ध्वनि सम्प्रदायले ध्वनिलाई रसध्वनि, वस्तुध्वनि र अलंकार ध्वनिमा विभाजन गरेर ध्वनिको गहिराइसम्म पुग्ने प्रयास गरेको देखिन्छ। काव्यशास्त्रमा व्याख्या गरिएको ध्वनिसँग आवाजको कुनै तादात्म्यता वा सम्बन्ध छैन। यो त काव्यको भित्री गुण वा व्यंग्यार्थसँग अन्तर्निहित तत्व मानिन्छ, जुन रसको माध्यमबाट ध्वनिस्वादन या आत्मस्वादन गर्न सकिन्छ।
ध्वनि भनेको आवाज हो। आवाज विविध प्रकारका हुन्छन्। मानवीय ध्वनि अवयव (मुखबाट शब्द बोल्दा सक्रिय हुन पुग्ने नाइटोदेखि ओठसम्मका उच्चारण अवयव)बाट निक्लने आवाज, पशुपक्षीको आवाज, वर्षात्को आवाज, हावा बहँदाको आवाज, बादल गर्जंदा, चट्याङ पर्दा निस्कने आवाज आदि सबै ध्वनिअन्तर्गत पर्छन्।
पूर्वीय साहित्यमा ध्वनि सम्प्रदायका प्रथम व्याख्याताका रूपमा आचार्य आनन्दवर्धनलाई लिइन्छ। ‘ध्वन्यालोक’ नामक ग्रन्थमा उनले ध्वनिलाई काव्यको आत्मा मानेका छन्। उनले यस ग्रन्थमा ध्वनिको स्वरूप, भेद तथा काव्यमा यसको स्थान आदिबारे गहन व्याख्या गरी ध्वनिलाई सैद्धान्तिक रूप दिएको पाइन्छ। ध्वनि सम्प्रदायले ध्वनिलाई रसध्वनि, वस्तुध्वनि र अलंकार ध्वनिमा विभाजन गरेर ध्वनिको गहिराइसम्म पुग्ने प्रयास गरेको देखिन्छ। विचारणीय के छ भने काव्यशास्त्रमा व्याख्या गरिएको ध्वनिसँग आवाजको कुनै तादात्म्यता वा सम्बन्ध छैन। यो त काव्यको भित्री गुण वा व्यंग्यार्थसँग अन्तर्निहित तत्व मानिन्छ, जुन रसको माध्यमबाट ध्वनिस्वादन या आत्मस्वादन गर्न सकिन्छ।
हाम्रो सामान्य श्रवण दैनिकीलाई हेर्दा कहीँ घटित आवाज हाम्रो कानमा ठोक्किँदा सुनिने प्रक्रिया मात्र हामीले महसुस गर्दछौँ, तर ध्वनि विज्ञानले सुन्ने प्रक्रियाका ६ वटा स्थान्तरण उल्लेख गरेको छ– १) ध्वनि तरंग (जहाँबाट ध्वनि उत्पत्ति हुन्छ)। २) इयरड्रम (कानको प्वालभित्रको भाग, चलनचल्तीको भाषामा कानको जाली, जसले ध्वनि तरंगको सूचना दिन्छ)। ३) कोक्लिया (इयरड्रमबाट प्राप्त ध्वनिलाई तरंगको रूपमा भित्र फाल्ने काम)। ४) अडिटोरी रिसेप्टर कोष (उक्त तरंगित ध्वनिलाई यसको सानो प्वालबाट पास गर्छ)। ५) फ्रिक्वेन्सी स्पेक्ट्रम (ध्वनिको गति अनुसार यसले प्रसारण गर्दछ)। ६) नर्भ इम्पल्स (यसले मस्तिष्कलाई सूचना दिन्छ। त्यही कार्यलाई हामी श्रवण या सुनाइ भन्ने गर्छौं)।
यसरी ध्वनिविज्ञान भनेको ध्वनिको वैज्ञानिक अध्ययन गर्ने भाषा विज्ञानको एउटा शाखा हो। भाषाविज्ञान भाषिक ध्वनिमा केन्द्रित हुन्छ। अर्थात् भाषा विज्ञानले मानवीय ध्वनिलाई भाषा निर्माणको कच्चा पदार्थको रूपमा हेर्छ। सम्पूर्ण ध्वनिको प्रतिनिधित्व गर्दैन।
ध्वनिशास्त्रको गहिराइमा पुग्ने हो भने ऋग्वेद र अथर्ववेदका प्रतिशाख्यमा पुग्नुपर्ने हुन्छ, जहाँ ध्वनिको उच्चारण स्थान र प्रक्रियाका बारेमा संकेत गरिएको पाइन्छ। यसै कारण पनि होला ध्वनि र संगीतको उत्पत्तिको रूपमा वेदलाई प्राचीनतम ग्रन्थ मानिन्छ।
कस्तो ध्वनि सर्वोत्तम हुन्छ ?
