छिटो बास्ने भाले आज थिएन । हिजो नै काटेर खाइसकिएको थ्यो । वसुन्धराका दाँतका कापमा अझै पनि कताकति मासुका रेसा अल्झिएका होलान् । तल्लो घरको भाले ढिलो बास्थ्यो । वसुन्धरालाई अब उठ्ने समयको हेक्का नहुने भो ।
–यै बासेर त छिटो उठ्न पाइन्थो, हिजो बेलुका ठुलेले भालेको मुन्टो आँसीको धारमा तेस्र्याउन लाग्दा वसुन्धराले मुख अमिलो पार्दै भनेकी थिई।
–छिटो उठ्न पाइन्थो भनेर अब तेरो जीमराजलाई बूढो बना’र राख्छेस् त ?ठुलेले आँसीको धार पानीले पुछ्दै भनेको थियो ।
अनि च्वाट्ट भालेको गर्धन छिनाएको थियो । रातो भालेले भुत्ला उडाउँदै सिरबिनाको धडफड््याएको थियो ।
–अब एसैले ल्याम्छ खुसीयाली यो घराँ । ठुलेले बटुकोमा रगत थाप्दै भन्यो । वसुन्धरा अघि नै अर्कोपट्टि फर्किसकेकी थिई । भालेको फड्फड् निम्ट्यान्न भएसी बल्ल उसले ठुलेतिर हेरेकी थिई ।
–जा तातो पानी लेर आ ! ठुलेले अराएसी ऊ लुत्त भित्र पसेकी थिई ।
तल्लो घरको भाले बास्दा ६ नाघिसकेको थियो । वसुन्धराले एकछिन आँखा माडी र झ्यालबाहिर यस्सो हेरी । आँगनको डिलसम्म उज्यालो आइसकेछ । ऊ दिक्क परी । हिजो खाएको रातो भाले सम्झिई अनि आफ्नो तल्लो पेटमा हात लगी ।
–अब त भरिन्छ कि ? सोची ।
“टाउको तेरी स्वास्नीलाई खान दे,” झाँक्रीले ठुलेलाई भनेको थियो रे, “पुठ्ठो चैँ तैले चपा । अनि बाँकी जम्मै यहाँ ल्याउनु, बुझिस् ?” झाँक्री अलिअलि हिन्दी अलिअलि नेपाली मिसाएर बोल्थ्यो रे । ठुले पनि परार साल चार महिनाजति गोरखपुरको एउटा मारवाडी होटलमा जागिर गरेर आएको थियो । चानचुने हिन्दी उसले पनि बोल्थ्यो, बुझ्थ्यो । वसुन्धराले आजसम्म झाँक्रीलाई भने देखेकी थिइन । खालि उसको चर्चा मात्र सुनेकी थिई ।
– अनि, गेरेन्टी हुन्छ त ?ठुलेले हिन्दीमै सोधेको थियो रे ।
–मकहाँ आको छ्स् । निरास हुँदैनस् । झाँक्रीले मक्ख पर्दै गम्केर भनेको थियो रे ।
त्यसपछि ठुले छातीले टेकुँलाझैँ गरी घर आको थियो । आउनेबित्तिकै खोरमा भाको एउटै भाले च्याप्प समातेर बाहिर निकालेको थियो । लौ को चोर पस्यो भन्दै वसुन्धरा चलाउँदा – चलाउँदैको तिहुन छाडेर बाहिर पिँढीमा दुगुरेकी थिई । ठुलेलाई देखेसी बल्ल उसको मन केही शान्त भाको थियो ।
–के गरेको ?उसले सोधेकी थिई ।
“पानी उमाल् !” ठुलेका आँखाले अजीव किसिमको उत्सुकता पोखिरहेका थिए । जसो कि केहीबेरमै आफ्ना खोपिल्टा छाडेर चन्द्रमाको सैर गर्न निस्कन्छ्न् ती ।
– के गर्न आँट्यौ फेरि ?
