८ पुस २०८१ सोमबार
image/svg+xml
कला

कलामा टाइम र स्पेस

कलाकारले जमिनमा खाल्टो खनी ध्यानमग्न बुद्धको मूर्ति गाडिदिएका थिए। एकातिर बम र गोलाकोे थुप्रो कलाको अर्को पाटो थियो। कलाकारले जिउँदो परेवालाई कसेर चारैतिरबाट तनक्क ताने। यसपछि देखिएको परेवाको छटपटीलाई उनले जमिनमा खाल्टो खनी यसैमाथि राखे।

कलाकार गोपाल कलाप्रेमीले सन् २००२ मा ‘इन्स्टलेसन १’ नामक एउटा अचम्मको काम गरे। पहिला हुने गरेको कलाको प्रकृतिभन्दा उनको यो काम सर्वथा अलग थियो। उनको काममा कलाको संयोजन, संगठन, बुनावट र प्रस्तुति पनि परम्पराभन्दा पृथक् थियो। खुला वातावरणमा कलालाई सिर्जना गर्नु (अर्थात् स्टुडियो–आर्टभन्दा फरक), आफ्नो बनिसकेको कलालाई पुनव्र्याख्याका साथ पुनस्र्थापना गर्नु, अक्षरहरूलाई समावेश गर्नु, प्रश्न र उत्तरको प्रक्रियालाई संलग्न गर्नु, ‘साइट–स्फेसिफिक’ प्रकृतिलाई अँगाल्नु आदि–इत्यादि यो कलाको मूल स्वरूप थियो।  

मूलतः यो कलाको सिर्जना–प्रक्रिया यसरी अगाडि बढेको देखिन्छ। काठमाडौंस्थित ओशो तपोवनको अनगिन्ती सिँढीलाई आफ्नो अनुकूलतामा कलाकारले एउटा स्पेस बनाए। अब यो सिँढी नभएर कलाकारको एउटा गतिलो पात्र थियो। जहाँ उनले आफैँले बनाएका दुईवटा मूर्तिलाई स्थापित गरे। पहिले कुनै बेला भिन्दै प्रसंग र भिन्दै उद्देश्य लिएर यी मूर्तिको निर्माण भएको थियो होला। तथापि अहिले अर्कै भूमिकाका साथ कलाकारको यो अर्को दरिलो पात्र भएको छ। यी मूर्ति यसरी उभ्याइदिँदा एउटा व्यक्ति विशेष माथि उक्लँदै गरेको, अनि अर्को तल ओर्लंदै गरेको दृश्यावलोकन हुन्थ्यो। माथिका सिँढीमा आला फूल राखिएको थियो भने तलतिरका सिँढीमा सुकेका फूल। यी आला र सुकेका फूल पनि नयाँ भूमिकाका साथ कलाकारको एक पात्रको रूपमा यहाँ उपस्थित भएका थिए।  

यसरी विविध पात्र संगठित भएपछि अब यो समग्रमा एउटा कला बन्न गएको थियो। विश्वमा विकसित भएको इन्स्टलेसनको अवधारणा अलि पछि व्याख्या गरौँला। तथापि थोरै यसैको अंश बोकेको इन्स्टलेसन स्वरूपमा बनेको यो उनको काममा बनिबनाउ सिँढीको प्रयोग पनि थियो। उनैले बनाएका मूर्ति र कविताको सहभागिता गराइएको थियो। अर्थात् एउटा बनिसकेको कलालाई अझ सशक्त बनाउन उनले कवितालाई पनि संलग्न गराएर कलाको अर्को पाटोलाई उजागर गरेका थिए। खुला वातावरणमा राखिएको यो उनको कला अवलोकन गर्न भावकको ओइरो थपिएपछि भावक र कलाकारबीचको अन्तर–संवाद एउटा अलग्ग कलाको रूपमा दृश्यावलोकन हुन जान्थ्यो।  