यो प्रश्नको उत्तरमा कर्णमधुर, सुरिलो, ‘सफ्ट’ (सरल), कानले सजिलै ग्रहण गर्न सक्ने वा बाँसुरीको धुन, सारंगी, भ्वायलिन आदि–आदि उत्तर आउन सक्छ। विचारणीय के छ भने कुनै पनि ध्वनि आफैँमा सुन्दर वा कुरूप हुँदैन। यो त श्रोताको मन–मस्तिष्कको अवस्थाले निर्धारण गर्ने कुरा हो। मानिस कस्तो वातावरणमा बाँचेको छ ? उसको भौतिक, सामाजिक या मानसिक वातावरण आदिले निर्धारण गर्छ। जस्तै, ‘रक’ संगीत सुन्ने छुट्टै जमात हुन्छ। पप, क्लासिकल, लोक, आधुनिक संगीतका आ–आफ्नै श्रोता छन्।
मानवीय मनस्थितिको एउटा स्तर हुन्छ। एक लेबलको ध्वनि वा संगीतले बहुजनको प्रतिनिधित्व गर्छ। जस्तै, चराचुरुंगीको आवाज, फूलको सुगन्ध वा बाँसुरीको धुन मन नपराउने मानिस कमै हुन्छन्। यस्ता सुगन्ध वा धुन कसैलाई मननपर्नु भनेको उसलाई कतै न कतै मानसिक आघात परेको हो कि भन्न पनि सकिन्छ। आवाजको स्तरले केही हदसम्म ग्रहणशीलताको निर्धारण गर्दछ। र, ऊ कुन मानसिक स्थिति, अवस्था वा परिवेशमा छ भन्नेले ठूलो भूमिका खेल्छ।
मानिसको कानले २० हर्जदेखि २० किलो हर्ज फ्रिक्वेन्सीसम्मको ध्वनिलाई ग्रहण गर्न सक्छ। २० किलो हर्जभन्दा बढी भएको ध्वनिलाई अल्ट्रासाउन्ड भनिन्छ। फ्रिक्वेन्सी दुई हर्जभन्दा कम भएको ध्वनिलाई इन्फ्रासाउन्ड भनिन्छ। मानिसको कानले अल्ट्रासाउन्ड र इन्फ्रासाउन्ड तरंगलाई सुन्न सक्दैन। तर, जनावरसँग अल्ट्रासाउन्ड र इन्फ्रासाउन्ड सुन्ने क्षमता हुन्छ। चमेरो, मुसा, ह्वेल आदि अल्ट्रासाउन्ड सुन्न सक्ने जनावर हुन् भने कुकुर, हात्ती, कुखुरा, गाई आदि इन्फ्रासाउन्ड सुन्न सक्ने जनावर हुन। भुइँचालो पनि इन्फ्रासाउन्ड अन्तर्गत पर्छ। यसैले मध्यम स्तरको आवाज मानवीय श्रवण अवयवले स्विकार्छन्। आवाज धेरै सानो वा ठूलो भएमा झर्को लाग्ने वा तनाव सिर्जना गर्ने पनि हुन सक्छ।
ध्वनि र रंगमञ्चको सम्बन्ध
ध्वनि रंगमञ्चको एउटा विशिष्ट पक्ष या तत्व हो। वास्तवमा रंगमञ्चमा ध्वनि भन्नेबित्तिकै धेरैलाई गीत–संगीत वा बाजागाजा भन्ने मात्र प्रतीत हुन्छ। ध्वनिको यो एउटा मुख्य पाटो हो नै, तर रंगमञ्चमा प्रभाव पार्ने अन्य प्रकारका ध्वनिसँग कमैको चासो र जानकार भएको पाइन्छ।
एक्टर्स स्टुडियोका साउन्ड डिजाइनर देव न्यौपानेका अनुसार, ‘एउटा कलाकार जब मञ्चमा प्रवेश गर्छ, उसका पाँचै इन्द्रीयहरू सक्रिय हुन्छन्। उसका सेन्स अर्गान यति जागरुक हुनुपर्छ कि ब्ल्याकबक्स थिएटरमा उसको पाइलाका चालको पनि आवाज दर्शकले महसुस गर्छन्। जब यो कुरा कलाकारले बुझ्छ, संवादले जीवन्तता प्राप्त गर्दछ।’