“बर्ता कुरा नसोध् न । वाँ अस्ति आका झाँक्रीले उपाएद्याका छन् क्या,” उसले भन्यो ।
वसुन्धराले कुरा बुझिहाली।
“तेरो पेट भरिन्छ रे अब,” तल्लो घर दश हात जति तल थियो । माथ्लो घर एकैचोटि माथि गाउँमा । तैपनि सुन्छन् कि भनेर आफ्नो उत्सुकताको बिर्को लगाउँदै ठुले अलि सुस्तरी बोल्यो ।
बिहे गरेको पाँच वर्षपछि पनि वसुन्धराको कोख रित्तै थ्या।
गाउँका आइमाईले घाँस काट्दा उसको कुरा पनि सँगसँगै काट्न थालेका थिए– माइली त बाँझी छे ।
कहिलेकहीँ उनीहरूको कुरा ठुलेले पनि सुन्थ्यो । ऊ कहिले केही नबोली सुनेको नसुन्यै गरी आफ्नो बाटो लाग्थ्यो त कहिलेकाहीँ यसै झोक्किन्थ्यो –खेती नलाउनी भनेर बाँझो छाड्या हो, खेती नभ’र हो र ?
–अब त खेती लाए नि हुन्थ्यो, एकदिन माथ्ला घरे पण्डितले कटाक्ष हान्दै भनेका थिए ।
“नत्र हिउँदाँ के खान्छौ फेरि ?” छेउछाउका मान्छे गलल हाँसेका थिए ।
–जोताइ नपुग्या हो कि ? ठुले खिस्रिक्क पर्दै ओरालो लागेको थियो ।
तर बाइस गाउँ झारफूक गर्दा, भए भर्तीका देवीदेउता पुकार्दा पनि वसुन्धराको कोख रित्तै रहिराख्यो । उसलाई मन्दिरभित्र जान वर्जित थियो । त्यसैले सायद देवलोकमा उसको भाकल पनि वर्जित बन्यो कि त ? भाकल र झारफुक गर्दागर्दा उनीहरूका बरु लगभग सबै कुखुराबाख्रा सकिन लागेका थिए । बाटोमा गाउँलेले सोध्दा बेच्न लगेको भन्थ्यो । तर, गाउँले सबैलाई उसको यथार्थ राम्ररी अवगत थियो।
एकचोटि गाउँको शिविरमा आएका एकजना युवा डाक्टरसँग पनि यताउता हेरेर उसले आफ्नो समस्या बिसाएकै हो ।
– दमौली हाम्रो अस्पतालमा आउनोस् भाउजूलाई लेर अनि हामी चेकअप गर्छौँ है ? ल्याखुते डाक्टरले भनेको थियो ।
– अनि हुन्छ त ? ठुलेले टिठलाग्दा आँखा पारेको थ्यो ।
–त्यो त चेकअपपछि मात्र थाहा हुन्छ नि । समस्या भाउजूमा हो कि तपैंमा भन्ने ।
–ममा रे ? ठुले चकित हुँदै सोधेको थियो । त्यतिबेला उसको स्वर पनि अलिक चर्कै निस्केको होला।
–सधैं समस्या महिलामा मात्र हुन्न नि दाइ । पुरुषमा नि हुन सक्छ । डाक्टरले निच्च दाँत देखाउँदै भनेको थियो।
ठुलेलाई ल्याखुतेका तिनै दाँतमा हानेर उसलाई भुक्लुक्क त्यहीँ ढालिदिऊँझैं भाको थियो । तर उसले घुटुक्क थुक निल्न मात्र सक्यो ।
“ल,” भन्दै डाक्टरले आफ्नो पर्स निकाल्यो । ठुलेले ठुल्ठुला आँखाले उसको पर्सतिर हेरयो । जब डाक्टरले एउटा कागजको पर्ची निकाल्यो, ठुलेका आँखा त्यसै सेलाए, “यो हाम्रो अस्पतालको कार्ड, यहाँ आउनोस् है ?” डाक्टरले उसलाई हातको कार्ड थमायो अनि बाटो ततायो । ठुले निच्च पर्यो । उसलाई पढ्न आए पो त !
