२२ फाल्गुन २०७७ शनिबार
कला

तेह्रथुमको ढाका

तेह्रथुम सरदमुकाम म्याङलुङस्थित ‘उज्वलता ढाका कपडा उद्योग’को बिक्री केन्द्रमा विभिन्न डिजाइनका ढाकाका कपडा सजिएका छन्। विभिन्न मूल्यका यी कपडा किन्ने ग्राहक पनि उत्तिकै छन्।  

अघिल्लो साता यहाँ ढाकाको कुर्ता रोज्दै गरेकी तेह्रथुम आठराई गाउँपालिकाकी २२ वर्षीया सोनी लिम्बुले भनिन्, ‘मलाई ढाकाको कपडा मनपर्छ।’ उज्वलता उद्योगकी सञ्चालक ६० वर्षीया उज्वलता सुब्बाका अनुसार, पछिल्लो समय सदरमुकामकै पसलमा ढाका कपडा बिक्री हुने गरेको छ। पहिले यहाँ उत्पादित ढाका कपडा काठमाडौं पठाउने गरेको उनले सुनाइन्। ‘अचेल त गाउँ–गाउँमा उत्पादन भएका ढाकाका सामग्री समेत बेच्नका लागि यहाँ राखिदिने गरेका छौँ,’ उनले भनिन्।  

उज्वलता अगुवा ढाका उद्योग व्यवसायी हुन्। उनले ढाका बुन्ने तालिम पनि दिन्छिन्, उनले सिकाएकाहरू देश–विदेशमा छरिएका छन्। ‘मैले मान्छे राखेर २०४५ सालदेखि काम थालेको हो। हामी कपडा बनाएर धनकुटासम्म बोकेर लैजान्थ्यौँ,’ उनी भन्छिन्, ‘यहाँ ढाका बुन्न जान्नेहरू बिहे गरेर विभिन्न ठाउँ पुगेका छन्।’

‘हामीले रंगिचंगी स्कार्फसँगै विभिन्न डिजाइनका कपडा तयार गर्न थाल्यौँ,’ उज्वलता भन्छिन्, ‘मैले मान्छे राखेर २०४५ सालदेखि काम थालेको हो। हामी कपडा बनाएर धनकुटासम्म बोकेर लैजान्थ्यौँ।’

उज्वलताले ११–१२ वर्षको उमेरदेखि आमाबाट कपडा बुन्न सिकेकी हुन्। उनका आमाहरूले खाँडीका कपडा बुन्थे। अहिले रेडिमेड धागो आउँछ। ‘२०३५ सालतिर एउटी विदेशी महिला आएर हामीलाई पाँच वर्षजति सिकाइन्। हामीले रंगिचंगी स्कार्फसँगै विभिन्न डिजाइनका कपडा तयार गर्न थाल्यौँ,’ उज्वलता भन्छिन्, ‘मैले मान्छे राखेर २०४५ सालदेखि काम थालेको हो। हामी कपडा बनाएर धनकुटासम्म बोकेर लैजान्थ्यौँ।’  

अहिले भने ‘तेह्रथुमे ढाका’को नाम चलेको उनी बताउँछिन्। अन्तै बुनेको ढाकालाई पनि तेह्रथुमको भनेर बेच्ने गरेको आफूले थाहा पाएको उनले सुनाइन्। उनको उद्योगबाट अहिले ढाकाका विभिन्न डिजाइन उत्पादन हुन्छन्। कोराना भाइरसको प्रकोप फैलिएसँगै मास्कको प्रयोग बढ्यो। यही सन्दर्भमा ढाकाकै मास्क उत्पादन गरियो। योसँगै साडी, कुर्ता–सुरुवाल, चौबन्दी चोली, दौरा–सुरुवाल, कोट, झोला टोपी, पर्स लगायत उत्पादन गरिन्छ। ‘ग्राहकको माग अनुसार बनाउँछौँ। सिजन अनुसार बिक्री हुने गर्छ। उपहारको रूपमा बढी लैजाने गरिन्छ,’ उज्जलता भन्छिन्, ‘डिजाइनअनुसार महँगो हुन्छ।’

उज्वलता ढाका उद्योगजस्ता प्रशस्त उद्योग तथा बिक्री केन्द्र रहेका छन्, तेह्रथुम सदरमुकाम म्याङलुङ तथा अन्य ग्रामीण बजारमा। तेह्रथुमको ढाका कोसेलीको रूपमा देश–विदेश पुग्ने गरेका छन्। तेह्रथुममा मात्र होइन, काठमाडौं, विराटनगरजस्ता सहरमा पनि तेह्रथुमको ढाका कपडा भनेर बिक्री गरेको पाइन्छ। तेह्रथुमका गाउँगाउँमा पनि कपडा बनाउन तान राखिएको देखिन्छ। थोरै लगानी गरेर पनि तान जोड्न सकिने भएकाले कतिपयले फुर्सदको समय यता लगाउने गरेका छन्। यहाँका उत्पादन काठमाडौंमा बढी जाने गर्छ। तेह्रथुमका छिमेकी जिल्लामा पनि ढाका उद्योग बाक्लो गरी खुलेका छन्।  