तस्बिरमा बाहेक आज त्यो काम कहीँ अस्तित्वमा छैन। यसो हुनु इन्स्टलेसन कलाको प्रकृति हो। इन्स्टलेसन कला अस्थायी हुन्छन्। बनेर निश्चित कालसम्म प्रदर्शित भएपछि यसलाई भताभुंग पारिन्छ। सिँढी अहिले पहिलेकै स्वरूपमा त्यहीँ अवस्थित छ। मूर्ति उठाएर उनले घर लगिसके। कविता सम्भवतः कागजको टुक्रामा सुतेर बसेको होला। अन्तक्र्रियात्मक कन्सेप्चुअल कलाको प्रवृत्तिमा बनेको यो उनको काम प्रक्रियागत उनैको प्रश्न र उनैको उत्तरका साथ अगाडि बढेको थियो। अनौठो प्रश्न थियो, ‘भन को बुद्ध हो र को भिकारी हो ? पुनः यो प्रश्नको उत्तर उनी आफैँ दिन्छन्, कविताको हरफहरूमा।

प्रिय कुमुदिनी

अंकरण तिमीलाई  

एउटा भ¥याङ त्यहाँ मन्दिरसम्म पुग्ने  

भिक्षा माग्दै दुईजना मागेर खानेहरू  

उस्तै चिवरमा  

उस्तै भिक्षा पात्र लिएर  

एउटै खुड्किलामा  

वश  

एकजना चड्दैछ  

अर्को ओर्लंदैछ  

एकजना सबै त्यागेर चढ्दैछ  

अर्को सबै पाउन ओर्लंदै छ।

स्पेस र टाइमको स्पष्ट रूपमा प्रयोग भएको गोपाल कलापे्रमीको यो कामको त्यसबखत खासै चर्चा भएन। यो कामबारे केही छोटो अभिलेखीकरण भयो र पुस्तकमा थन्किएर रह्यो। तर, आज यही प्रकृतिका काम गर्ने युवा कलाकारको ठूलो जमात देख्दा यो कामले कस्तो भूमिका खेलेछ, सहजै अन्दाज गर्न सकिन्छ। मूलतः गोपाल कलापे्रमी आधुनिक मूर्तिकार हुन्। माटोसँग खेल्ने यी कलाकारले सयौँ मात्रामा मूर्ति निर्माण गरेका छन्। मूर्त–अमूर्त यति विविध स्वरूपमा कला बनाएका होलान्, सम्भवतः उनले जति यसरी माटोलाई खेलाएर मूर्ति बनाउने नेपालमा अर्को भेट्न गाह्रो छ। पछिल्लो कालमा आएर उनले उत्तर–आधुनिक कलाका उत्कृष्ट काम गरेर यो प्रवृत्तिलाई निकै उचाइमा पुर्‍याइदिएका थिए। सन् १९९५ मै इन्स्टलेसन र पर्फर्मेन्स कला बनाएका कलाप्रेमीले सम्भवतः नेपालमा पहिलोपल्ट यो कलाको प्रवृत्तिलाई स्थायित्व प्रदान गरेका थिए। यसपछि उनले कलाका धेरै विधामा प्रवेश गर्दै अनेकौँ प्रकारका कला अन्तर्राष्ट्रिय रूपमा पुर्‍याएका छन्। ‘गोदना गोडिएका साँढेहरू’ भनेर मस्कुलिजम्को सवाललाई उठाइएको उनको एउटा अलग्ग एकल कला प्रदर्शनीको सन्दर्भ अझ ठूलै बहसको विषय बनेको थियो। जेन्डरको सवालमा धेरै कलाकार आकर्षित भए पनि मस्कुलिजम्तर्फ आजको दिनसम्म कुनै कलाकारको ध्यान जान सकेको छैन।  

