राखिएको कागतीको अचारसँग तुलना गरिएको छ । बैँस जवानी उर्वर समयमा मात्र सबैको आँखा लाग्ने वास्तविकता देखाउँदै यौन–मनोविज्ञानको विश्लेषण गर्न खोजिएको छ ।
बुद्धिजीवी – नेपालका बुद्धिजीवी भन्नेहरूले इतिहास, सहिद नेपाल चिन्न नसकेर दल, क्षेत्र, लिङ्ग, जात, पक्ष मात्र चिन्नतर्फ उद्दत भएकोप्रति सङ्केत गर्दै बुद्धिजीवीलाई बुद्धुजीवी भनी व्यङ्ग्य गरिएको छ ।
आँखाको कालो घेरा – डायस्पोरिक जीवनको पीडा, माटाको माया ममता एवं खस्कँदो नेपालको अवस्थालाई देखाएको छ ।
आमाको पिरलो – वृद्धावस्थामा होस हराउने समस्याले पारेको वृद्ध जीवनको चर्चा छ ।
भँडुवी – कतिपय दिदी बहिनीले घर भाँड्ने यथार्थ प्रस्तुत गर्दै घर भँडुवी छोरीलाई ठीक पारेको रोचक प्रसङ्ग छ ।
भरिया – भरियाको जीवनमा कहिल्यै परिवर्तन आउन नसकेको भन्दै गरिब श्रमजीनीलाई शोषण गर्ने साहुजीहरूका विरुद्ध आवाज उठाउन आह्वान गरिएको छ ।
बिजुलीको भात – अड्डा–अदालतमा हुने घुस, घुस्याहा कर्मचारी, सम्पन्नताको चित्रण गर्दै उपभोग्य सामग्रीको अभाव भएका बेला पैसाको खोस्टोले काम नगरेको तथ्य उजागर गरिएको छ ।
विकल्प निर्विकल्प – हरेक कुराको विकल्प हुने गर्छ भन्ने कुरा प्रस्तुत लघुकथामार्फत व्यक्त गरिएको छ ।
विक्रमादित्य – छिमेकी राष्ट्र भारतको अघोषित नाकाबन्दीपछि पुनः ऋषिमन लिएर आएका प्रमं. मोदीलाई लाक्षणिक रूपमा विक्रमादित्य भनी व्यङ्ग्य गरिएको छ ।
दह्रो लौरो – वृद्धवृद्धाको पक्षमा लेखिएको प्रस्तुत लघुकथामा आमाबुवा÷सासूससुरालाई सहारा चाहिएको कुरा मार्मिक तरिकाले प्रस्तुत गर्दै ख्याल नगर्ने छोरा बुहारी पुस्ताप्रति प्रहार गरिएको छ ।
दोकाने साहूनी – सहरिया जीवन जटिल–कठिन बन्दै गएपछि यौन विकृति, यौन क्रयविक्रय बढिरहेको प्रति लेखकको गम्भीर ध्यानाकर्षण भएको पाइन्छ ।
फेक – झुट कार्यले संसार बिग्रिरहेको कुरापट्टि गम्भीर चिन्ता प्रकट भएको छ ।
फेसबुकको फोटो – इमान्दार कर्मचारीलाई पनि घुस्याहा देख्ने समाजप्रति आक्रोस छ ।
हामी – घरायसी मामिलामा दरार ल्याउने प्रवृत्तिलाई प्रेमको तरवारले प्रहार गरिएको छ ।
हाँसो – २०७२ सालमा गएको शक्तिशाली भूकम्पका कारण थिलथिलिएका नेपालीहरू मुस्कानका साथ जीवनयापन गरिरहेका छन् । उनीहरूको इच्छाशक्ति र आत्मवललाई उच्च सम्मान गरिएको छ ।
हर्कबहादुर – परदेशिएका सन्तानले आफनो आमाबाको ख्याल गर्न छोडिरहेको समसामयिक यथार्थलाई चित्रण गरिएको छ ।