केही महिना अगाडि मात्र गाउँमा एउटा नयाँ झाँक्री छिरेको थ्यो । भारतको उतराखण्डदेखि नेपाल घुम्न आएको रे । तीन महिना जति पशुपतिमा साधु बनी बस्यो रे । त्यति गरेपछि उसको शक्ति र दिव्यदृष्टि झन् ओझिल भयो रे । अनि मात्र ऊ यो सुन्दर लोकका लोगहरूको सेवा गर्छु भनेर यहीँ नेपालमै बसेको रे। डुल्दाडुल्दै ऊ यहाँ आएको रे । तर, ठुलेले आजकल झारफुक गर्नेको विश्वास गर्न छाडिसकेको थियो । त्यसो त पाप नलाग्ने हो भने उसले देवी–देउतामा पनि विश्वास गर्न छाडिदिन्थ्यो क्यारे । गए दिन ऊ केही उपाय नलागे जसरी घरकै पिँढीको डिलमा झोक्राएर बस्ने गथ्र्यो । तर, यो झाँक्रीको चर्चा बाइस गाउँमा फैलिएको थियो । सबै उसका चमत्कारका अनुरागी थिए रे । माथ्लाघरे पण्डितले भनेको । अनि बल्ल हो ऊ यो झाँक्रीको शरणमा परेको ।
वसुन्धराले लामो हाई काड्दै खाटबाट उठेर छेउमा राखेको खुइलेको रातो बन्डी र रातै लुँगी लगाई । ठुले छेउमै मस्त सुतिराखेको थियो । वसुन्धराले ढोका खोलेर मुखसुख धोईवरी कुचो लगाउन थाली । वरपर घरका अरू भाले पनि पालैपालो बास्दै गए । उसले आफ्नो कुखुराको खोरतिर आँखा लगी, अब एउटा पोथी मात्र बाँकी थियो । उसको मुखबाट खुइय निस्कियो ।
कल्याङमल्याङ मान्छेको आवाज । अनि उनीहरूका बुटको लर्याकलर्याक । आवाज तलतिरबाट माथि उसकै घरतिर बढ्दो सुनिन्थ्यो । उसले कुचो हातमै लिएर बाटोमुन्तिर आँखा लगी । त्यस्तै पाँचछ जनाको हुल थियो त्यो । उसको घरतिर लम्किरहेका थिए सबै । तर, बाटो उसको घर हुँदै माथि गाउँसम्मै जान्थ्यो । कता जान आ हुन् कुन्नि एकाबिहानै ? बसुन्धराले एकछिनसम्म उनीहरूलाई त्यसरी नै हेरिराखी ।
– नमस्ते है दिदी ? मास्तिर हेर्दै तन्नेरी हुलका दुईतीन जनाले वसुन्धरालाई हात जोडे । वसुन्धराले हातको कुचो भुइँमा राखेर उनीहरूलाई निच्च दाँत देखाउँदै नमस्ते फर्काई ।
“बाबुहरू कता’ट आउनुभो ?” उसले उसरी नै दाँत देखाउँदै सोधी । उमेरले वसुन्धरा भर्खर सत्ताइस लागेकी थिई क्यार । हुलमा ऊभन्दा पाका पनि कोही थिए होलान् । तर, उसको उमेरमा गाउँको दुःखपीर, घाँसदाउरा, धुलोमाटो टाँसिएको थियो । यसले उसलाई थप १० वर्ष बुढी देखाउँथ्यो।
–हामी कोही स्याङ्जा, कोही यहीँ तनहूँका, एउटाले खास्सै चाख नलागेजसरी जवाफ दियो ।
“ए,” वसुन्धराले उनीहरू एकुन्टाको मुखमा पालैपालो हेरिरही । कोही अग्लो, कोही होचो, कोही गोरो, कोही कालो, उसलाई सबै निकै फरकफरक लागे ।
“अनि केकति कामले पाल्नुभो ?” उसले फेरि सोधी ।
–एसो पानी खान पाइन्छ कि दिदी ? एउटाले उसको जवाफै नदिई भन्यो । जसो कि पानी मात्र खान उनीहरू यहाँसम्म आएका थिए ।
–किन नपाउनी र नि पानी खान नि, उसले असजिलो मान्दै सोधी –बोरु हाम्ले देको चल्नी हो कि हैन ?
–धत् दिदी, तेस्तो कुरा नगर्नोस् न ! एउटा कालेकाले ख्याउटे ठिटो सशक्त आवाजमा करायो – यो सब् सामन्ती शोषण प्रथाको उपज हो र हामी यसको साफ विरोधी हौँ !
