‘माथि–माथि शैलुङ्गेमा चौँरी डुलाउनेलाई’ श्रवण मुकारुङको शब्द, शिलाबहादुर मोक्तानको संगीत र कुन्ति मोक्तानको स्वर रहेको यो गीत धेरै सुनेकी थिएँ। पछि थाहा पाएँ, गीतमा उल्लिखित शैलुङ क्षेत्र औधि सुन्दर छ। त्यहाँ जाने रहर खुबै जागेको थियो।
१८ पुस (शनिबार) मा केही पत्रकार साथीहरूसँग शैलुङ जाने मौका मिल्यो। शैलुङका लागि यो मेरो पहिलो यात्रा थियो।
काठमाडौंदेखि दुईवटा जिपमा हामी १३ जना पत्रकार थियौँ। त्यस दिन दिउँसो सिन्धुपाल्चोकको सिम्लेमा पुगेर खाना खायौँ। सिम्लेबाट खाडीचौर हुँदै हामी आलुका लागि प्रख्यात मुडेबजार पुग्यौँ। यहाँ छुर्पीको पनि बिक्री हुँदो रहेछ।
मुडेबाट हामी शैलुङ गाउँपालिका– ८ भैँसे भन्ने ठाउँमा पुगेर बास बस्यौँ। यहाँ ‘गाउँका डाक्टर’का रूपमा चिनिने भोजराज आचार्यको होमस्टे छ। ५० जना जतिलाई बस्न–खान मिल्ने गरी बनाइएको यस होमस्टेमा हामीलाई जडिबुटी चियाले स्वागत गरियो। अचम्म, १३ प्रकारका जडिबुटी मिलाएको भनिएको त्यस स्थानीय चियामा चियापत्ती भने राखिएको थिएन। साँझपख आगो बालेर विशेष स्वादको चियासँगै मकै–भटमास र स्थानीय आलु पोलेर खाँदा बेग्लै रमाइलो महसुस भयो। साँझको खानामा कोदोको ढिँडो र लोकल कुखुराको मासु थियो।
भोलिपल्ट त्यहाँदेखि केही अग्लो ठाउँमा गएर सूर्योदय हेर्यौँ। सूर्योदयभन्दा पनि त्यहाँबाट हिमालहरू सुन्दर देखिएका थिए, क्यामेरामा कैद गर्यौँ। यहाँबाट गौरीशंकरमा सूर्यका किरण हीराजस्तै टल्केको देखिँदो रहेछ।
बिहानको खाना खाएर हामी अन्तिम गन्तव्य शैलुङतर्फ अगाडि बढ्यौँ। कच्ची सडक अप्ठेरो भए पनि सल्ला र गुराँस छिचोल्दै अगाडि बढ्दा कुन्ति मोक्तानकै गीत मनमा आउँथ्यो–हत्केलामा मायाको गुराँस फुलाउनेलाई...।
भैँसेबाट हामी शैलुङको बेस क्याम्प कालापानी (२८०० मि.) पुगेर रोकियौँ। त्यसपछि हामीलाई पैदल हिँड्नु थियो। कालापानीबाट झन्डै एक घन्टा जति वनको बाटो छिचोलेर हामी शैलुङ क्षेत्रको पहिलो थुम्का पुग्यौँ, जहाँ भगवान् शिवको विशाल त्रिशूल राखिएको छ। यहाँदेखि केही तल शैलुंगेश्वर महादेवको गुफा छ, हामी गुफा हुँदै अगाडि बढ्यौँ।
शैलुङको थुम्काहरूमा दुई जिल्लाको हक लाग्छ। शैलुङको सबैभन्दा अग्लो टाकुरा आधा दोलखातर्फ पर्छ भने आधा रामेछापतर्फ। रामेछापबाट जाँदा दोरम्बा हुँदै उकालो लाग्नुपर्छ। मुडेबाट जाँदा दाहिनेतर्फ ओरालो लागेर बाघखोर, भैँसे हुँदै कालापानीसम्म पुग्न सकिन्छ।
त्रिशूल भएको स्थानबाट दक्षिणतर्फ ओरालो लाग्दा अन्य अग्लाअग्ला थुम्कामा जान सकिन्छ। थुम्काहरू एकपछि अर्को गर्दै ठूला–ठूला हुँदै गएको अनुभव हुन्छ। पहिलो बेसक्याम्पबाट करिब ३० मिनेटमा सबैभन्दा अग्लो (३१५० मि.) थुम्काको चुचुरोमा पुग्न सकिन्छ। थुम्काहरू चढ्दै जाँदा चिसो पनि बढ्दै गएको महसुस हुन्छ। अझ माथिसम्म पुग्दा हावाको तीव्र गतिले मुटु नै छोएजस्तो र उडाएर तल फेदसम्मै पु¥याउला जस्तो लाग्छ। हिउँदको सुक्खा समयमा थुम्काहरू घाममा टल्किएर सुनजस्तै पहेँला देखिन्छन्।
प्राकृतिक र धार्मिक सौन्दर्य
तामाङ भाषाको ‘शैलुङ’ शब्दले सय थुम्का भन्ने जनाउँछ। ‘शै’को अर्थ सय र ‘लुङ’को अर्थ थुम्का। थुम्कैथुम्काहरूको स्थान हो, शैलुङ। समुद्री सतहबाट ३४०० मिटर उचाइ (दोलखा जिल्लाको दक्षिण पश्चिममा) अवस्थित शैलुङ काठमाडौंबाट करिब १२० किमि उत्तरपूर्वमा पर्छ।
यहाँसम्म आइपुग्दा आफ्नै एउटा मौलिक मुलुकको दर्शन गरेजस्तो आभास भयो। कच्ची सडक सुरु भएदेखि स–साना खरले छाएका घरहरू, स–साना नानीहरूले हामी चढेको गाडीलाई हात हल्लाउँदै गरेको दृश्य, माटोको सुगन्ध, घाँस–दाउराको भारी बोकेर आउँदै गरेका मानिसहरूले हाम्रो मन खिचेका थिए।
शैलुङको सिमाना प्रवेश गर्नेबित्तिकै नमस्कार गरिरहेझँै आकृतिका गौरीशंकर, गणेश, माछापुच्छ«े आदि हिमालले स्वागत गरिरहेको भान हुन्छ।
शैलुङ क्षेत्र प्राकृतिक रूपमा मात्र सुन्दर नभएर धार्मिक स्थलका रूपमा पनि परिचित छ। यहाँ शैलुङ्गेश्वर महादेव, गुप्तेश्वर महादेव, पृथ्वीको नाइटो (यस क्षेत्रलाई पृथ्वीको केन्द्र भनी विश्वास गरिन्छ), गदौरी गुफा लगायत धार्मिक महत्वका स्थल छन्।
पूर्वाधारको योजना
यति धेरै प्राकृतिक र धार्मिक विशेषताले भरिपूर्ण हुँदाहुँदै पनि शैलुङ क्षेत्र त्यति पर्यटकको गन्तव्य बन्न सकेको छैन। यसको मुख्य कारण पूर्वाधारको विकास नहुनु नै हो। कालापानीदेखि पहिलो बेस क्याम्पसम्म स–साना चियाखाजा पाउने पसल, केही राम्रा र पक्की होटल तथा रेस्टुरेन्ट खोल्ने योजना रहेको सुनाउँछन्, गाउँपालिका अध्यक्ष भरतप्रसाद दुलाल।
प्रकाशित: ३ माघ २०७७ ०१:४१ शनिबार