होली रे – तराईमा खेलिने होलीको परिवेशको चित्रण गर्दै होलीमा बच्चाहरूलाई रम्नबाट रोक्न नसकिने बताइएको छ ।
कवयित्री –यौन विषयक कविता सिर्जना गर्ने कविहरूलाई सामाजिक मर्यादा विपरीत लेख्यो भनी टिप्पणी गर्ने धेरै हुन्छन् । प्रस्तुत लघुकथामा काव्यात्मक शैलीको प्रयोग गर्दै यौन मानवीय जीवनको वास्तविकता एवं अपरिहार्यता भन्ने सन्देश दिएको छ ।
लोग्ने मान्छेका आँखा – शरीरका अङ्गलाई विम्ब बनाएर स्वास्नी मानिसको यौन मनोविज्ञानलाई मजाले केलाइएको छ ।
मामाको प्रश्न – मृत्युको मुखमा पुगिरहेका मानव जातिको इच्छा पूरा गरिदियून् भन्ने सार प्रकट गरिएको छ ।
मौनता – श्रीमान्ले आफन्त, इष्टमित्र, नाताकुटुम्बलाई सहयोग गर्न खोज्दा श्रीमतीको असन्तोष भएकाले परिस्थितिसँग मौन भएर बसेको र मौन बस्नु पनि परिस्थितिसँग विद्रोह हो भन्ने आशय छ ।
आमा भएको भए – जन्म दिने ममतामयी आमाको अघि रुँदा विरेचन हुने भन्दै आमाको मायाको अभाव देखाइएको छ ।
मुटुको धड्कन – मुटुरोगी गरिब मान्छे चिकित्सककहाँ गएर विभिन्न जाँच शूल्क तिर्न सक्दैन । त्यसपछि बिरामीको मुटु झन् धड्किन्छ । भन्ने वास्तविकता देखाएर चिकित्सा पद्दतिको महँगीप्रति व्यङ्ग्य गरिएको छ ।
नारी दिवस – नारी दिवसका दिन गरिने सभासेमिनार, गोष्ठी, कार्यपत्र, प्रतिवेदन आदि अर्थहीन भइरकेको भन्दै नारी अधिकारका नाउँमा गरिने कमाउ धन्दा विकासे जािगरको बिरोध गरिएको छ ।
नगरबधू – काठमाडोँको रत्नपार्क परिसरका हुने गरेका विकृति–विसङ्गति, यौन धन्दा, यौन क्रयविक्रय एवं मान्छेका बाध्यता विवशता देखाउँदै प्रतिवेदन बनाउन विकासे कर्यक्रमकर्मीहरूप्रति व्यङ्ग्य गरिएको छ ।
परिवर्तन – धनी मान्छे धनको आडम्बरमा सुरासुन्दरी एवं भौतिक सुखसुविधाले लिप्त हुँदा आएको परिणाम देखाइएको छ ।
पिर – सनतान नभएर पिरिने लघुकथाका दम्पति पात्रलाई ढिलै भए पनि सन्तान लाभ भएको छ । उक्त सन्तान छोराको शिक्षा–दीक्षामा श्रीसम्पत्ति सकिन्छ । छोरो कुलतमा फस्छ ।कृतघ्न बन्दै एक्लो छोरा वृद्ध आमाबासँग अंश माग्छ । गरे पनि पिर नगरे पनि पिर भन्ने लघुकथाको सार देखिन्छ । मूलतः प्रस्तुत रचना वृद्ध साहित्य चिन्तन प्रकट गर्न सफल छ ।
शरीरदान – जीवनदर्शन बोकेको यो लघुकथामा कविकलाकारलाई प्रतीक बनाएर मान्छे चिन्न नसक्ने परिवारप्रति मार्मिक ढङ्गले प्रहार गरिएको छ ।,
