देवेन्द्र खेरेस
एभन नदी बग्न चाहन्छु
एभन नदी
आस्थाको धरोहर बग्छ
बस्नेका लागि सहारा
जानेहरूका लागि गोरेटो
नदीसँगै बगेर जानेहरू कहाँ–कहाँ पुगे होलान् !
छालले हानेर गएको ढिस्को उही हो
वारि र पारिको किनारा साँची ।
नदी किनारमा उभिएको भिक्टोरियन बार
समयको रमिता हेर्नमा सधैं व्यस्त छ
आउने र जानेहरूको हुलमा हराउनुको आनन्द
उसलाई मात्र थाहा हुन्छ
जो हिजोदेखि
आजसम्म त्यहीँ छ ।
बारका कामदारहरू बदली भए
मालीकहरू बदली भए
तर,
कुर्सी, टेबल
र
बेञ्चहरू बद्ली भएका छैनन्
कफी
वियर
र
ह्वीस्कीको स्वाद पनि उस्तै छ ।
पहिले
त्यहि बारमा बसेर
सेक्सपीयरले घण्टौसम्म
रोमियो र जुलियट मन्चन गर्ने गर्थे
त्यही टेबलको ह्वीस्कीले मातेर
चर्चिल
पटक–पटक युद्धको भाषा बोल्ने गर्थे
र
त्यही वेन्चमा ह्यारीपोटर लेखेर
जे के रोलिङ
चर्चाको शिखर उक्लिएका थिए
अहिले त्यहाँ
आउँदै सेक्सपियर
आउँदनै चर्चिल
चर्चाको शिखर चुमेर
अन्तै सरेको छ
जेके रोलिङ ।
अस्ति भर्खर मात्र
डानियल स्मिथ
र
उनका एक हुल साथीहरू
ग्रीष्मकालीन जाडो छल्न आएका थिए
उनीहरूले
एक दर्जन वियर सिध्याए
एक बट्टा चुरोटको धुवाँ उडाएर गए ।
एभन नदी
वील्टशायर भ्यालीको काखमा
हिउँदभरि झोक्राएर बग्दछ
र,
वर्षा याममा रमाउँदै बग्दछ
नदीको नियति बग्नु रहेछ !
म एभन नदी बग्न चाहन्छु ।
प्रकाशित: २ माघ २०७७ ०६:४६ शुक्रबार