वन्दना घिमिरे
– आमा २ हजार दिनुस् न ।
– किन बाबू, किन चाहियो २ हजार ?
– स्पोर्ट जुत्ता किन्न । अनि अरू एउटा कुरा पनि भन्नू छ।
– एउटा के आठदस वटै कुरा भने भइहाल्छ नि, म सुन्दिहाल्छु क्यारे।
–एउटा बुलेट बाइक चाहियो के ।
–किन चाहियो नि बुलेट बाइक ? त्यै घरमै भएकाले काम चलिरहेको छ त।
– ह्या झूर , त्यस्तो थोत्रै बाइकले पनि काम चल्छ रे । डबल लोड तान्दै तान्दैन । सिङ्गल हिँडेर काम चल्दैन।
– कसलाई लोड गर्नु पर्यो र डबल लोड गर्नु, मलाई तानिहाल्छ।
– बुबा आफै हाँकिहाल्नुहुन्छ।
– ह्या कस्तो कुरा नबुझ्ने के, अहिलेको जमानामा पनि ।
– म साँच्चिकै आउट डेटेड भएकै हुँ त ? के कुरा बुझिन। घरमा एउटा बाइक हुँदाहुँदै अर्को किन किन्ने भनेको पो त।
– लु आमा हजुर, यहाँ कुर्सीमा राम्रोसँग बस्नुहोस र मेरो कुरो सुन्नुस । अहिले म २१ वर्षको भएँ । मलाई राम्रो बाइक, राम्रो कपडा, जुत्ता लगाएर हिँड्न दिए पो यसो राम्रा केटीहरूले पनि हेर्छन् । नत्र भोलिपर्सि ठूली आमाले जसरी सबै नातागोता आफन्तलाई हजुर नमस्कार मेरो छोराका लागि केटी खोजिदिन पर्यो भनेर हैरानी हजुरलाई नै हुनेछ ।
– भनेपछि केटी खोज्न गार्हो नपरोस् । मलाई भनेर मेरा लागि बाइक किन्नुपर्ने ।
– तँलाई त चाहिएको होइन रहेछ नि ।
– दाजुहरूको जस्तो मेरो हालत नहोस् भनेर बाइक त मलाई चाहिएको नि । सधैं केटीको फोटो देखाएर यो हुन्छ, त्यो हुन्छ ? यत्तिको भइहाल्छ नि भनेको छ । कस्तो छ बानीबेहोरा केही थाह छैन । हेरिनसक्नु अनुहार र हाइट भएका सबैले हेरेर छोडेका केटी फेला पर्लान् भन्ने पो डर।
– ओहो भनेपछि समस्या त गम्भीरै पो रहेछ । म बुबासगँ कुरा गरौला नि त भरे अफिसबाट आउनुभएपछि।
– कुरा त गर्नु तर मैले भनेको सबै कुरा नसुनाउनु बुबालाई। हजुरलाई पो सानैदेखि सबै कुरा भन्ने बानी भएकोले भनेको। बुवालाई चाहिँ छोरोलाई किन्दिनुपर्ने बुलेट बाइक भन्नू ल ।
प्रकाशित: २६ पुस २०७७ ११:११ आइतबार