सिलेवी गाई – यौन मनोवैज्ञानिक विषय भएको प्रस्तुत लघुकथामा एक युवती पात्र अतृप्त चाहना पूरा गर्न नसकेकोमा सिलेबी गाईको विम्बमा पछुताएकी छ ।
टकराव – आफ्नी पत्नीको भावना बुझ्न नसक्ने पतिहरू आजीवन पछुताउने र उनीहरूको कन्तवियोग हुने गर्छ भन्दै मानवलाई सधैँ व्यावहारिक र सत्सङ्गी हुन सुझाव दिइएको छ ।
टेको – सहर पुगेपछि गाउँले युवतिमा देखिने परिवर्तन हाउभाउ पहिरन एवं चरित्रलाई देखाउन खोजिएको छ ।
उटाङ्गे – अप्रिल फुलजस्तो ढाँट्ने दिनको विकृति देखाइएको छ ।
यात्रा – मान्छेको जीवनयात्रामा समाजले सही मान्छे चिन्न नसकेको र चरित्र बेठीक भएकाको मात्र हालिमुहाली भएको परिवेशको चित्रण गरिएको छ ।
आन्तरिक नम्बर – त्रिविमा स्नातकोत्तर तहमा एसिस्मेण्टमा २० नम्बर दिनै पर्ने विकृतिपूर्ण, दवावपूर्ण अवस्थालाई प्रस्तुत लघुकथामा कथ्य बनाइएको छ । यसले शैक्षिकविकृति निम्त्याएको भन्दै लेखकले विरोध जनाएका छन् ।
बालश्रम हो बालश्रम होइन – बालबालिकाको क्षेत्रमा काम गर्ने विकासे संस्थाले सेमिनार एवं कार्यपत्रमा मात्र आवाज उठाउँछन् । स्थलगत अध्ययन गरी वास्तविक बालश्रमको पक्षमा बोल्दैनन् । वास्तविकतालाई कार्यन्वयन नगर्ने विकासे अधिकारकर्मीप्रति आक्रोश पोखिएको छ ।
भासिएको पृथ्वी –प्रस्तुत लघुकथाको एक वृद्ध पात्रले बसको यात्राका क्रममा एक आपङ्ग युवतीमाथि दुर्व्यवहार गरेको छ, सम्वेदनशील अङ्गमा स्पर्श गर्दै आफ्नो कुण्ठालाई शमन गरेको छ । बसको भीड, गाडीको घचघचको बहानामा वृद्ध पात्रले सेक्सुअल हरासमेन्ट त गर्छ । पछि ती युवती गाडीबाट ओर्लिँदै बुवा भन्दै विदा हुन्छे । वृद्ध पात्र युवतीको एक हात नभएको थाहा पाएपछि ग्लानिको महसुस गर्छ । यस्तो बेला बूढो मान्छे पृथ्वी भासिएको महसुस गर्छ ।
गुलियो स्याउ – प्रस्तुत लघुकथाले बिम्ब–प्रतीकमार्फत अतृप्त प्रेमकथा को विषय उठाएको छ ।
जेलको भात – फसाइएर जेल परेको गरिब पात्र जेलबाट छुट्छ । खान नपाइने संसारमा आइएछ बरु जेलमा भात खान त पाइन्छ भन्दै समाजलाई व्यङ्ग्य गर्छ । नेपालको बेरोजगारीपूर्ण अवस्थालाई लघुकथामा देखाइएको छ । र, दयनीय समाजलाई व्यङ्ग्य गरिएको छ ।
नानीमैँया – विश्वविद्यालयजस्तो संस्थामा बुद्धिजीवीबाट नै दिनप्रतिदिन भ्रष्टाचार हुँदैगरेको भन्दै विकृति–विसङ्गतिलाई केलाउन खोजिएको छ ।
