किन हो कुन्नि आज बिहानै भुन्टीको अनुहार उदासी देखिन्छ। आमाले खाना खान आउनुभन्दा नि केही नबोली बसिरहेकी छिन् ।
– होइन,यसलाई के भयो ? बाबा अलि जोडसँग चिच्याउनुभयो। भुन्टी भान्साबाट आफनो कोठातिर गइन्।
आमाले बाबालाई खाना दिनुभयो। बाबा खाना खाएर आफनो कामतिर लाग्नुभयो।
आमा भुन्टीको कोठामा जानुभयो।
– के भयो, भुन्टी मलाई भन त ।
– केही होइन, केही भएको छैन। भुन्टीले कुरा टार्न खोजिन्।
– केही नभाको भए , खाना खान आउन त।आमाले भुन्टीलाई हेर्दै भन्नुभयो। तर, भुन्टीको मनमा केही लुकेको आमाले पनि अनुभव गर्नुभएको थियो।
भुन्टीले आफूले पैसा भर्ने खुत्रुकी हेरिरहेकी थिइन्।
– होइन यो केटीलाई के भो आज । आमा अलि झर्किनुभयो।
आमाको मन त हो नि । उत्तिखेरै बदलियो। फेरि छोरीको नजिक गएर मायासंग सोध्नुभयो।धेरै पल्ट आमाको सोधाइपछि भुन्टीले आमालाई आफ्नो कुरो बताइन्।
– आमा अस्ति हजुरहरू मेरो साथीको आमाबुवासंग झगडा गर्नुभएको थियो नि । उही मेरो साथी आज हस्पिटलमा छ। हजुरहरू आफैं त भन्नुभएको त्यसकोमा जान हुन्न भनेर। म कसरी बताऊ मेरो साथीलाई हस्पिटल भेट्न जान्छु भनेर।
भर्खर दस वर्ष पुगेकी छोरीको कुरा सुनी आमाको आँखा रसाए। भुन्टी पनि आमालाई हेरिरहिन्। आमाले पटुकीबाट सयको नोट निकाली भुन्टीलाई दिनुभयो ।
भुन्टी दगुर्दै नजिकको पसलमा गएर जुस किनिन् अनि साथी भेट्न नजिकैको हस्पिटलतिर कुदिन्। आमाले भुन्टीलाई हेरिरहनुभयो।
आमा पनि एकछिन आफनो बालापन सम्झिएर हराउनुभयो। केही बेरपछि भुन्टी र उनको साथी हस्पिटलको पार्कमा हाँस्दै खेलेको देखियो।
प्रकाशित: ९ माघ २०७७ ०६:२३ शुक्रबार