२७ आश्विन २०८१ आइतबार
image/svg+xml
कला

फेरि भानुकै चर्चा

विसं १८७१ म रम्घा डाँडाको शिखरकटेरीमा जन्मिएका भानुभक्त आचार्य आदिकवि मात्र होइनन् राष्ट्रिय विभूतिका रूपमा सम्मान प्राप्त व्यक्ति हुन् । लोकको हृदयमा स्थान बनाउन सकेको हुँदा नै यो उपाधि उहाँले पाउनुभएको हो । उहाँको योगदानको मूल्याङ्कन गर्ने पहिलो गुणग्राही व्यक्ति मोतीराम भट्ट हुन् । उनले नै भानुभक्तलाई आदिकवि भनेका हुन् । सबैले बुझ्ने लोकभाषा नेपालीमा लेख्ने पहिलो जनकविको रूपमा सरकारी स्तरबाट राष्ट्रिय विभूतिको सम्मान पाउने पहिलो व्यक्ति पनि बन्नुभयो । अहिले भानुभक्त नेपालभित्र मात्र होइन नेपालीको बसोबास भएको विश्वका विभिन्न भागमा व्याप्त भइसक्नुभएको छ ।

नेपाली भाषा साहित्यका अमर विभूति आदिकवि भानुभक्त आचार्यले अनेकन रचनाले मातृभाषाको गहन र दायित्वपूर्ण सेवा प्रदान गरेका अमर विभूतिको बारेमा यथार्थपरक शोधखोज गर्नु भनेको सजिलो अवश्य छैन । अरूको कुरा समर्थन गर्न सजिलो हुन्छ । स्वतन्त्र रूपले विज्ञान सम्मत खोजी गर्नु गाह्रो हुन्छ । सकभर मेरा रचना विज्ञानसम्मत बनुन यसतर्फ सचेत रहने प्रयत्न गर्दछु ।

नेपाली भाषा चारैतिर फैलाउनमा योगदान कसको छ त्यतातिर ध्यान पुरयाउनुपर्छ । भानुभक्तको उदयअघि नेपाली भाषा सम्पर्क भाषा बनेको थियो थिएन विज्ञानसम्मत अध्ययन गरिनुपर्छ । अर्थात् तथ्यको आधारमा जब सत्य पहिल्याइने छ तब अहिलेसम्मका कतिपय भ्रम हट्दै जानेछ । म ती विद्वानहरूसँग सहमत हुन सक्दै सक्दिन जो देशको भाषिक सामाजिक र सांस्कृतिक एकीकरणका रूपमा सम्पूर्ण नेपाली समाजलाई एउटै मालामा उन्ने कार्यमा भानुभक्त मात्र देख्छन् र शब्द खर्चिने गर्छन् । तत्कालीन परिस्थिति र नेपाली समाजको बनोट नहेरी कोरा गफ छाँट्छन् । विज्ञानले यथार्थ पहिल्याउन प्रोत्साहन दिन्छ । यसले जहिले पनि सत्यको पक्ष लिन्छ । विज्ञानले सत्यको पक्ष लिने भएको हुँदा धर्म यसको नजिक पर्न चाहँदैन । भावनामा बहकेर आदिकवि भानुभक्तको, गरिएको मूल्याङ्कन यथार्थमा पूर्ण सत्य छ भनेर विज्ञानले मान्दैन । आदिकविको आस्थामा रत्तिभर फरक नपर्ने गरी एकदुई असत्यलाई भत्काउने प्रयत्न मात्र हो यो । नेपाली भाषा साहित्यका प्रथम कवि भानुभक्तको शेधखोज अध्ययन अनुसन्धान गरेर यथार्थ बाहिर ल्याउने कार्य अझसम्म हुन सकेको छैन जसरी हिजोको सफल र सार्थक प्रयोग आजको परम्परा बन्छ आजको यथार्थ लेखनले नेपाली भाषालाई सफलतापूर्वक कविताको माध्यम बनाउने भानुभक्तको गरिमा बढाउने नै छ । यसमा शङ्का छैन । नेपाली साहित्याकाशमा नेपाली भाषा र भानुभक्त एक अर्काको पर्यायवाची बनिसकेको छ । भानुभक्तले नेपाली भाषामा अध्यात्म रामायणको मौलिक अनुवाद गरेको प्रति आस्था अवश्य छ तर नेपाली भाषाको प्रगतिको चरण उनी पूर्व भएकै थिएन भन्नु विज्ञान सम्मत भने हुँदैन राष्ट्रनिर्माता पृथ्वीनारायण शाहबाट थालिएको एकीकरण अभियानद्वारा नेपाल एउटै सूत्रमा आबद्व भएको हुँदा नै सो को उपलब्धिको रूपमा नेपाली भाषा प्राप्त भएको हो । वर्तमानको नेपाली भाषा सर्वसाधारण त्यसमा पनि खास गरी समाजमा पछाडि परेका दलित भनेर चिनिएका दमाई, कामी, सार्की, गन्धर्व लगायतको मातृभाषा रहेको तथ्य लोकसंस्कृति अध्ययन गर्दा थाहा हुन्छ । विजय अभियानको क्रममा विभिन्न जातिका भाषा बोल्ने सिपाहीका साथमा नेपाली समाजलाई नभै नहुने दलित भनिएका जाति पनि पूर्वपश्चिम छरिए । वास्तवमा नेपालको खसबाहेकका पहाडी अन्य जानजातिहरूले दमाईबाट सिलाइएका कपडा, कामीले बनाएको कृषि औजार, सार्कीले तयार पारेको जुत्ता यस्तैयस्तै धेरै कुरा एकीकरण अभियान पछि नै व्यापक रूपमा प्रयोगमा आउन थालेको सत्यलाई चाहेर नचाहेर स्वीकार्नै पर्छ ।