स्पेस र टाइम  

कलामा स्पेस र टाइमको अवधारणा सन् ६० को दशकको उत्तरकालमा प्रयोग र अभ्यास भएको थियो। यसर्थ पनि ६० को दशकपछि देखापरेका अनेकौँ शैली र प्रवृत्तिका कलाको मूलमन्त्र यही स्पेस र टाइमको अवधारणामा गाँसिएको पाइन्छ। मिनिमालिजम्को कुरा गरौँ, वा पपआर्ट, इन्स्टलेसन, पर्फमेन्स आर्ट, ल्यान्ड आर्ट वा अर्थ वर्ककै कुरा गरौँ– यी सबैको आधारभूत तत्वको रूपमा स्पेस र टाइमको सन्दर्भ केन्द्रकै रूपमा रहेको देखिन्छ। मिनिमालिजम् नामकरणका साथ प्रख्यात बनेको कार्ल एन्ड्रेको ‘इक्युभलेन्ट ३’ मूलतः इन्स्टलेसन स्वरूपमा थियो। बिना पेडस्टल, इँटाबाट बनेका अस्थायी स्वरूप र विशेषगरी टाइम र स्पेसको अवधारणालाई केन्द्रमा राख्दा यो कामले चर्चा बटुलेको थियो।  

जमिनलाई मुख्य पृष्ठभूमि बनाएर गरिने अर्थ–वर्क निश्चित समय मात्र होइन, वातावरण परिवर्तन भई वर्षात्ले जमिन बगाएपछि कलाले पनि स्वतः मृत्युवरण गर्छन्। सन् २००३ मा ओशो तपोवनमा सिर्जना भएको रमेश कुँवरको ‘शान्ति शान्ति बीचको द्वन्द्व’ कला एउटा अर्थ–वर्कको उत्कृष्ट नमुना थियो। सुनसान जंगलबीचमा भएको यो उनको काम दिउँसो पनि अँध्यारो देखिने ठाउँमा थियो। यो उनको स्पेसको रोजाइ थियो। जसमा कलाकारले जमिनमा खाल्टो खनी ध्यानमग्न बुद्धको मूर्ति गाडिदिएका थिए। एकातिर बम र गोलाको थुप्रो कलाको अर्को पाटो थियो। 

कलाकारले जिउँदो परेवालाई कसेर चारैतिरबाट तनक्क ताने। यसपछि देखिएको परेवाको छटपटीलाई उनले जमिनमा खाल्टो खनी यसैमाथि राखे। मर्नु र बाँच्नुको दोसाँधमा देखिएका परेवा, असहाय पीडाबाट दर्दनाक आवाजका साथ गुन्जायमान भएको देखिन्थ्यो, सुनिन्थ्यो। नेपालमा बुद्ध हराएको संकेत थियो त्यो। त्यतिबेला यो उनको कामलाई आम भावक र अन्य कलाकारले समेत चर्को आपत्ति जनाएर विरोध गरेका थिए। यसरी जिउँदै परेवालाई यस्तो कष्टका साथ कलाकारले आफ्नो पात्र बनाउन हुन्छ कि हुँदैन भन्ने कुरामा आम भावक र धेरै कलाकारबीच चर्को विवाद भएको थियो। सम्भवतः यही चर्चा, विरोध आदि–इत्यादि प्रतिक्रिया नै कलाको मूल उद्देश्य थियो भन्न सकिन्छ। जेहोस् यो अवस्थालाई परिवर्तन गरिएन। त्यतिबेला माओवादी आन्दोलन चरम बिन्दु थियो। त्यति बेलाको समय र निश्चित ठाउँमा नै यो कला प्रभावपूर्ण रूपमा सिर्जना भएको थियो। 