नबनेको घर – डेरावाल बच्चाको मनोविज्ञान देखाउँदै डेरावालको पीडा बाल–मनोविज्ञानमार्फत प्रस्तुत भएको छ ।
राजनीतिक चटक –रानीतिक गुट–उपगुटमा हुने द्वन्द्व एवं ढोँग देखाइएको छ ।
रोइरहेको बुद्धि – पशुपतिमा सत्बीज छर्ने दिनको परिवेशको चित्रण गरिएको प्रस्तुत कथामा त्यो बेलाको अन्न फालेर धर्म कमाउने बिकृति र समस्यालाई चित्रण गरिएको छ ।
मजाक र विश्वास – कहिलेकाहिँ मजाक गर्दा पारिवारिक विचलन आउन सक्ने हुँदा मजाक गर्दा गम्भीर र दूरदर्शी हुनुपर्ने सुझाव दिइएको छ ।
काया र माया – माया स्थिर नहुने तर्क पेस गर्दै प्रेमको परिभाषा गरिएको छ ।
मिलन र बिछोड – जीवनमा लोगनेस्वास्नीको माया र प्रेमको महत्त्वलाई देखाइएको छ ।
वास – सहरमा बस्ने सन्तानले गाउँमा बसेका आफ्ना बाबुआमा आउने भन्ने कुराले त्रसित भएका परिवेश देखाइएको छ ।
भाइ – भाइबहिनीको साइनो गाँस्दै गरिने यौन मनोविज्ञानको उजागर गरिएको छ ।
ब्ल्याकिया – सेटिङ मिलाएर दुई नं. धन्दा हुने (समाना ओसार पसार)गर्नेको नियति देखाइएको छ ।
छोटो स्कर्ट – तराईतिर किसाने दिदी बहिनीले रोपाइँका बेला लगाउँदाको क्षण प्राकृतिक हुने गर्छ । त्यसले अश्लीलताको आभास दिँदैन । सभा–सेमिनार गोष्ठीमा छोटो पहिरनलाई छाडा भन्ने गरिन्छ । त्यो बेकार हो । रेप बलात्कार परिहनका कारण हुने होइन, मानसिकताले रेप हुने गर्छ भन्ने भाव प्रकट भएको छ लघुकथामा ।
चोलाको तुनु – आधुनिक जमानामा आफ्ना छोराछोरीका धाक लगाएर नाक ठूलो पार्नु बेकार हो । आफ्नै लोग्ने स्वास्नी नै पछिसम्म चाहिने कुरा हो भनी बताइएको छ ।
घरबेटी बुहारी – शरीर संरचना मिलेको घरबेटी बुहारीप्रतिको आकर्षण, डेरावाल पुरुषको कुण्ठा नै लघुकथाको कथ्य बनेको छ । मूलत यो लघुकथा यौन मनोवैज्ञानिक छ ।
रत्यौली – दिनप्रतिदनि समाज रत्योलीमय बनिरहेको प्रति गम्भीर ध्यानाकर्षण गरिएको छ ।
कान्छी साहुनी – यौन मात्र सबैथोक होइन । नारीलाई माइती तथा दाजुभाइको पनि चाहना हुन्छ भन्ने देखाउन खोजिएको ।
झगडा – श्रीमान् श्रीमतीको झगडा परालको आगो जस्तै हो भन्ने कुरा उठाइएको छ ।
कठैवरा यो देश – नारी अधिकारकर्मी भाषण एकथोक कर्म अर्कै थोक गर्छन् भनी व्यङ्ग्य गरिएको छ ।
कलेजको पिउन – कलेजको श्रेणीबिहीन कर्मचारी पात्रको दयनीय आर्थिक अवस्थाको चित्रण छ ।
सँगिनी – एक कलाकारले बूढेशकालमा आफ्नो कला क्षमताको प्रष्फुटन गर्न नपाउँदाको क्षण निकै गाह्रो हुने गर्छ भनी बताइएको छ ।