जनजातिको आफ्नै भाषा छ । उच्च कुलका ब्राह्मणहरू संस्कृत भाषामा रमाउन मन पराउँथे । नेपाली भाषाको प्रचलन क्षेत्री, दशनामी, जोगी र दलित बीच मात्र थियो भन्न सकिन्छ । सम्पर्क भाषाको रूपमा नेपाली भाषा एकीकरण पूर्व नै जनस्तरमा प्रचलित थियो अन्य भाषा बोल्ने जातिहरू आपसमा र दलितसँग काम पर्दा बोल्ने गरेको मध्यस्थ भाषा नेपाली रहेको थियो त्यस्तै भएको हुँदा यसको उपयोग बढ्नुको साथै सम्पर्क पनि बढेको थियो । नेपाल एकीकरण अभियानपछि अंग्रेजसँगको युद्ध अंग्रेजी सेनामा नेपाली युवा भर्ना हुन थालेको इतिहास पनि बिर्सनु हुन्न । अंग्रेजी सेनामा खासगरी नेपालका क्षेत्री र जनजातिले व्यापक मात्रामा रगतपसिना बगाएका छन् । विभिन्न जनजाति जो नेपाल र अंग्रेजका सेनामा थिए तिनीहरू आफ्ना सहयोद्धासँग नेपाली भाषामा नै कुरा गर्थे र गर्छन् । यानी नेपाली भाषाको प्रचारप्रसार सोही समयमा भइसकेको थियो भानुभक्त जन्मनुभन्दा वर्षौवर्षअघि नै।

यो यथार्थलाई बिर्सेर सम्पूर्ण पगरी भानुभक्तलाई भिराउन खोज्नु उचित होइन । खोज –अनुसन्धानमा यस्तो गुण हुन्छ ढिलो होस् वा चाँडो यथार्थ बाहिर ल्याएर नै छाड्छ । जति एकोहोरिएर खोजी कार्यमा लागिन्छ सोही अनुपातमा सत्यको मात्रा धेरै हात लाग्छ । यानी खोजअनुसन्धानको क्षेत्रमा चाकडी र अन्धभक्तको भजनिया र किर्तनियाका लागि कतै स्थान हुँदैन । त्यहाँ स्वभाविक रूपको सम्पदा मात्र रहन्छ । स्पष्ट छ नेपाली भाषाको विकास दलितसँग काम लिन, विभिन्न जनजातिका मानिसबीच सम्पर्क स्थापित गर्न तत्कालीन समयमा महत्वपूर्ण भूमिका निर्वाह गरेको सिद्ध हुन आउँछ । खोजअनुसन्धानको आवश्यकता छ। यथार्थ पहिल्याउने दृढ विश्वास हुनुपर्दछ सबभन्दा पहिले । अनुसन्धाताका लागि भ्रमजाल सर्वथा अनावश्यक बन्दछ।