वसुन्धरा वाल्ल परी । ठिटोको पूरै कुरा नबुझे पनि विचराहरूलाई थकान प्यासले भाउन्न पारेको उसले अड्कल काटी र उनीलाई पिँढीमा बस्न अह्राई।
तन्नेरीहरू उसरी नै बुट बजाउँदै बवुन्धराको आँगन अगाडि गुजुप्प भए । उसले पिँढीमा भएको थोत्रो गुन्द्री उनीहरूलाई बिच्छयाइदिई । हुलका कोही बसे कोही यत्तिकै उभिइराखे।
उनीहरूको आवाजले झस्केर होला, भित्र ठुले पनि आँखा मिची उठ्यो । एकाबिहानै आफ्नो घरमा को आयो, ऊ चनाखो भयो । वसुन्धराले भन्छाबाट एक अम्खोरा पानी लिएर आई । एउटा तन्नेरीले हात लम्कायो र ठाडो घाँटी लगायो ।
ठुलेले अर्को दैलोबाट पुलुक्क बाहिर हेर्यो अनि राता आँखा पार्दै सबैलाई नमस्कार गर्यो । परिचयको फेरि उस्तै क्रम दोहोरियो ।
केहीबेरमा अम्खोरा रित्तो बनाई तन्नेरीहरू उसरी नै बुट बजाउँदै उकालो बाटो लागे । वसुन्धरा र ठुले त्यै बाटो हेरेको हेर्यै भए ।
– एक हप्तासम्म गर्नुपर्ने काम गर्नु, झाँक्रीले उसै गरी हिन्दी–नेपाली मिसाएर भनेको थियो । एक दिन नटुटाउनु । यो पनि विधि नै हो सम्झनु । ठुलेले उसको पाउ छुँदै भनेको थियो, “बाबा कि जय ।”
बसुन्धरा आजकल हरेक बिहान पहिलेकोभन्दा एक घन्टा ढीला उठ्थी । सायद बिउँझाउने भाले नभएर होला ?
एक दिन गाउँमा साँझसाँझतिर पहिलेको जस्तै एउटा अर्को हुल फेरि आयो । त्यही बाटो । बसुन्धरा पिँढीमा पलेटी कसेर बोडी केलाउँदै थिई । ठुले अहिले बाहिर गएको थियो । ऊ घरमा एक्लै थिई । आवाज सुनेपछि केलाउँदा– केलाउँदैको बोडी भुँइमै फालेर ऊ तलतिर हेर्न गई । हुलमा त्यस्तै १५–२० जना थिए सायद । उसको धड्कन तेजतेज हुन थाल्यो । केहीबेरमा उनीहरू सबै उसको आँगननेर भेला भई थकाई मारे । अहिले त्यस हुलमा केटाको जस्तो पोसाक पहिरेका केही केटी पनि थिए । वसुन्धराले एक जर्किन पानी र अम्खोरा ल्याएर उनीहरूसामु राखिदिई । त्यो पानी एकैछिनमा उनीहरूले घतघत पारी सक्काए । समूहमा पाहिलेकै चारपाँच जना तन्नेरीको चेहरा पनि उसले खुट्टयाई।
–पानी अझै पिउनुहुन्छ कि, उसले सोधी ।
–पुग्यो दिदी । अनि दाइ हुनुन्न आन ? अस्तिकै एउटा तन्नेरीले सोध्यो ।
–मास्तिर गाका छन् , वसुन्धराले भनी ।
–ए, हामी नि तेतै जान लाका, उसले भन्यो ।
यसपालि उसले अरू केही सोधिन ।
त्यसपछि उनीहरू बिदा मागी मास्तिरैको बाटो ताके । वसुन्धरा उसरी नै उनीहरू गएतिर एकछिनसम्म हेरिराखी ।
बेलुका ठुले बर्बराउँदै घर आइपुग्यो । वसुन्धरा अघेनामा तिउन चलाउँदै थिई । ठुलेले खासै पिउँथेन र पिए पनि एक्लै केके हो केके बर्बराउँथ्यो मात्र । अरू होहल्ला भने गर्थेन । वसुन्धरा एक्लै मुर्मुरिन्थी, ठुले उसको नजिक गई उसको गाला चिमोटिदिन्थ्यो । त्यसपछि वसुन्धरालाई भाउन्न हुन्थ्यो । ठुलेले पिएपछि खाना खान्थेन । खालि अघेनाछेउ एक्लै बर्बराउँदै वसुन्धराले खाएको हेरिबस्थ्यो मात्र । वसुन्धरा ऊतिर रिसले हेर्दा पनि हेर्थिन । र कपाकप खाएर भाँडा माझी क्यारी ऊ लुपुक्क सुत्न जान्थी । केहीबेरपछि ठुले पनि ऊछेउ आएर घुम्प्लुक्क पथ्र्याे ।
आज पनि ठुलेले त्यसै गर्यो ।
–काँ’ट धोकर आयौ आज ? सोधी वसुन्धराले ।
–समय फेरिँदै छ माइली । अब केके हुन हो कुन्नि ? ऊ यसै बर्बरायो।
बर्बराउँदै ऊ सुरुसुरु भित्र भन्छामा छिर्यो र अगेनाछेउ पलेटी मारेर बस्यो । वसुन्धरा टुसुक्क ऊछेउ बसी ।
–आज कस्ता कुरा गर्नुभो तो बाबुहर्ले, था छ तँलाई ? उसले उसरी नै बर्बराउँदै भन्यो ।
–कस्ले ?