ठूली कान्छी – केन्द्रिकृत शासन व्यवस्थाका कारण गाउँ निकै पछि परेको बताउँदै गाउँको शिक्षा र सहरको शिक्षामा भएको विभेद देखाइएको छ ।
भ्रम – जीवनका हरेक क्षेत्रमा मान्छेले भ्रम पालेर बसेको हुन्छ भन्ने कथानक छ ।
देवी –लोग्ने र स्वास्नीका विविध र विशेष सम्बन्धहरू दर्शाइएको कथानक छ।
मूर्तिको डोब – आफ्नो सभ्यता संस्कृतिको विम्ब मूर्ति चोरी गर्नेलाई धिक्कार भनिएको छ ।
अबुझ – नेपालमा दिनप्रतिदिन हिन्दी भाषा –संस्कृति बढिरहेकाप्रति गम्भीर चिन्ता प्रकट गर्दै त्यस्तो मुर्ख्याइँले राष्ट्रियता सङ्कटमा परेको छ भनिएको छ।
झुर मामू – एक्काइसौं शताब्दीका किशोर – किशोरीहरू प्रेमका नाउँमा सामाजिक मर्यादाविपरीत आचरण गरिरहेका छन् भन्दै अनुशासनहीन पुस्तालाई नैतिकवान् बन्न सुझाइएको छ ।
नक्सामा भएको गाउँ – पूर्वी तराईको सिमानामा अवस्थित गाउँका नाममा आएका बजेट सबै मिलेर खान्छन् र तर गाउँ नै भारततिर गाभिँसक्दा पनि कोही गम्भीर नबनेकोमा चिन्ता प्रकट गरिएको छ । केन्द्रले नै उक्त गाउँलाई नमुना गाउँ भन्छ । लघुकथाले राष्ट्रियता र भ्रष्टाचारप्रति गम्भीर खबरदारी गरेको छ ।
३. विशेषता –
लघुकथाका विशेषता केलाउँदा मूल रूपमा लघुकथाको बनावट र त्यस बनावटभित्र रहेको कथानकको स्तरीयता, मार्मिकता र अग्रगम्यतालाई हेर्नु पर्ने हुन्छ ।
३.१ बुनौटका विशेषता –
संक्षिप्तता, सूत्रता, लघुत्व, रोचक–घोचक समापन, कौतूहलता, थोरै पात्र हुनु लघुकथाको तत्वगत विशेषता हो । यस सङ्ग्रहमा पोखरेल लघुकथाका तत्त्वमा केन्द्रित छन् ।
लघुकथामा व्यङ्ग्यात्मक झटारोसहित चोटिलो प्रहार हुने गर्छ । तर यहाँ लघुकथाकार व्यङ्ग्य प्रदानमा पछिल्ला ताजा लघुकथाको तुलनामा औसत देखिन्छन् । सङ्क्षिप्तता र प्रभवकारिता त लघुकथाको प्रमुख तत्त्वमा पर्छ । यो पनि यस सङ्ग्रहमा भेटिन्छन् । दह्रो लौरो कृतिमार्फत भाषिक दृष्टिले हेर्ने हो भने संवादात्मक, काव्यात्मक भाषाको प्रयोग गर्दै कथानक सम्पन्न गरेका छन् । आगन्तुक (अङ्ग्रेजी) शब्दको प्रयोग ठाउँठाउँमा भेटिन्छ । सरल भाषाको प्रयोग गर्दै आत्मपरक शैली, घटनावर्णन, पूर्वदीप्ति शैली आदि पनि लघुकथामा भेटन्छि । शीर्षक चयन पनि उत्कृष्ट छ । समग्रमा भन्नु पर्दा खेमराजले यस सङ्ग्रहमा पनि व्यङ्ग्यमार्फत समाजमा देखिएका विकृति –विसङ्गतिलाई प्रहार गरेका छन् । प्राय लघुकथाहरूमा बन्द समापन गरिएको छ । कुनै कुनै लघुकथाहरूमा खुला समापन पनि गरिएको छ । यसरी हेर्दा बुनौटका हिसाबमा ‘दह्रो लौरो’ लघुकथासङ्ग्रह बुनौटको हिसाबमा राम्रो छ ।
