coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

आर्थिक समृद्धिमा मौरी

रानी मौरीले फुल पार्ने, भाले मौरीले रानी मौरीसँग समागम गर्ने र कर्मी मौरीले सम्पूर्ण रेखदेखदेखि लिएर कोलोनी सफा गर्ने, पोलेन ल्याउने, खुवाउने, विचरण गर्ने गर्छन्। मौरीहरू आफ्नो जिम्मेवारी समयमा पूरा नगरेको अवस्थामा सम्पूर्ण जीवनचक्रमै असर पर्छ।

विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसका कारण उद्योग व्यवसाय, पर्यटन, वैदेशिक रोजगार आदि प्रभावित बनेका छन्। नेपालीको श्रम बजार खुम्चिएको छ। यस अवस्थामा अर्थतन्त्रलाई चलायमान बनाउन के कस्ता कार्यक्रम ल्याउन सकिन्छ भन्नेबारे बहस भइरहेका छन्। विशेषतः महामारीका कारण विदेशबाट काम छाडेर फर्केका वा विदेश जान नपाएका युवालाई देशमै रोजगारी सिर्जना गर्ने सन्दर्भमा बहस केन्द्रित छ।  

हामीकहाँ आर्थिक उपार्जनका प्रशस्त आधार वा उपाय छन्। आधुनिक उद्योग कलकारखाना नभए पनि कृषि तथा जडिबुटीजन्य उत्पादनबाटै हामीले धेरै आम्दानी गर्न सक्छौँ। परम्परादेखि हामीकहाँ कपास, कपासबाट तयार कपडा, चौँरी गाईको पुच्छर, जडिबुटी, मसला (अदुवा, सोठी), नेपाली कागज, कस्तुरी, सिल्क लगायत ऊनीका सामान, घिउ–तेल, नीर, धुलो सुन, धातु र धातुबाट बनेका वस्तु आदि स्वदेशी उत्पादन हुने गथ्र्यो। त्यस्तै, हात्ती, घोडा, बाज (भाले), भेडा–बाख्रा, राँगो–भैँसी आदि पनि आम्दानीको स्रोत थियो। यस्ता स्वदेशी उत्पादनको निर्यातले देशकोे अर्थतन्त्रलाई सघाउने गथ्र्यो। स्वदेशी उत्पादनमाथि कपास कर, किराना कर, निर्खि कर जस्ता स्थानीय कर लाग्ने गथ्र्यो। भाद्र वदी ९, १८६२ र भाद्र वदी ५, १८७३ को अभिलेखमा ‘निर्खि कर’बाट वि.सं. १८६२ मा १५००१, वि.सं. १८७३ मा १७००१ र वि.संं १८७५ मा १८००१ रकम राजस्व उठेको देखिन्छ, (महेशचन्द्र रेग्मी, अ स्टडी इन् नेपाली इकोनोमिक हिस्ट्री)।  

ती स्वदेशी उत्पादनमध्ये ‘मौरीपालनबाट महको उत्पादन र त्यसबाट मैन’को पनि उत्पादन हुने गथ्र्यो। मैनको निकासी ब्रिटिस भारततिर हुने गरेको देखिन्छ। महबाट उत्पादन हुने मैनको उत्पादनमा आन्तरिक कर लाग्थ्यो। साथै ब्रिटिस भारततिर निकासी हुने मैनमा तराईको नाकामा कर लिने व्यवस्था थियो। त्यसरी लिइने करलाई स्थानीय बोलचालीमा ‘साइर’ कर भन्ने गरिन्थ्यो। यी सन्दर्भले त्यसताका नेपालमा मौरीपालन व्यवसाय फस्टाउनुका साथै मौरीपालनबाट उत्पादित मैन ठूलो मात्रामा निकासी हुने गरेको देखिन्छ। परम्परादेखि हाम्रो स्वदेशी उत्पादनको रूपमा रहेको मौरीपालनलाई आर्थिक समृद्धिका लागि उपयोग गर्नेतिर हाम्रो ध्यान जान आवश्यक छ।  

मह तथा मौरीको उपयोगिता

प्रकृतिको एक अनुपम उपहार मौरीको वैज्ञानिक नाम ‘एपिस’ हो। मौरी फाइदाजनक कीरा वर्गमा पर्छ।  

पहिलेदेखि नै जंगली मौरीको मह काढ्ने (हनी हन्टर) चलन थियो। पहिले मानिसहरू मनोरञ्जनको रूपमा यसलाई लिने गर्थे। स्पेन, दक्षिण अफ्रिका, भारतका विभिन्न गुफामा चित्रण गरिएको भित्ते चित्रकलालाई नियाल्यौँ भने परापूर्वकालदेखि मानव र मौरीको सम्बन्ध रहेको देखिन्छ।  