त्यस्तै शिल्पी थिएटरका कला निर्देशक घिमिरे युवराजका अनुसार, ‘ब्ल्याकबक्स थिएटरले दर्शक र कलाकारलाई यति निकट ल्याइदियो, त्यहाँ कलाकारले सास फेरेको दर्शकले र दर्शकले सास फेरेको कलाकारले थाहा पाउँछन्। त्यसैले कलाकारको हाउभाउबाट उत्पन्न हुने ध्वनिले पनि विशेष महत्व राख्छ।’ गीत, संगीत वा बाजागाजाबाहेक संवादको उतार–चढावले पनि रंगमञ्चमा ध्वनिको महत्व राख्छ। देव न्यौपाने पुनः थप्छन्, ‘रिहर्सलका दौडानमा जब निर्देशकले खोजेको कुरा अभिनयले दिन सक्दैन, अर्थात् त्यो चरणमा पुगेर कलाकारको अभिनय अभिव्यक्त हुन सक्दैन, त्यहाँ निर्देशकले साउन्ड डिजाइनरको सहयोग माग्न सक्छ। त्यो क्षणको भाव बुझेर डिजाइनरले त्यहाँ कुन किसिमको ध्वनि भरेर देखाउन खोजेको कुरा ‘मिट’ गर्ने हो, परिकल्पना गर्छ। साँच्चिकै दिइएको संवाद या भूमिकामा अभिनय पूर्ण रूपमा आउन सक्यो भने सबै ठाउँमा ध्वनि या संगीत आवश्यक पर्छ भन्ने छैन। कलाकारको त्यही प्रस्तुतिले नाटकलाई उचाइमा पुर्याइदिन सक्छ।’
रंगमञ्चको एउटा गुफामा ‘साउन्ड कन्ट्रोलर’ रहेको हुन्छ। जसलाई ‘कन्ट्रोल रुम’ भनिन्छ। हुन त यो प्रकाश र ध्वनि दुवैको नियन्त्रण कक्ष भएकाले संयुक्त रूपमा यसलाई ‘कन्ट्रोल रुम’ भनिएको हो। ध्वनिको दृष्टिकोणले मात्र हेर्दा यसलाई ‘ध्वनिकक्ष’ वा ‘साउन्ड रुम’ भनिन्छ। दर्शकका लागि ध्वनि नियन्त्रक एउटा अन्जान व्यक्ति हो। र, उसको काम एकदमै संवेदनशील पनि हुन्छ। शिल्पी थिएटरकै साउन्डमा काम गर्ने संगीता उरावँ नाटक चलेको बेला कन्ट्रोल रुममा काम गर्ने व्यक्तिको तौल एक महिनामा पाँच किलोसम्म घटेको अनुभव सुनाउँछिन्। कलाकारले मञ्चमा कुन पलमा मुख खोल्छ र ध्वनि, गीत वा संवाद प्रसारण गर्ने भन्नेमा ऊ केन्द्रित हुनुपर्छ।
एक पल मात्र तल–माथि भएमा कलाकारले अभिनय नै बिगार्न सक्ने खतरा त्यत्तिकै हुन्छ। कुनै बेला कलाकार सधैंको भन्दा केही पल ढिलो वा चाँडो मञ्चमा प्रवेश गर्न सक्छ। यो अवस्थामा पनि साउन्ड कन्ट्रोलर हरदम चनाखो हुनुपर्ने हुन्छ। कुनै–कुनै नाटकमा त गीत–संगीत, टेलिफोनको घन्टी, रेकर्डेड संवाद आदि ३०/३५ ट्र्याकसम्म बजाउनुपर्ने हुन्छ। यस्तो अवस्थामा साउन्ड कन्ट्रोलर नै द्विविधामा पर्न सक्छ। उसले एउटा सूत्र या लिस्ट नै बनाएर ‘मेमोरी सेट’ गर्नुपर्ने हुन्छ। त्यसमा पनि नाटक तयारीका क्रममा रिहर्सल गर्न कलाकारले जति समय पाउँछ, त्यसको एक चौथाइ समय पनि साउन्ड कन्ट्रोलरले पाउन गाह्रो छ। साउन्ड डिजाइनरले ध्वनि संकलन गर्ने क्रममै समय घर्किसकेको हुन्छ र नाटक मञ्चनको अन्तिमतिर मात्र उक्त ध्वनि कन्ट्रोलरको ल्यापटपमा आइपुग्छ। जेहोस्, रंगमञ्चमा ध्वनि नियन्त्रक एउटा संवेदनशील र जिम्मेवार व्यक्ति हो, जसको श्रवण संवेदना सूक्ष्म हुनु जरुरी हुन्छ।