–आथे रे त यै बाटो, देखिनस् ?
“ए,” बसुन्धराले दाउरा चलाई । कालो कराहीमा तरकारी भुक्लुभुक्लु उम्लँदै थियो । “के भने र ? क्यार्न आका रैछ्न् ? नानीहरू नि देखेइथेँ आज त । मलाई त केइ सोध्न नि औठेरो लायो ?”
–हामी अस्तो गरीपको समस्या मेटाउन आका रे ।
– कसरी मेटाउँछन् अरे ?
–सर्खारसँ लड्छन् अरे ।
–राजा त मारिहाले, अब कोसँ लडून् ?
–आर्का राजा आउँछ्न् त । तिनैसँ ।
–राजासँ लड्न सौछ्न् रे ?
–किन नसकुन् ? राजा नि मर्दा रैछ्न् त !
–जाबा त्यतिजना बरा ?
– देशैभरि छन् रे।
वसुन्धराले खाना पस्केर कपाकप एक्लै खाई । उसले ठुलेलाई सोध्न उहिल्यै छाडिसकेकी थिई । ठुले वसुन्धराले खाएको टुलुटुलु हेरी मात्र बस्यो।
“आज बिदी नपुरयाई सुत्चौ क्या तिमी त ? अझ तीन दिन बाँकी छ है ?” बसुन्धराले एकपल्ट गाँस निल्दै भनी । ठुले झस्याङ्ग भयो । ती तन्नेरीका कुराले उसलाई यो कुरा झन्डै बिर्साइदिएको थियो।
“पुर्याम्लान्त,” उसले भन्यो ।
“भातै नखाई केका ताकतले पुर्याउँचौ ?”
उसले अलिकत भात ठुलेलाई पनि पस्किई । ठुलेले यसपालि इन्कारेन । विष नीलेसरी अलिअलि भातको चारो निल्यो ।
रक्सीको तालमै बिस्तारामा बसुन्धरासँग ऊ लुटूपुटू भयो । बसुन्धराले पनि उसको गन्हाएको स्वासबाट मुख पर पन्छाउँदै उसलाई साथ दिइरही ।
भोलि–पर्सि– निकोर्सि पनि ठुले बेलुकाबेलुका उसरी नै बर्बराउँदै घर आउन थाल्यो । तर उसले रक्सी खाएको हुँदैनथ्यो । आएर ऊ उसरी नै अघेनाछेउ बस्थ्यो, गाउँमा आएका तन्नेरीबारे अनेक कुरा सुनाउँन्थ्यो ।
–ती त देउता हुन्, हेर् माइली । गरीपका देउता ! ऊ भन्ने गथ्र्याे ।
“के अर्द्या छन् र तिनले ? हाम्रो दुक्ख हामी सैँ छ,” बसुन्धराले उसलाई भात पस्कँदै भन्थी ।
–गर्छ्न् रे । अब दलित भनेर हेप्न नपाउने बनाउँछन् रे । गरीपका छोछ्छोरीलाई नि धनीका छोछ्छोरीकै इस्कुलाँ पडाउँछन् रे ।
–नापेर । त्यै नि हाम्रा छन् र ?