प्राचीन ग्रन्थमा महको उल्लेख व्यापक रूपमा पाइन्छ। हिन्दूहरूले गर्ने कर्मकाण्डहरूमा महको विशिष्ट स्थान छ। हिन्दू विधिविधान अनुसार जन्मदेखि मृत्युकर्मसम्म महको प्रयोग हुन्छ। आयुर्वेदमा पनि महले महत्वपूर्ण स्थान ओगटेको छ। मानव शरीरको विभिन्न भित्री र बाह्य रोगहरूको निवारणमा आयुर्वेदमा महकोे महत्वपूर्ण भूमिका रहेको छ।  

महमा अन्तर्निहित औषधियुक्त गुणका कारण यसको उपयोग भएको पाइन्छ। महको महत्व जति छ, त्यति नै महबाट निस्किएको मैनको पनि महत्व छ। औषधि, व्यापार र उद्योगमा मैनको प्रयोग हुने गर्छ। चिल्लो र नरम पदार्थबाट मौरीले आफ्नो चाका बनाउँछ। यसबाट बत्ती (मैनबत्ती) बनाउने गरिन्छ। मैनबाट बनेको बत्तीले हल्का र शीतल प्रकाश दिन्छ। प्राचीनकालमा फारस आदि देशमा उत्सवहरूमा मौरीको मैनबाट बनेको बत्ती बाल्ने बढी चलन थियो। यसका साथै खेलौना र विभिन्न साँचा (माउल्ड)हरू बनाउने काममा पनि मैनको प्रयोग हुने गर्छ।  

त्यस्तै, मैनलाई सौन्र्दयका सामग्री लगायत चिसोबाट बच्न, छाला नरम बनाउन एवं घरायसी साबुनहरू बनाउन पनि प्रयोग गर्न सकिन्छ।

मौरीपालनबाट मह, मैन, रोयल जेली, प्रोपोलिस उत्पादनसँगै मौरीको टोकाइको विषबाट धेरै फाइदा लिन सकिन्छ। मौरीले प्राकृतिक रूपले वनस्पति तथा खाद्यबालीमा परागसेचनमा प्रत्यक्ष सहयोग पु¥याउँछ। यसले आर्थिक सबलता ल्याउनुका साथै कृषि क्षेत्रलाई पनि उत्तिकै सहयोग गर्छ। मौरीको विषमा रासायनिक पदार्थहरू उपस्थिति हुने हुँदा यसलाई ‘एपिथेरापी’को रूपमा पनि प्रयोगमा ल्याएको पाइन्छ। मौरीको पोलेनमा विभिन्न ‘एन्टिअक्सिडेन्ट’ हुने हुँदा विभिन्न रोगसँग लड्ने क्षमतामा वृद्धि गर्छ। ‘रोयल जेली’ले ‘ट्युमर’जस्ता रोगलाई कम गर्न सहयोग पुर्‍याउने विभिन्न अध्ययनले देखाएको छ। ‘प्रोपोलिस’मा ‘एन्टिब्याक्टेरियल’, ‘एन्टिभाइरल’, ‘एन्टिफन्गल’ पदार्थ पाइने हुँदा यसलाई घाउ निको पार्ने काममा प्रयोग गरेको पाइन्छ। ‘क्यान्सर’को उपचारमा पनि यसको प्रयोगको विषयमा अनुसन्धान भइरहेका छन्।  

व्यावसायिक मौरीपालन  

मौरीहरू प्रकृतिमै बस्ने र रमाउने भए पनि मानिसले मौरीलाई वातानुकूल घार निर्माण गरी परापूर्व कालदेखि पाल्दै आएको पाइन्छ। समयको अन्तरालसँगै मौरीपालन गर्ने तरिका, आवश्यकता र उपयोगितामा फरक आएको छ।

‘मौरीपालन’ भन्नाले विशेषतः मौरीको व्यवस्थित रूपमा पालन भन्ने बुझिन्छ। विश्वमा सन् १५६८ मा रानी मौरी बनाउनमा सफलता मिलेको थियो। मौरीपालनको सफलतामा यो पहिलो खुट्किलो थियो। सन् १८०६ मा ‘कोम्ब हाइभ’ निर्माण भयो भने सन् १८५१ मा लोरेन्जो ल्याङस्टोर्थले ‘बी स्पेस’ पत्ता लगाएका थिए। यसबाट मौरीपालनमा व्यावसायिक रूपमा प्रगति हुन थालेको हो। अहिले २१औँ शताब्दीमा विकसित मौरीपालनले फड्को मारेको छ। हाल विश्वमा धेरै प्रकारका घारमा मौरीपालन गरेको पाइन्छ। तीमध्ये ‘ल्याङस्टोर्थ’, ‘वारे’, ‘टप बार’, ‘न्युटन बी हाइभ’ आदि धेरै प्रयोगमा आएका घार हुन्।  