३.२ कथानकमा विशेषता –
कथानक चयनमा लघुकथाकार खेमराज पोखरेलले विविधता अपनाएका छन् । उनका कथा पात्रहरू प्राय पीडित, निरीह, कमजोर र शोषित हुने गर्छन् । परिवेशमा देशीय –अन्तरदेशीय हुने लेखक खेमराज यस सङ्ग्रहमा प्रायशः काडमाडौँ वरिपरि घुमेझैँ लाग्छन् । दुवै दृष्टिविन्दु प्रयोग गर्न रुचाउने पोखरेल यस सङ्ग्रहमा चाहिँ तृतीय पुरुष दृष्टिविन्दुमा बढी केन्द्रित देखिन्छन् । उनले भोगेका देशीय र अन्तरदेशीय भोगाइहरूका अनुभवबाट विविध विषय पस्कन सफल भएका छन् । बिनाउद्देश्य कुनै पनि कार्य हुँदैन । समाजलाई सन्देश दिने ढङ्गले लेखकले लघुकथा लेखेको पाइन्छ । विविध क्षेत्रमा रहेका बेथिति–विकृति केलाउँदै सामाजिक रूपान्तरणको चाहना उनले राखेको भेटिन्छ । मूलतः विकासे संस्थाका विकृति एवं भष्ट्राचारप्रति खेमराज बढी आक्रोशित देखिन्छन् । उनका लघुकथामा विषयवस्तुका रूपमा सामाजिक विसङ्गति आएका छन् । सामाजिक विसङ्गतिमाथि प्रहार गर्नु उनको विशेषता देखिन्छ । यसैगरी आर्थिक नाकाबन्दीप्रति खरो उत्रनु, राष्ट्रवादलाई प्रश्रय दिनु, भ्रष्टाचारप्रति आक्रामक हुनु महत्त्वपूर्ण विशेषता भएर आएका छन् । उनको कथानकको हिसाबबाट हेर्ने हो भने नारी विषयका पक्षमा आवाज उठाउनु, प्रेमप्रति सम्वेदनशील देखिनु, यौन मनोविज्ञानको चिरफार गर्नु उनका विशेष विशेषता हुन् ।
घर–व्यवहारप्रति इमान्दार हुनु, नैतिकताका पक्षमा वकालत गर्नु, स्वतन्त्रताका हिमायती हुनु, वृद्धवृद्धाप्रति सम्वेदनशील बन्नु, शैक्षिक असङ्गतप्रति प्रहार गर्नु, प्रशासन अकर्मण्यताप्रति प्रहार गर्नु पनि महत्त्वपूर्ण विशेषता हुन् ।
४ दुर्बल पक्ष –
दोषरहितत कुनै पनि रचना हुँदैन । राम्रो हुँदाहुँदै पनि कृतिको दुर्बल पक्ष केलाई समालोचनाको धर्म पूरा गर्ने चेष्टा गरिन्छ । दह्रो लौरो लघुकथा सङ्ग्रहमा समेटिएका धेरै लघुकथाहरूमा लघुकथामा हुनुपर्ने सशक्त व्यङ्ग्यको मात्रा पर्याप्त नभएझैँ लागेको छ । कथ्यहरू दोहोरिएकाले रोचकतामा ह्रास आएको महसुस हुन्छ । लघुकथाकार खेमराज पोखरेलका प्रारम्भका लघुकथाहरू भएकाले पर्याप्त नमाझिएका हुन कि भनेझैँ लागेका छन् । समाजशास्त्रीय दृष्टिले कमजोर