२६ आश्विन २०८१ शनिबार
image/svg+xml
कला

बोलिरहेकी मोनालिसा

संस्मरण

दामोदर पुडासैनी किशोर

 

धेरै हिसाबले प्रख्यात छ फ्रान्स । विश्वकै सुन्दर नगरीमध्ये एक फ्रान्स । फ्रान्सलाई प्रकृतिले दिएको छ, हरियाली, फलफूल र कृषिका फसलहरू । फ्रान्सेलीहरूले बनाएका छन् आफ्नो देश स्वर्ग – आधुनिक संरचनाको उच्चतम नमूनाहरूले । अत्तर – परफ्यूम, वाइन, स्याम्पेन, चीज आदि मात्र होइन आधुनिक वस्त्र र शैलीका विविध नमूनामा पनि अगाडि छ फ्रान्स । फ्रान्सेलीहरूले साहित्य–सिर्जनामा आफ्नो अब्बलता प्रस्तुत गरे, कलामा जीवन्तता दिए । त्यसैले अजम्मरी बनेको छ फ्रान्सेली कला र साहित्य ।

पेरिस शहर घुम्ने क्रममा लुभ्र संग्रहालयको अवलोकन गर्न छुटाउनु हुँदैन । लुभ्रमा पेरिस मात्र छैन विश्वभरका कला संस्कार र संस्कृतिका झलकहरू जम्मा गरिएका छन् लुभ्रमा ।

म र कर्णजी ११ बजे पुग्यौँ लुभ्रमा । प्रतिव्यक्ति युरो ८, ५० को दरले टिकट काट्यौ । एक घन्टा पङ्क्तिबद्ध भई उभिएपछि मात्र टिकट हात परयो।

पेरिस शहरको बीचबाट बगेर शहरलाई सुन्दर बनाउने प्रसिद्ध सेन नदीको किनारमा अवस्थित छ लुभ्र सङ्ग्रहालय । सङ्ग्रहालय प्रवेशद्वारमा शिशाको पिरामिडले सुन्दर बनाइएको छ । विभिन्न चोकमा विभाजित र विश्वका सबै पक्षहरूको सङ्ग्रह गरिएको यो सङ्ग्रहालय विश्वकै प्रसिद्ध सङ्ग्रहालयमध्ये एक हो । सङ्ग्रहालयका सबै सामग्रीहको अवलोकन राम्रोसँग गर्ने हो भने पाँच दिन पनि अपर्याप्त हुन्छ ।

विश्वप्रसिद्ध कलाकार लियोनार्दो दा भिन्चीद्वारा  रचित विश्वप्रसिद्ध चित्रकला हेर्ने औधी धोको थियो मेरो । हामी सीधै चित्रकला–कक्षतिर लाग्यौँ । यसै पनि लुभ्रका भित्ता, सिलिङ सबै चित्रहरूद्वारा सुसज्जित छ ।  त्यसमा पनि चित्रकला–कक्षमा असंख्य चित्र सङ्गृहीत छन् । त्यहाँ तेह्रौदेखि उन्नाइसौँ शताब्दीसम्मका चित्रहरूको ठूलो भण्डार छ । ती चित्रहरू मुख्यतः तीन किसिमका विचारधारा वा शैलीबाट प्रभावित भएर रचिएको पाइयो । एउटा – फ्रान्सेली , दोस्रो – इटाली   र स्पेनिस  र तेस्रो –उत्तरी युरोपेली – जर्मन, फ्लेमिश  र डच शैली । भित्तामा राखिएका ती चित्रहरू जत्ति हेरे पनि अघाइँदैन।

