मोतीको माला चुँडिएर
छरपष्ट भई छरिएजस्तो
अक्षरहरू पढ्न नजान्ने
अबोध बालकजस्तै म
कति निरीह र विवश छु
नियतिको फन्दामा परेको
मेरा जीवनका पाइलाहरू
निरुत्तर बढिरहेका छन्
उद्देश्यविहीन यात्रा
थाहा छैन कहाँ पुग्छु म
कहिलेसम्म एक्लै हिँड्नु
सहयात्री पनि त छैनन्
तैपनि
म बाटो खोजिरहेकी छु
उद्देश्य त धेरै टाढा छ ।
मायाको आभास कतै छैन
म निराश छैन
लाग्छ जीवन
कहालीलाग्दो
दुर्घटना हो ,
क्षतविक्षत शरीर बोकेर
हिँडिरहेकी छु म,
मेरा रक्ताम्य शरीर
देखेर कसैलाई माया पलाउँदैन
मुस्कानका दुई छिटा शब्द
कसैको मनमा जन्मदैन
मलाई थाहा छ,
मैले अझै उद्देश्य खोज्न
बाँकी नै छ ।
प्रकाशित: ९ माघ २०७७ ०७:०२ शुक्रबार