–अब हुन्छ्न् नि, उसले झाँक्रीको कुरा सम्झाउँथ्यो । अनि कपाकप खाना खान्थ्यो ।
एक हप्ता जसोतसो उनीहरूले विधि पुरयाए । तर आठौँ दिनको बिहानै गाउँमा हल्लाखल्ला भयो । तन्नेरीको समूहले झाँक्रीलाई माथि गाउँमा बाँधेर राखेका छन् रे । पिटेर हत्तु पारेका छन् रे ।
ठुले हत्तपत्त माथि गाउँ उक्लियो । ठुलेको पछिपछि वसुन्धरा पनि जान खोजी । “तँ किन जान पर्यो ए ? म हेरेर आउँछु, घर कुर् ।”
–के पो छ रा हौ कुर्नलाई । म नि आउँछु । वसुन्धरा ताल्चा मारेर ठुलेको पछिपछि लागी ।
बुढो झाँक्री झुस्स सेता दाह्री पालेको, पहेला आँखा परेको, पहेंलै तर मैलोले कट्कटिएको वस्त्र पहिरेको थियो । उसको पहिरन सधैं उही नै हुन्थ्यो । गाउँलेको भीड छिचोल्दै ठुले हुलभित्र पस्यो । झाँक्री खनियाको बोटमा बाँधिएको थियो । वरपर बलिष्ठ तन्नेरीहरूले उसलाई घेरेर राखेका थिए । झाँक्रीका आँखामा अघोर पीडा देखिन्थ्यो । डर देखिन्थ्यो । ऊ कराउँदै थियो– छोड्देऊ हमको, हम मासुम छ, छोड्देऊ।
“तँ साला ढोँगी भारती,” एकजना तन्नेरीले सुम्लो लगायो । सुम्लो झाँक्रीको तिघ्रामै बजारिएछ ।ऊ झन् जोडले कराउन थाल्यो ।
–सोझा जनता ठग्दै हिन्छस् ? फेरि तिघ्रामै अर्को सुम्लो लगायो । झाँक्रीको चीत्कार झन् चर्कियो । गाउँ नै उसको आर्तनादमा थर्कियो । अघि माथि उक्लिँदा पनि ठुले र वसुन्धराले धेरै पटक सुनिसकेका थिए उसको यो कहालीलाग्दो आर्तनाद ।
“हम् नहीं ठगा, हम् मासूम छ,” झाँक्री रुँदै कराउन थाल्यो ।
ठुले ट्वाँ परी केही नबोली झाँक्रीतिर हेरिरह्यो । उसलाई त्यो दृश्यले त्यसै मचमची लाग्यो । झाँक्री नै अन्तिम उपायझैँ लागेको थ्यो उसलाई । उफ् ! ऊ नै ढोँगी रैछ।
झाँक्रीको सास मात्र बाँकी रहँदा उसलाई तन्नेरीहरूले छाडिदिए र सात गाउँ काट्ने गरी खेदे । झाँक्री आफ्ना पोकापुन्तुरा केही नबोकी कुकुरले खेदेको बिरालोजसरी टाप कस्यो।
वसुन्धरा–ठुले दिनभर झोँक्रो मुन्टो लगाएर पिँढीको डिलमा बसिराखे । वसुन्धरा त झन् झाँक्रीलाई लखेटेपछि रुँदै ओरालो लागेकी थिई । त्यो दिन झाँक्री सँगसँगै लखेटिएको थियो, उनीहरूको सन्तान जन्माउने अन्तिम आस पनि ।
त्यो रात ठुले रक्सी खाएरै आयो । तर, उसको चेहरा सपाट थियो । ऊ केही बर्बराएन । अनि आएर अगेनाछेउ नकराई बस्यो । वसुन्धरा पनि चूपचाप केही नबोली बसी । चुपचाप नै खाना खाई । त्यो रात उनीहरू एक अजीव सन्नाटाको चिसो च्यादर ओढेर घुप्लुक्क सुते ।
गाउँका घरघरमा तन्नेरीको हुलले डेरा जमाउन थालिसकेको थियो । उनीहरू देश बनाउने, गरीब–दलितको हकअधिकारमा आफ्नो ज्यान आहुती दिनेजस्ता ठुल्ठुला कुरा गर्थे । कताकता गएर चामल, तरकारी, मासु खोजेर ल्याउँथे । अनि आफैं पकाएर खान्थे । एक हुल माथि सेतेको घरमा, एक हुल हरी र एक हुल बाँस्तारे साँइलाको घरमा बसेका थिए।
बिस्तारैबिस्तारै गाउँका केही अन्य युवा पनि उनीहरूको हुलमा सामेल हुन थाले । उनीहरू घरघरमा गएर पर्ची बाँड्ने, माथि चौतारोमा बेलाबेला जनजागरणको भाषण सुनाउनेजस्ता कार्यहरू गरिरहन्थे । ठुले पनि उनीहरूको कुरा सुन्न थालेपछि आफूभित्र गर्मी महसुस गथ्र्याे । आफ्नो पीरमर्का बिर्सिजान्थ्यो । उसका आँखा राता हुन्थे । ऊ दिनभर कार्यक्रममा बसेर उनीहरूको बात सुन्थ्यो, कञ्चटमा हात राखी उनीहरूको नीति बुझ्न खोज्थ्यो अनि बेलुका घर आएर वसुन्धरालाई तिनै कुरा दोहारेयाउँथ्यो ।
एकदिन बेलुका ऊ केही नबोली सरासर आयो र खाटमुनिबाट झोला निकालेर आफ्ना केही लुगाफाटा झोलाभित्र कोच्न थाल्यो ।
–हैन काँ जान लायौ र हो रातिराति ? वसुन्धराले सोधी ।
–बाबुनानीहरू अब अन्तै जाने रे । गाउँमा बस्न खतरा भो रे ।
– के कुरा गर्छौ भन्या ? तिमी किन जान ला त ?