कला अभिव्यक्त गर्ने सम्बन्ध दुई किसिमका धारणा पाइन्छ । पहिलो – कला स्पष्ट हुनुपर्दछ, त्यो सर्वाङ्ग खुलेको हुुनुपर्दछ । कलामा कुनै पनि कुरा लुक्नु हुँदैन । नग्नतामै सौन्दर्य हुन्छ । सुन्दरतालाई नाङ्गो रूपमा हेर्नुपर्दछ र कलामा पनि नाङ्गोपन अभिव्यक्त हुनुपर्दछ । दोस्रो – कलाको सौन्दर्य अमूर्ततामा हुन्छ । सीधै देखिने कलाको कुनै महत्व हुँदैन । लुकेको सौन्दर्य कलामा अमूर्त रूपमा प्रकट गरिएको हुनुपर्दछ । लुभ्रमा रहेका अधिकांश कला पहिलो विचारधाराबाट प्रभावित भएर तयार गरिएको पाइयो । महिला तथा पुरुषका नग्न शरीर सौन्दर्यपूर्ण ढङ्गले अभिव्यक्त चित्रहरू र मूर्तिहरू अत्यधिक छन् लुभ्रमा ।

मोनालिसा भने नांगी छैनन् । मोनालिसा राखिएको कक्षमा छिचोल्न गाह्रो पर्ने गरी मान्छेको भीड थियो । सुरक्षाका लागि पोशाक (युनिफर्म) तथा सादा पोशाकमा प्रशस्त सुरक्षाकर्मी तैनाथ गरिएका । भीड छिचोल्दै पुगेँ म मोनालिसाको अघिल्तिर । लियोनार्दो दा भिन्चीद्वारा रचित त्यस चित्रमा रहेको जीवन्तता नियलिरहेँ मैले  झन्डै आधा घण्टासम्म । मोनालिसा हरेक दिन भिन्चीको सामु जान्थिन् र घण्टौँसम्म अगाडि बसिरहन्थिन् । लियोनार्दो उनलाई हेर्दै चित्र तयार पार्थे । तीन वर्षको कठोर साधनापछि मात्र मोनालिसाको चित्र तयार भयो । त्यस चित्रमा मोनालिसाको रहस्यमय मुस्कान र विचित्र ढंगले लट्ठिएका आँखालाई विशेष रूपमा हेर्न सकिन्छ । मोनालिसालाई नियालिरहेँ । मोनालिसा चित्रमा बोलिरहेकी थिइन् । उनी हरेकका आँखालाई आँखा दिन सफल थिइन् । उनमा पीर थियो, वेदना थियो वा उनी खुसी थिइन् । केही भनिन् उनले । एक हातमाथि अर्को हात राखेकी, साधारण र शालीन परिधानमा सजिएकी, एक रौँ पनि खेर नजाने स्वाभाविक कपालमा सजिएकी मोनालिसालाई पिइरहेका थिए मान्छेहरू । प्रेमी र प्रेमिकाको हेराइ खोजिरहेथे कति मान्छेहरू । मान्छेको जीवन, पीर र पुलकमध्ये के पाइन्छ भन्ने खोतलिरहेथे कत्ति मान्छेहरू मोनालिसामा ।