आजको समयमा सम्भवतः यो काम सान्दर्भिक हुँदैन। हावा र पानीले केही समयपछि त्यो उनको काम सोही अवस्थामा रहिरहन पनि सकेन। ज्यासमिन राजभण्डारीले पनि जेन्डर सवाललाई लिएर माटोलाई खनेर, माटोको ढिस्को उठाएर अजंगको महिलाको आकृतिलाई प्रस्तुत गरेकी थिइन्। यो अर्को अर्थ–वर्कको उत्कष्ट नमुना हो। नेपालको सन्दर्भमा यो अलि अचम्मलाग्दो कला भए पनि युरोपमा भने यस्तो काम उहिले नै भएको थियो। सन् १९१६ मा दादावादको चरम आन्दोलन भएका बेला डुचेम्पले आफ्नो कला प्रदर्शनीमा हेर्न आउने दर्शकलाई एउटा सानो बन्चरो थम्याइदिन्थे र भन्थे, ‘भित्र झुन्ड्याइएको कुनै पनि चित्रमाथि यो बन्चरो बजारेर च्यातचुत पारिदिनू।’ असन्तुष्टिलाई पोखाउन भावकको विस्मित र अन्योलको प्रतिक्रिया नै डुचेम्पको कलाको सार थियो। सम्भवतः अनुशासनहीन यो दादा आन्दोलन ६० को दशकपछि विकास भएको उत्तरआधुनिक कलाको मुख्य स्रोत बन्न पुगेको देखिन्छ। यी तीनै काममा समय सान्दर्भिकता र ठाउँ विशेषले महत्व पाउँदा यी कला अमर भएका थिए।  

कलामा आधुनिक कलाको प्रवृत्तिले प्रवेश गरिसकेपछि पनि सर्जक र भावक दुई अलग–अलग खण्डमा विभाजित थिए। ‘ओल्ड मोडर्न आर्ट’ भन्ने प्रचलन छ यसलाई। अनि भावक मात्र कलाको रसस्वादन गर्ने भूमिका साथ हामी कलाको पुर्पक्ष गर्दथ्यौँ। अब यही परम्पराबाट माथि उफ्रेर भावकलाई समेत कलाकै एक अंग बनाउने उपक्रममा यो स्पेस र टाइमको अवधारणा अगाडि आएको छ। यसर्थ यस्ता कलाको प्रवृत्तिलाई सायद उत्तरआधुनिक कला भनियो। सामान्य चित्र भित्तामा टाँसेपछि भित्ता स्वयं कलाको एक भागको रूपमा बन्नु यसको मूल आसय थियो। अर्कै भित्तामा त्यही चित्र टाँसिनु अर्कै कलाको जन्म हुनुसँग यो अवधारणा नजिक थियो। ्यर

सर्थ कलाकारले भित्ताको रङ आफ्नो अनुकूलतामा भएन भने अस्थायी रूपमा परिवर्तन गर्ने प्रचलन आज पनि कला प्रदर्शनीमा देखिन्छ। एउटै कला घरीघरी नयाँ रूपमा देखापर्ने आसय यो नयाँ अवधारणाले बोकेको थियो। मूलतः यस बखत बनिबनाउ कुनै वस्तु, प्रकृति र जीवजन्तु, मान्छे आफैँ पनि कलाकारले दिएको भूमिकालाई अवलम्बन गर्दै कलाको अभिन्न पात्रमा परिणत हुन सक्छन्, गराइन्छ वा गरिएका हुन्छन्। उत्तरआधुनिककलाका कला–कार्यशालामा यस प्रकारका प्रकृति बोकेका कला अझै देख्न सकिन्छ। जस्तो कि नाटकमा कुनै पात्रको भूमिका निभाउन एक क्षणका लागि कलाकार स्वयं पात्रजस्तै बन्छ। रामायणको रामको अभिनय गर्दा एक क्षण पात्र पनि ‘भगवान्’ बनिदिन्छ। यसरी सर्जकले दिएको भूमिकालाई निभाउने व्यक्तिको पनि मूलतः नयाँ पहिचान बन्छ।  

वस्तुको पुनव्र्याख्याको अवधारणामा समयलाई विशेष गरेर हेरिएको हुन्छ। निर्जीव वस्तुहरू कलाकारले जिम्मा दिएको भूमिका चुपचाप निभाउँछन्। तर, कलाकारले पात्रको रूपमा व्यक्तिलाई प्रयोग गर्दा वा प्रयोग हुँदा भने कहिलेकाहीँ कलाकारले भनेको भन्दा पनि पर गइदिने स्थिति हुन्छ। यसो हेर्दा सडक–नाटक जस्तो। तर, यो सडक नाटक पनि होइन। निश्चित स्थानमा, त्यहाँको वातावरणको माग अनुसार, निश्चित समयमा यस्ता कला स्थापना र विस्थापित हुने प्रक्रियामा, कलाको सर्वथा अलग स्वरूपमा निर्माण गरिएका हुन्छन्। भावकलाई पार्ने क्षणिक प्रभाव यसको मूल लक्ष्य रहेको हुन्छ। विश्वव्यापी यही अवधारणा, समसामयिक कलाको मूलधारमा प्रवेश गरेपछि विश्वका सबैजसो राष्ट्रमा यस प्रवृत्तिका कलाले स्थान पाएको छ। विशेषगरी अहिलेका युवा कलाकार यसमा बढी आकर्षित हुन थालेका छन्।  