सत्यको आधार तथ्यबाट खोज्नुपर्दछ । राग, द्वेष भजन किर्तन अनुसन्धातालाई वृथा र निरस लाग्नेछ । धेरैभन्दा धेरै प्रमाण पुरयाएर सत्य उजागर गर्न थाल्नेछ । नेपाली जनमानसमा भिजेको यस्तै भाषाद्वारा जनस्तरमा काम चल्दै आएको नेपाली भाषा बोल्ने जनजातिको कुनै महत्वकांक्षाले नभै आफ्ना सामर्थ्यले साथै थातथलो छाड्नु पर्दाको बाध्यताले फैलाएका हुन् । वर्तमानमा सही मूल्याङ्कन हुन सकेमा श्रेय यिनीहरूले पनि पाउने नै छन् । नेपाली विद्वानहरूले नेपाली साहित्याकाशमा नेपाली भाषा र भानुभक्तलाई एक अर्काको पर्यायवाचीको रूपमा राखेका छन् । यसलाई म सहस्र स्विकार गर्दछु र नेपाली भाषा बचाउने, टिकाउने, अडाउने र फैलाउने श्रेय भने दलित र जनजातिलाई उनीहरूकै कार्यको आधारमा दिन चाहन्छु । मान्नुपर्दछ कविवर भानुभक्तले तत्कालीन समाजको परिस्थिति राम्रोसँग बुझ्नुभएको हुनाले ज्ञान, बुद्धि र विवेकको प्रयोग गर्न खप्पिस हुनुहुन्थ्यो । उहाँमा राष्ट्रिय योगदानको गुण विद्यमान थियो । संस्कृत भाषाको चर्को दबाबमा विद्वानहरूबीच रहेको तत्कालीन अवस्थामा रामायणजस्तो सुन्दर महाकाव्य नेपाली भाषामा लेख्नु निश्चय नै धनका लागि, सत्ताको लागि, पूजा प्रभुताका लागि र मान प्रतिष्ठाका लागि थिएन । विद्वत् समाज काव्य सिर्जना संस्कृतमा मात्र हुन सक्छ भन्ने मान्यता राख्दथ्यो । भानुभक्तले सामान्य नेपाली जनताबीच प्रचलित तर विद्वान समाजले हेय ठान्ने गरेको साझा भाषा नेपालीमा काव्य सिर्जना गरेर जनको मनमनमा बस्न सके रम्न सके । भानुभक्त रनवनमा गुन्जिने मेला पातमा घन्कने नेपाली लोकभाषाबाट प्रभावित भएको हुँदा नै नेपालीमा सुन्दर काव्य सिर्जना गर्न पुगे । उहाँको मन सत्यमा थियो लोकमा पनि रामकथा पुरयाउने चाहना र कार्यले अमर बन्न पुगे। टिस्टादेखि काँगडासम्म बसोबास गरेका नेपालीभाषीले आफ्नै भाषामा सरल र सुबोध आफ्नै मौलिकपन भएको रामकथालाई शीघ्रतापूर्वक स्वीकार गरेर आफ्नो धार्मिक र सामाजिक क्रियाकलापको अंग बनाए । उनलाई विद्वान समाजमा पण्डित कहलाउने आकांक्षा थिएन जस्तो दुईचार संस्कृतका श्लोक रचेर सीमित घेरामा रमाउनेहरूको त्यतिखेर पनि कमी थिएन तर नेपाली भाषामा उत्कृष्ट काव्य रामकथालाई गिल्ला गर्ने पण्डितहरू पनि समाजमै थिए । लोकका शान्त र सन्तुष्ट भाइचारायुक्त अपनत्व पाइन्छ।  त्यो संस्कृतलाई सर्वमान्य ठान्ने अहम् बोकेका विद्वानहरूको जमातमा पाइँदैन । यति मात्र होइन बरु त्यहाँ खुट्टा तान्ने होच्याउने अनावश्यक पगरी भिराउने अति प्रशंसा गर्ने भद्दा र गनाउने प्रवृत्ति मात्र रहन्छ ।

