१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

छिन्तापुबाट हेर्दा

पाँचथरको फालेलुङ गाउँपालिका–६ मा पर्ने गोरुवालेमा केही घर छन्। पहिले यहाँ चौँरीका गोठ मात्र हुन्थे, पछि गोठ राख्दाराख्दै घर बनाउन थालियो। यही गोरुवालेमा हाम्रो केही दिनको बसाइ भएको थियो, गएको पुसमा। पुसको जाडोमा आगो ताप्दै चौँरी र गोठका कुरा सुन्दै बस्नुको आनन्द छुट्टै। पाँचथर सदरमुकाम फिदिमबाट र इलामबाट सडक जोडिएपछि यहाँ चहलपलह बढेको छ। गोरुवालेबाट एकतर्फ उकालो लाग्दा सन्दकपुर र अर्कोतर्फ उकालो चढ्दा छिन्तापु पुगिन्छ।

गोरुवाले बस्दाबस्दै छिन्तापु जाने योजना बन्यो। गोरुवालेमा बिहानको घामले स्पर्श गर्दैगर्दा छिन्तापु पहाडमाथिको आकाश धुम्म देखिँदै थियो। फर्किएर गोरुवाले नै आउने भएकाले झोलामा खाजा, पानी र क्यामेरा थियो। गुराँसको वनको बीचबाट बनाइएको सडकमा केही समय हिड्यौँ र सडक छाडेर पदमार्ग हुँदै अगाडि बढ्यौँ। यहाँको वन क्षेत्र हेर्दै लोभलाग्दो छ। चौँरी तथा भेडागोठ औल झरेकाले चराहरूको आवाज मात्र सुनिन्थ्यो। यो क्षेत्र रेडपान्डाको बासस्थान पनि हो। साथमा थिए, संरक्षणकर्मी जीवन राई र गोरुवालेका रामकुमार राई। 

हुरुरु कुहिरो उडेर आएर पोखरीलाई छोप्थ्यो। फेरि हावाले उडाएर कुहिरोलाई लैजाँदा पोखरीमा हिमाल टल्कन्थ्यो। कस्तो लुकामारी !

ढुंगा छापेर बनाइएको पदमार्गको यात्रा सहजै थियो। जीवन राई भने बाटोमै बिरामी भएर फर्किए। यात्रामा रामकुमार राई र म मात्र भयौँ। गोरुवालेबाट छिन्तापु पहाड नजिकै देखिएको थियो, तर जति हिँड्यो उति टाढा लाग्यो।

तालपोखरी भन्ने ठाउँमा पुगेर केहीबेर बस्यौँ। हुरुरु कुहिरो उडेर आएर पोखरीलाई छोप्थ्यो। फेरि हावाले उडाएर कुहिरोलाई लैजाँदा पोखरीमा हिमाल टल्कन्थ्यो। कस्तो लुकामारी ! जति उकालो गयो, यो क्रम उसरी नै देखियो। एकातर्फ गज्जबले हिमाल खुलेको, अर्कोतर्फ कुहिरोले छोपिरहेको। यो ठाउँ इलाम र पाँचथरको सिमाना रहेछ। पानीढलो पनि भनिन्छ।  

छिन्तापुमा अनेक डाँडा रहेछन्, ठूलो वन गुराँसको। गुराँस फुलेका बेला यो क्षेत्र रङ्गीविरङ्गी हुन्छ रे। अनेक पोखरी, थुम्काहरूको दृश्य मनमोहक लाग्थ्यो। यहाँबाट कञ्चनजंघा, कुम्भकर्ण, सगरमाथा, मकालुलगायत हिमाल पनि देखिँदो रहेछ। यता कुहिरो र घामको कलाकारिता, उता टलक्क टल्किएका हिमाल। डाँडामा पुग्दा घामले ज्यान तातो भयो। रामकुमार राईले भने, ‘पोहोर त बंगालीहरू डाडैभरि हुन्थे। यसपालि कोरोनाले खत्तम बनायो। यहाँ बस्ने तथा चिया पिउने ठाउँ हुने र यहाँको प्रचार हुने हो भने विदेशीहरू धेरै आउँछन् जस्तो लाग्छ।’  

बंगाली पर्यटकले अनेक सामग्री यहाँ ल्याएर राखेको देखियो। यहाँ ठाउँ ठाउँमा पूजा गर्ने ठाउँ पनि रहेछन्।

हामी छिन्तापुका डाँडाडाँडा घुम्न थाल्यौँ। जति हिँड्यो उति रमाइलो। दुई वर्षअगाडि पनि म छिन्तापु आएको थिएँ। त्यतिबेला यहाँबाट सूर्यास्तको दृश्य लोभलाग्दो देखिएको थियो।  

छिन्तापुको अग्लो स्थान समुद्र सतहदेखि ३२४० मिटर उचाइमा पर्दो रहेछ। महागुरु फाल्गुनन्दले यहाँ आएर ध्यान, तपस्या तथा पूजा गरेको बताइन्छ। ‘पर्यटकीय स्थलको रूपमा छिन्तापु महत्वपूर्ण छ। यहाँ अनेकविशेषता छ। छिन्तापुले पाँचथर–इलाम वा विभिन्न क्षेत्र समेट्छ,’ जिल्ला समन्वय समिति पाँचथरका उप–प्रमुख तथा छिन्तापु नजिकका बासिन्दा डिल्लीराम दुलाल भन्छन्, ‘प्राकृतिक रूपमा सौन्दर्यताले भरिएको यो ठाउँ विभिन्न विशेषताका कारण महत्वपूर्ण छ।’

यो ठाउँ जैविक विविधताका हिसाबले पनि महत्वपूर्ण छ। यहाँ अनेक प्रजातिका गुराँससँगै थुप्रै वनस्पति छन्। यही क्षेत्रको वनमा नेपालकै अग्लो स्थानमा पाटेबाघ देखिएको थियो। रेडपान्डा नेटवर्कले राखेको क्यामेरामा पाटेबाघको तस्बिर खिचिएको थियो। ३१६५ मिटरको उचाइमा स्वचालित क्यामेरामार्फत जंगली पाटेबाघको तस्विर खिचिएको थियो। यो नेपाली वन्यजन्तु अध्ययनको क्षेत्रमा प्राप्त महत्वपूर्ण तथ्य हो। स्थानीयवासी भने पाटेबाघ पहिले पनि यो ठाउँमा देखिने गरेको बताँउछन्। संरक्षणकर्मी जीवन राईका अनुसार यो ठाउँ वन्यजन्तु र वनस्पतिको हिसाबले महत्वपूर्ण छ।  

दिन ढल्दै जाँदा सिरेटो चल्न थाल्यो, अनि हामी गोरुवालेतर्फ फर्कियौँ।

प्रकाशित: १७ माघ २०७७ ०३:१४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App