नेपालको पहाडी भेकका गाउँघरतिर केही दशक अघिसम्म धेरैजसो घरमा एक–दुईवटा भए पनि परम्परागत मुढेघार राखेर मौरीपालन गर्ने चलन थियो। कहीँकहीँ त व्यावसायिक रूपमा ४०–५० मुढे घार राखी मौरीपालन गर्ने गरिन्थ्यो। कहीँकहीँ अहिले पनि मुढेघारमा मौरीपालन गरेको देख्न पाइन्छ। पछिल्लो समय भने विकासे घार राखेर आधुनिक मौरीपालन गर्ने क्रम बढेको पाइन्छ। नेपालमा मुख्यतया पाँच प्रकारका मौरी पाइन्छन्। ‘भीर मौरी’, ‘कठ्यौरी मौरी’, ‘एसियाटिक मौरी’, ‘जाइन्ट मौरी’ यहाँका रैथाने मौरी हुन्। ‘कठ्यौरी मौरी’ समुद्र सतहदेखि ८५० मिटर उचाइसम्म पाइन्छ भने अन्य मौरी समुद्र सतहदेखि ३५०० मिटर उचाइसम्म पाइन्छन्। ‘एपिस सेराना’ (एसियन), ‘एपिस मेलिफेरा’ (युरोपियन), ‘एपिस ल्याबोरिसा’, ‘एपिस डोर्साटा’, ‘एपिस फ्लोरिया’मध्ये ‘एपिस सेराना’ रैथाने हो।

‘एपिस मेलिफेरा’ युरोपबाट आयात गरिएकोे प्रजाति हो। ‘एपिस डोर्साटा’, ‘एपिस ल्याबोरिसा’ प्रजातिका मौरीको मह औषधिका लागि प्रयोग गरिन्छ। अहिले वातावरणीय प्रतिकूलताका कारण यिनीहरूको संख्या कम हुँदै गएको छ। अन्य प्रजाति जंगली भए पनि ‘सेराना’ र ‘मेलिफेरा’लाई मौरीपालनमा प्रयोग गरेको पाइन्छ।  

मौरीलाई हाल धेरैजसो आधुनिक घारमा पाल्ने गरिन्छ। यिनीहरू व्यवस्थित प्रकारको हाइभमा कोलोनी बनाएर बस्छन्। एउटा कोलोनीमा तीन कास्टको रूपमा रानी मौरी, भालेमौरी र कर्मी मौरीहरू सामाजिक रूपमा मिलेर आफ्नो कार्य गर्छन्। रानी मौरी आकारमा सबैभन्दा ठूलो र अलि लामो हुन्छ भने कर्मी मौरीहरू सबैभन्दा साना र सबैभन्दा धेरै संख्यामा हुन्छन्। भाले मौरी अलि कालो र कर्मी मौरीभन्दा अलि ठूलो हुन्छ। सबै मौरी एक–अर्कामा भर पर्ने हुँदा आफ्नो कार्यमा आफैँ जिम्मेवार हुने गरेको पाइन्छ, जसले मौरीको जीवनचक्र सहज रूपले अगाडि बढेको हुन्छ। रानी मौरीले फुल पार्ने, भाले मौरीले रानी मौरीसँग समागम गर्ने र कर्मी मौरीले सम्पूर्ण रेखदेखदेखि लिएर कोलोनी सफा गर्ने, पोलेन ल्याउने, खुवाउने, विचरण गर्ने गर्छन्। 

मौरीहरू आफ्नो जिम्मेवारी समयमा पूरा नगरेको अवस्थामा सम्पूर्ण जीवनचक्रमै असर पर्छ। यिनीहरूमा ‘चुइङ’ र ‘ल्यापिङ’ प्रकारको ‘माउथ पार्ट’ हुन्छ। यिनीहरूमा ‘वाक्स ग्याल्ड’ पाइन्छ, जसले मैन निकाल्ने गर्छ। मौरीमा कम्प्लेक्स प्रकारको बच्चादेखि वयस्क हुने प्रक्रिया (मेटामोर्फोसिस) हुनाले पहिले अण्डाबाट ‘लार्भा’, त्यसपछि ‘प्युपा’ र ‘वयस्क’ बन्ने गर्छ। जीवनचक्रको दौरानमा भाले मौरी र रानी मौरीको हावामा समागम भएपछि भाले मौरी मर्ने गर्दछ, त्यसपछि रानी मौरीले सेलहरूमा फुल पार्ने गर्छ। दैनिक एउटा रानी मौरीले सयदेखि दुई सयवटा फुल पार्छ। फुल लार्भा, प्युपा हुँदै एउटा रानी मौरी, वयस्क भाले मौरी र कर्मी मौरीको रूपमा विकसित हुन्छन्। सामान्यतः एउटा वयस्क रानी मौरी बन्न १३ दिन, भाले मौरी बन्न २१ दिन र कर्मी मौरी बन्न १८ दिन लाग्छ।  