चित्रकार लियोनार्दो दा भिन्ची सन् १४५२ देखि १५१९ सम्म) बाँचिरहेका थिए मोनालिसाको शरीरमा ।  मोनालिसा चित्रबाट जुरुक्क उठेर बोलिरहेकी झैँ लाग्यो  मलाई । उनकै अघिल्तिर बसेर एउटा कविता लेखेँ मैले ‘मोनालिसा’ शीर्षकको । मन मारेर मोनालिसासँग बिदा भएँ । उनीसँग भेट भएकोमा पुलकित भएँ भित्रभित्रै । मोनालिसालाई हृदयले छामेपछि एकाएक एउटा झरक पैदा भयो मेरो मथिङ्गलमा । उनको त्यो अनुपम रूपको स्पर्शमा उनको ‘के राम्रो’ भन्ने पक्षमा निकैबेर चिन्तन गरेँ । आँखा, नाक, कान, कपाल, ओठ, निधार, गाला, शरीर, हात वा परिधानमध्ये के राम्रो भनेर कुनलाई बढी अंक दिने भन्ने निरूपण गर्न सकेन मेरो मस्तिष्कले । मोनालिसाको हरेक राम्रो कुराको कुशल संयोजनको समग्रताले नै मोनालिसालाई अलौकिकतामा स्थापित गरेको छ । व्यष्टिव्यष्टि, सुन्दरताको संयोजनबाट सुन्दरताको समष्टि रूपमा उभिएकी छिन् मोनालिसा । वस्तुलाई प्रत्यक्ष नियाल्दा वस्तु वा पदार्थको सम्पूर्णताबाट मात्र वास्तविक स्वरूप अवगत हुन्छ भन्ने जर्मनहरूले प्रतिपादन गरेको ‘गेस्टाल्ट’ नामको सिद्धान्त सम्झनामा झुल्क्यो । सम्पूर्णताको एउटै सौन्दर्यशाली संयोजनले गर्दा नै मोनालिसा मोनालिसा कहलिन समर्थ भइन् र हुनेछिन् । मोनालिसाको अत्यन्त शक्तिशाली सौन्दर्यको रहस्य पनि ‘गेस्टाल्ट’ बाहेक अरू केही हुनै सक्तैन । सन् १९१२ मा भर्दिमरले “कुनै संवेदनाको यथार्थ प्रत्यक्षीकरण त्यसको सम्पूर्णतामा रहन्छ” भन्ने सत्यता अँगालेर मोनालिसालाई नियाल्दा यथार्थ र सत्य प्रमाणित भयो । धन्य मोनालिसा ! तिमी सागरजस्ती पनि छ्यौ र सागरको पानीको थोपाजस्ती पनि । पानीको हरेक सुन्दर थोपा मिलेर लालित्यपूर्ण ढंगको सागर भई सजिएजस्ती । तिमीभित्र रहेका पानीको हरेक थोपा पिएर पनि अघाइनँ र पूरै समुद्र पिइसक्ता पनि मेरो तिर्खा मरेन । म झन्झन् प्यासी, भोको, उत्तेजित र विचलित बनेँ तिमीलाई देखेर । लुभ्रमा भिन्चीकै ‘अन्तिम रात्रिभोज’ नामको अर्को एउटा चित्र पनि सजिएको छ । जिसस क्राइष्टले आफ्ना शिष्यहरूसँग बसेर भोज खाइरहेको अवस्था त्यस चित्रमा सजीव रूपमा चित्रित गरिएको छ । म हेरेको हेरयै भएँ त्यो चित्र देख्दा ।

मूर्तिकलाको भण्डार पनि छ लुभ्रमा । मूत्तिका, पाषाण र धातुका मूर्तिहरू मानव–सभ्यताकै जीवन्त सौन्दर्य फैलाइरहेछन् । भूमध्यरेखादेखि भारत वर्षसम्मका सभ्यताका सामग्रीहरू  कति छन् कति त्यहाँ । इसापूर्व ७ हजारभन्दा अघिदेखि सुरु भएको मेसोपोटामिया र इरानका सभ्यताका सामग्रीहरू मानव–सभ्यताको सुरुवातदेखिका समान जीवनशैलीको झल्को दिन्छन् । त्यहाँ इजिप्सेली सभ्यताको यथार्थता बुझ्न पर्याप्त मूर्ति र चित्रहरू सङ्गृहीत छन्, सौन्दर्यपूर्ण रूप र चतुरताले विश्वका धेरै मान्छेको मन जित्न सफल रानी क्लियोपाट्राकालका जीवनशैली जुरुक्क उठेर आएका छन् । इसापूर्व तेस्रो शताब्दीदेखि छैटौँ शताब्दीसम्मका ब्रोन्ज , गरगहना, शीशाका भाँडाकुडा, टेराकोटा आदिद्वारा निर्मित नमूनाले ग्रीक र रोमको सभ्यता नजिकबाटै नियाल्न सकिन्छ । सङ्ग्रहालयमा नेपोलियनका गाथा छन्, इस्लामिक कलाको प्रतिनिधित्व छ ।  

