२९ आश्विन २०८१ मंगलबार
image/svg+xml
कला

पत्रुकारिता

लघुकथा

सोमदास युट्युबमार्फत निकै भाइरल बनिरहेका एक युट्युबर थिए। प्रेस काउन्सिलले कुनै पत्रकारिताको प्रमाणपत्र नदिए पनि । वरिष्ठ पत्रकार भनेर कैयौं ठाउंमा उनी सम्मानित पनि भएका थिए । वास्तवमा उनलाई पत्रकारिताको ‘प’ र आचार संहिताको ‘आ’ को बारेमा पनि केही थाहा थिएन । शैक्षिक योग्यता नभए पनि स्वअनुभव नै उनलाई काफी थियो।

उनको गर्दा कैयौं व्यक्ति सेलीब्रेटी बनेका थिए त कैयौले टन्न पैसा पनि कमाएका थिए । भाइरल भएका कत्तिले आफ्नो काम छोडी   अन्तर्वार्ता दिंदादिंदा भोकमरी पनि झेल्नुपरेको थियो।

उनको पेशा नै गरिब दुखी, रोगीहरूलाई रून लगाउने, भिडियो खिच्ने, समाजसेवीबाट पैसा उठाएर कत्ति  खल्तीमा त कत्ति गरिबको पोल्टामा पुरयाउने थियो ।

अझ कतै हत्या,हिंसा बढ्यो, झगडा पर्यो भने उनलाई गतिलो मसला हुन्थ्यो । कत्ति घट्नामा पुलिसभन्दा पहिले उनको माइक तेर्सिन्थ्यो । अड्डा अदालतभन्दा पहिले उनले फैसला सुनाइदिन्थे । कसका श्रीमती पोइला गए ? कसकसको अफइएर चल्दैछ ? उनी सबै मसलाबारे जानकार हुन्थे। उनका भिडियोले युट्युबमा कैयौं मिलियन भ्यु पाएका थिए त कैयौ पट्क ट्रेनिङमा समेत परेका थिए।

बाटोमा हिंड्दै गर्दा सोमदासले एकजना मान्छेलाई भेटे । उनले सोधे – हजुरको शुभनाम के हो ?

– पुर्णबहादुर ।

– कतिमा पढ्नुहुन्छ ?

– ३ कक्षामा ।

–कति वर्ष हुनुभयो?

– १७ वर्ष।

उनी दङ्ग परे ।  सत्र वर्षको मान्छेका उचाइ दुइ फिटभन्दा पनि कम छ । बोली पनि तोते छ । उनलाई तत्कालै लाग्यो – यो मान्छेको नाम गिनिज वर्ड रेकर्डमा दर्ता गर्न सकिन्छ ।

गतिलो मसला भेटेकोमा खुशी हुंदै तत्कालै उनले युट्युबमा लाइभ गरेर पुर्णबहादुरलाई देखाउँदै भने – हेर्नुस् दर्शक महानुभावहरू, नेपालमा यस्तो अनौठो मान्छे भेटियो । सत्र वर्षको उमेर पुगेका पुर्णबहादुरको उचाइ दुई फिटभन्दा कम छ । गिनिज वर्ड रेकर्डमा नाम लेखाउने पक्का छ ।’

उनको युट्युब लाइभ देखेर धेरै युट्युबरहरू क्यामेरा र माइक  बोकेर आइपुगे र पुर्णबहादुरको अन्तर्वार्ता लिन थाले ।

मान्छेहरूले घेरा हालेर केके सोधिरहेका छन् भन्ने खबर पाएर पुर्णबहादुरको आमाछोरालाई केके न भएछ भन्दै दौड्दै गइन् । तेर्सिएका क्यामेरा, माइकको झुण्डलाई प्रवाह नगरी उनले छोरालाई च्याप्प समातिन् । एउटा युट्युबरले माइक तेर्साउदै उनैलाई सोध्यो – यत्रो उमेरको मान्छे यति थोरै उचाइ हुंदा आमा भएको नाताले तपाईलाई कस्तो लाग्छ  ?’ 

आमाले रिसाउँदै  भनिन् –काम छैन तपाईहरूको  ? चार वर्षको बच्चा यहांभन्दा कति अग्लो हुनुपर्यो ?

प्रकाशित: २३ माघ २०७७ ०९:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App