एकदिन रत्नपार्कको पुरानो बसपार्कमा केही मानिस भेला भए । उनीहरूले एकै प्रकारका पोशाक र टोपी लगाएका थिए । गन्जीको अगाडिपछाडि दुवैतिर र टोपीमा सरसफाइ अभियान लेखिएको थियो।
“ आफ्नो टोल , नगर सफा राखौं ” लेखिएको प्लेकार्ड पनि बोकेका थिए । उनीहरूको उद्देश्य भनेको धूमपान र मद्यपानलाई निरुत्साहित गर्नु , सरसफाइको महत्वलाइ जनस्तरमा पुरयाएर जनचेतना जगाउनु हो भनेर बताइएको थियो।
उनीहरू पुरानो बसपार्क , रत्नपार्क , जमल हुँदै त्रिचन्द्र कलेज पुगेर अभियान समापन गर्ने सल्लाह गरी सडक छेउका फोहरमैला टिप्दै, प्लेकार्ड देखाउंदै ,फोटो खिच्दै हिंडिरहेका थिए । टोली त्रिचन्द्र कलेजअगाडि पुगेर अडियो।
हातहातमा बोकेका प्लेकार्ड भुइँमा राखेर उनीहरूले बोतलको पानीले हात धोए । कसैले चुरोट सल्काए । कसैले बिस्कुटका प्याकेट झिके । कसैले चाउचाउ निकाले अनि कसैले विदेशी मदिरा गिलासमा खन्याएर र कसैले बोतलबाटै पिउन थाले ।
हल्का विश्रामपछि उनीहरू अगाडि बढे । उनीहरूले खाएर फालेका बिस्कुट, चाउचाउका खोल,पानी र मदिराका खाली बोतलहरू भने सडकभरि जताततै छरिएका थिए ।
प्रकाशित: १० माघ २०७७ ०७:५१ शनिबार