सरल, सरस र मधुमय नेपाली काव्यवाणीले चिरकालदेखि नै अल्पावित बनेर यस समग्र भूखण्डकै सभ्यता र संस्कृतिको सिर्जन र सिचन गर्ने उद्गमस्थल शिखर पुरुष भानुभक्तको चर्चा सम्मान प्रकट गर्न गरेको हुँ । नेपाली भाषासाहित्यमा भानुभक्तको उच्च स्थान छ । नेपाली भाषामा सरलीकृत रूपमा काव्य सिर्जना गर्ने रचनात्मक कार्य भानुभक्तका समकालीनन र पूर्ववर्ती कविबाट भएन यो भनिरहनुपर्ने आवश्यकता छैन । मूलत भानुभक्त नेपाली साहित्यका कालजयी आस्थाका धरोहर हुन् । भानुभक्तको जीवनमा घाँसीको कथा जोडिएको हुँदा आस्था बलियो हुन्छ भएको छ भन्ने होइन ।

आस्था त यथार्थ सत्यबाट भित्रैदेखि सजीव हुन्छ र समर्थनीय बन्दछ । तर युवाकवि मोतीराम भट्ट आस्थाहीन भएर भानुभक्तको नाममा कविता रचेर घाँसीको कथा जोडेका भने होइन त्यति कुराले भानुभक्त या मोतीरामप्रति अवज्ञा मनमा ल्याउनु भुल हुनेछ । हामीलाई थाहा छ लामो समयको भ्रम चिर्न यतिमात्र शब्द प्रयाप्त होइन घाँस खरिद बिक्री हुने गरेको न त सो समयमा रम्घामा थियो न आज छ यो सत्यलाई आँखा चिम्लेर आज हामी असहाय बनेका छौं ।

यथार्थ कुराले स्थान पाउनेै पर्दछ, भानुभक्तको जीवनमा घाँसी थिदै थिएन, घाँसीलाई त मोतीराम भट्टले वनारसमा देखेको थिए जसले शहर बाहिर घाँस काटेर शहरमा घोडाको लागि बेच्ने गर्दथ्यो । अहिले पनि टांगा एक्का चल्ने शहरमा मात्र घाँसी भेटिन्छ यस पक्षमा वकालत (तर्क) गर्नेहरूलाई कसले प्रोत्साहन दिन्छ ? कसले पक्ष लिन्छ र अनुसन्धान गर्ने कार्यमा सहयोग दिन्छ ? कुन कारणले स्वतन्त्र र यथार्थ अनुसन्धान गर्न हिचकिचाउँछन्, किन यथार्थ सत्य प्रकट हुन पाउँदैन। यहाँ त यथार्थको पक्ष लिने निरीह बनेको पाइन्छ । निरीह र लाचारको तथ्यपरक सत्यसँग राज्यलाई सरोकार भएन राज्यले त भानुभक्तको नाममा लाखौं दिँदै आएको छ । राज्यको पहुँचमा यथार्थलाई कुल्चेर राल चुहाउँदै गुणगान गाउने भजन मण्डली पुग्छ र सहयोग प्राप्त गर्छ । भजन मण्डलीले रम्घामा घाँसी पाउँछ । भोज भतेरमा रमाउँछ । वस्तु सत्य यथार्थमा अपुरो छ । परिपूर्ण सत्यबाट आर्थिक लाभ हुन सक्दैन यो कुरो भजन मण्डलीलाई थाहा छ । भानुभक्तको यथार्थलाई राहुहरूले छोपेर राखेका छन् यसर्थ कलुषित मानसिकता विचार र व्यवहारको भण्डाफोर गर्नैपर्ने आवश्यकता छ आज । यस्तो गर्नु भनेको भानुभक्तको स्वच्छ छवि बाहिर ल्याउनु हो ।