रैथाने र आयातीत मौरी

व्यावसायिक मौरीपालन २०२५ सालतिर मात्र सुरु भए पनि जंगली मौरीहरूको सिकार खेल्ने चलन नेपालमा पहिलेदेखि नै रहिआएको थियो। ‘एपिस मेलिफेरा’ युरोपबाट मौरीपालनका लागि २०५२/५३ तिर आयातीत गरिएको प्रजाति हो। ‘मेलिफेरा’को पालनसँगै मौरीपालनले केही गति लिएको मान्न सकिन्छ। हाल नेपालमा ‘एपिस सेराना’ र ‘मेलिफेरा’लाई पालन गर्दै आएको पाइन्छ भने अरू मौरी प्राकृतिक रूपमा जंगलमा पाइन्छन्। रैथाने ‘एपिस सेराना’ मौरी नेपालका विभिन्न भागमा पालिन्छ। यो ‘मेलिफेरा’ मौरीभन्दा अलि बलियो प्रजातिको मानिन्छ। नेपालका धेरैजसो पहाडी क्षेत्रमा पहिलेदेखि नै यसको पालन गर्दै आइएको छ भने आयातीत ‘मेलिफेरा’ प्रजाति तराईका जिल्लामा धेरै पालिएको पाइन्छ। ‘सेराना’ मौरीभन्दा ‘मेलिफेरा’ मौरीको मह उत्पादन अलि धेरै हुने भए पनि ‘सेराना’ प्रजाति केही बलियो मानिन्छ।  

मौरीपालनबाट परागसेचन, मह, मैन, पराग, प्रोपोलिसहरूबाट फाइदा लिन सकिन्छ। नेपालमा अहिले विभिन्न जिल्लामा पकेट क्षेत्रको स्थापना गरी मौरीपालन गरिएको छ। यसबाट कृषकले आर्थिक लाभ लिनुका साथै वातावरणीय प्रक्रिया परागसेचनमा पनि योगदान पुगिरहेको छ। आधुनिक घारहरूको विकाससँगै नेपालमा आधुनिक घारको प्रयोगमा वृद्धि हुँदा परम्परागत घार लोप हुने अवस्थामा छ।  

नेपालको भौगोलिक विविधता, वातावरणीय अनुकुलता, मौसम, वनस्पति, खाद्यान्न बालीका कारण मौरीपालनको सम्भावना प्रशस्त छ। सानो लगानीले ठूलो आम्दानी लिन सकिने हुँदा यसको महत्व धेरै छ। मौरीको हेरचाह र पाल्ने तरिकाको जानकारी भएमा सानो पुँजीले मौरीपालन थालनी गर्न सकिन्छ। आफ्नो सानो ठाउँमा पनि व्यवस्थापन गर्न सकिने र मौरीपालनले अन्य कृषि बालीलाई सघाउने हुनाले यसका फाइदा धेरै छन्। तर, हामीले मौरीपालनबाट जति लाभ लिन सक्नुपर्ने हो, त्यति लिन सकेका छैनौँ। विभिन्न सरकारी तथा गैरसरकारी संस्थाले घार बाँड्ने, तालिम दिने गर्दै आएका छन्, जुन प्रभावकारी रूपले अगाडि बढ्न सकेको छैन। केही पकेट क्षेत्रका जिल्लामा कृषकले राम्रो आम्दानी लिए पनि अझ यसलाई व्यवस्थित गर्नुपर्ने देखिन्छ। 

मनग्गे सम्भाव्यता हुँदाहुँदै पनि दक्ष जनशक्ति, तालिम, नयाँ नयाँ प्रविधिको अभाव साथै जैविक विविधतामा कमी, व्यवस्थापनमा कमी, व्यवसायीकरणमा समस्या, बजार अभाव, वन विनाश, कीटनाशकको प्रयोग साथै दुश्मन कीराहरूको प्रभावले मौरीपालनमा बाधा पुर्‍याएको छ। निश्चित मापदण्ड, उचित अनुदानको व्यवस्था, विशेषज्ञ तालिम, बजार व्यवस्थापन, व्यावसायीकरण, महको शुद्धीकरण, महनिहित उद्योग, निर्यातमा जोड आदिमा विशेष ध्यान दिने हो भने हामीले मौरीबाट प्रशस्त आम्दानी गर्न सक्छौँ।  

(पंक्तिकार प्राणीशास्त्र, कीटविज्ञानका विद्यार्थी हुन्)

प्रकाशित: १८ पुस २०७७ ०२:३८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App