लुभ्रमा रहेका चित्र, मूर्ति र अन्य सामग्रीहरूले तात्कालिक जनजीवनको प्रतिनिधित्व गरेका छन् । अधिकांश सिर्जनाहरूमा आमा र सन्ततिको वात्सल्य झल्केको छ । राजा महाराजा र सैनिकहरूले सीधासाधा मान्छेहरूलाई दिएको यातना प्रस्टिएको छ । यौन शोषण, यौन लिप्सा र यौनको महत्व झल्काइएको छ । यौनको शाश्वतता विभिन्न कोणबाट कलाकारहरूले प्राचीन कालदेखि नै अभिव्यक्त गर्दै आएको कुरो छर्लङ्गिन्छ त्यहाँका चित्र र मूर्तिहरू हेरेपछि । बाबुआमालाई साङ्लोले बाँधेर छोरीको अस्मिता लुटिरहेका, आफ्नो अस्मिता लुटिएको वास्ता नगरी सन्ततिप्रतिको वात्सल्यमा होमिएका जस्ता सिर्जनाहरू पनि कम छैनन् त्यहाँ । त्यहाँ चाल्र्स लि ब्रुनको चित्रमा नग्न युवतीहरू यौवनको मैमत्तमा घोडसवार गरिरहेछन्, पियरे मिगनार्डको चित्रमा शोषक सामन्तले युवतीलाई अपहरण गरेर साङ्गलोले बाँधिरहेको देखिन्छ । युवतीको छुटकाराका लागि उनका आफन्तहरू अनुनय–विनय गर्दै छन् । बामे सर्ने बालक साङ्गलोबाट युवतीलाई छुटाउने प्रयास गर्दै छन् । एन्टोनियो क्यानलको शहरको सुन्दरता र पानीको सौन्दर्य, होरेस भर्नेटको युद्धको विभीषिका र सत्ताको ज्यादती आदिमा आँखा गाडिएपछि आँखा अन्यत्र मोडिन चाहँदैन, मन अरू विषयसँग मितेरी लगाउन मान्दैन ।

माइकेल एन्जेलोका मूर्तिहरू बोलाइबाटभन्दा पनि मौन रूपमै जीवनबारे धेरै कुरा अभिव्यक्त गरिरहेका छन् । महिला र पुरुष सबै नाङ्गा छन् सङ्ग्रहालयमा सङ्कलित धेरै सिर्जनामा । नाङ्गोबाट सौन्दर्य प्रस्तुत गर्न सक्षम छन् पश्चिमेली कलाकारहरू । त्यसो त युरोपको हरेक शहर, चोकगल्ली जहाँ पनि नाङ्गा मूर्तिहरू बग्रेल्ती छन् । “नग्नता लुकाउने होइन । नग्नता हेर्ने र छाम्ने हो” उनीहरू विचार पोख्दछन् । जीवनको वास्तविकता नग्न रूपबाटै बुझिने पक्षमा छन् उनीहरू । ती नाङ्गा चित्र, मूर्ति र अन्य सिर्जनाहरूका माझ धेरै तस्बीर खिच्यौँ हामीले ।

सङ्ग्रहालयको जुनसुकै कक्षमा पनि विश्वका विभिन्न भागबाट आएका पर्यटकहरू खचाखच थिए । बाहिर पानी परिरहेकोले बाहिर घुम्नुभन्दा सङ्ग्रहालयको अवलोकन गर्नु नै हाम्रो लागि उपयुक्त थियो । युवा र युवती मात्र होइन कतिपय अधबैंसे र बूढाबूढीका जोडीहरू पनि सङ्ग्रहालयको सिर्जना हेर्दै आपसमा चुम्बन गरिरहेका यत्रतत्र देखिन्थे । बेल्जियमकी युवती पास्कल  र फ्रान्सेली युवती नथली सङ्ग्रहालयको अवलोकन धेरै समय मसँगै हिँडे । पास्कल सरकारी कार्यालयमा काम गर्थिन् र नथली साहित्यमा सौन्दर्य विषयमा विद्यावारिधि गर्दै थिइन् । तिनीहरू दुवै मसँग साहित्य र कलाको विषयमा छलफल गर्दै देखिएका सिर्जनाहरूलाई विभिन्न कोणबाट नियाल्न प्रयास गर्थे । “नग्नतालाई उच्छृङ्खलताकै रूपमा बढी मात्रामा लिने चलन छ पूर्वीय दर्शनमा” – मेरो भनाइ थियो ।

