लता केसी
तीनवटा दाजुपछि म बुबाआमाको तेलिया सन्तान थिएँ । सबैले भाग्यमानी हुन्छे , यो छोरी भन्थे । नभन्दै मलाई माइत बसुञ्जेल कुनै कुराको दुख भएन। गाँउको हरियो प्रकृति र बुवाको प्रशस्त सम्पत्तिमा म कान्छी छोरी भएँ , लाडप्यारमै हुर्किएँ ।
छोरीको जात , बिहे गरेर घर खानुपर्ने , मेरो बिहे शहरमा एक व्यापारीसंग भयो । सामान्य काम पनि नगरी हुर्किएकी म , व्यवहार गर्न नजान्दा सासूले टोक्नु हुन्थ्यो – आफ्नो घरको संस्कार सिक बुहारी , छोरीले घरमै रमाएको राम्रो तर म जहिले मेरो माइती यस्तो र उस्तो भनेर धाक देखाउथेँ ।
समयको अन्तरालमा कोरोनाको कारणले व्यापारमा मन्दी चल्यो । आम्दानीको स्रोत सुक्दै गयो। बाँच्नै कठिन हुन थाल्यो । मैले बूढासँग भनेँ – शहर छाडेर हामी अब गाउँ पसौँ । बुबासंग अलिकति जमिन मागौँ । यताको सबै बेचेर उतै घर बनाऔँ । कुटो –कोदालो गरेर जीवन धानौँ , हुन्न र।
बाध्यतामा परेका उनले मुस्किलले कुरा खाए। उनको समर्थनले मभित्र खुसीको आँधीबेरी चल्यो । माइती अनि बालापन संझिएँ । त्यत्रा जमिनका मालिक मेरा बुवा , आश गरेरै तुरुन्तै फोन गरेँ – हेलो बुवा , हामी शहरमा निस्सासियौँ । अब त्यतै आउने भयौं । हजुरले अलिकति घडेरी दिस्यो है ।
बुबाले लामो सुस्केरा ताने र भने – छोरी , तेरा दाजुहरूले जमिनकै लागि वैमनस्य मोले , छुट्टपुट्ट भए । गरिखाऊन् भनेर सबै जमिन बाँडफाँड गरिदिएँ । उनीहरूले भाउजूहरूको नाममा नामसारी गरेका छन् ।
एकाएक मेरो अनुहारमा औंसी छायो । गहभरि आँसु देखेर बूढाले भन्नुभयो – म मरेको छैन बूढी , मन अमिलो नपार । परिवार पाल्ने औकात मैले अझै गुमाइसकेको छैन ।
प्रकाशित: २६ पुस २०७७ ०५:१६ आइतबार