संस्कृतमा ‘ध्वनिनाटक’ भन्ने शब्द पनि प्रचलनमा छ। आधुनिक भाषामा भन्दा यो रेडियो नाटक हो। शब्द मात्र सुनिने र दृश्य नदेखिने भएकाले यसलाई ध्वनिनाटक भनिएको हो। यसलाई रेडियो–रूपक वा ध्वनिरूपक पनि भनिन्छ। विद्युतीय माध्यमबाट एक ठाउँको ध्वनि अन्यत्रै पुर्याउने वा प्रसारण गर्ने कामलाई ध्वनिक्षेपण, दूरसञ्चार वा दूरसञ्चारण भनिन्छ। रंगमञ्चको ध्वनिकक्षबाट विविध प्रविधिको प्रयोग गरी उक्त ध्वनि दर्शकसम्म पुर्याउने काम नै ध्वनिक्षेपण हो। हुन त रंगमञ्चको ब्याकस्टेजबाट परम्परागत शैलीमा चराको, कुकुर भुकेको वा गायक–गायिकाले प्रत्यक्ष गीत गाएर वा अन्य संगीतका साधन बजाएर प्रत्यक्ष ध्वनि निकालेर प्रयोग गर्ने शैली अद्यापि छँदै छ। योबाहेक सांगीतिक टोली दर्शकको सामुन्ने बसेर प्रत्यक्ष संगीतको प्रयोग गरिएका पनि प्रशस्त नाटक देखिन्छन्। नाटकको बीचबीचमा कलाकार आफैँले गीत–संगीतको प्रत्यक्ष प्रयोग गर्ने गरेको पनि देखिन्छ।
प्रत्यक्ष संगीतको प्रयोग आधुनिक रंगमञ्चमा विशिष्ट पक्षको रूपमा स्थापित भइसकेको छ। ‘रेकर्डेड संगीतको तुलनामा प्रत्यक्ष संगीतको प्रयोगले नाटकलाई अझ गहिराइमा पु¥याएर जीवन्तता प्रदान गर्ने’ कुरा नाटक निर्देशक घिमिरे युवराजको बुझाइ छ। ‘तर नाटकको भावलाई संगीतको संवेदनाले पक्रन सकेन भने नाटक झुर बन्न सक्ने खतरा पनि त्यत्तिकै रहेको’ कुरा गर्छन्, घिमिरे युवराज। त्यसैले नाटकलाई मजबुत बनाउन साउन्ड डिजाइनर अनिवार्य सर्त हो। आजकाल कतिपय नाटकमा निर्देशक वा कलाकार आफैँले संगीतको डिजाइन गर्ने गरेको देखिन्छ। यो आफैँमा खतरनाक र हानिकारक सिद्ध हुन सक्छ। किनकि संगीत आफैँमा गहिराइ भएको संवेदनशील विषय हो। जो पायो, उहीले आम दर्शकको सांगीतिक भाव नबुझ्न सक्छन्। संगीतज्ञ, संगीतसाधक वा यसमा गहिरो ज्ञान भएको व्यक्ति नै ‘साउन्ड डिजाइनर’को भूमिकामा रहन सक्छ र त्यस्ता व्यक्तिले नाटकमा गरेको ध्वनि योजनाले नै कतिपय नाटक सफल बनेका उदाहरण पनि छन्।