कलामा अक्षर  

अक्षर कलाबाट विकसित भएर आएको इतिहास छ। गुफा युगमा गुफाका भित्ताभरि यस्तै चित्रले अक्षरको काम गर्दथे। यही चित्रले एक अर्काबीच सूचनालाई सम्प्रेषित गर्दथे। त्यसबखत भाषा थिएन, अक्षर थिएन। पढ्ने, पढाउने व्यवस्था थिएन। तापनि सञ्चारको आवश्यकताको बोध हुँदा चित्र नै सबैभन्दा सजिलो माध्यम बन्यो। पछि लिपि वा अक्षरको विकास भयो। यसर्थ हुन सक्छ, कलाभित्र अक्षर पनि विभिन्न स्वरूपमा विविध भूमिकामा प्रवेश गरेको इतिहास विश्वभरि पाइन्छ। क्यालिग्राफी कला यसको ज्वलन्त उदाहरण हो। कन्सेप्चुअल कला यसको अर्को उदाहरण हो। नेपालमा पनि धेरैजसो कलाकार कविता कोर्छन्। कोही कविको रूपमा बाहिर आउँछन्, कोही आउँदैनन्। तर कति कलाकारले कवितालाई कलामा विभिन्न तरिकाले प्रयोग गरेका छन्। 

नाट्य सम्राट बालकृष्ण सम, जो राम्रा कलाकार पनि हुन्, उनले चित्रमा कविताको प्रयोग गरे। उत्तम नेपालीले गरे, पछिल्ला धेरै युवा कलाकारले अक्षरलाई प्रयोग गरेका छन्। यसको एउटा लामो इतिहास छ, यतापट्टि जाने यो लेखको अभीष्ट होइन। तथापि कवितालाई सोही स्वरूपमा कलाको एक अभिन्न अंग बनाई कोल्याबोरेटिभ कलाको रूपमा प्रवेश गराइएको सम्भवतः सन् २००० को उत्तरकालमा हो। यो अलग्ग रूपमा लेखिएको कविताको अस्तित्व समग्र कविताको इतिहासमा आउँछ, आउँदैन थाहा छैन। तर, पछिल्लो कालमा कविता, मुक्तक, हाइकु वा श्लोक एक अलग्ग अस्तित्वका साथ कलामा समावेश भएको देखिन्छ। कविता यसरी कलासँग नजिक हुनुले पनि होला, आज ललितकला भन्नेबित्तिकै चित्र, मूर्ति, वास्तुकलासँगै काव्यलाई पनि समावेश गरिएको हुन्छ।

साइट–स्फेसिफिकको सन्दर्भ  

साइट–स्फेसिफिकको अर्थ कला स्टुडियोभित्र नबनाएर बाहिर गएर बनाउनु हो। आफूले सोचेभन्दा एक अलग्ग अवस्थाले आफूलाई कसरी र के प्रभाव पार्छ, के र कस्ता पात्रलाई लिएर कलाको संयोजन गर्नुपर्छ ? मनभित्र यस्ता कल्पना आएपछि सिर्जना–प्रक्रियाको पहिलेभन्दा भिन्न योजना बन्छ। यी सब कुरा साइट–स्फेसिफिकका विशेषता हुन सक्छन्। अर्थात् साइट–स्फेसिफिकको अर्थ हो, नितान्त त्यहीको वातावरणमा वा त्यही वातावरणको प्रभावमा आफूभित्र जन्मेको प्रभाव, विचारलाई सोही ठाउँमा उपलब्ध भएको सामग्रीको प्रयोग गरेर त्यही कला जन्माउने प्रक्रिया।  