–म नि जाने अब । सरखारसँ लड्न ।
– आच्या ! हैन केकालाई लड्छौ भन्या । आपफ्नो न छोछ्छोरी छन् न अपुर केइ ।
“अब अरूका छोछ्छोरीका लाई भए नि लड्छु । आफ्नो पइचानकोलाई लड्छु । दलित भनेर कति हेपिने एउटै गाम्मा बसेर नि ?” उसका आँखा लाल थिए । “तिन्ले हाम्ले जोतेको खान हनी रे, हाम्ले छोको चै खान नहु नि ?”
–के मगज फालेर आयौ भन्या ? म के गर्नु तिमी गएसी ?
–पोइल जा । ठुलेको जवाफ सुनेर वसुन्धरा अवाक् भई । ऊ घोप्टो परेर घुँक्कघुँक्क गर्न थाली । ठुलेलाई नमजा लाग्यो । उसलाई ग्लानि भो । यद्यपि ऊतिर हेर्दै नहेरी खुरुखुरु आफ्नो सामान प्याक गर्नपट्टि लाग्यो ।
–मोह त्याग्नुपर्छ तन्नेरीहरूले भनेको सम्झियो । हामी आमूल परिवर्तनको लागि लड्दै छौं !
ठुले राति नै वसुन्धरालाई केही दिनपछि आउँछु भनी तन्नेरीहरूको हुलसँगै मिस्सियो । वसुन्धरा रातभरि आँसुले सिरानी भिजाउँदै बसी ।
तीन–चार दिन बित्यो । तर, ठुले फर्केर आउँदै आएन । वसुन्धराले अरू गाउँलेसँग सोधपुछ पनि गरी । उसको ठेगानबारे कसैलाई केही अत्तोपत्तो थिएन।
दिन बिहान उसरी नै त्यही बाटो एउटा अर्को हुल देखा पर्यो । हुलमा सबैले उस्तै टाटेपाटे हरियो पोसाक पहिरेका थिए । हातमा लामालामा रायफल भिरेका थिए । हुलको एउटा अजंगको जुंगले आफूजस्तै अजंगको कुकुर पनि डोहोरयाएको थियो । उनीहरू सिधै माथि गाउँको बाटो उक्ले । वसुन्धराले उनीहरूलाई पिँढीको खाँबोबाट लुकेर हेरिराखी ।
रायफलधारीले गाउँगाउँका मान्छेलाई सोधपुछ गरे । गाउँमा रुवाबासी नै भो त्यसपछि । सेते, हरि, बाँस्तारे साँइला, अरू जोजोको घरमा तन्नेरीहरूको सम्पर्क थियो, उनीहरू सबैलाई झ्यालेको बनमा बाँधेर लिएर गए उनीहरूले । कुकुरले नै सुँघेर कतिका घरबाट बन्दुक, बारुद र ग्रिनेड पनि बरामद गरे ।
“ड्याङ, ड्याङ, ड्याङ– एकछिनपछि गाउँ नै त्रसित हुने गरी झ्यालेको वगोलीको आवाज चल्यो । वनका चराचुरुङ्गी आकाशमा आर्तनाद गरे । त्यसपछि गाउँमा सेते, हरि र बाँस्तारे साँइला फेरि कहिल्यै देखिएनन् ।
गाउँ त्यसपछि शोकमग्न बन्यो । सबैले भन्न थाले, गाउँलाई झाँक्रीको सराप लागेको हो । आर्मी आएर वसुन्धराको घरमा पनि सोधपुछ गरे । उसलाई केरकार पारे । उसले थाहा भएको सबै कुरा आँसुका फोरासँगै ओकली । त्यसपछि हुल ठुलेको फोटो र अन्य विवरण लिएर आफ्नो बाटो लाग्यो ।
त्यसको चार दिनपछिको कुरा हो । राति यस्तै ११ बजेको हुँदो हो । आजकल वसुन्धरालाई समयको मेसो कत्ति थिएन । ठुलेले आफ्नो थोत्रो हात घडी पनि आफू सँगसँगै लगेको थियो र घरको थित्रो रेडियो पनि बिग्रिएको थियो । वसुन्धराको सुत्ने कोठाको ढोकामा कसैले जोडजोडले ढकढक गर्यो।
आत्तिँदै ऊ ढोकानेर गई र सोधी– को हो ?