रंगमञ्चमा प्रयोग गरिने ध्वनिलाई देश, काल र परिवेशले पनि नियन्त्रण गर्दछ। इतिहासका घटनाक्रमलाई रंगमञ्चमा उतार्नुपर्दा त्यो कालखण्डमा के कस्ता बाजागाजा, भाषा या बोलीको लवज आदि प्रचलनमा थिए भनेर अध्ययन गर्नुपर्ने हुन्छ र सोही बमोजिमको ध्वनि प्रयोगमा सचेतता अपनाउनुपर्ने हुन्छ। जस्तो कि २००७ साल या २०१५ मा नेपाली जनताले कसरी रेडियोमार्फत समाचार प्राप्त गर्थे भन्ने देखाउन तत्तत् कालखण्डका रेडियोमा समाचार प्रसारण हुँदा के–कस्ता ध्वनि बजाइन्थ्यो। कस्तो समाचारको भाषा प्रयोग गरिन्थ्यो र उक्त ध्वनि कस्तो सुनिन्थ्यो आदि जस्ता कुराको ज्ञान बटुलिन्छ, र सोही बमोजिमको ध्वनिको प्रयोग निर्देशक वा साउन्ड डिजाइनरले नाटकको उपयुक्त स्थानमा प्रयोग गर्छन्। ध्वनिको उक्त सूक्ष्मतम् पक्षलाई बुझेर देश, काल र परिवेशमा दर्शकलाई पु¥याउन सके मात्र नाटकले सफलता प्राप्त गर्न सक्छ।
आधुनिकतासँगै भित्रिएको ब्ल्याकबक्स थिएटरले टेक्नोलजीको भरपुर उपयोग गरेको देखिन्छ। काठमाडौंमा स्थापना भएका बहुसंख्यक नाटकघरहरूले उच्च स्तरका साउन्ड मिक्सरहरूको प्रयोग गर्न थालेका छन्। यसले ध्वनिको सूक्ष्मतम पक्षलाई समेत दर्शकका इयरड्रमसम्म सम्प्रेषित गर्न सफल देखिन्छन्। खुला र विशाल मञ्चमा देखाइने प्राचीनतम ग्रिसेली नाटकमा २०/३० हजार दर्शकलाई आवाज पुर्याउन कलाकारहरू रूखका बोक्राले बनेका माइक जस्ता ढ्वाङमा फुकेर चिच्याउने गर्थे रे ! नेपाली रंगमञ्चकै कुरा गर्दा राणाहरूले भिœयाएको पारसी शैलीको सिंहदरबारभित्रको थिएटरमा पानी पर्न लागेको महसुस गराउन गड्याङ्गुडुङ आवाज निकाल्न भिरालो ठाउँबाट ढुंगा खसाइन्थ्यो रे ! त्यसैले प्राचीनतम रंगमञ्चदेखि वर्तमानसम्म आइपुग्दा रंगमञ्चमा ध्वनि प्रयोगले आकाश पातालको भिन्नता ल्याइसकेको छ।
रंगमञ्चमा साउन्ड सिस्टम कहाँ राख्ने भन्ने पनि एउटा ग्राफ हुन्छ। देव न्यौपानेका अनुसार, ‘प्रेक्षालयमा दर्शकका टाउकाको केन्द्र पत्ता लगाएर उपयुक्त स्थान खोज्न सकिन्छ। ब्याक स्टेज पनि यसका लागि उपयुक्त स्थान हुन सक्छ, तर पनि रंगमञ्चको संरचनाले साउन्ड सिस्टमको स्थान निक्र्योल गर्छ। साउन्डबक्स कति उचाइमा राख्ने भन्ने दर्शकको सबैभन्दा तल्लो लहरमा बसेको टाउको र माथिल्लो स्थानमा बसेको टाउकाको ग्राफ तयार पारिन्छ। र, त्यसको केन्द्र पत्ता लगाई साउन्ड सिस्टम जोडिन्छ। यदि त्यस्तो केन्द्र स्थानमा उपयुक्त ठाउँ नभएमा, साउन्ड सिस्टम अलिकति तल–माथि पर्ने भएमा, दर्शकको टाउकाको केन्द्र भागको कोण मिल्ने गरी साउन्ड सिस्टमलाई थोरै तल वा माथि ढल्काएर राख्न सकिन्छ।’ यसरी वैज्ञानिक दृष्टिकोणले पनि आधुनिक रंगमञ्चमा साउन्डको ठूलो भूमिका देखिन्छ।