सदियौँदेखि संस्कृतिले पारिरहेको प्रभाव र यसबाट विकसित भएको दृष्टिकोणले कला सिर्जनामा निर्देशन दिइरहेको हुन्छ। जुन स्वभावतः सीमित घेराभन्दा पर जान सक्तैन। कलाका माध्यम पनि सीमित हुन्छन्। समाज, समुदाय र प्रकृतिसँगको प्रत्यक्ष सम्बन्ध पनि हुँदैन। र, यसको प्रभावबिना कलाको सिर्जना हुन्छ। सन्दर्भ अर्कै अर्कै जुर्‍यो, तथापि निश्चित कालखण्डमा आएर कलाकारहरू स्टुडियोबाट बाहिर आएका छन्। प्रकृतिसँग प्रत्यक्ष रूपमा अन्तरसंवाद गर्दै कला सिर्जना गरेको इतिहास छ। ‘ओपन एअर पेन्टिङ’ यसको ज्वलन्त उदाहरण हो। मोनेले सन् १८७२ मा बनाएको सन् राइजको चित्र सन् १८७४ मा प्रदर्शन गरे। जसलाई पछि प्रभाववादीको नामकरण गरियो। तथापि यो साइट–स्फेसिफिक काम भने होइन। तर यसमा निश्चित स्पेस खोज्ने र समयसँग कलाको गहिरो सम्बन्ध भने गाँसिएर आएको छ। तथापि यसैको विकसित रूपमा साइट–स्फेसिफिकको अवधारणा विकास भएको मान्नुपर्छ। साइट–स्पेसिफिकको उदय पनि ६० को दशकको उत्तरकालमै भयो। बाहिर जाने भन्ने सन्दर्भमा प्रभाववादभन्दा अलग्ग यो कसरी देखियो भने प्रभावादीहरूको मूल आसय प्रकाशले वस्तुमाथि प्रभाव पार्छ भन्ने थियो। त्यसैले तत्कालीन विकसित भएको वातावरणलाई तत्क्षण (छोटो अवधिभित्र) नै मोटा तुलिकाघातको प्रयोगबाट आधारभूत रङहरू प्रयोग गरेर चित्रको निर्माण गर्न थालियो। 

साइट–स्फेसिफिकको सन्दर्भ भनेको घरको चार भित्ता भित्रबाट बाह्य संसारमा गएपछि त्यहाँको अवस्था, व्यक्ति विशेषको रहनसहन, चालचलन, व्यवहार, आदिले आफूलाई एक अलग्ग कसरी प्रभाव पार्छ, यसलाई अवधारणासहित सीमाहीन वस्तु प्रयोग गरेर कलाको सिर्जना गर्नु हो भन्ने रह्यो। नेपालमा भएको ०६२/६३ को जनआन्दोलनताका यी दुवै अवधारणाको छ्यासमिसमा काठमाडौं, गोंगबु रिङरोडको चारैतिर ५०औँ कलाकार स–साना क्यानभासमा चित्र बनाउने उपक्रम गरेका थिए। अनि, कविहरूले त्यसैमाथि कविता लेख्ने कार्यक्रम रहेको थियो। कला बिक्रीको कार्यक्रम विशेष रूपमा राखिएको थियो। आन्दोलनमा घाइते भएकालाई यो बिक्रीका पैसा दिइने घोषणा भएको थियो। त्यस अवस्थाले जन्माएको आम मान्छेको भावना उद्वेलित हँुदै दर्जनौँ व्यक्ति ती कला किन्न अति उत्साही भए। कार्यक्रम सकिँदानसकिँदै सबै चित्र बिक्री पनि भएको थियो।  