हुन् कि जस्तो लागछ । पात्रका दृष्टिले पात्रहरू निरीह, कमजोर र पीडित छन् । तिनमा आफ्नो अधिकारप्रतिको चेत कमजोर छ । पात्रहरू जुझारु छैनन् । सङ्ख्यात्मक रूपले धेरै कथाहरू सङ्ग्रहमा समेटिएकाले पाठकले झिँजा मान्न सक्ने सम्भावना पनि त्यत्तिकै छ । पहिलो लघुकथा सङ्ग्रहझैँ यो सङ्ग्रह पनि आभ्यासिक लाग्ने खालको छ । आगन्तुक अङ्ग्रेजी शब्द चयनमा लघुकथाकारको रुचि देखिन्छ । यसले आम पाठकका लागि दुरूह हुन पनि सक्छ । भारतीय अघोषित नाकाबन्दीकै परिवेशमा लघुकथाकार घुमिरहेका छन् । लघुकथाको महत्त्वपूर्ण पाटो समापन हो । कथानकले एउटा उचाइ लिएपछि कौतुहलतामा समापन गरिहाल्नुपर्छ भनिन्छ । तर यो सङ्ग्रहका धेरै लघुकथामा लेखकले समापन गर्ने बेलामा अझै बोलिरहेर समापनको कौतुहलता समाप्त पारिदिएका लघुकथा पनि समेटिएका छन् ।
५. निष्कर्ष –
नेपाली लघुकथाको इतिहासमा पछिल्लो समयमा निकै सक्रिय भएका लघुकथाकार खेमराज पोखरेलको ‘दह्रो लौरौ’ लघुकथा सङ्ग्रहले नेपाली साहित्यमा आफ्नो स्थान बनाएको छ । मूलतः फेसबुकमा बढी छाइने गरेका खेमराज छापामार्फत पनि आफूलाई अद्यावधि गराइरहन्छन् । समसामयिक अर्थात् उत्तर आधुनिक विषयलाई नै आफ्ना लघुकथाको कथानक बनाउँछन् । नेपाली साहित्यको इतिहासले खेमराजजस्तो एकोहोरो भएर साहित्य सेवा गर्ने आख्यानक स्रष्टा पाएको छ । यसले खेमराज स्वयंलाई पनि उचाइमा पुरयाइदिएको छ । प्रतिभा अभ्यासका स्रष्टा पाखेरेलले विविध विधामा देखएिका छन् । ‘दह्रो लौरो’मा विविध स्वादका कथानक भेटिन्छन् । एउटै विचार सिद्धान्तमा केन्द्रित नहुनु नै उनको कथाकारिताको विशेषता मानिन्छ । समयले साथ दियो भने खेमराजको क्रेजीपनले निकै प्रसिद्ध बनाउने अनुमान लगाउन सकिन्छ । प्रतिभा–अभ्यासका कारण नै सप्तरीका खेमराज देशका खेमराज पोखरेल बनेका छन् । अझै बन्ने छन् । टेक्सासजस्तो व्यस्त ठाउँमा बसी पूर्णकालीन साहित्यकार बन्न सम्भव छैन । समयले, चाहनाले र उनका सन्तानले खेमराजलाई यस्तो मौका जुराइदिएको छ । उनले आगामी दिनहरूमा कथा, उपन्यास, आत्मवृत्तान्त, नियात्रा, समीक्षाका पुस्तक प्रकाशित गर्ने प्रबल सम्भावना देखिन्छ । युट्युवमासमेत सम्पूर्ण कृति वाचन गर्दै समेट्ने खेमराजलाई नेपाली साहित्यको इतिहासले कहिल्यै भुल्ने छैन । खेमराजको सत्कार्यले नेपाली साहित्य धन्य भएको छ।
प्रकाशित: २६ माघ २०७७ ०७:३७ सोमबार