ढोकाजस्तै उसको मुटु पनि ढुकढुक गरिरहेकै थियो ।
–माइली ? म ! उताबाट आवाज आयो । ठुलेको आवाज सुनी उसको सशरीर धपक्क बल्यो । उसले तु ढोका खोली । ठुले ढोकामा ठिंग उभिएको थियो । वसुन्धरा देख्नसाथ उसले उसलाई गम्लङ्ग अँगालोमा बेर्यो । वसुन्धरा पनि उसलाई अँगालोमा कसेर सुँक्कसुँक्क गर्न थाली।
–के दुःख द्याछौ भन्या मलाई ? सन्तान त थेनन् –थेनन् । अब तिमी नि गयौ ?
ठुले केही बोलेन।
–भोक लग्या छ, केही खानलाई छ ? उसले एकछिनपछि भन्यो । वसुन्धराले औँलाका धारले गाला पुछ्दै भान्छामा गएर उसलाई बाँकी रहेको भाततिउन पस्की । ठुलेले एक सीता पनि नछोडी सपासप सब सक्यो ।
– म एक्लैलाई पकाको, अझै बसाल्दिम् ? वसुन्धराले सोधी ।
– – भो पर्दैन, ठुलेले भन्यो ।
–फेरि छाडेर जन्छौ ?
–जान्न अब ।
त्यो रात दुवै जना रुँदै एक अर्कामा बेरिए तर त्यो कुनै विधि पुरयाउन वा सन्तान जन्माउन गरिएको सम्भोग थिएन । त्यो त चोखो प्रेमको निसानी थियो । जुन तिनले एक अर्कालाई गर्थे ।
ठुलेको वास्ना आफ्नो मनका कुनाकन्दरासम्म सोहोरेर वसुन्धरा मस्त निदाएकी थिई । तर बिस्तारैबिस्तारै उसलाई त्यो वास्ना पातलो हुँदै गएझैँ लाग्यो उसलाई । पखेलिँदै गएझैँ लाग्यो । अन्ततः ऊ बिउँझिई । बिउँझदा ठुले छेउमा थिएन । उसले बाहिर गएर उसलाई यताउता खोजी । ठुले कतै भेटिएन।
हप्ता दिन बित्यो । तर, ठुलेको कुनै अत्तोपत्तो थिएन । ठुले आएन, तर एक दिन गाउँमा एउटा खबर आयो । चिसापानीको क्रस्फायरमा परी २० जना माओवादी र १० जना सुरक्षाकर्मीले ज्यान गुमाए । ज्यान गुमाउनेमा ठुलेको नाम पनि सामेल थियो ।
खोई कुन्नि कसले हो माथि गाउँमा बोलाएर यो खबर वसुन्धरालाई सुनाइदियो । ऊ बेहोस भई । उसलाई सबैले मिलेर बिउँझाए । बिउँझेर ऊ फेरि बेहोस हौँलीझैँ गरी गाउँ नै थर्किने गरी रुन थाली । गाउँकै चार जना अरू युवायुवती पनि क्रसफायरमै मारिएका थिए । तिनका परवारको आर्तनाद पनि वसुन्धराकै आर्तनादसँग मिस्सिएर गाउँको खोल्सो हुँदै तल फेदीसम्म बग्यो । त्यो ताक फेदी खोला पनि बढेर छेउछाउका घर नै बगाउलाझैँ भएको थियो । सायद मुहानदेखिका गाउँलेका आँसु र रगत सोहोरेर होला ।
आजकल वसुन्धरा पिँढीको छेउमा टुसुक्क बसेर माथि डाँडापारि हेर्दै एकोहोरिन्छे । बेलाबेला उसलाई थाहै नदिई उसका आँखाको कोषबाट एकुन धर्का आँसु तुरुक्क चुहिन्छन् । खोरको एक्लो पोथी क्वाँक्वाँ गरी ओथारो बस्न खोजेझैं कराउँछे । अनि उसलाई हेरेर वसुन्धराले लुपुक्क आँसुका धर्का मेटाउँछे र एक दिन वसुन्धराले ख्याल गर्छे, उसको महीनावारी रोकिएको पनि एक हप्ता भइसक्यो ।
प्रकाशित: ८ माघ २०७७ ०८:२८ बिहीबार