नेपालमा साइट–स्फेसिफिक प्रकृति बोकेको काम (यसमा स्वाभावतः टाइम र स्पेस आउँछ) ‘कला कार्यशाला सूत्र’ भन्ने एक कला संस्थाले सन् २००३ मा ओशो तपोवनमा गरेको थियो। यसमा २७ कलाकार संलग्न थिए। कलाकारले कुनै पनि कला सामग्री लिएर आउन नपाउने, मन–मस्तिष्कमा क्यानभासबाट बाहिर जान्छु भन्ने मनस्थिति बोकेर आउनुपर्ने, ओशो तपोवनभित्रै बस्नुपर्ने, १० दिनसम्म बाहिर जान नपाइने, दुई दिनसम्म भित्रै बसेर त्यहाँको अवलोकन गर्नुपर्ने र यही ज्ञान, प्रभावबाट कला बनाउने विचार मथिङ्गलमा उब्जाउनुपर्ने, कलाकारलाई आवश्यक कला सामग्री आयोजकले बन्दोबस्त गरिदिने आदि नियम बाध्यात्मक रूपमा लागू गरिएको थियो। 

स्वभावतः यसले एक अलग्ग माहोल तयार गर्‍यो। यहाँ ५९ वटा काम बेग्लै प्रकृति र स्वरूपमा निर्माण भएका थिए। कलाकारले गर्ने गरेका कलाको स्वरूपभन्दा बेग्लै चरित्र र स्वरूपको देखिन आएको सन्दर्भलाई यो कलागत आन्दोलनको उपलब्धिको रूपमा हेरिएको थियो। ११औँ दिनमा यसलाई हेर्न टिकट सो राखिएको थियो, जहाँ हजारौँ दर्शक यी कलालाई अवलोकन गर्न आएका थिए। यस प्रकारको कार्यशाला पहिला कहिले पनि भएको थिएन, पछि पनि यस्तै रूपमा भएको देखिएको छैन।

इन्स्टलेसन कला  

मूलतः इन्स्टलेसन आर्ट भनेको तेस्रो आयामिक भिजुअल आर्ट–वर्क हो। विशेषगरी यो स्फेसिफिक ठाउँमा सिर्जना गरिन्छ। मूलतः अन्य कलाको बीचमा सोही आकार प्रकारमा नदेखिएर आफैँमा सम्पूर्णता जस्तै एक अलग्ग रूपमा उभिनु यसको प्रकृति हो। ठाउँ विशेषको रहिआएको पर्सेप्सनलाई परिवर्तन गर्ने यसले गहिरो चाह राख्छ। एलन क्याप्रोले सन् १९५७ पछि यसलाई हल्का रूपले सुरू गरे, पछि यो सन् १९६० सम्म कलाको मूलधारमा प्रवेश गरिसकेको थियो। परम्परागत तेस्रो आयामिक मूर्तिभन्दा धेरै ठूलो यसको प्रकृति हुन्छ। कुनै हल, कोठा वा ग्यालरी, म्युजियमको करिबन सम्पूर्ण भाग ढाक्ने गरी यसको निर्माण गरिएको हुन्छ। ढोकाबाट छिर्नेबित्तिकै भावकहरू यसमा भित्रै छिरेर ओहोर दोहोर गर्न सक्छन्। कसैकसैले अजंगको स्वरूप रहने यस्ता कलाको वास्तविक रूप देखापरेको सन् १९७० देखि हो भन्ने गर्छन्। 

यो मूलतः भित्र गरिने कलाको रूपमा चिनिन्छ। यस्तो स्वरूपको कला बाहिर खुला वातावरणमा निर्माण गरिँदा ल्यान्ड आर्ट, पब्लिक आर्ट आदि भन्ने प्रचलन छ। यसले हलको सम्पूर्ण वातावरणलाई प्रस्ततु गर्ने चाह राख्छ। अनुभवलाई पूर्णतः एकतामा बाँधिएको प्रकृतिमा हुन्छ। यस्ता इस्टलेसन काम व्यक्ति विशेषको परम्परागत कामभन्दा यसकारण पनि अलग्ग हुन्छन् र देखिन्छन् पनि।  

(लेखक कलाकार तथा कला समीक्षक हुन् ।)

प्रकाशित: १८ पुस २०७७ ०२:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App