ढाका उद्योगमा काम गर्नेहरूले राम्रै आम्दानी गर्छन्। ‘मैले यहीँ आएर सिकेर बुन्न थालेको १५ वर्ष भयो। जति कपडा बुन्न सक्यो, उति आम्दानी बढ्ने हो, महिनामा १८ देखि २० हजारसम्म आम्दानी गर्छु,’ ताप्लेजुङ घर भए पनि तेह्रथुममा बसेर ढाका उद्योगमा काम गरिरहेकी फूलमाया तामाङले भनिन्।

तामाङले जस्तै विभिन्न ठाउँबाट सदरमुकाम आएकाको आयआर्जनको बाटो समेत बनेको छ, ढाका उद्योग। छोराछोरी पढाउन तथा रोजगारीका लागि सदरमुकाममा आएका महिला ढाका उद्योगमा काम गर्छन्।  

दुई वर्ष अघिदेखि तानमा कपडा बुन्ने काम गरिरहेकी विमला तामाङले पनि बच्चा पढाउन तथा परिवार चलाउन सहयोग पुगेको बताइन्। उनका अनुसार डिजाइन पाएपछि बुन्ने गरिन्छ। ‘डिजाइन र धागो दिनुहुन्छ। हामी बुनेर ज्याला लिन्छौँ,’ उनले भनिन्।  

तेह्रथुमको मोराहाङमा घर भई सदरमुकाम बसेर ढाका कपडा बनाउने गरिरहेकी मनकुमारी विक भन्छिन्, ‘प्रायः सबैथोक बुन्न आउँछ। राम्रै छ भन्नुपर्‍यो नि।’  

यी महिलाले दैनिक मेहनत गरेर उत्पादन गरेका कपडा ठुल्ठूला महलमा मात्र सजिएका छैनन्, ख्यातिप्राप्त व्यक्तिले पनि प्रयोग गरिरहेका छन्। आफूले उत्पादन गरेको सामग्री देश–विदेशका पुगेको सुन्दा खुसी लाग्ने गरेको मनकुमारी बताउँछिन्।

राज्यले ढाका कपडाको प्रवद्र्धनमा जोड दिनुपर्ने यहाँका उद्योग सञ्चालक तथा कमदार बताउँछन्। ‘मैले २०५९ सालदेखि ढाकाको काम गरेको छु। मुख्य कुरा सरकारले संरक्षण गर्ने काम गरेको छैन। घरेलु उत्पादनलाई प्रोत्साहन गर्नुपर्ने देखिन्छ,’ म्याग्लुङका व्यवसायी कालीबहादुर फुदुङ भन्छन्, ‘अनिवार्य पोसाकको रूपमा यहाँको उत्पादनलाई राख्न पाए व्यापार बढ्थ्यो, थप व्यवसायीकरण गर्न सरकारी तबरले सोच्नुपर्छ।’

ढाकाको राजधानी

तेह्रथुमे ढाका भनेको वर्तमानको आधुनिक नाम रहेको तेह्रथुमे ढाका एसोसिएसनका अध्यक्ष रामसिंह आले बताउँछन्। ‘पुरानो हिसाबले हेर्दा यहाँका आदिवासी जनजाति आमादिदी बैनीले बुन्ने सीपलाई आधुनिकीकरण गरेर यहाँसम्म ल्याइएको हो,’ उनले भने, ‘बेलायती एकजना भोलेन्टियर सुसी डान्समोरले यहाँका दिदीबैनीको सीपलाई बजारीकरण गर्न सहयोग गर्नुभयो। उहाँले यहाँको धागोको ठाउँमा भारतबाट धागो ल्याएर युरोपको बजारमा बिक्रीयोग्य बनाउने काम गर्नुभयो।’

तेह्रथुमलाई ढाकाको राजधानीका रूपमा मान्ने गरेको उनले सुनाए। ‘करिब १० हजार जनाले यहाँ तान्न बुन्नुहुन्छ। यहाँको सीप विभिन्न जिल्लामा पुगेको छ,’ आले भन्छन्, ‘घरेलुमा ५०/६० उद्योग दर्ता छन्। माछा पसल, फेन्सी पसल, जुत्ता बनाउने ठाउँमा पनि ढाकाको तान्न देख्न सक्नुहुन्छ। गाउँगाउँका घरमा तान रहेका छन्।’  

ढाका कपडाको बहुआयामिक प्रयोग भएको देखिन्छ। ढाका कपडालाई आधुनिकतातिर पनि ढल्काउँदै लगिएको छ। विभिन्न ठाउँमा हुने फेसन सो, चलचित्र, म्युजिक भिडियोमा पनि ढाकाका विभिन्न डिजाइनका कपडा प्रयोगमा ल्याएको पाइन्छ।

प्रकाशित: २५ पुस २०७७ ११:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App