“मान्छे भन्नु नै कपडा पहिरेको नाङ्गो प्राणी हो, जन्मँदा नाङ्गै जन्मन्छ, अरु कुनै प्राणी पनि परिधानमा सजिँदैनन् । त्यसैले यथार्थता नग्नतामा हुन्छ, त्यसैलाई महŒव दिइनुपर्छ ।” पास्कल र नथलीको एकमत थियो । हो हामी पूर्वीयहरू पारदर्शी हुन सकेनौँ । भित्रभित्र विकृति पालेर बाहिरबाहिर सुन्दरताको लेप घसिरह्यौँ । त्यसैले हामी यथार्थताभन्दा औपचारिकतातर्फ बढी होमियौँ । हाम्रो गति मत्थर भयो त्यही औपचारिकता जोगाउनुमै केन्द्रित हुँदा ।

सङ्ग्रहालयबाट ४ बजे बाहिरिने सल्लाह भएको थियो जनार्दनजी र उद्धवजीसँग । उहाँहरू हामीलाई लिन त्यतिवेलादेखि नै कुरिरहनुभएको रहेछ लुभ्र सङ्ग्रहालयअगाडि । कर्णजी र म सङ्ग्रहालय हेर्दा लट्ठ परेका थियौँ । समय गएको पत्तै भएन । साँझ ६ बजे झसक्क झस्क्यौ । हामी बाहिर निस्कँदा कुर्दाकुर्दै थाकेर बसिरहनुभएको थियो उहाँहरू । प्रतीक्षाको प्रत्येक घडी हरेक मान्छेका लागि भालुकाँडामाथि नाङ्गा पाइताला नाच्नु सरह हुन्छ । उहाँहरूको अँध्यारोमा कालो जालो थियो, अधैर्यको दूरी थियो । ‘धेरै बेर कुरायौँ, माफ गर्नुहोला – मेरो वाक्यले उहाँहरूलाई अझ घोच्यो सायद । उहाँहरूको मौनता हामीमा अझ पीडाको उग्रज बनेर उभियो ।

दिउँसो लुभ्र सङ्ग्रहालयभित्रै रहेको रेस्टुरेन्टमा खाजा खायौँ । दुईवटा डोनट र एक कप कफी खाएकोमा युरो ११.६० (झन्डै रु. १२००) भुक्तानी गरेँ मैले । कर्णजीले पनि त्यतिकै भुक्तानी गर्नुभयो ।

साँझ बेनलक्स नामको चिनिया सुपर मार्केटमा केहीबेर घुमफिर गरयौं । सामानहरू असाध्यै महँगा ।  

दिनभर सिमसिम पानी परिरह्यो पेरिसमा । बेलुकाको खाना काउन्सेल निरञ्जनमानसिंह बस्नेतज्यूकहाँ खाइयो । जनार्दनजीहरू राजदूतको निवासमा बस्नुभएको थियो । राणा खानखान र उच्च घरानिया परम्परामा भिज्न नसक्दा त्यहाँ बस्न अप्ठेरो भयो भन्दै हुनुहुन्थ्यो उहाँहरू । हरेक क्षण औपचारिकता र हरेक क्षण नोकरचाकरप्रति निर्भरताजस्तो परम्परामा बाँच्न गाह्रै हुन्छ सर्वसाधारणलाई । हुन पनि सुत्ने कोठाबाट बैठककोठासम्म जाँदा सवारी चल्थ्यो, सुत्दा सुकला हुन्थ्यो र खाँदा भुजा ज्यूनार हुन्थ्यो । खाना पस्केका थाल र रिकापीहरू केटाकेटीका ठूला खेलौना जस्ता गाडीमा गुडेर टेबलसम्म आइपुग्थे । बोल्दा अदबसाथ आवाज निकाल्नुपर्ने, साँझबिहान कोठामा बस्दा पनि मर्यादाक्रम भंग गर्न नमिल्ने, आइस्योस्, सवार होस्, मर्जी होस्जस्ता शब्दहरूमा तलमाथि पर्न नहुनेजस्ता आनीबानी हामीजस्ताका लागि अँगालोको माया, भँगालोको पानी सावित भइरहेथ्यो ।

प्रकाशित: २६ पुस २०७७ ०७:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App