भानुभक्तले तत्कालीन समाजको परिस्थति राम्रोसँग बुझ्नुभएको हुनाले ज्ञान बुद्धि र विवेकको प्रयोग गर्न उहाँ खप्पिस हुनुहुन्थ्यो । यसर्थ उहाँको योगदानलाई समयसापेक्ष मानेर मूल्याङ्कन गरियो भने नेपाल र नेपालीको अस्तित्व रहेसम्म भाषा र साहित्यमा भानुभक्तीय रामायण र उहाँ जीवन्त रहिरहनेछ । यसर्थ लेखन भनेको लेखकीय धर्मको साधना हो चाटुकारी चाप्लुसी गर्नु होइन । यथार्थमा चाटुकारी गर्ने सरकारी रकममा रामरमिता गर्नेलाई सत्य पहिल्याउने चाहना हुँदै हुँदैन ।

संस्कृत भाषाको चर्को दबदबा रहेको तत्कालीन अवस्थामा रामायणजस्तो सुन्दर महाकाव्यलाई नेपाली भाषामा लेखेर भानुभक्तले अतुलनीय योगदान दिनुभयो । नेपाली भाषामा काब्य सिर्जना गरी नेपालीको जनजिब्रोमा प्रवेश गराउने कार्य उहाँका समकालीन र पूर्ववर्ती कविबाट हुन सकेन । भानुभक्तको सरल र सरस काव्य सिर्जना देश काल र परिस्थिति सुहाउँदो भएको हुँदा जनले रुचायो । खोजअनुसन्धान भनेको कौशल हो । कर्मको मूल्याङ्कन गर्दा कौशलको कसीमा मोतीराम भट्टलाई योगी मान्नै पर्दछ । त्यसमा पनि निस्वार्थ योगी जसले रम्घामा पाइला नटेके पनि भानुको भक्त बनेर भानुका लागि घाँसीको कथा कथे कविता सिर्जना गरे भानुको रचना र भानुको जीवनी छपाए उनैको कार्यलाई यथार्थ मानेर भाषाका सेवक भानुभक्तको भक्त बनेका छन् आज । सिर्जना र साधनाको सम्मान गर्नुपर्दछ ।

सरल नेपाली भाषामा श्लोकबद्ध गरिएको रामकथा नेपालीको घरघर झुपडी –झपडीमा शिलोक गायनको रूपमा भानुभक्तले पु¥याउनुभयो । त्यसैले भानुभक्तीय रामायणलाई नेपाली जनभाषाको एकल भूगोल मान्नुपर्दछ । भानुभक्तले रामायण लेख्नुअघि नेपाली भाषामा कुनै त्यस्तो लोकलाई प्रभावित पार्न सक्ने ग्रन्थको रचना भएको पाइएको छैन । लोकमा प्रभाव पारेको मर्म पहिल्याउन निस्वार्थ सेवी मोतीराम भट्टले भानुभक्तको घाँसीसँगको भेट कथेर यस विषयको रचना सिर्जना गर्ने धर्म पालन गरे । आजका हामीले राम (भानुभक्त) र हनुमान (मोतीराम) दुवै प्रतिभाप्रति आस्था राखी यथार्थ पहिल्याइ निस्वार्थ रूपबाट सत्य बोल्नैपर्छ । यसो गर्नु भनेको दर्शन ज्ञान र चरित्रको सम्यक एकता हो र यसले नेपाली साहित्यको गरिमा अझ बढाउँछ । आस्था र यथार्थ परस्पर विमूख हुनु हुँदैन बरु पूरक बन्नु पर्दछ । यथार्थमा व्यक्तिप्रति पूर्ण न्याय गर्ने क्षमता हुन्छ र यसै यथार्थको जगमा आस्थापूर्वक आदिकवि भानुभक्तको पुनर्मूल्याङ्कन गरिनुपर्दछ ।

प्रकाशित: २६ माघ २०७७ ०५:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App