श्रवणशक्ति मानवको बहुमूल्य सम्पत्ति हो। यसको उचित प्रयोग गर्न सके मानिसले आफ्नो जीवन सार्थक बनाउन सक्छ। श्रीकृष्णको बाँसुरीको धुन, सरस्वतीको वीणा र महादेवको नटराजस्वरूप आदि सिर्फ धार्मिक विषय मात्रै होइनन्। यी सिर्जना, ज्ञान र कलाका स्रोत पनि हुन्। संगीत, धुन वा एक लेबलको ध्वनिले मानिसका सुषुप्त अवस्थामा रहेका न्युरोनहरूलाई जगाउने काम गर्दछ। अल्बर्ट आइन्स्टाइन आफैँ भ्वायलिन बजाउँथे। महात्मा गान्धी एकतारे बजाउँथे। टैगोर त आफैँ संगीतकार थिए। फलस्वरूप गीताञ्जली जस्तो काव्यको सिर्जना गर्न सके। संसारका बहुसंख्यक सफल मानिसले संगीतप्रति विशेष चासो राखेको देखिन्छ।
मानव जातिको यही श्रवण शक्तिको लामो साधनाबाट सिर्जित ध्वनि अथवा ‘नाद’हरूको स्वरूप नै संगीत हो। ‘नाद’ भनेको ध्वनिको फैलावट, गुञ्जायस वा तरंग भनेर बुझ्नुपर्ने हुन्छ। हुन त ‘नाद’को परिभाषा आफैँमा अमूर्त कुरा हो। प्राचीनतम् ‘ध्रुपद’ संगीतका प्रशिक्षक विशाल भट्टराई भन्छन्, ‘यो ब्रह्माण्डको रचना आफैँमा संगीतमय लाग्छ। तिनले बनाएको मार्ग नादीय तरंगमा सम्बन्धित प्रतीत हुन्छन्, किनभने संगीत साधनाको आधार वा सप्तस्वर सा–रे–ग–म–प–ध–नि पनि अनेकौँ चक्रमा मालाझैँ घुम्छन्। संगीत आफैँमा ध्वनिको पुष्पहार हो, जसले मानिसलाई मुक्ति मार्गमा डो¥याउँछ।’
‘फादर अफ जोमेट्री’ भनेर चिनिने पाइथोगोरसले ज्यामितिलाई संगीतको संज्ञा दिएका छन्। पाइथोगोरसका विचार मनन् गर्दा पनि आकाशीय पिण्डहरू र तिनका मार्ग आफैँमा सांगीतिक लाग्छन्।
भौतिक दर्शनका चिन्तक कार्लमाक्र्सले ‘सिर्फ सांगीतिक अनुभूतिले मानिसलाई ब्युँझाउन सक्ने’ भाव व्यक्त गरेका छन्। प्रकृति आफैँमा सांगीतिक लाग्छ। वायुको ध्वनि, नदीको कलकलता, वर्षात्, बादल, चट्याङ वा सूर्य, पृथ्वी वा ताराको गतिको सूक्ष्मध्वनि आदिलाई महसुस गर्न सकिन्छ। कतिपयले त संगीतलाई शरीरसँगै दाँजेका छन्। हाम्रो रक्तनली, मुटुको धड्कन, मस्तिष्कमा विचारको तरंग, श्वास प्रवाह आदिले एउटा नाद पक्रिरहेका हुन्छन्, जसले हामीलाई जीवित राख्छन् अर्थात् प्राण भर्छन्। र, हरदम जीवन बाँच्ने उत्प्रेरणा प्रदान गर्छन्। त्यही धड्कन, ढुकढुकी, तरंग, प्रवाह वा ‘नाद’को अभिव्यक्ति नै पो रंगमञ्च हो कि, जहाँ मानवीय भावना, अनुभूति र ज्ञान मिश्रित प्रत्यक्ष इन्द्रधनुष प्रकट हुन्छ र त्यो नाट्यशालाको एउटा अँध्यारो कोठा ध्वनिको विविधताको रागात्मकताले रंगमञ्चमा परिणत हुन्छ।
प्रकाशित: १० माघ २०७७ ०३:५४ शनिबार