प्रेम पुन मगर
सोम सरको एक जना मात्रै नाति थियो । आज उही प्यारो नातिको जन्म उत्सव थियो। पोखरा जागिरे छोराबुहारीले उक्त कार्यक्रमको तैयारी गरेका थिए।
हतारहतार पाँच बजे नै छोरोको फोन आयो।
– बुवा कहाँ आइपुग्नुभयो ? छिटो गरेर आउनुहोस् यताको पूरा तयारी भइसक्यो।
– छोरा दुख नमान है। म यसपटक पनि आउन नसक्ने भएँ। राम्रोसँग नातिको जन्मदिन समारोह सफल पार्नु। आउँदो साल अवस्य आउने छु।
– बुवा हरेक साल यसै भनेर टार्नुहुन्छ। तपाइँलाई आफ्नो सन्तानको माया छैन। हजुर जस्तो बुवा हुनुभन्दा नहुनु बेस्।
गाउँमा एक्लै रहनुभएका र अकस्मात सिकिस्त र बेहोस हुनुभएका वृद्ध बुवालाई हस्पिटल लैजादै थिए। उनले छोराको कुरा सुनिरहे मात्र केही बोलेनन्।
प्रकाशित: २६ पुस २०७७ ०४:४५ आइतबार